scheduleशनिवार आश्विन ४ गते, २०७६

नेपालद्वारा युएईसामु विशाल लक्ष्य प्रस्तुत

काठमाडौं, २४ भदौ । एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले युएईसामु २८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । ३३ ओभरको चौथो बलमा सञ्चित शर्माले साइद हैदरबाट क्याच गराउनु अघि रोहितले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै राशिद खान र कमलसिंह ऐरीले आक्रमक उत्कृष्ट प्रर्दशन गरे । उत्कृष्ट ब्याटिङ गरेका राशिद खान ४४ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा क्याच आउट भए । कमलसिंह ऐरी अन्तिम ओभरको पहिलो बलमा क्याच आउट हुनुअघि २६ बलमा ५ चौका र २ छक्का सहित ४१ रनको योगदान दिए । राशिद र कमलले आठौं विकेटका लागि मात्र ८.१ ओभरमा आक्रमक ७० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

यता नेपालका ओपनर रित गौतम र पवन सरार्फ शून्यमा आउट भएका थिए । खराब सुरुवात गरेको नेपाललाई तेस्रो विकेटका लागि रोहितले विकेटकीपर मोहम्मद आशिफ शेखसँग ७१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । १९ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि आशिफले ५३ बलमा ८ चौका सहित ४५ रन जोडे ।

रितलाई पहिलो बलमै मोहम्मद आकाश ताहिरले क्याच आउट गराएका थिए । चौथो ओभरको पाँचौ बलमा पवन सरार्फलाई शर्माले शून्यमा बोल्ड आउट गरे । ३४ ओभरको पहिलो बलमा भिम सार्की १ रनमा एलबी डब्लू आउट हुन पुगे । सन्दीप जोरा ४८ रनमा क्याच आउट भए । सन्दीपले ५३ बलमा ६ चौका प्रहार गरे । सन्दीपले चौथो विकेटका लागि रोहितसँग ८५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । त्यस्तै कुशल मल्लले २२ बलमा २ छक्का र १ चौका सहित २२ रन जोडे ।

यूएईका लागि सञ्चित शर्माले १० ओभरमा ३ मेडन सहित २६ रन खर्चेर ३ विकेट लिए । आकाश ताहिरले ९ ओभरमा ६२ रन खर्चेर ३ र कात्तिक पलानियाप्यनले २ विकेट लिए । ऋषभ मुखर्जीको नाममा १ विकेट रह्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage