scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

प्रचण्डले किन चलाउँदैछन् पार्टीमा अनुशासनको डण्डा

साझापोस्ट संवाददाता/काठमाडौं, २ असोज । ‘हामी हिजो निकै अनुशासित थियौं र मात्र यहाँ आइपुगेका हौं । अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो त्यही बोलिदिने, समूहको हितलाई वेवास्ता गर्ने भयौं,’ ६ भदौमा पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले व्यक्त गरेको विचार हो यो ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड पछिल्लो समय पार्टी अनुशासनलाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् । त्यही चिन्ताकै उपज हुनुपर्छ, गत भदौ ९ गते आफ्नो अध्यक्षतामा पहिलोपटक बसेको पार्टी सचिवालयको बैठकमा पार्टीका नेता, नीतिविरुद्ध सार्वजनिकरूपमा टिप्पणी गर्नेलाई कारवाही गरिने निर्णय गरे ।

पार्टीको पछिल्लो बैठकले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशित गरेको छ । पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ ।

‘पार्टीको नीति वा नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारवाहीको प्रक्रिया अघि बढाइने पनि निर्णय गरेको छ,’ ९ भदौमा बसेको पार्टी सचिवालय बैठकले निर्णय गरेको थियो ।

त्यसपछि पनि अध्यक्ष प्रचण्डले पार्टी अनुशासनमा जोड दिँदै आएका छन् ।

किन अध्यक्ष प्रचण्डले पार्टी अनुशासन जोड दिइरहेका छन् त ? पूर्वमाओवादी केन्द्र खेमाका एक केन्द्रीय सदस्य भन्छन्, ‘पूर्वएमालेभित्र एउटा समूह प्रचण्डलाई नंग्याउन लागि परेको छ । पार्टी एकताका बेलादेखि नै असन्तुष्ट त्यो समूह कुनै न कुनै रूपमा प्रचण्डलाई खुइल्याउन चाहन्छ ।’

उनको भनाइ सचिवालय सदस्य ईश्वर पोखरेल र सूर्य थापातर्फ लक्षित थियो । माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धप्रति विमति राख्दै आएका पोखरेल पार्टी एकताप्रति सन्तुष्ट छैनन् ।

‘पार्टी एकताका लागि जनमतले दबाब दिइहाल्यो । तर जसरी पार्टी एकता भयो, गरियो । त्यसको प्रक्रिया गलत छ,’ उनले भन्दै आएका छन् ।

त्यो त पोखरेल पार्टीको वैचारिक लाइनप्रति पनि सहमत छैनन् । पार्टी एकताका बेला साविक एमालेले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद र साविक माओवादी केन्द्रले अवलम्बन गर्दै आएको एक्काइसौं शताब्दीको जनवाद तत्कालका लागि स्थगित गर्ने र अन्तरिम विचारका रूपमा जनताको जनवाद अघि सार्ने दुई पार्टीबीच समझदारी भएको थियो । सोहीअनुरूप पार्टीको वैचारिक लाइन जनताको जनवाद तय गरियो ।

तर, ईश्वर पोखरेलले यसलाई खैरातेँ विचारको उपमा दिँदै जनताको बहुदलीय जनवादलाई जिल्ला तहसम्म बहस लैजाने बताएका थिए ।
यसै कारणले नेकपामा लामो समयसम्म विभाग गठन हुन सकेन । पार्टीको वैचारिक लाइनविरुद्ध अभिव्यक्ति दिएकैले ईश्वर पोखरेललाई पार्टी स्कुल विभाग दिन नहुने मत बलियो बन्दै गयो ।

अन्ततः पार्टीभित्र समीकरण बदलियो । पोखरेल नै पार्टी स्कुल विभाग प्रमुख चयन भए ।

पार्टी सचिवालयमा विषयले प्रवेश नै नपाई पूर्वएमालेको माधव नेपाल खेमाले पूर्वमाओवादी केन्द्रका केही नेतलाई उचालेर विरोध गर्न लगाएको आरोप पोखरेलले त्यतिबेला लगाएका थिए ।

पार्टी स्कुल विभाग प्रमुख बनेपछि पनि पोखरेल जनताको जनवादप्रति इमान्दार बन्नेमा शंका छ । त्यही कारणले प्रचण्डले पार्टी अनुशासनमा कडाइ गरको पूर्वमाओवादी केन्द्रका नेताहरू बताउँछन् ।

त्यसका अलावा पार्टी केन्द्रीय सदस्य सूर्य थापा पनि माओवादी केन्द्रका विरुद्ध विषवमन गर्ने नेताका रूपमा परिचित छन् । गत साउनको २५ गते एउटा कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले जीवनमा कसैलाई एक लपेटो पनि नहानेको र एक लपेटो पनि नखाएको अभिव्यक्ति दिएका थिए ।

लगत्तै थापाले अध्यक्षविरुद्ध फेसबुकमा लामो स्ट्याटस लेख्दै भने, ‘आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन। महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो। जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।’ उनले अगाडि लेखेका छन्,  ‘म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै १ मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ। हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ ? विगतसककग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि ! आजको क्रान्तिकारी तरंग र मनोदशा !’

त्यसपछि पार्टीको युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले प्रतिवाद गरेका थिए । सापकोटाले फेसबुक जवाफी फायरिङ खोल्दै भनेका छन्, ‘सूर्यजी, पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन । पार्टी अनुशासन, आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ ।’

सापकोटाले अगाडि लेखेका छन्, ‘हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो । सुझाव– यस्ता गाली आजकल फस्टाउँछ भन्ने लागेको भए यसलाई पेशा बनाए हुन्छ ।’

‘पार्टीभित्र हुर्कंदै गरेको यस प्रकारको चिन्तनलाई लगाम लगाउन पनि अध्यक्ष प्रचण्डले अनुशासनमा कडाइ गर्नुपर्ने बताउनुभएको हो ।
नत्र कम्युनिस्ट पार्टी थाहै नपाई विघटन हुन्छ,’ ती केन्द्रीय सदस्य भन्छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage