‘मकाउ पठाइदिन्छु’ भन्दै झण्डै २० लाख ठगी गर्ने पक्राउ
काठमाडौं, २४ भदौ । प्रहरीले रोजगारीका लागि मकाउ पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १९ लाख रुपैयाँ ठगेर फरार भएका १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका ३ का ४२ वर्षीय विनोद बस्नेत भनिने राजु केसी रहेका छन् । राजुलाई प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार राजुले वैदेशिक रोजगारको लागि आकर्षक तलब हुने ठाउँमा पठाइदिन्छु भन्दै १९ लाख १० हजार रुपैयाँ ठगेको जाहेरी परेको थियो। पैसा लगेपछि फरार भएका केसीलाई कारबाहीको माग गर्दै ६ जनाले गएको जेठ १४ गते जाहेरी दिएका थिए।
प्रहरीले उनलाई काठमाडौंकै हाँडीगाउँ फेला पारेको हो। उनको साथबाट एकै व्यक्तिको छुट्टाछुट्टै नामबाट (राजु के.सी.) र र विनोदमणि बस्नेतको नामको दुई वटा सवारी चालक अनुमतिपत्र समेत बरामद गरेको प्रहरीले जनाएको छ।
उनलार्ई लाई ठगी तथा लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागी मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए।