scheduleसोमवार आश्विन ६ गते, २०७६

सत्तारुढ सांसदको सदनबाटै उद्घोष- कर नतिरे एनसेलका टावर फुकालिदिन्छौं


काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेकपाका सांसद राजबहादुर बुढाले कर नतिरे निजीक्षेत्रको मोबाइल फोन सेवाप्रदायक कम्पनी एनसेलविरुद्ध लाग्ने चेतावनी दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सांसद बुढाले एनसेलमाथि तोडफोड नगर्ने तर टावर फुकालेर जनताले सरकारलाई बुझाइदिने चेतावनी दिएका हुन् । सर्वोच्च अदालतले एनसेलबारे गरेको फैसलाको आलोचना पनि गरेका उनले सरकारले तोकेको कर तिर्न अटेरी गरे एनसेलका देशभरका टावर फुकालिदिने उद्घोष गरे ।

‘कर्णालीका जनताले राजधानी सुर्खेतमा एक डोको स्याउ बेच्दा कर तिरिरहेका छन् तर, खर्बौं कारोबार गर्ने एनसेलले कर तिर्नुनपर्ने अवस्था कसले ल्यायो ?,’ उनले प्रश्न गरे । कर नतिरी दादागिरी गर्ने एनसेललाई ठेगान लाउने उनले चेतावनी दिए ।

‘एनसेलका टावरमा तोडफोडका कुरा गर्दैनौँ तर यसैगरी कर तिर्न अटेरी गरेर हामी टावर फुकाल्न बाध्य हुनेछौँ,’ उनले अगाडि थपे, ‘कर नतिर्ने एनसेलले राज्य कब्जा गर्न लागिसक्यो । एउटाले सकेन भने राज्यका तीनै अंग मिलेर एनसेलविरुद्ध लड्नुपर्‍यो ।’

सांसद बुढाले एनसेलबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति पनि कडा आपत्ति जनाए । सरकारले तोकेको ६२ अर्ब कर एनसेलले नतिर्नुपर्ने गरी केही समयअघि सर्वोच्च अदालतले फैसला गरेको थियो । ‘पछिल्लो समय सर्वोच्च अदालत (न्यायालय) मा कुन भाइरस पस्यो ?,’ उनले प्रश्न गरे, ‘सर्वोच्चले एनसेललाई कसरी चोख्यायो ?’

एनसेलले नै देश कब्जा गर्न आँटेको उल्लेख गर्दै उनले भने, ‘अर्को यस्तै एनसेल आयो भने के गर्ने? न्यायालयको यो निर्णयबारे समीक्षा हुनु आवश्य छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage