scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

ऐना अगाडि उभिएर आफैलाई भन्छु– ‘तँ त्यही मदने होस् ?’

मदन राई

खोटाङको रतन्छा गाउँमा जन्मेँ कर्मकुमार र स्वस्तिमाया राईको जेठो सन्तान भएर । २००६ साल साउन ४ गते जन्मेको हुँ । बुबा २००७ सालको क्रान्तिमा नेपाली कांग्रेसले गठन गरेको जनमुक्ति सेनाको लडाकु । क्रान्तिको सफलतापछि काठमाडौं जानुछ । त्यतिखेर डेढ बर्षको थिएँ रे म । म १२ वर्षको हुँदा एकपल्ट घर आउनु भयो । पुलिसको हाकिम भएर । जनमुक्ति सेनालाई नेपाल प्रहरी बनाइएछ । यता म बाजेको छत्रछायामा हुर्केँ ।

भीरपाखा चहार्ने, गोठालो जाने गर्थेँ । गुलेली बोक्यो, चरा हान्न गयो । उड्दा उड्दैको चरा झार्थ्यौं । गाउँले दाई आसकुमार राई साथी हुन्थे । खोलामा माछा मार्थ्यौं । अन्नले वर्षभरि खान पुग्थेन । धानको भात त चाडपर्वमा मात्र हो । मकैको च्याँख्ला, ठेट्ना, ढिडो, खोलेफाँडो, फर्सी, सुठुनी, इस्कुसको जरा, तरुल, जंगली कन्दमुल खाएर गुजारा चलाउनु पर्थ्यो ।

हलो जोत्यो खायो माम

बाजे श्रीमर्द राई परम्परागत विचारको हुनुहुन्थ्यो । ‘पढो गुनो के काम हलो जोत्यो खायो माम’ यो उक्ति खुबै लोकप्रिय थियो । बाजे यस्तै विचारको मान्छे । काका ब्रिटिस लाहुरे । लाहुरेहरू ३/३ वर्षमा गाउँ आउँथे । काका छुट्टीमा आउँदा त क्या मज्जा हुने । खायो, पियो, मोज गर्‍यो । १ महिना मस्तराम । बिदा सकेर फर्किने बेला बेखर्चीजस्तो हुने ।

‘आयो लाहुरे बुट जुत्ता कसेर, गयो लाहुरे खरानी घसेर’ भन्ने उखान नै थियो ।

बाजेलाई ‘स्कुल जान्छु’ भनेर दङ्ग्याउन थाले । बाजे ‘मलाई कसले काम सघाउँछ’ भन्नुहुन्थ्यो । स्कुल जान मन लागेर खपिनसक्नु हुन्थेँ । रुन्थेँ । आमाको मन पग्लेछ । तर बाजे पग्लिनेवाला थिएनन् । आमाले बाजेसँग छुट्टिने निधो गर्नु भो । मानो छुट्याउनु पर्ने भयो । ठूलो घर झगडा भयो । बुबा काठमाण्डौंमा हुनुहुनथ्यो । कहिलेकाहिँ चिठ्ठी आउँथ्यो । बाजेसंग मानो छुट्याएर आमाले मलाई स्कुल पठाउन थालिन् । ९ वर्षको उमेरमा स्कुल जान थालेँ ।

पहिलो बर्ष कक्षा १ मरेर पास भएँ । २ देखि त फस्ट भइहालेँ । अनि कक्षा टपेर ४ वर्षमा ७ कक्षामा पुगेँ । १४ वर्षको उमेरमा माध्यमिक शिक्षा लिन भोजपुर जानुपर्ने भयो । फेरि बाजेसँग खर्च माग्नु पर्ने भो । बाजेले सर्त राख्नुभो । ‘पढ्न जान्छस् भने काम गर्न बुहारी बिहे गरेर जा ।’ बिहे गर्न कति मन थिएन । तर धर पाइनँ । १३ बर्षमा आफूभन्दा ३ वर्ष जेठीसँग बिहे भयो ।

जिउडाल छ, दिमाग बना

भोजपुर स्कुलमा गजेन्द्र सर म्याथ टिचर थिए । चश्मा लगाउने हुँदा विद्यार्थीले उनलाई ‘चारआँखे सर’ भन्थे ।

चारआँखे सरले सोधे, ‘ओई केटा, तँ त निक्कै डालिलो देखिन्छस् । भन् त यो के हो ?’ मैले कहिल्यै नदेखेको चिज थियो त्यो । भन्न सकिनँ । सबै गलल्ल हाँसे । अर्को सानो कदको साथीलाई सोधे । उसले ‘कम्पास’ भनिदियो । मैले ज्यामिति बक्स देखेको थिइनँ । कम्पास कसरी चिन्नु ? अनि चारआँखे सर भने, ‘देखिस् केटा डालले केही गर्दैन, दिमाग चाहिन्छ डाल त छ तँसंग अब दिमाग बना ।’

पराले ग्वालीमा डेरा बस्थ्यौं । जीतबहादुर राई साथी थियो । उसलाई पढाईमा खासै रुचि थिएन । संगतले म पनि उस्तै भए । खोटाङमा फस्ट भएर आएको, अर्धवार्षिक परीक्षामा नेपालीमा ५ आएछ । अरू सबै बिषयमा शून्य । त्यसपछि डेरा सरेर प्रेम दाईसँग गए । उनी अघिल्लो ब्याचका खोटाङ्गे विद्यार्थी थिए । प्रेम दाई भने खाना बनाउँदा पनि किताब पढ्ने । प्रेम दाईसँग बसेपछि पढ्नेतिर मन गयो । बार्षिक परीक्षामा ‘फियरली’ पास भए । केदार श्रेष्ठ सरले ‘यो मदनले त कति राम्रो गरेछ बधाइ छ है केटा !’ भन्दा कस्तो मज्जा भयो ।

रेडबुक छोएर सपथ

अलिअलि राजनीति बुझ्न थालेँ । २०१७ को ‘कू’ भरखरै भएको थियो । दलहरू प्रतिबन्धित थिए । भोजपुर राजनीतिक सचेत ठाउँ । चिनियाँ क्रान्तिको चर्को चर्चा हुन्थ्यो । साथीहरु माओका राता किताब लुकाइलुकाइ पढ्थे । नारदमणी थुलुङको घरमा १७ जनाको ग्रुप बनाएर रेडबुक पढ्थ्यौँ । मज्जा आउँथ्यो । अर्कातिर लाहुरेहरु ब्रुनाईको कथा हालेर ‘कम्युनिष्टहरू खराब हुन्छन्’ भन्थे ।

दोमन हुन्थ्यो । अन्ततः रेड बुकले जित्यो । ब्लेडले औला चिरेर रगतको थोपा रेड बुकमा खसाल्यौं र क्रान्ति गर्ने कसम खायौं ।

मण्डलेकी नेतृ, मेरी श्रीमती

२०२३ मा एसएलसी पास भए । सेकेन्ड डिभिजनमा । आइएस्सी पढ्ने रहर जाग्यो । बुवा जनकपुर थानामा इन्स्पेक्टर हुनुहुन्थ्यो । नभेटेको बर्षौं भएको थियो । बीरेन्द्रकेसरी पोख्रेल पञ्चायतको राजनीति गर्थे । हेलिकप्टर चडेर गाउँ जान्थे । मेरी श्रीमती त पोख्रेलको कार्यकर्ता भइछन् । पञ्चायतको महिला संगठनको सभापति भइछन् । कहिलेकाही रक्सी खान्थिन् । ‘बैठक छ’ भनेर हिड्थिन् । मैले पढेको उनलाई मन परेको थिएन । ‘तँ पढ्ने, म चाहिँ घरमा काम गर्ने, मैले पनि बुझेकी छुँ महिला अधिकार’ भन्दै मसंग निहुँ खोज्थिन् । मनमा चिसो पस्थ्यो ।

आमाले माडवारी बेचेर ४०५० रुपियाँ जुटाई दिनुभो । खाजा सामल बोकेर म बुबालाई भेट्न हिडेँ । धरान पुगे । जनकपुर कुन बाटो, कसरी जाने थाहा थिएन । बुबाको जागिर पुलिसमा भएकोले पुलिस जनकपुर पुग्न सहयोग गर्ला भनेर धरान थाना गए । एकजना प्रहरी सरुवा भएका रहेछन् । उनी जनकपुर सरुवा भएकाले उनैका साथ लागेर जान एक महिना धरानमै बस्नु पर्‍यो । म त्यहाँबाट वीरपुर हुँदै रेल चढेर जनकपुर पुगें ।

बुबाले नचिन्नु होला भन्ने डर थियो मनमा । चिन्नु भो । छक्क पर्नु भो । खुशी हुनु भो । बुबाको काठमाडौं सरुवा हुन लाग्या रहेछ । केही दिन जनकपुर बसेर काठमाडौं लाग्यौं । ज्ञानेश्वरमा बुबाले घर बनाउनु भएछ । थप दुईवटा विवाह गरिसक्नु भएको रहेछ । म त्रिचन्द्र भर्ना भएर पढ्न थालेँ । तर सौतेनी आमाहरुसंग मेरो पटरी खाएन । म धेर खाने मान्छे । उनीहरुका लागि भाते वा भतुवाजस्तो भएँ । बुबा ड्युटीमा गइहाल्नु हुन्थ्यो । सौतेनी आमाहरुसंग झगडा पर्दा भोकभोकै सुत्थेँ ।

स्वर्गजस्तो होस्टल

त्यतिखेर फ्रि सैनिक होस्टलको प्रचलन थियो । नारायण प्रसाद राईको सहयोगले फारम भरे । तीनवटा सीट थियो । म फ्रि होस्टलमा बस्न छानिएँ । होस्टेल त स्वर्ग जस्तो लाग्यो । मासुभात खान पाइने । भत्ता पाइने । भाँडाकुँडा, कोठा सबै गतिला । रमाइलो लाग्यो । कोठाका साथी थिए– भरत गुरुङ । पछि उनी नेपाली सेनामा कर्नेलसम्म भए । पञ्चायतको अन्त्यतिर विवादस्पद पनि बने ।

एकदिन भरतले ‘बिएस्सी एग्रीकल्चर पढ्ने हो भने छात्रवृत्तिको फारम खुलेको छ है’ भने । भारतको राजस्थान, हिसार र पञ्चनगरमा नेपाली विद्यार्थीहरुको लागि केही फ्री र केही सशुल्क कृषि पढ्न पाउने कोटा रहेछ ।

‘म त इन्जीनियर पढ्ने हो, भर्दिन एग्रीकल्चर’ भने । ‘म एक्लै भएँ भरौंन’ भनर कर गरे । उनैले फारम भरी दिए । शिक्षा मन्त्रालयमा अन्तरवार्ता भयो । मेरो नाम निस्क्यो, भरतको निस्केन ।

मोहर कि आठानी ?

२०२४ सालमा ४० जना विद्यार्थी भारत जान तयार भयौं । जीवनमा पहिलोपटक हवाईजहाज चडेर दिल्ली पुगियो । दिल्लीमा होस्टेल बसियो । त्यहाँ कमोटको ट्वाइलेट रहेछ । हामी कसैले त्यस्तो ट्वाइलेट देखेको थिएनौं । साथीहरुले बाहिरै दिसा गरेछन् । ठूलो होहल्ला भयो । दिल्लीबाट रेल चढेर राजस्थान जानु थियो । नाम बिर्सेँ । ध्वजु थरका नेवार साथी थिए । जुत्ता पोलिस गराएछन् । ध्वजु ‘मोहर’ दिन्छु भन्दा रैछन् । जुत्ता पालिसवाला ‘आठानी दो’ भन्दोरहेछ । फेरि झगडा पर्‍यो । झण्डैले रेल छुट्यो ।

राजस्थानमा भारु ३० ले महिनाभरि खान पुग्थ्यो । छात्रवृत्ति भत्ता मासिक ३०० थियो । पैसा छेलोखेलो भयो । युएस एडले चलाएको होस्टेल फ्रि । ५ वर्ष पढेको पढेकै मात्र । किताब मात्र पढियो । कृषि पढ्न गएको मान्छे, एक दिन माटो छुइएन । अहिले सम्झँदा तिनीहरूलाई श्राप दिउँ जस्तो लाग्छ । कृषिजस्तो विषयमा एकदिन माटो नछोई, खेत नदेखि, सैद्धान्तिक सिकाइमात्र सिकायो । पछि बिएस्सी पढेको मानिस फिल्डमा जाँदा त मकैको बोट हेरेर ‘ये क्या हे सर ?’ भन्छ ।

शोलेको सुटिङ

‘शोले’ त्यो जमानाको बहुत चर्चित फिल्म । शोलेको टिम सुटिङ गर्न राजस्थान आएको रहेछ । हुल बाँधेर सुटिङ हेर्न गइयो । धर्मेन्द्रको सिन सुटिङ हुँदै थियो । हेर्नेको भीड थियो । पहलमानजस्ता मान्छे भीडलाई परपर हटाउँदै थियो । नेपाली विद्यार्थीसँग ती पहलमानको फेरि झगडा पर्‍यो । रिसैरिसमा धमेन्द्रले ‘नेपाली भुसडी’ भनेर गाली गर्दिएछ । त्यसपछि त झन बबाल ।

यो खबर नेपाल पुग्यो । नेपालमा धर्मेन्द्रको फिल्म बहिष्कार भयो । पछि धर्मेन्द्रले सार्वजनिक रुपमा नै माफी मागे । घटना सामसुम भयो ।

बिएस्सी सकेर बालुवा चालेँ

५ बर्ष पढेर काठमाण्डौं फर्किए । जागिर पाईएन । खर्च धान्न त्यो बेला खेत खन्ने, बालुवा चाल्ने काम गरेँ । बालुवा चाल्दा दिनको पाँच रुपैयाँ दिने चलन थियो । दुई रुपैयाँमा २० ओटा मम पाइन्थ्यो । दिनभरि बालुवा चालेर ५ रुपैयाँ कमायो, बेलुका २० ओटा मम खाएर सुत्यो ।
काठमाडौंमा कृषि खरिद बिक्री संस्थान थियो । २०२९ सालमा त्यहीबाट सरकारी जागीर शुरु गरेँ । विराटनगर सरुवा भएँ । मोटर साइकल किनेँ । सारा पुर्वी तराई त्यसैमा घुमेँ । इटहरीमा त महेश्वर सुब्बाको एउटा मात्र घर थियो । डेढ बर्ष विराटनगर बसेर २०३० सालमा मुस्ताङ गएँ ।

ऐश्वर्या भन्थिन्- ‘मिस्टर हेन्डसम’

५ वर्षमा एकदिन बिदा नलिई मुस्ताङमा कृषि र पर्यटनको काम गरेँ । त्यहाँ अहिले भएका स्याउका बोटमा ८० प्रतिशत मेरै पालामा रोपाएको हुँ । मार्फाली स्याउको प्रवर्द्धनमा ठूलो मेहनत गरेँ ।

राजा वीरेन्द्र स्याउको रक्सीका सोखिन थिए । मुस्ताङ आइरहन्थे । रानी ऐश्वर्य पनि हुन्थिन् । राजारानी आउने भएपछि क्याम्प लाग्थ्यो । अस्थायी ट्वाइलेट हुन्थ्यो । राजारानी भनेको देवता हुन्, जैविक हिसाबले नै फरक हुन्छन् भन्ने रहस्यमय कुरा हुन्थे जनतामा । मलाई पनि त्यो भ्रम परेको रहेछ ।

तर त्यस्तो त केही होइन रहेछ । राजा पनि उस्तै खाँदोरहेछ । उस्तै गुमूत गर्दोरहेछ । यो हल्ला र भ्रम त शक्तिको खेल मात्र रहेछ भनेर बुझेँ । स्याउको रक्सीको चुस्की लिन थालेपनि वीरेन्द्रको सबै गफ बन्द हुन्थ्यो । उनी अरुको कुरा सुन्दै मुसुमुसु हाँस्थे मात्र । रानी ऐश्वर्य मलाई जिस्काउँदा– ‘मिस्टर राई, क्या हेन्डसम मान्छे’ भन्थिन् । २०३५ सालमा काठमाडौं सरुवा भयो । सँगै मास्टर्स डिग्रीका लागि बेलायत जाने मौका मिल्यो ।

बेलायत गएपछि त मेरो आँखा खुल्यो । त्यहाँको शिक्षा सबै प्रयोगमा आधारित रहेछ । व्यवहारिक हुँदोरहेछ । हाम्रो त घोकन्ते मात्र । करिब २ वर्ष बेलायत पढेर नेपाल फर्किएँ । नेपालमा अब व्यवहारिक कृषिकार्यमा योगदान गर्छु भन्ने मन बनाएँ । फेरि मुस्ताङ गएँ । ६ बर्षसम्म स्याउ खेतीको विस्तार गरे । मुस्ताङमै व्यवसायिक तरकारी खेती शुरु गराएँ । २०४४ सालमा युएनओको जागिर पाएँ ।

नेरेरेको आँशु

पहिलो पोस्टिङ अफगानिस्तान भयो । बङ्गालादेश पठायो । त्यसपछि तान्जानिया गएँ ।

तान्जानियामा जुलियस नेरेरेको एकदलीय कम्युनिष्ट शासन भर्खरै पतन भएको थियो । नेरेर शासनकालमा सोभियत संघको सहयोगमा कृषि कम्युन बनेका रहेनछन् । तिनीहरुलाई रिफर्म गर्नु हाम्रो टिमको मुख्य काम थियो । त्यहाँ म ६ बर्ष बसेँ ।

नेरेरे भन्दा अघि त्यहाँ ब्रिटिशका उपनिवेशिक शासन थियो । ब्रिटिश शासनमा निजी सम्पत्ति, निजी घर सबै थियो । नेरेरे सत्तामा आएपछि उनले निजीधन उन्मुलन अभियान चलाए । त्यहाँको भाषामा ‘निम्बा’ भनेको घर । ‘सिरिका’ भनेको सरकारी । ‘सिरिका निम्बा’ भन्दथे । शहरका सबै घर सरकारले राष्ट्रियकरण गरेको थियो । परिवार संख्या हेरी कोठा बाँडिएका थिए । ठूलो परिवारलाइ दुईदेखि चार कोठासम्म दिएका थिए । सानो परिवारलाई एक वा दुई कोठा दिइएको थियो ।

जग्गा सबै सामूहिक बनाइएको थियो । सामूहिक खेतीका लागि गाउँगाउँमा किसानका युनिट गठन गरियो । पहिलेका गरिब वा धनी सबैले सामूहिक खेतमा काम गर्नुपर्ने भयो । केही जग्गावाला सामन्तहरू भागिसकेका थिए । पहिलो बर्ष त जनता खुशी भए । सबै सम्पति हामी सबैको साझा भयो भनेर सुरुका वर्षहरूमा खुसी मनाइयो । बाजागाजा बजाएर ठूलो उत्सवै मनाईयो । सबैले बस्ने घर पायो, काम गर्ने जग्गा पायो । ओहो क्या मज्जा भन्दै रमाएर काम गरे । धेरै खुशी र उत्सवका गीत सिर्जना भए । नाँचगान भयो ।

तर दोस्रो बालीबाट खेतमा काम गर्ने भने पछि आलटाल हुन थाल्यो । बाठाटाठा भनाउँदाहरू कसैले पहिले काम नगरेको देखियो । अनि आलटाल गर्ने, काम ठग्ने वा बहाना बनाएर काम छल्ने प्रवृत्ति विकास भइहाल्यो । चुरोट खाने बहाना, ट्वाइलेट जाने बहाना, इत्यादि बहाना नै बहाना ।

कसैले २० रोपनी खन्ने कसैले २ रोपनी मात्र खन्ने । अनि फेरि ‘सक्ने जति गर चाहिने जति लेउ’ भन्ने नीति छ । अर्थात् २ रोपनी खन्ने र २० रोपनी खन्नेले साँझमा सरकारबाट उतिनै सुबिधा पाउँछ । यहिँबाट विभेद देखा पर्न थाल्यो । काम गर्नेलाई प्रोत्साहन भएन । फलतः काममा निराशा देखा पर्न थाल्यो ।

तर अर्कोतिर काम नगर्नेलाई जेल चलान गर्ने कडा कानुनको पनि व्यवस्था थियो । अब मानिस एकआपसमा कस्ले थोरै काम गर्‍यो भनेर पोलापोल शुरु भयो । रिसारिस शुरु भयो । हुँदाहुँदा एक दुई गर्दै मानिस त सबै जेलमा पो पुग्न थाले । जेल खचाखच भए । खेतमा काम गर्ने भन्दा जेलमा बढी मानिस ।

शरहका ठूला होटेल सरकारीकरण गरिएका थिए । पार्टीका ठूला कमाण्डर र नेताहरु गएर आराम गर्ने । त्यस बापत कमाण्डरहरुले पैसा तिर्न नपर्ने । होटलमा गेस्ट आउन पर्दैन । टुरिस्ट सुरिष्ट चाहिँदैन । स्वाहा भए । पसलहरूमा पनि उस्तै । सबै पसलमा सरकारी कर्मचारी हुने । पिठो, रासन आदि सरकारी कर्मचारीले बाँड्ने । जनताले पैसा तिर्न नपर्ने । सरकारी नियम अनुसार सबैलाई बराबरी वितरण गरिने । शुरुमा त सबैलाई बराबरी नै भयो । तर दोस्रो बर्षतिरबाट सामान बाँड्ने सरकारी कर्मचारीले विभेद गर्न थाले । आफ्ना मान्छेलाई अलिक धेरै दिने । लुकाएर भए पनि । तर मन नपरेका मानिसलाई छैन, पुगेन भनिदिने ।

यसरी वितरण प्रणालीमा विभेद शुरु भयो । यसरी नेरेरेको कम्युन शासन असफल भयो ।

विचरा नेरेरे ! व्यक्तिगत रुपमा असल मानिस थिए । राजनीतिमा आउनु अघि गाउँको प्राथमिक विद्यालयका टिचर थिए । सामान्य कम्युनिष्ट समर्थक थिए । तर बेलायतमा पढेका विद्वान व्यक्तित्व थिए । सोभियत प्रभुत्वपछि उनी सत्तामा आए । तर रुँदै सत्ता छोडे ।
‘के सोचेको थिए, के भयो, मलाई मातृभूमिको पाप नलागोस्’ भन्दै पश्चाताप गर्दै सत्ता छोडे । नेरेरेको आँशुमा मैले साम्यवादको दुर्दशा देखेँ । कुनै समय माओको रेडबुक छोएर शपथ खाएको म नेरेरको आँसुले द्रविभूत भए । मलाई साम्यवाद ठीक हैन रहेछ भन्ने गहिरो अनुभूति तान्जनिया पुगेर भयो ।

त्यहाँ पुग्दा नेरेरेले सत्ता छोडिसकेका थिए । तर एकदलीय शासन भने कायम थियो । सबै पसल खाली थिए । सरकारले बाँडेका सबै घर ध्वाँसे थिए । सारा सामूहिक खेत बाँझा थिए । त्यसपछि फेरि सरकारी घर जग्गा व्यक्तिलाई बाँड्ने क्रम शुरु भयो ।

जनतालाई त्यो घर तिम्रो भयो, त्यो खेत तिम्रो भयो, भनिदिए पछि त फेरी सबै खुसी । फेरि सबै जाँगरका साथ काम गर्ने भए । एक महिनाभित्रै ध्वाँसे घरहरु झलमल भए । सरकारले केही भन्नै परेन । आफ्नो घर भनेपछि आफैं रंगरोगन गरी हाले ।

गिरिजाको नजिक

तान्जानियाबाट ५० सालमा फर्किए । मलाई आफ्नो पार्टीमा भित्र्याउन नेकपा (एमाले) का साथीहरूले निकै प्रयास गरे । केही नेता घरै आए । म भर्खरै आफ्नै आँखाले कम्युनिष्ट शासनले निम्त्याउने दुर्दशा देखेर आएको मान्छे ।

मैले भने, ‘तपाईहरुसँग ठूलो संगठन छ । कार्यकर्ता छन् । जनमत छ । पार्टीको नाम र सिद्धान्त बदलौं । अबको दुनियाँमा कम्युनिष्ट चल्दैन । कम्युनिष्ट भने पनि व्यवहारमा कम्युनिष्ट भइरहन सक्नु हुन्न । अलिक प्रगतिशील लोकतान्त्रिक पार्टी बनाऊँ, त्यसो गर्नु हुन्छ भने आउँछु ।’
त्यतिखेर अशोक राई मसँग रिसाउनु भो, ‘तपाईं राजनीति गर्ने मान्छे नै होइन । तपाईं कर्मचारी हो । तपाईंले राजनीति नै बुझ्नु हुन्न ।’ अहिले सम्झिँदा मैले ठीक भनेको रहेछु ।

त्यसपछि नेपाली कांग्रेसको नजिक भएँ । गिरिजाबाबु प्रधानमन्त्री थिए । गोपाल राई, नारायणसिंह पुन र मलाई बोलाईरहन्थेँ । ‘जनजाति क्षेत्रमा तपाईहरु नै मेरो हस्तीहरु हो,’ भन्थेँ । हरेक दिनजसो ३/४ बजे बोलाएर केही न केही निर्देशन गर्थेँ । यो गर्नु पर्‍यो, त्यो गर्नु पर्‍यो । अधिकांश कुरा गुटस्वार्थसँग जोडिएको हुन्थ्यो ।

गिरिजाबाबुसँग म छिट्टै निराश भएँ । मेरो विचारमा उनको शासन राजाको भन्दा खराब थियो । गुटस्वार्थ बाहेक केहीको मतलब थिएन । पार्टीभित्र किसुनजी र गणेशमान समर्थकलाई कसरी तह लगाउने, चुनाव लड्ने, पैसाको जोहो कसरी गर्ने बाहेक अरु कुनै कुरामा गिरिजाबाबुको रुचि देखिनँ ।

२०५६ सालको संसदीय चुनावमा मैले काँग्रेसको विद्रोही जस्तो भएर स्वतन्त्र उमेद्वारी दिएँ । खोटाङ–२ मा । जम्मा ४० दिनको मेहनत थियो । ७ हजार भोट आयो । झण्डै जितियो । कांग्रेस र गिरिजाबाबुसंगको सम्बन्ध त्यसपछि समाप्तजस्तै भयो ।

शुभम स्कुल

अब मलाई ‘हाम्रो शिक्षा नै गलत भयो’ भन्ने लाग्न थाल्यो । देश नबन्नुको मुख्य दोष राजनीति र शिक्षाको प्रणाली हो भन्ने लाग्यो । शिक्षा काममुखी, जीवनमुखी, उत्पादनमुखी हुनुपर्ने, जागिर, चाकरी र षडयन्त्रमुखी भयो । शिक्षामा जे सिके, राजनीतिमा त्यही गरे । राजनीतिमा पनि चाकरी र षडयन्त्रबाहेक केही देखिनँ ।

त्यसपछि म वैकल्पिक शिक्षा र वैकल्पिक राजनीतिको स्वघोषित अभियन्ता भए । वैकल्पिक शिक्षा व्यवहारिक रुपमा सम्भव छ भन्ने देखाउन दिक्तेलमा शुभम स्कुल शुरुवात गरे । वैकल्पिक राजनीतिका लागि नयाँ शक्ति बनाउन सकेको दुःख र योगदान गरे । यी दुवै क्षेत्रमा अहिले नै सन्तोषजनक परिणाम आइसकेको छैन । तर भविष्यको बाटो यही हो भन्ने कुरामा ढुक्क छु । वैकल्पिक शिक्षा र वैकल्पिक राजनीति बिना नेपाल बन्ने वाला छैन ।

प्रकृतिवाद

दार्शनिक हिसाबले म प्रकृतिवादी मान्छे हुँ । काँग्रेस व्यासवादी हो । कम्युनिष्ट मार्क्सवादी भए । राजावादी मनुवादी हुन् । व्यासवाद, मार्क्सवाद र मनुवादले नेपाल बन्ने वाला छैन । यी आदर्श हैनन्, समस्या हुन् । हो, समाजवादसम्म ठीकै छ । तर, समाजवादको पनि पुरानो परिभाषा बदल्नु पर्छ । पुरानै समाजवादको कुरा हो भने समाजवादको पनि काम छैन ।

प्रकृतिवादको एउटा पाटो– विज्ञानवाद, प्रविधिवाद र बजारवाद हो । अर्को पाटो– व्यक्तिवाद, करवाद र दानवाद हो । सृष्टिमा पञ्चतत्वको सन्तुलन भएजस्तो समाजमा यी चीजको गतिशील सन्तुलन हुनु पर्दछ । अनि मात्र देश बन्छ ।

आवधिक निर्वाचन हुने लोकतान्त्रिक शासन अनिवार्य हुनुपर्छ । तर संसदीय व्यवस्था पटक्कै ठीक छैन । प्रत्यक्ष निर्वाचन चाहिन्छ । विकास र समृद्धिको समस्या भनेको विज्ञान, प्रविधि र बजारको समस्या हो । सुशासनको समस्या भनेको व्यक्तिगत सम्पति, कर र दानको समस्या हो । यसमा समावेशिता मिसाउँ । शक्ति निक्षेपणको समस्या हल गर्न संघीयतालाई थपिहालियो । यति हो– आजको समाजवाद भनेको । समाजवादको अरु शास्त्रीय सिद्धान्त खोजी हिड्न जरुरी नै छैन ।

तर, यी सबै काम पुराना शक्तिले गर्न सक्ने छाँटकाँट देखिँदैन । त्यसैले नेपालमा नयाँ राजनीतिक शक्ति चाहिन्छ । व्यासवादी, मार्क्सवादी र मनुवादीबाट देश चल्दैन । झनझन बर्बाद हुने निश्चित छ । यो कुरा मैले कुनै पार्टी, नेता वा सिद्धान्तको रिसले, पूर्वाग्रह राखेर भनेको हैन । मेरो जीवनको अनुभव भनेको हुँ । हृदयमा गहिरो गरी गढेको सत्य ओकलेको मात्र हुँ ।

अब मेरो काम आफ्ना जीवनका अनुभव साट्नु हो । मान्छेलाई सुशासन, विकास र समृद्धिको रहस्य बुझ्न प्रेरित गर्नु हो । तर मान्छेको जात आफै नपरी अरुको भनाईबाट, अर्ती उपदेशबाट सिक्ने जात हैन । हेर्दै जानु होला– कामरेडहरुले यो देशलाई अझ बर्बाद र तन्नतटाट बनाउँछन् । अनि मात्र भोटरले कुरा बुझ्छन् ।

अन्त्यमा,

मसंग केही बुझाई, अनुभव र योजना छन्, देश बनाउने । तर भएर के गर्नु ? मान्छेले पत्याउने हैनन् । एक्लै गर्न सक्दिनँ । अर्गानिक कृषि देश बनाएर पर्यटनसँग जोड्न पाए मात्र कत्रो फाइदा हुन्थ्यो । हरेक कृषि र पर्यटनमन्त्रीलाई आफैँ गएर भन्ने गरेको छु । सुन्छन् मात्र, बुझ्दैनन् ।

व्यक्तिगत जीवनमा कुनै आकांक्षा बाँकी छैन । संसारमा एउटा मान्छेले जेजे भोग गर्न पाउने हो सबै भोगीसकेँ । कहिलेकाँही ऐना अगाडि उभिएर आफैलाई नियालेर हेर्छु । भन्छु– ‘तँ त्यही मदने होस् ।’ रतन्छा गाउँमा ९ बर्षमा स्कुल जान थालेको मदने । आफ्नो जीवनको आरोहअवरोहदेखि आफैंलाई ताज्जुब लाग्छ ।

कुराकानीमा आधारित 

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage