scheduleआइतवार आश्विन ५ गते, २०७६

एसीसी यू-१९ एसिया कपः युएईविरुद्ध नेपालको फराकिलो जित


काठमाडौं, २४ भदौ । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा समुह बी को अन्तिम खेलमा नेपालले यूएईविरुद्ध फराकिलो जित निकालेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएईमाथि नेपाली बलरहरु हावी हुँदा युएई ३४.४ ओभरमा अलआउट हुँदै केवल १२५ रनमा समेटिएपछि नेपाल १६० रनले विजयी भएको हो । नेपालका लागि स्पिनर सागर ढकालले ७ ओभर बलिङ गर्दा २ मेडनसहित केवल २० रन दिएर ३ विकेट लिए । पवन सर्राफ, सूर्य तामाङ र रासिद खानले समान २/२ विकेट लिए भने कमल सिंह ऐरीले १ विकेट लिए ।

नवौं ओभरको पाँचौ बलमा यूएईको पहिलो विकेट गुम्यो । कमलसिंह ऐरीले आशिफ शेखबाट निल रोहन लोबोलाई ५ रनमा क्याच आउट गराए भने १३ औं ओभरको अन्तिम बलमा अर्का ओपनर सैइद हैदरलाई सागर ढकालले १५ रनमा एलबी डब्लू आउट गर्दै पेभेलियन फर्काए ।

लगत्तै १८ औं ओभरको चौथो बलमा सागरले नै अरबिन्द्र रुद्रबेललाई २८ रनमा बोल्ड आउट गरे । उनी ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै आक्रामक खेलिरहेका थिए ।

त्यसअघि यूएई टस जितेर ब्याटिङको निम्तो दिएपछि नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । ओपनर रित गौतम र पवन सर्राफ दुवै शून्यमा आउट भएपछि धर्मराएको नेपालको ब्याटिङलाई तल्लोक्रममा राशिद खान र कमलसिंह ऐरीले उत्कृष्ट प्रर्दशन गर्दै नेपालको योगफल उकासे । राशिद खानले ४४ बलमा ५ चौका र १ छक्कासहित ४४ रन जोडे भने कमलसिंह ऐरी २६ बलमा ५ चौका र २ छक्कासहित ४१ रन जोड्न सफल भए ।

त्यस्तै, १९ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि विकेटकीपर आशिफ शेखले ५३ बलमा ८ चौका सहित ४५ रन जोडे । भिम सार्की १ रनमा आउट भए। सन्दीप जोरा ५३ बलमा ६ चौका सहित ४८ र कुशल मल्ल २२ बलमा २ छक्का र १ चौकाको सहयोगमा २२ रनको योगदान दिएका थिए ।

यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले समान ३ विकेट लिए भने कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीले १ विकेट लिए । नेपाल यसअघि नै समूह चरणबाट बाहिरिई सकेको छ । समूह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage