scheduleआइतवार आश्विन ५ गते, २०७६

पुनः ओलीको अध्यक्षतामा नेकपा बैठक, धुम्बाराहीबाट बालुवाटार सर्‍यो

काठमाडौं, २५ भदौ । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सिंगापुरबाट फर्किएपछि नेकपाको बैठक पुनः ओलीको अध्यक्षतामा बसेको हो ।

अध्यक्ष ओली सिंगापुर भएको बेला बैठक अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । प्रचण्डले बैठक पार्टी कार्यालय धुम्बाराहीमा राखेका थिए । ओलीको अध्यक्षतामा भने बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको हो ।

बैठकले उपनिर्वाचनको तयारी थालेको छ । नेकपाको बुधबार बसेको सचिवालयको बैठकले उपनिर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको छ । बैठकबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले उपनिर्वाचनबारे छलफल र निर्णय भएको बताए ।

‘आजको सचिवालयको बैठकले निकट भविष्यमा हुन गइरहेको संघीय संसद प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ, प्रवक्ता श्रेष्ठले जानकारी दिए ।’

निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि मतदानको मिति तोकेको छ । उपनिर्वाचनका लागि आयोगले दल दर्ता गर्नेबारे सूचना जारी गरिसकेको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage