कांग्रेसको अवरोधका कारण संसद बैठक सोमबारसम्मका लागि स्थगित
काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लगातार अवरोध गरेपछि प्रतिनिभिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
नेपाली कांग्रेसले आइतबार दोस्रो पटक बसेको प्रतिनिधिसभाको बैठक समेत अवरुद्ध गरेसँगै संसद बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
कांग्रेसले बाँकेमा बिहीबार पार्टी जिल्ला सभापति किरण कोइरालामाथि भएको घटनालाई लिएर सदन अवरोध गरेको थियो ।
आज १ बजे बसेको बैठकमा बाँके घटनाबारे गृहमन्त्री रामबहादुर थापाले जवाफ दिएका थिए । गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसले बाँकेमा आफ्ना कार्यकर्तामाथि भएको सांघातिक हमलालाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो । बाँके घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझ्दो भएको भन्दै संसद अवरुद्ध गरेको कांग्रेसको भनाइ छ ।
आइतबार गृहमन्त्री थापाले संसदमा बोल्दै बाँकै घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
कांग्रेसको अवरोधका कारण सभामुख कृष्णबहादुर महराले सहमतिका लागि भन्दै पहिलो बै७क १० मिनेटलाई स्थगित गरेका थिए । झन्डै डेढ घण्टापछि बसेको दोस्रो बैठकमा समेत कांग्रेसले अवरोध कायम गरेपछि सभामुख महराले बैठक भोलि दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।