scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

संसारकै सबैभन्दा ठूलो दल बिजेपीका ७ मोड, ७ आइकन

साझापोष्ट न्यूजब्यूरो/काठमाडौं, १ असोज । भारतीय जनता पार्टी (बिजेपी) भारतको सत्तारुढ पार्टी मात्र हैन, संसारकै सबैभन्दा ठूलो राजनीतिक दल हो । भारतको कुल जनसंख्या १४० करोडको करिब ११% र मतदाता ९० करोडको करिब १७ % अर्थात् १५ करोड बिजेपीका प्रारम्भिक पार्टी सदस्य छन् । चीनमा एकछत्र राज गरिरहेको चिनियाँ कम्युनिष्ट पार्टीको ९ करोड मात्र सदस्यता छ भने भारतीय राष्ट्रिय कांग्रेसको २ करोड पार्टी सदस्य छन् ।

स्न १९८० अप्रिल ६ मा बिजेपी विधिवत् गठन भएको थियो । तर, यसको मातृसंगठन र पूर्ववर्ती संगठनको इतिहास भने निक्कै लामो छ । बिजेपीको मातृसंगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) हो । बिजेपी आरएसएसको राजनीतिक सह–उत्पादन हो । आरएसएसको गठन सन् १९२५ मा नागपुरमा भएको थियो । त्यसलाई बिजेपीको प्रारम्भविन्दू मान्ने हो भने यसको इतिहास ९५ वर्ष लामो हुन्छ ।

आरएसएस भारतमा हिन्दू राज्य र सम्पूर्ण दक्षिण एसियामा बृहत्त हिन्दू साम्राज्य स्थापना हुनु पर्ने धारणा राख्ने संगठन हो । आरएसएसका मुख्य सिद्धान्तकार तथा दोस्रो अध्यक्ष माधव सदाशिव गोल्वाल्कर त्यो उद्देश्य पूर्तीका लागि राजनीतिक संगठन आवश्यक पर्ने धारणा राख्दथे । सन् १९५१ मा काश्मिर मुद्दामा नेहरुसँग मतभेद भई पार्टी परित्याग गरेका कांग्रेस नेता श्यामप्रसाद मुखर्जीलाई गोल्वाल्करले यस कार्यका लागि प्रेरित गरे । मुखर्जीको नेतृत्वमा ‘अखिल भारतीय जन संघ’ नामको राजनीतिक संगठन स्थापना भयो ।

‘अखिल भारतीय जन संघ’ ले सन् १९५१ को आम निर्वाचनमा ३, सन् १९५७ मा ४, सन् १९६२ मा १४, सन् १९६७ मा ३५ र सन् १९७१ मा २२ सीट जितेको थियो । सन् १९७५ मा इन्दिरा गान्धीले आपतकाल लागू गरिन् । सन् १९७७ मा अधिकांश गैरकांग्रेस पार्टीहरु जनता पार्टीमा एकीकृत भए । ‘जन संघ’ जनता पार्टीभित्र पनि बलियो धार थियो । सन् १९७७ को आम निर्वाचनमा ९४ जनसंघीहरुले जनता पार्टीबाट जितेका थिए ।

जनता पार्टीले भारतको इतिहासमा पहिलो गैरकांग्रेस सरकार बनायो । जनसंघी नेता अटलबिहारी बाजपेयी मुरारजी देसाई नेतृत्वको सरकारमा विदेश मन्त्री बने । तर, यो सरकार र पार्टी लामो टिकेन । सन् १९८० मा जनता पार्टीभित्रको जनसंघी धारले अटल बिहारीको नेतृत्वमा भारतीय जनता पार्टी (बिजेपी) गठन गर्‍यो ।

सन् १९८४ को आम निर्वाचनमा यो दलले २ सीट मात्र जितेको थियो । पार्टी गठनपछिको सन् १९८९ को आम निर्वाचनमा ८५ सीट र ११.३६% भोट प्राप्त गर्‍यो । सन् २०१४ को १६औं लोकसभा निर्वाचनमा यो पार्टीले एकल बहुमत हासिल गर्‍यो भने सन् २०१९ निर्वाचनमा ३०३ सीट ३७.३६% मत हासिल गरेको छ । यसका नेता नरेन्द्र मोदी दोस्रो कार्यकाल प्रधानमन्त्री चलाइरहेका छन् । मोदी बिजेपीबाट प्रधानमन्त्री हुने दोस्रो व्यक्ति हुन् । यसअघि नै गठबन्धन सरकारको नेतृत्व गर्दै अटलबिहारी बाजपेयी प्रधानमन्त्री भइरहेका थिए ।

बिजेपी उदयको यो समग्र इतिहासलाई मुख्य ७ मोडमा व्याख्या गर्न सकिन्छ । प्रत्येक मोडमा एक विशिष्ट व्यक्तित्व नेतृत्वमा उदित भएको देखिन्छ ।

१. केशव बलिराम हेडगेवार

हेड्गेवार महाराष्ट्र नागपुर निवासी थिए । पेशाले उनी मेडिकल डाक्टर थिए । प्रारम्भमा भारतीय राष्ट्रिय कांग्रेसका सदस्य रहेका हेड्गेवार सन् १९२३ को हिन्दु–मुस्लिम दंगाबाट प्रभावित भए । उनलाई भारतमा हिन्दुत्व संकटमा छ भन्ने अनुभूति भयो । दंगा प्रभावित हिन्दूहरुलाई सहयोग र हिन्दुत्वको रक्षा गर्ने उद्देश्यले प्रेरित भएर हेड्गेवारले राष्ट्रिय स्वयंसेवक संघ गठन गरे । संघीहरु उनलाई सम्मान गर्न ‘डाक्टरजी’ भनेर सम्बोधन गर्दछन् ।

२. माधव सदाशिव गोल्वालकर

गोल्वाल्कर हेड्गेवारपछि आरएसएसका दोस्रा प्रमुख थिए । उनी पनि मराठी बाहुन थिए । नागपुर नजिकको एक गाउँमा उनको जन्म भएको थियो । हेड्गेवारले बनाएको संगठनलाई यिनले विचार र सिद्धान्त दिए । गोल्वाल्करले दुईवटा पुस्तक लेखेका छन्– विचार पुञ्ज र हामी र हाम्रो राष्ट्रियताको परिभाषा । उनको पुस्तकमा हिन्दुत्वको गहिरो दार्शनिक विवेचना गरिएको छ । उनले ‘क्रिश्चियन, कम्युनिष्ट र मुस्लिम’लाई भारतीय राष्ट्रियताका दुश्मनको रुपमा चित्रण गरेका छन् । उनी दृढ इच्छाशक्ति र तीब्र बौद्धिकता भएका दक्षिणपन्थी विचारक थिए । भारतीय इतिहासकार रामचन्द्र गुहाले उनलाई ‘घृणा दर्शनका महागुरु’ भनेका छन् । संघीहरु उनलाई ‘गुरुजी’ भनेर सम्झिने र सम्मान गर्ने गर्दछन् । कतिपयले उनलाई ‘आधुनिक शंकराचार्य’ भन्ने गर्दछन् ।

३. श्यामप्रसाद मुखर्जी

श्यामप्रसाद मुखर्जी कलकत्तामा जन्मिएका बंगाली हिन्दू थिए । उनी स्वतन्त्रता सेनानी तथा भारतीय राष्ट्रिय कांग्रेसमा नेता थिए । स्वतन्त्रतापछिको नेहरु नतृत्वको सरकारमा उनी उद्योग तथा आपूर्ती मन्त्री थिए । कश्मिर मुद्दामा उनको नेहरुसँग मतभेद भयो । उनी जम्मुकश्मिरलाई ‘विषेश स्वायत्त अधिकारसहितको प्रदेश’ को मान्यता दिनु नहुने पक्षमा थिए । उनले कांग्रेस परित्याग गरी गोल्वारलकरसंग भेटघाट गरे । गोल्वाल्कर आफू सिधै राजनीतिमा आउन चाहँदैनथे तर हिन्दुत्वको मुद्दा बोक्ने राजनीतिक संगठन बन्नुपर्छ भन्ने उनको भित्री ठहर थियो । मुखर्जीलाई अखिल भारतीय जनसंघ खोल्न गोल्वाल्करले मद्दत गरे ।

सन् १९५१ अक्टोबर २५ मा दिल्लीमा मुखर्जीको नेतृत्वमा जनसंघ गठन भयो । उनी कश्मिर प्रजा परिषदले आयोजना गरेको एक र्‍यालीलाई सम्बोधन गर्न गएको बेला श्रीनगरमा पक्राउ परे । सन् १९५३ मा उनको श्रीनगर कस्टडीमा मृत्यु भयो । उनको मृत्यु भारतभरी विवादास्पद बन्न पुग्यो । नेहरुको स्पष्टिकरण अनुसार उनलाई पुलिस कस्टडीमा हृदयघात भएको थियो ।

४. दिनदयाल उपाध्याय

हेड्गेवारले आरएसएस गठन गरे । गोल्वाल्करले त्यसको सिद्धान्त बनाएर संगठन बिस्तार गरेजस्तै मुखर्जीको नेतृत्वमा त्यसको राजनीतिक संगठन बन्यो । दिनदयालले राजनीतिक संगठनको सिद्धन्त र स्कुलिङ निर्माणमा ठूलो योगदान गरे ।

उपाध्याय उत्तर प्रदेशको मथुरामा जन्मेका थिए । उनी सन् १९६७ मा अखिल भारतीय जनसंघको अध्यक्ष भए । उनले जनसंघको ‘अविभाज्य मानवतावाद’ को राजनीतिक सिद्धान्त बनाए । यसलाई जनसंघले आफ्नो राजनीतिक सिद्धान्तका रुपमा औपचारिक राजनीतिक मान्यता दियो । उनले पुँजीवाद, उदारवाद, साम्यवाद, समाजवादजस्ता सिद्धान्त अस्वीकार गर्दै भारतको सांस्कृतिक परम्परामा आफ्नै प्रकारको राजनीकि सिद्धान्त हुने दावी गरे । उपाध्यायको सिद्धान्त गोल्वालकरको सिद्धान्त भन्दा खासै फरक थिएन तर त्यसले गोल्वाल्करको हिन्दुत्व दर्शनलाई आधुनिक राजनीतिक सिद्धान्तसँग तुलना गर्दै नयाँ राजनीतिक सिद्धान्तको रुप दिने प्रयास गर्दथ्यो ।

उपाध्याय लोकसभा निर्वाचनका उम्मेद्वार बने पनि जित्न सकेनन् । सन् १९६८ मा रेलबाट लखनउ हुँदै पटना जाँदैगर्दा मुगल सरायमा भएको रेलवे डकैतीमा उनको मृत्यु भयो । उनको मृत्यु पनि मुखर्जीको झैं भारतभरि विवादको बिषय बनेको थियो ।

५. अटलबिहारी बाजपेयी

अटलबिहरी बाजपेयी सन् १९५१ मा जन संघ गठन हुँदा युवा नेता थिए । उनी ग्वालीयरका जन्मिएका थिए । सन् १९३९ मा आरएसएसको प्रचारक बनेका बाजपेजीले गोल्वाल्कर र उपाध्याय दुवैको संगत गर्ने अवसर पाए । दुवैको बौद्धिक क्षमता र दृढ इच्छाशक्तिबाट प्रभावित/लाभान्वित हुन पाए । जनता पार्टी सरकारमा विदेशमन्त्री भएपछि उनको ख्याति चुलियो ।

सन् १९८० मा बिजेपी गठन हुँदा उनी संस्थापक अध्यक्ष बने । सन् १९५७ आमनिर्वानमा उत्तरप्रदेशको बलरामपुरबाट उनले पहिलोपटक लोकसभा निर्वाचन जितेका थिए । सन् १९९६ मा उनी पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री भए । संसदमा बहुमत हासिल गर्न नसेकेपछि राजीनामा दिए । सन् १९९८ मा गठबन्धनको नेतृत्व गर्दै दोस्रो पटक र सन् २००२ मा तेस्रो प्रधानमन्त्री भए । उनी बिजेपीबाट भारतको प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन् । उनले लखनउ निर्वाचन क्षेत्रबाट बारम्बार लोकसभा निर्वाचन जिते । बिजेपीलाई चुनाव जित्ने पार्टी बनाउन, राष्ट्रियस्तरमा विस्तार गर्न र अन्तर्राष्ट्रियस्तरमा ख्याति दिलाउन बाजपेयीको ठूलो भूमिका रह्यो ।

६. लालकृष्ण अड्बानी

बिजेपीको बलियो ग्रासरुट संगठनको आधार भने लालकृष्ण अड्वानीले तयार गरेका थिए । अड्वानी कराँचीमा जन्मिएका थिए । भारत पाकिस्तान विभाजनपछि उनको परिवार भारत फर्किएको थियो । उनीहरु मुम्बईमा बसोबास गर्थे । उनी कराँचीमै हुँदा आरएसएस प्रवेश गरिसकेका थिए । सन् १९५१ मा जनसंघ गठन हुँदा उनलाई पार्टी महासचिव एसएस भण्डारीको स्वकीय सचिवको भूमिका दिइएको थियो । सन् १९८४ को निर्वाचनमा पार्टीको कमजोर नतिजापछि बाजपेयीले नैतिकताका आधारमा राजीनामf दिए र अड्बानी बिजेपी अध्यक्ष बन्न पुगे । सन् १९८९ को सफलताले अड्बानीलाई ठूलो लोकप्रियता दियो ।

सन् १९८७ मा उनले देशका विभिन्न भागमा लालामा रथयात्रा शुरुवात गरेका थिए । उनको रथयात्राले हिन्दुत्वको भावनालाई अझ पुनर्जाग्रित गर्‍यो । त्यसमध्ये सोमनाथदेखि अयोध्यासम्मको रथयात्रा सर्वाधिक चर्चित छ ।

७. नरेन्द्र दामोदर दास मोदी

बिजेपीलाई पहिलोपटक एकल बहुमत दिलाउने र निरन्तर दुईपटक बिजेपी प्रधानमन्त्रीका रुपमा देशको शासनसत्ता सञ्चालन गर्ने अभियानको नेतृत्व गरेको जस भने वर्तमान प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको भागमा परेको छ । मोदी गुजरातमा जन्मिएका थिए । गरिब परिवारमा जन्मिएका मोदी आरएसएस हुँदै बिजेपीमा आए । बाजपेयीलाई उनले आफ्नो राजनीतिक ‘मेन्टर’ मान्ने गर्दछन् । आवश्यक राजनीतिक शिक्षादिक्षा सहित बाजपेयीलेउनलाई आरएसएस प्रचारकबाट राजनीतिक कार्यकर्ताका रुपमा गुजरात फिर्ता पठाएका थिए । सन् १९७५ को आपतकाल प्रतिरोध गर्ने गुजरात जनसमितिको सदस्यका रुपमा उनको राजनीतिक जीवन शुरुवात भएको थियो । सन् १९८७ मा उनी गुजरात प्रदेश पार्टीको महासचिव बनेका थिए ।

सन् २००१ मा उनी गुजरातको मुख्यमन्त्री बने । भर्खरै राज्यमा ठूलो भुइँचालो गएको थियो । विकास र पुनर्निर्माण कार्यमा उनले ठूलो जस पाए । उनी दुईपटक गुजरातको मुख्य मन्त्री बने । गुजरात विकास मोडेलको चर्चा देशभरि भयो । मोदी ब्रान्डिङ हुन पुगे । थुप्रै सिनियर नेताहरुलाई क्रस गर्दै उनी सन् २०१४ को आम निर्वाचनमा मोदी बिजेपीबाट भावी प्रधानमन्त्रीको रुपमा प्रस्तावित भए । मोदीलाई नै प्रधानमन्त्री प्रस्तावित गरेर सन् २०१९ को निर्वाचनमा पनि बिजेपीले बहुमत ल्यायो ।

मोदीपछि बिजेपीको नेतृत्व अमित शाहमा सर्ने प्रवल सम्भावना छ । शाहले बिजेपीको इतिहासमा आठौं मोडको नेतृत्व लिने र नयाँ आइकन बन्ने अवसर उपयोग गर्न सक्दछन् वा सक्दैनन् त्यो त भविष्य पर्खेर हेर्नुपर्ने हुन्छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage