scheduleआइतवार कार्तिक ३ गते, २०७६

हिन्दुत्वको राजनीति र धर्मसुधार आन्दोलन

डम्बर खतिवडा

चाहेर नचाहेर ‘धर्म’ सार्वजनिक बहसमा तानिँदै आएको छ । धर्ममाथि जुन टिप्पणी हुँदैछन्– ती सबैले धर्मलाई एउटै अर्थमा लिएको देखिँदैन । ‘धर्म’ शब्दको अर्थ नै फरकफरक आयामबाट ग्रहण गरेर छ्यासमिस बहस गर्नुको खासै महत्व रहँदैन । ‘धर्म’ लाई कुन अर्थ र मर्ममा बुझिएको हो, त्यो प्रष्ट हुन जरुरी छ । धर्मको अर्थ केलाउँदा मुख्य ४ वटा भाव देखिन्छन् ।

एक– कुनै चिज वा अस्तित्वको प्राकृत/मौलिक चरित्र वा कर्तव्य । जस्तै, आगोको धर्म बल्नु, पोल्नु वा ताप दिनु । नुनको धर्म नुनिलो हुनु । पुलिसको धर्म सुरक्षा दिनु । शिक्षकको धर्म ज्ञान शिक्षा दिनु वा ज्ञान हस्तान्तरण गर्नु आदि ।

दुई– निश्चित दार्शनिक विचार अभियानबाट निर्माण भएका अनुयायीहरुको सम्प्रदाय । जस्तो– क्राइष्टको विचार मान्ने क्रिश्चियन । बुद्धको विचार मान्ने बुद्धिष्ट, महाबीरको विचार मान्ने जैन, पैगम्बर मोहम्मदको विचार मान्ने मुस्लिम आदि ।

तेस्रो– मान्छेको आध्यात्मिक, नैतिक तथा व्यवहारिक जीवनलाई निर्देशित गर्ने तरिका । जस्तो– रजनीशको ओशोधारा, पतञ्जलीको योग आदि ।

चौथो– निश्चित प्रकारको इतिहास, परम्परा र मनोविज्ञानबाट भनेको सभ्यता । जस्तो–हिन्दू ।

यो वर्गिकरणमा ‘हिन्दु’ भनेको क्रिश्चियन, बुद्धिज्म, जैनिज्म, इस्लामिज्मजस्तो ‘धर्म’ हैन । किनकी हिन्दू कुनै व्यक्ति वा महापुरुषको वैचारिक, दार्शनिक विचारको प्रचारबाट बनेको सम्प्रदाय हैन । जस्तो–

डम्बर खतिवडा

क्राइष्टको विचारबाट क्रिश्चियानिटी बन्छ । त्यसको आधिकारिक ग्रन्थ बाइवल हो । बुद्धको विचारबाट बुद्धिज्म बन्छ । त्यसको आधिकारिक ग्रन्थ बुद्ध उपदेशहरुको संग्रह त्रिपिटक हो । पैगम्बर मोहम्मदको विचार र आन्दोलनबाट मुस्लिम बन्छ । त्यसको आधिकारिक ग्रन्थ कुरान हो ।

हिन्दू कुन व्यक्तिबाट बनेको हो ? कुनै व्यक्तिबाट हैन । हिन्दूहरुको आधिकारिक ग्रन्थ कुन हो ? वेद ? वेदमा पनि कुन वेद ? महाभारत ? गीता ? रामायण ? पुराण ? उपनिषद ? मनुस्मृति ? कुन ? कुनै हैन पनि सबै हो पनि ।

यो यथार्थभित्र गहिरो मर्म भेद छ । आज हिन्दू धर्मबारे जुन बहस भइरहेको छ, त्यसको मानक केलाई बनाउँने ? हिन्दू धर्मको कुनै एकल मानक छैन । कुनै एकल देवता छैन । एकल ग्रन्थ छैन । एकल संस्कृति छैन । हिन्दुत्व एक बहुआयामिक महासभ्यताको समिष्ट मात्र हो । यसलाई क्रिश्चिानिटी, इस्लामसंग तुलना गर्न सकिन्न ।
अरु धर्महरु माथि वर्गिकरण गरेको दोस्रो अर्थमा बनेका छन् । ‘हिन्दू’ तेस्रो र चौथो अर्थको कुल योग हो ।

धर्म उचनीच हुँदैन
धर्म उचनीच हुँदैन । कुनै धर्म गौरवशाली कुनै धर्म लज्जास्पद हैन । मान्छे भगवानलाई अर्जी हालेर कुनै धर्म सम्प्रदायमा जन्मेको हैन । कोही हिन्दू परिवारमा जन्मियो । कोही क्रिश्चियन परिवारमा जन्मियो । कोही मुस्लिम परिवारमा जन्मियो । जन्म एक प्राकृतिक संयोग मात्र हो ।

कुनै धर्म सम्प्रदायमा जन्मिएको कारण कोही महान, राम्रो र उच्च, कोही निम्न, नराम्रो वा तुच्छ हुँदैन । तसर्थ, हिन्दु राम्रो वा नराम्रो, क्रिश्चियन राम्रो वा नराम्रो, इस्लाम राम्रो वा नराम्रो भन्नु नै अज्ञानता हो । सबैलाई आफ्नो धर्म राम्रो वा महान लाग्छ । सबै महान छन् भने तुच्छ को छ ? कोही पनि तुच्छ छैन ।

तसर्थ, कुनै एउटा धर्मको वा धर्म पक्षधर भएर अर्को धर्म वा संस्कृतिलाई नराम्रो वा निच देखाउने प्रयास गर्नु आवश्यक छैन । यो यथार्थलाई आत्मसात गर्ने हो भने हिन्दुत्वको कुरा गर्दा मुस्लिम वा क्रिश्चियनहरुलाई अचाडु देखाउन कुनै आवश्यक छैन । नेपालमा अहिले त्यही भइरहेको छ । एकथरि मान्छेहरु क्रिश्चियानिटीको भय सृजना गरेर ‘धर्म रक्षा’ को अतिवादी बहसमा उत्रेका छन् । ती धार्मिक मान्छे हुनै सक्दैनन् । धार्मिक मान्छेले अर्काको धर्मको निन्दा गर्न सक्दैन । अर्को धर्मालम्बीलाई शत्रु बनाएर प्रचार गर्न सक्दैन ।

तिमी तिम्रो धर्म मान, म मेरो धर्म मान्छु । मेरो धर्म मेरो ठाउँमा ठीक छ । तिम्रो धर्म तिम्रो ठाउँमा ठीक छ । तिमी मेरो धर्मलाई सम्मान गर । म तिम्रो धर्मलाई सम्मान गर्छु । तिमी तिम्रो धर्मको अभ्यास र प्रचार गर, म मेरो धर्मको अभ्यास र प्रचार गर्छु । बस् सकियो कुरा । जो मान्छे यसरी सोच्छन्, ती वास्तविक धार्मिक हुन् ।

धर्म प्रचारको प्रश्न
धर्म प्रचार दार्शनिक, राजनीति विचार प्रचारजस्तै लोकतान्त्रिक अधिकार हो । प्रचार गर्दैमा मान्छेले त्यो धर्म लिन्छ भन्ने छैन । नेपालमा क्रिश्चियानिटीको प्रचार भइरहेको होला, अमेरिकामा हिन्दुत्वको प्रचार भइरहेको होला । यो संसारभरि चलिरहने दोहोरो प्रक्रिया हो । कुनैकुनै देशमा यस्तो अधिकार छैन । जस्तो साउदी अरबमा नहोला, तर त्यो लोकतान्त्रिक देश पनि त हैन । लोकतान्त्रिक देशमा दर्शन, विचार र राजनीतिजस्तै धर्मको पनि प्रचार हुन्छ, त्यसलाई रोक्न सकिँदैन । रोक्नु हुँदैन । रोक्ने हो भने सबै धर्मबारे जानकारी प्राप्त गर्ने मान्छेको नैसर्गिक अधिकार हनन हुन्छ ।

मेरो एकजना साथी घानामा हिन्दू धर्म गुरु भएर बसेको छन् । अफ्रिकामा अहिले ‘हरे राम हरे कृष्ण’ आन्दोलन एक ठूलो धार्मिक आन्दोलन बनेको छ । अमेरिकामा ठूल्ठूला हिन्दू मन्दिर बन्दैछन् । नेपालमा मात्र हामी अरु धर्मालम्बीलाई अचाडु देख्छौं– ती अरु सबै देशले हिन्दूमाथि त्यस्तै गर्न थाले भने के हुन्छ ? मान्छे एक वैश्विक प्राणी हो । धर्म र संस्कृतिको आदानप्रदान स्वभाविक प्रक्रिया हो । चाहेर पनि कुनै राज्यले यो प्रक्रिया रोक्न सक्दैन । यसबाट कसैले उत्तेजित हुन जरुरी छैन ।

हिन्दू के हो ?

माथि उल्लेख भयो– हिन्दू क्रिश्चियन वा इस्लाम भनेजस्तो कुनै धर्म सम्प्रदाय हैन । हुन्थ्यो भने यसको पनि एक प्रारम्भकर्ता, एक आधिकारिक ग्रन्थ, एक विचार प्रणाली, एक संस्कृति हुन्थ्यो । हिन्दूसँग यी कुनै छैनन् । कोटीकोटी देवता छन् । अल्ला वा क्राइष्ट मात्र छैनन् । हज्जार ग्रन्थ छन् । यहाँसम्म कि बुद्धलाई पनि हिन्दुले १० मध्ये एक अवतार मान्छन् । त्यसो भए बुद्धिष्ट हुनु पनि हिन्दुभन्दा बाहिर हुनु त हैन, फेरि कसैले बुद्धिष्ट धर्म लियो के को आपत्ति ? ऊ भगवान कै दश मध्ये एक अवतारलाई त मानिरहेको छ ।

‘सिन्धु’ नदीबाट ‘इन्दस’, ‘इन्द’ हुँदै ‘हिन्द’, हिन्दु बनेको मानिन्छ । यसको सिधा अर्थ यो सिन्धु पूर्वको सभ्यता हो । यो सभ्यताभित्र अनेक उपसभ्यता छन् । बुद्ध छन्, जैन छन्, शिख छन्, किराँत छन् । हिन्दुत्वलाई एक महासभ्यताका रुपमा लिने हो भने यसको क्षेत्र विराट हुन्छ । केवल धर्म सम्प्रदायका रुपमा मात्र लिने हो भने त्यो संकुचित र संर्कीण हुन्छ । हिन्दूलाई हामीले धर्मसम्प्रदायका रुपमा मात्र लियौं, त्यो गल्ती भयो, अब महासभ्यताका रुपमा बुझौं, धार्मिक अन्धता र अतिवादमा फस्नै पर्दैन ।

हिन्दू चिन्तन
हिन्दुत्वको कुनै एक चिन्तन पद्धति छैन । वैचारिक रुपमा यसका ८ वटा समानान्तर चिन्तनधार छन् । वेदव्यासको वैदिक दर्शन, पतान्जलीको योगदर्शन, जैमिनीको मिमांसा दर्शन, वृहस्पतीको चार्वाक दर्शन, कपिलको सांख्य दर्शन, कणादको वैशेषिक दर्शन र गौतमको न्याय दर्शन । त्यसपछि वेदान्तको युग शुरुवात हुन्छ । वेदान्त अर्थात् वेदको अन्त्य र उपनिषदहरुको शुरुवात । वेदान्तका लागि योगदान गरेको मुख्य जस शंकराचार्यलाई दिने गरिन्छ ।

तर, वैदिक र चार्वाक दर्शनलाई बाहिर राखेर बाँकी छ वटा न्याय, वैशेषिक, योग, मिमांसा, सांख्य र वेदान्तलाई ‘सिष्टम अफ सिक्स’ भन्ने गरिएको छ । हिन्दुत्वभित्र यी सबै दर्शनको संयुक्त अभ्यास हुन्छ । ज्ञानमोह वैदिक दर्शनको बिशेषता हो । योग गर्नु पतान्जली दर्शन हो । भोग गर्नु चार्वाक दर्शन हो । मनोसाधना वा साक्षी वा तटस्थताको अभ्यास न्याय दर्शन हो । होम, कर्मकाण्ड गर्नु जैमिनी दर्शन हो ।

यसको अर्थ हिन्दू ‘मत वा सम्प्रदाय निरपेक्ष’ धर्म हो । ‘निरपेक्षता’ हिन्दुत्वको मौलिक गुण हो । अरु धर्म मत सापेक्ष, सम्प्रदाय सापेक्ष, राज्य सापेक्ष हुन सक्दछन् । तर हिन्दू धर्म सापेक्ष हुन सक्दैन । सापेक्ष हुने वित्तिकै हिन्दुत्वको मौलिकता नै समाप्त हुन्छ । उपरोक्त ८ मत– जुन मत मान्नेले पनि आफूलाई हिन्दू भन्न सक्छन् ।

हिन्दुत्वको राजनीति
यहाँनेर अर्थभेद गर्न जरुरी कुरा के छ भने ‘हिन्दुत्व’ र ‘हिन्दुत्वको राजनीति’ भनेको बिल्कुलै फरक कुरा हो । हिन्दुत्वले निश्चित महासभ्यता र महासंस्कृतिप्रतिको श्रद्धा, विश्वास र अभ्यासलाई बुझाउँछ । ‘हिन्दुत्वको राजनीति’ ले हिन्दुत्वको भावना शोषण गरेर सत्तामा पुग्ने धुर्तता गर्दछ । हिन्दुत्वको राजनीतिले हिन्दुत्वको व्यापकतालाई राजनीतिक स्वार्थमा दोहन गर्ने धारणा राख्दछ ।

हिन्दुत्वको राजनीति माथिको ८ मध्ये एक वेदान्तमा आधारित अतिवाद हो । यसको प्रारम्भ शंकराचार्यले गरेका थिए । वेदान्त भनेकै ‘वेदको युग अन्त्य भो, वेदको काम छैन, अब उपनिषद भए पुग्छ’ भनेको हो । तर, नेपालमा हिन्दुत्वको राजनीति गर्नेहरु यति न्यूनतम ज्ञान समेत राख्दैनन् । वेदलाई जोडेर ‘हिन्दुत्वको राजनीति’ गर्दछन्, जबकी ‘वेदान्त’ यसको विरुद्धमा हुन्छ ।

बुद्धिज्मको लोकप्रियताबाट तर्सेका बाहुनवादी शंकराचार्यले वेदान्त आन्दोलन चलाएका थिए । कतिपयले यसलाई बुद्धिज्म विरुद्ध ‘ब्राह्मणीय जेहाद’ (Brahaminical Jehad) मानेका छन् । बुद्धिज्म ‘नास्तिक’ दर्शन थियो । वेदान्तले ‘आत्मको परमसत्ता’ को अवधारणा सार्‍यो । ‘ब्रह्म सत्य, जगत मिथ्या’ र ‘अहं ब्रह्मास्मी’ यस दर्शनका मूलमन्त्र थिए ।

शंकाराचार्य अद्वितीय इच्छाशक्ति, लगन र जाँगर भएका व्यक्ति थिए । उनले ‘ब्रह्मसुत्र’ रचना गरे । यसको प्रचारप्रसारका लागि जीवनभरि यात्रारत् रहे । उनले विचारको प्रचार मात्र गरेनन्, साथसाथै धार्मिक सम्प्रदाय, संघसंस्थाको गठन र शक्तिपीठ स्थापना गरे । मैसुर, पुरी, द्वारका र बद्रीनाथमा उनले शंकाराचार्य पीठ स्थापना गरे । शंकराचार्य हिमालयदेखि सागरसम्मको एकीकृत बृहत्त हिन्दूराज्यका पक्षधर थिए । इतिहासमा शंकाराचार्यका समर्थकले बुद्धविहारमा आक्रमण गरी ध्वस्त पारेको, बौद्ध भिक्षुहरुलाई अपमानित र प्रताडित गरेका कयौं दृष्टान्त पाइन्छन ।

हिन्दुत्वको राजनीति र नेपालको सार्वभौमसत्ता
हिन्दुत्वको राजनीति गर्नेहरु हिन्दुत्वलाई नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डतासंग जोड्न खोज्छन्, त्यो अर्को अज्ञानता हो । जब मानसरोबरदेखि वालीदीपसम्म, बंगालको खाडीदेखि कान्दारसम्म एक निष्कन्टक हिन्दू महासाम्राज्यको शंकराचार्य अवधारणा अगाडि आउँछ, त्यहाँ नेपालको सार्वभौमसत्ता कसरी सुरक्षित हुन सक्छ ? नेपाल कसरी मौलिक र पृथक राज्य जोगिन सक्छ ? वास्तवमा हिन्दुत्वको राजनीति अवधारणा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्धमा हुन्छ । यो यथार्थ नेपालीहरुले बुझ्न जरुरी छ । भरखरैको कश्मिर घटनाबाट पनि यसको प्रष्ट संकेत पाइन्छ ।

मनुवाद
मनुवाद हिन्दूहरुका माथि चर्चा गरिएका ८ वैचारिक प्रणालीमध्ये कुनैमा पनि पर्दैन । तसर्थ, मनुवादी हुनु हिन्दू हुनु हैन । मनुवादको विरोध गर्नु हिन्दुत्वको विरोध गर्नु हैन । मनुवाद हिन्दुत्वको राजनीति गर्नेहरुको त्राण मात्र हो । मनुवाद हिदुत्वको राजनीतिमा रमाएका हिन्दू कुलिनहरुको अहंकारलाई बैधानिकता दिने फोस्रो ग्रन्थ मात्र हो । मनुवाद हिन्दुत्वमा जोडिएको ऐजेरु हो ।

ओशोले एकपटक भनेका थिए– ‘म अहिंसावादी मान्छे हुँ । कसैको हत्या गर्न सक्दिन तर जीवनमा एक मिनेटका लागि हिंसावादी भए भने पहिलो गोली मनुलाई ठोकी दिन्थे । मनुवाद नै दक्षिण एशियाली समाजको दुर्दशाको मुख्य कारक हो ।’

मनुस्मृति मूलतः तत्कालिन कानुनको किताब थियो । कुन राज्यको आवश्यकता र उद्देश्यका निम्ति मनुस्मृति लेखिएको थियो– प्रष्ट छैन । यसका लेखक ऋषी स्वायंभुव मनु मानिएका छन् । अझ कतिपय शोधकर्ताहरुले यो ग्रन्थ मनु र उनका शिष्य भृगुबीचको संवाद शिष्यले स्मृतिद्वारा अभिलेख गरेको ठान्छन् ।

प्रकारान्तले यो भारतवर्षका सबै राज्यराज्यिकाहरुको साझा कानुन बन्न पुग्यो । सन् १७९४ मा सर विलियम जोन्सले यसको अंग्रजी अनुवाद गरे । अंग्रेजले भारतको शासनसत्ता हात लिएपछि हिन्दू कानुनको जानकारी राख्न अदालती प्रयोजनका लागि मनुस्मृति अनुवाद गरिएको थियो । संयोगले मनुस्मृति अंग्रेजीमा अनुवाद हुने पहिलो संस्कृतग्रन्थ बन्न पुग्यो । संभवत् त्यसपछि पश्चिमाहरुले मनुस्मृतिको चर्चा गर्न थाले । जर्मन दार्शनिक हिगेल र नित्सेले मनुस्मृतिको चर्चा गरेको पाइन्छ ।

मनुस्मृतिको मुख्य विशेषता ईश्वरवाद र वर्णवाद हो । यो ग्रन्थ अनुसार ब्रह्मको मुखबाट ब्रह्मणको, भुजाबाट क्षेत्रीयको, नाभीबाट वैश्यको र पाउबाट शुद्रको उत्पति भएको हो । अर्थात् मुनस्मृतिले ईश्वरीय अवतारवादको चिन्तनलाई सामाजिक श्रमविभाजनसंग जोडिदिन्छ । पढ्ने पढाउने, यज्ञ गर्ने र दान लिनेलाई ब्राह्मण भनियो । राज्यसञ्चालन, सुरक्षा र युद्ध गर्नेहरु क्षेत्रीय भए । आर्थिक क्रियाकलाप र व्यापार व्यवसाय गर्नेहरु वैश्य मानिए । श्रम र सेवा गर्नेहरुलाई शुद्र भनियो । यी फरकफरक वर्णका लागि फरकफरक कर्तव्य, दायित्व, नैतिक मूल्य र दण्डविधान तय गरियो । आधुनिक दक्षिण एसियाली समाजको सबैभन्दा ठूलो सामाजिक रोग मानिएको छुवाछुतलाई मनुस्मृतिले अझ संस्थागत गर्‍यो ।

त्यसो त मनुस्मृतिमा चर्चा गरिएको वर्ण विभाजन जन्मजात हैन, त्यो व्यक्तिको चरित्र, आत्मउन्नयनको प्रक्रिया, शैक्षिक स्तर, बौद्धिक क्षमता तथा व्यक्ति स्वयंले कर्मबाट हासिल गर्ने गुण हो भन्ने व्याख्या पनि नभएको हैन । तर, दक्षिण एशियाको समाज व्यवस्थाले यो तर्कलाई पुष्टि गर्दैन ।

महाभारतमा कर्णलाई सुतपुत्र भनिएको छ । त्यसवापत उनलाई अर्जुनसंग धनुर्विद्याको प्रतिस्पर्धा गर्नबाट रोकिएको छ । कर्ण उच्चकोटीका धनुर्धारी थिए । तर, उनलाई जातकै आधारमा अपमान गरिएको पाइन्छ । रामायणमा शावरीलाई एक अछुत महिलाका रुपमा चित्रण गरिएको छ । महाभारत र रामायणजस्ता महान ग्रन्थका लेखकहरु समेत छुवाछुतबाट प्रभावित छन् ।

हिन्दूहरु यो कमजोरीबाट भाग्न मिल्दैन । कित महाभारत र रामायण पनि हिन्दूग्रन्थ हैनन् भन्नु पर्‍यो– सायद यो सम्भव छैन । त्यसो भए छुवाछुत र जातीय विभेदको महापाप गरेबापत् हिन्दूहरुले आम प्रायश्चित गर्नैपर्छ । त्यो भनेको धर्मसुधार आन्दोलन नै हो । हिन्दू सभ्यता र संस्कृतिमा भएका अमानवीय पक्षहरुलाई हटाएर नै वास्तविक हिन्दुत्वको रक्षा हुन सक्छ ।

धर्म सुधार
धर्म बेलाबेला सुधार भइरहनु पर्दछ । अन्यथा त्यो जड हुन्छ । अन्ध हुन्छ । अन्यायी हुन्छ । विभेदकारी हुन्छ । शोषक हुन्छ । दुष्टहरुको शोषण र शासन गर्ने हतियार बन्न पुग्छ । हिन्दूमा मात्र हैन, त्यो भन्दा ठूला धर्म सुधार आन्दोलन क्रिश्चियनहरुमा चलेका छन् । यहुदी धर्ममा धर्मसुधार आन्दोलन भएर नै क्रिश्चियानिटी बनेको हो । क्रिश्चियनमा धर्मसुधार भएर नै प्रोटेष्टेन्ट बनेको हो । हिन्दूमा धर्मसुधार भएर नै बुद्धिज्म बनेको हो । शुरुशुरुमा वेदान्ती ब्रह्मणहरुले बुद्धिष्टहरुलाई सकेसम्म दमन गरे । पछि पार नलागेपछि बुद्धलाई नै भगवानको १० अवतारमध्ये एक भन्दिए ।

धर्मसुधार कुनै सजिलो कार्य हैन । यसलाई भोटको राजनीतिसंग तुलना गर्नु हुँदैन । भोट आओस् नआओस्, त्यो अर्कै कुरा हो । तर विभेद, छुवाछुत र अत्याचार विरुद्धको लडाई एक मिसन हो । भोट हारिन्छ, जितिन्छ, हुँदै गर्छ । भोट हारिन्छ भन्ने डरले विभेद र अत्याचारसंग आत्मसमर्पण गर्नु हुँदैन ।

युरोपेली धर्मसुधार आन्दोलनको इतिहास पढ्दा त्यो राजनीतिक आन्दोलन जतिकै निर्मम र कठोर हुने स्वभाविक छ । क्राइष्ट स्वयं ‘क्रुसिफाई’ हुनु पर्‍यो । बेलायतमा धर्मसुधारक जोन विकलिफका समर्थक जसलाई ‘लोलार्ड’ भनिन्थ्यो, उनीहरुको हज्जारौंको संख्यामा हत्या गरिएको थियो । बेहेमियाका जोन हस, इटलीका सावरानोला, नर्वेका ज्गंवेलीलाई रोमन क्याथोलिकहरुले जिउँदै जलाएका थिए । यिनै बलिदानहरुको जगमा मार्टिन लुथर किङ्गले ‘प्रोटेष्टानिज्म’ को आन्दोलनलाई मूर्त बनाए ।

बुद्धले भोगेका अपमान र दुःखहरुको कथा भनिसाध्य छैन । जब मगधका मौर्य सम्राट अशोक कलिङ्ग (उडिसा) युद्धपछि युद्धको बिध्वंशबाट बैरागिए, हिन्दू छोडी बुद्ध धर्म ग्रहण गरे, मगधको राज्यकोष खर्च गरी बुद्ध धर्म प्रचारकहरु निर्माण गरे । अनि मात्र बुद्धिज्म स्थापित भएको हो । आजका आधुनिक र प्रगतिशील हिन्दूहरुले मनुवाद विरुद्ध लडनु अनिवार्य छ । त्यसले सामाजिक सदभाव खल्वल्याउँछ, जातीय द्वन्द्व बढाउँछ जस्तो तुच्छ सोच राख्न हुँदैन । आजको विश्व प्रतिस्पर्धामा मनुवादको ऐजेरु बोकेर हिदुत्व टिक्न र फैलिन सक्दैन ।

हिन्दुत्व र राजतन्त्र
कतिपय मान्छे हिन्दुत्वको राजनीतिसँग राजतन्त्र ‘चेन भ्यालु’ का रुपमा स्वस्फूर्त जोडिएर आउने धारणा राख्दछन् । तर, हिन्दुत्व र राजतन्त्र बिल्कुलै फरक कुरा हुन् । हिन्दूका त्रिदेव शिव, विष्णु र ब्रह्मजी कुनै राज्यका राजा थिएनन् । शिवको कैलास, विष्णुको बैकुन्ठ, ब्रह्माजीको ब्रह्मलोक उनीहरुका बासस्थान थिए, राज्य हैन ।
भगवानका १० अवतार मानिएका मत्स्य, कुर्म, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की मध्ये एक ‘राम’ मात्र राजा थिए । बुद्ध राजकुमार थिए तर त्याग गरे । मत्स्य राजा थिएनन् । कुर्म राजा थिएनन् । बराह राजा थिएनन् । नरसिंह राजा थिएनन् । बामन राजा थिएनन् । परशुराम राजा थिएनन् ।

अझ रोचक कुरा कृष्ण त स्वयं राजाहरुको बध गर्थे । तर आफू राजा हुँदैनथे । कंश राजा थियो, शिशुपाल राजा थियो, त्यस्ता थुप्रै राजाहरु कृष्णले मारे । जरासन्ध, जयद्रथ आदि थुप्रै राजा मराए, तर राज्य आफूले लिएनन् । कंश बधपछि बलरामलाई राज्य दिए । महाभारत युद्धको अन्त्यपछि युधिष्ठिरले ‘हस्तिानपुरको गादी हाजिर छ’ भनेका थिए तर कृष्णले लिएनन् । कृष्णलाई आदर्श र गीतालाई आधार मान्ने हो भने हिन्दुत्वले दुष्ट राजाहरुको बध गर्नेसम्म अनुमति दिन्छ ।

प्रविधिको विकास र निर्वाचन असंभव भएको युगमा राजतन्त्र एक बाध्यकारी राजनीतिक प्रणाली थियो । हिन्दुत्वसंग त्यसको कुनै सम्बन्ध छैन । वास्तविक हिन्दूहरु राजतन्त्रवादी हुन सक्दैनन् । मनुवादीहरु मात्र राजतन्त्रवादी हुने हुन् ।

हिन्दुत्व र हिंसा
नेपालको क्रान्तिकारी आन्दोलनलाई बदनाम गर्न यदाकदा हिन्दुत्व र हिंसालाई जोड्ने दुस्प्रयास गरिन्छ, यो उत्तिकै बेतुक कुरा हो । हिन्दुत्वमा हिंसावादी वा अहिंसावादी भन्ने कुनै मानक वर्गिकरण छैन । बरु त्यो बुद्धिज्ममा छ, गान्धीज्ममा छ । महाभारत स्वयं युद्धको कथा हो । हिंसाको कथा हो । रामायण युद्धको कथा हो । हिंसाको कथा हो । देवीले महिषासुर लगायतका दानवलाई मारेका कथा युद्धका कथा हुन्, हिंसाका कथा हुन् । फेरि ती ग्रन्थ र कथाहरु कसरी पवित्र भए, जो हिंसा र युद्धको गाथामा बनेका छन् ?

यसको अर्थ हो कि हिन्दुत्वले न्याय र अन्याय भनेर हेर्छ । ठीक र बेठीक भनेर हेर्छ । ‘बहुजन हिताय’ र ‘दुष्टजन हिताय’ भनेर हेर्छ । सत्य र असत्य भनेर हेर्छ । हिंसा र अहिंसा भनेर हेर्दैन । न्यायका लागि भएको हिंसा हिंसा भएर पनि अहिंसा हो । अन्यायका लागि भएको अहिंसा अहिंसा भएर पनि हिंसा हो । हिन्दुत्वको नीतिशास्त्रमा न्याय र सत्य महत्वपूर्ण छ, हिंसा वा अहिंसा हैन ।

अन्त्यमा
नेपालमा सामाजिक कुरुती, कुप्रथा र बेथितिहरुलाई कन्जर्भेटिभ र नव-कन्जर्भेटिभहरुले धर्म, हिन्दुत्वको राजनीति र सामाजिक सद्भावको नक्कली आवरणमा जोगाउने प्रयास गरिरहेका छन् । ‘छोरीलाई बराबरी अधिकारको कुरा नसिकाउन’ धम्की दिने भएका छन् यिनीहरु । सके यिनीहरुले ‘छाउपठी’ पनि जोगाउँछन् र ‘सती प्रथा’ फिर्ता ल्याउन बेर लगाउँदैनन् ।

राजनीति भनेको सामाजिक, आर्थिक, सांस्कृतिक र प्रशासनिक समस्याको समष्टिगत समाधान हो । सामाजिक–संस्कृतिक बेथिती र कुप्रथाबारे राजनीति गर्नेले बोल्नु हुँदैन भन्ने हो भने त्यो ‘पपुलिज्म’ हुन्छ, ‘मिसन पोलिटिक्स’ हुँदैन । सच्चा अग्रगामी, प्रगतिशील र समाजवादीहरु त्यस्तो भ्रममा पर्नु हुँदैन । हिन्दुत्वको गौरव र सारसत्वलाई हामी जोगाउँन चाहन्छौं भने मनुवाद, जातीय विभेद, छुवाछुतलाई हटाउनै पर्छ, त्यसका लागि धर्मसुधार गर्न पछि पर्नु हुँदैन ।

बिट मार्दामार्दै एक वाक्य निजी आत्मस्वीकारोक्ति– ‘हो, म हिन्दू हुँ, हिन्दुत्वमा त्यति नै गौरव गर्छु, जति अरु धर्मालम्बी आफ्नो धर्ममा गर्छन्, न थोरै न ज्यादा । तर ‘हिन्दुत्वको राजनीति’ एक सच्चा हिन्दूका लागि लज्जाको बिषय हो भन्ने पनि उत्तिकै बुझ्छु ।’

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage