scheduleशनिवार आश्विन ४ गते, २०७६

देशभर ७३ स्थानमा सोमबारबाट सहुलियत पसल


काठमाडौं, २२ भदौ । नजिकिँदै गरेका ठूला चाडपर्वहरुमा उपभोक्ताहरुलाई सुविधा पुर्‍याउने गरी सरकारले सहुलियत पसल सुरु गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भदौ २३ गते सोमबार रामशाह पथ सिंहदरबारबाट पहिलो एकीकृत सहुलियत पसल सुरु गर्दैछन् ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको संख्या, स्थान र छुटको टुंगो लगाएको हो । बैठकमा सरकारले देशभर ७३ वटा सुपथ मूल्य पसल स्थापना गर्ने निर्णय भएको छ ।

मन्त्रीले सांकेतिकरुपमा सहुलियत पसल सुरु गरे पनि पछि देशैभर गरी ७३ स्थानमा सहुलियत पसल सुरु गरिने वाणिज्य मन्त्रालयले जनाएको छ । यस्ता सहुलियत पसलहरु भदौ २३ गते देखि कात्तिक १६ गतेसम्म सञ्चालनमा आउनेछन् ।

सहुलियत पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ । सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । त्यस्तै, च्याँग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिईने मन्त्रालयले जनाएको छ ।

डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ भने चिनीमा प्रतिकिलो ५ रुपैयाँ सहुलियत दिन विभागले प्रस्ताव गरेको छ । विभागको यो प्रस्तावमा कुरा भने मिलिसकेको छैन ।

साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले ती पसलहरु सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३ वटा घुम्ती पसल सञ्चालन हुने वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । देशैभरमा साल्ट ट्रेडिङले ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने गौचनले जानकारी दिए ।

उपत्यकामा कहाँ ?
वाणिज्य विभागका अनुसार काठमाडौंमा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायतका स्थानमा ९ वटा सहुलियत पसल रहनेछन् । त्यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्ने छ भने उपत्यका बाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान लगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने विभागले जनाएको छ ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्याकामा ५ र उपत्यका बाहिर १८ वटा पसल सञ्चालन गर्ने विभागले जनाएको छ । दुग्ध विकास संस्थानले काठमाडौं उपत्याकामा ४ र काठमाडौं बाहिर ११ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage