scheduleआइतवार आश्विन ५ गते, २०७६

भवन शिलान्यास गर्दै प्रहरी महानिरीक्षकले भने- भवनभन्दा सुन्दर प्रहरी सेवा हुनुपर्छ


काठमाडौं, २४ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लब भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गरेका छन् ।

शिलान्यासपछि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारबाट जग्गा प्राप्ती हुनु आफैंमा उपलब्धी भएको चर्चा गर्दै सबै भवनहरु पारदर्शी रुपमा काम हुने गरी निर्माण गरिने बताए । विगत २५ वर्षदेखि धेरैको हृदयमा बस्न सफल पुलिस क्लबले आगामी दिनमा अपेक्षा अनुसारको विश्वसनीय सेवा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे ।

‘जसरी भवनहरु सुन्दर हुन्छन्, त्यसैगरी सुन्दर भवनसँगै प्रहरी सेवालाई थप परिस्कृत गर्दै नयाँ उर्जा, निष्ठा एवम् ईमान्दारिताका साथ सुन्दर सेवा प्रवाह गर्न प्रहरी सदैव कटिबद्ध रहेको छ,’ प्रहरी महानिरीक्षक खनालले भने । भवन निर्माणको क्रममा कुनै पनि किसिमको अनियमितता सह्य नहुने बताउँदै तोकिएको समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्नेतर्फ अग्रसर हुन निर्माणमा संलग्न सबैमा उनले आग्रह गरे ।

अपराध महाशाखा तथा परिसरमा कसुर अनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना समेत उक्त नयाँ भवनमा हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयले आफ्ना कार्य कानून सम्मत, सेवाग्राहीमैत्री र पारदर्शी रुपमा गर्नुपर्ने बताए ।

अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘कोही मानिस प्रहरी कार्यालयमा आयो भन्दैमा के परेछ भन्दै हेर्ने दृष्टिकोणमा गलत बुझाई नहोस् । साथै मैले मेरो प्रहरीलाई सूचना दिन र जाने बुझेको कुरा बताउन आएको हो भनी सूचना दिन आउनेलाई छुट्टै डेस्क हुन्छ र आफ्नो कुरा राख्न पाईन्छ ।’

नेपाल प्रहरीले अंगिकार गरेको समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप भएका गतिविधि अत्यन्तै फलदायी रहेको चर्चा गर्दै उनले यस अन्तर्गत विभिन्न समिति र स्थानीय तहसँगको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage