scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

सिनेमाका लागि जन्मिएका मान्छे अर्थात् प्रकाश झा


साझापोष्ट सिने ब्यूरो/काठमाडौं, ३ असोज । मान्छेको अधिर मन र चञ्चल स्वभावको रहस्य के हो ? प्रकाश झाको जीवन अनुभवले दिने उत्तर आफ्नै प्रकारको छ ।

‘मान्छे जुन कामका लागि जन्मिएको हो, त्यो काम फेला नपारुन्जेल अधिर र चञ्चल रहन्छ ।’ उनी आफूलाई ‘सिनेमाका लागि जन्मिएको मान्छे’ ठान्दछन् । जबसम्म उनी सिने क्षेत्रमा पुगेनन्, मन कहिल्यै स्थिर भएन ।

उनी बिहार पश्चिम चम्पारणको बेतियामा जन्मिए । दक्षिण एशिया त्यसै पनि ‘काष्ट बेस’ समाज हो । त्यो पनि बिहार, जो भारतको मात्र हैन दक्षिण एशियाकै अल्पविकसित र पिछडिएको समाज थियो ।

मानिस उनलाई आज आरोप लाउँछन्– ‘प्रकाशले बिहारको खराब छवि मात्र सिनेमामा देखाउँछ ।’ प्रकाश सजिलै स्वीकार गर्दछन्– ‘बिहारको ठप्पा मेरो निधारमा लाग्छ नै । बिहारी हुँ । किसान परिवारमा जन्मिए । बाल्यकालदेखि बिहारको जुन चित्र मेरो दिमागमा बस्यो, त्यसमा मेरो के दोष छ ?’

प्रकाशका मातापिताले उनलाई झारखण्ड राँचीको आर्मी स्कुल भर्ना गरे । त्यतिञ्जेल प्रकाशको सपना सरकारी अफिसर हुनु थियो । यथार्थमा त्यो उनको आफ्नो सपना थिएन । अभिभावकले उनका कलिला आँखामा भरिदिएको कृत्रिम सपना थियो । जब कलेज पढ्न दिल्ली पुगे उनलाई लाग्यो– उनको असली सपनाले उनलाई पछ्याईरहेको छ । न राँचीमा प्रकाशको मन स्थिर भयो न दिल्लीमा ।

पेन्टर पढ्न उनी दिल्लीबाट भागे, मुम्बई पुगे । मुम्बई स्कुल अफ आर्टमा पढ्दै गर्दा एकदिन डेराका छिमेकी दाईले भने– धर्मा फिल्मको सुटिङ हेर्न जाउँ ।
त्यो बेला मुम्बईको नाम बम्बे थियो । फिल्म नगरी बम्बे । फिल्मी दुनियाँ मान्छेका लागि मायापुरी वा स्वप्ननगरी सरह थियो । फिल्मबारे मान्छे अनेक रहस्य, रोमाञ्च र उत्सुकताले भरिएका हुन्थे । हिरो, हिरोइन र खलनायकको चर्चा, गीत, डान्स र फाइटको चर्चा । सिनेमा हलहरुमा खचाखच दर्शक र ब्ल्याक टिकेटको सडक व्यापार । बम्बे–संसारकै दोस्रो ठूलो फिल्म उद्योग । आजको बलिउड ।
प्राण र रेखालाई प्रकाशले ‘धर्मा’ को सुटिङमा देखे । त्यो बेलाका चर्चित नायक/नायिका । चारैतिर क्यामेरा, स्पटब्याईहरुको ताहुरमाहुर, कलाकारहरुको ड्रेसअप, सुटिङको भव्य सेटिङ र शानजस्तो लाग्ने अभिनय । त्यो दिनले प्रकाशको जीवनमा अर्को मोड ल्याइदियो । प्रकाश भन्छन्, ‘त्यो दिनभरि धर्माको सुटिङ हेरे, साँझ निर्णय गरे, हो, मैले गर्न चाहेको काम यही हो ।’ त्यसको भोलिपल्ट बिहान बम्बे छोडे, पुना पुगे । पुना इन्स्टिच्युटमा भर्ना भए । ‘धर्मा’ सन् १९७३ को सुपरहिट हिन्दी फिल्म बन्यो ।

‘पुना इन्स्टिच्युट’ त्यो समय भारतको एक मात्र सिनेमा पढाउने स्कुल थियो । पुनाको कोर्ष पुरा नहुँदै उनलाई ‘गोवा’ बारे डकुमेन्ट्री बनाउँने काम हात लाग्यो । एक अन्तर्वार्तामा प्रकाशले भनेका छन्– ‘मेरो जीवन कथा लामो पनि हो, छोटो पनि हो । महत्व दिए महत्वपूर्ण हो, नदिए सामान्य हो । बेतियामा जन्मिएको मान्छे– गोवाबाट मेरो भाग्य शुरु भयो । त्यसपछि त्यस्तो कुनै चिज रहेन जो गर्न मन लागेर गर्न नपाएको होस् ।’

सन् १९८३ मा ‘हिप हिप हुर्रे’ बाट उनले ठूलो पर्दाको निर्देशन प्रारम्भ गरे । सिनेमाको कथानकका लागि उनले केवल कथा खोजेनन् समकालीन समाजको ‘इस्यू’ टिप्न थाले । खेलकुद सिनेमाको कथा बन्न सक्छ, त्यतिखेरको सिने उद्योगमा कसैले विश्वास गर्दैनथ्यो । तर समाजमा डिबेट थियो– खेलकुदले विद्यार्थीहरुको पढाई सर्पिन्छ वा बिग्रिन्छ ? एकथरि शिक्षाविदहरु ध्यान खेलकुदतिर गए विद्यार्थीहरुको पढाई कमजोर हुने धारणा राख्थे । प्रकाशले यही इस्यू पक्रिए ।

तर निर्माता सहजै भेटेनन् । उनी यो सिनेमाका लागि अनिल कपुर र शाबना आजमीलाई लिन चाहन्थे । बल्लबल्ल निर्माता कन्भिन्स भए–मोहन सेट्टी । हतारमा उनले नयाँ कलाकारहरु लिए– रवी किरण र दिप्ती नवल । प्रकाश खेलकुदलाई सिनेमाको कथानक बनाउने ‘ट्रेन्ड सेटर’ बन्न पुगे । पछि बलिउडमा ‘अव्वल नम्बर’ ‘जो जिता उही सिकन्दर’ ‘लगान’ ‘मेरी कोम’ ‘भाग मिल्खा भाग’ जस्ता एक से एक सुपरहिट खेल कथानक भएका सिनेमा बने ।

प्रकाशको वास्तविक फरक निर्देशकीय छवी ‘दामूल’ ले निर्माण गर्‍यो । ‘दामूल’ सन् १९८० को दशकको बिहारी ग्रामिण समाजको यथार्थ थियो । बिहार मात्र हैन, नेपालको पूर्वी तराईका सीमावर्ती गाउँहरु त्यतिखेर ठीक त्यस्तै थिए । पञ्चायती शासनको अन्त्यतिरसम्म नेपालको पूर्वी तराईका सीमावर्ती गाउँमा दिनहुँजसो चोरी डकैती हुन्थे । रातको १० बजेदेखि २ बजे बीचमा कुनै न कुनै गाउँबाट ‘चोर चोर चोर’ हल्ला उठ्थ्यो । चोरको तारो बिशेषतः हलगोरु र लैना भैसी हुन्थे । गाउँलेहरु ग्रुप बनाएर रातरातभरि ‘खबरदार खबरदार’ गरिहेका हुन्थे । गोरुका घाँटीमा घन्टी बाँन्धिन्थे । दाम्लो वा रस्सी हातमा समातेर मान्छे ग्वाली मै सुत्थे ।

अझ रोचक कुरा त के थियो भने पशुधन चोरी भएकाहरु भोलिपल्ट बिहानै बडाअध्यक्षको घरमा पुग्थे । वडाध्यक्ष प्रधानपञ्च र प्रधानपञ्च राष्ट्रिय पञ्चायत सदस्य कहाँ पुग्थे । रापंस सीमाक्षेत्रमा आफ्ना कार्यकर्तालाई चोरी भएको पशुधन कुन बदमाशको अखडामा छ पत्ता लगाउने जिम्मा दिन्थे ।

१० दिनदेखि २० दिनभित्र पत्ता लाग्थ्यो र फिर्ता आउँथ्यो । त्यसका लागि किसानले फिरौती तिर्नु पर्थ्यो । तर यसरी चोरीको माल फिर्ता गराईदिनु ठूलो गुन मानिथ्यो । चुनावमा भोट माग्न खुलेआम यो इस्यु प्रयोग हुन्थ्यो । ‘फलानालाई भोट दिनु नत्र राति चोर पठाई देला ।’

दामूलमा मुसहर, चमार र दुसाद वस्तीहरु यथार्थमा जस्ता थिए, त्यस्तै देखिन्छन् । माधो पाण्डे मुखिया छ गाउँको, उनको भाइ राधो पाण्डे सबैभन्दा ठूलो ठेक्केदार छ । गाउँको नहर बनाउने ठेक्का उसैले पाएको छ । केशु पाण्डे उमेर मै मर्‍यो । उसकी श्रीमती माहत्माइन जवानीमै विधुवा छे । माधो पाण्डे माहत्माइनसँग अनैतिक यौन सम्बन्धमा छ । बारम्बार बनारस गएर गर्भपतन गर्नुपर्दा माहत्माइनको स्वास्थ्य बिग्रेको छ । ऊ माधोसंग चिडचिडाउन थालेकी छे तर सम्बन्ध अस्वीकार गर्न सक्दिन ।

अर्कोतिर बच्चा सिंह छ, जो राजपुत हो– माधो पाण्डेको शासनलाई बाहुनहरुको शासन भनेर दलित बस्तीमा भाषण गर्छ । माधोको विरुद्ध गोकुल चमारलाई मुखियाको उम्मेद्वार बनाउँछ । तर जब मौका आउँछ– दलितहरु फस्ने गरी माधो पाण्डेसंग भित्रभित्रै सम्झौता गर्छ ।

गुनाई चमार माधोको नजिकको सहयोगी थियो । गोलीगठ्ठा किन्न जाँदा मारियो । संजिवना उसको छोरो माधोको लागि रातिराति चोरी गर्न जान्छ । पञ्जाबमा दैनिक ज्याला १० रुपैया पुगेको छ । बिहारमा २ रुपैयामा राधो गरिबलाई नहर खनाउँछ । जब मजदुर पञ्जाब पलायन हुन थाल्छन्, नहर खन्ने मजदुरको अभाव हुने डरले राधो हत्याकाण्ड मच्चाउँछ । लोकतन्त्र हो चुनाव त हुन्छ तर दलित बस्तीहरु चुनावको दिन गुण्डाद्वारा बिहानै घेरिन्छन् । पुलिस बुथमा छ । बस्तीमा के भइरहेको छ उसलाई वाल मतलव छैन । राधोका समर्थकले बुधमा घुमीघुमी दिनभरि भोट हाल्छन्– गोकुल चमार हेरेको हेर्‍यै हुन्छ ।

संजिवाना र उसका गाउँले साथीहरु राधो पाण्डेले मच्चाएको हत्याकाण्डमा फसाइन्छन् र फाँसीको सजाय हुन्छ । सिनेमाको अन्त्यमा संजिवनाकी श्रीमती खुर्पाले माधो पाण्डेलाई गिँडी दिन्छे र भन्छे, ‘हे रे ! संजिवना, दामूलमा जानु अघि त्यस अपराधीलाई किन गिँडीनस् ।’

‘मृत्युदण्ड’ले प्रकाशको सिने कलालाई अर्को उच्चाई प्रदान गर्दछ । दामूलमा बिहारी समाजलाई उनी दलित र ग्रामिण मजदुरहरुको आँखाबाट हेर्छन् ।

मृत्युदंडमा महिलाको आँखाबाट बोक्सी वा डायनको आरोपमा पंचेतीले निर्णय गरेर खुल्लेआम महिलाहरुको हत्या गर्ने प्रचलन मृत्युदण्डको इस्यु हो । यसमा राजनीतिज्ञ, धर्मगुरु र ठेक्केदारहरुको स्वार्थ कसरी महिला अधिकारको विरुद्धमा एक छ भनेर चित्रण गरिएको छ ।

बिहारमा लालु यादवको उदय हुनुअघि कांग्रेसको लामो शासन चलेको थिए । कांग्रेसमा ब्रह्मण र राजपुतहरुको बर्चश्व थियो । प्रकाशका प्रारम्भिक सिनेमामा खलनायकहरु विशेषतः ब्राह्मण र राजपुतहरु पाण्डे र सिंहहरु देखिन्छन् । पछिल्ला सिनेमाहरुमा भने यादव र मुस्लिम पात्रहरु उदय हुन्छन् । प्रकाशमाथि आरोप छ, ‘उनका सिनेमाले कांग्रेस र आरजेडीलाई बदनाम गरेका छन्– नितिश कुमार र जेडियुप्रति सहानभूति राखेका छन् ।’

तर, विश्लेषणको अर्को पाटो पनि छ । समिक्षकहरु लालु यादवको पतन र नितिश कुमारको उदयपछि विहारको अवस्थामा सुधार आएको ठान्दछन् । यदि यो सत्य हो भने प्रकाश झाका सिनेमा ‘राजनीतिक बायस’ भन्दा पनि त्यहाँको वास्तविकता हुन सक्दछन् ।

त्यसो त प्रकाश तीनपटक चुनाव लडे । हारे । स्वतन्त्र उठ्दा पनि हारे । जेडियुको उम्मेदवार हुँदा पनि हारे । उनी भन्छन्, ‘जिन्दगीमा अब कहिल्यै चुनाव लड्दिनँ ।’ चुनावमा ३ पटक उम्मेद्वार हुँदा उनलाई फाइदा बेफाइदा दुवै भयो ।

बेफाइदा, उनीमाथि आरोप थपियो, ‘चुनाव जित्न नसकेको कुन्ठा सिनेमामा पोख्छ र राजनीतिलाई बदनाम गर्छ ।’

फाइदा, उनले राजनीति, अपराध र सत्ता दाउपेजको अन्तर्सम्बन्ध नजिकबाट बुझे र आफना सिनेमा ती यथार्थलाई पटकथामा उतारे ।

‘अपहरण’ समस्तिपुर, दरभंगा, पूर्णीमा, लेहरी सरायआदि क्षेत्रमा सन् १९९० को दशकमा हुने अपहरण र फिरौती व्यवसायको कथा हो । यसको खलनायक तबरेज आलम (नाना पाटेकर) छ । ऊ धर्मले कट्टर मुस्लिम हो । पेशाले अपहरण व्यवसायको नाइके, सार्वजनिक छवी विधायक । गंगाजलमा साधु यादव र सुन्दर यादव बाउछोरा खलनायकका रुपमा देखिन्छन् । यी सिनेमा लालु राजका डिबेटमा बनेका हुन । विशेषतः विहारमा अपहरण र हत्या चरम पुगेको बेला राजनीतिमा यादव–मुस्लिम समीकरणको उपयोग हुन्थ्यो ।

सन् २०११ मा प्रकाश ‘आरक्षण’ बनाउँछन् । यो सिनेमामा दुईवटा इस्यु एक साथ छन् । पहिलो–मण्डल आयोगको रिपोर्टलाई भारतीय सर्वोच्च अदालतले दिएको मान्यता र २७% सेडुलकाष्ट आरक्षणपछि समाजमा सृजना भएको मनोवैज्ञानिक विभाजन । अर्कोतिर– उदारीकरणपछि शिक्षामा निजी क्षेत्रको प्रभाव बढ्दै जाँदा देखापरेका बेथितिहरु ।

प्रकाश भन्छन्– ‘संसारको सबैभन्दा ठूलो ‘कन्स्टेन्ट’ भनेको ‘चेन्ज’ हो । म को हुँ कि परिवर्तन ठीक भयो वा बेठीक भनेर जज गरौं ? परिवर्तन त हुन्छ नै । म द्रष्टा हुँ । मेरो काम परिवर्तनलाई नियाल्ने हो । त्यसको कारण खोज्ने हो । परिवर्तन ठीक भयो वा बेठीक भयो भनेर निर्णय दिने हैन । आरक्षण वा उदारीकरण ठीक हो वा बेठीक त्यो भन्ने काम मेरो हैन । मेरो काम ती कसरी आए र त्यसले के प्रभाव पार्‍यो भनेर चित्रण गर्ने हो ।’

प्रकाश थप्छन्– ‘संसारमा आजसम्म त्यही भएको छ, विजेताले परिर्वतनलाई आफू अनुकुलको कहानीमा भन्दै आएका छन । आजका विजेतालाई म किन दोष दिऊँ जबकी हिजोका विजेताले त्यही गरेका थिए, सायद भोलिका विजेताले पनि त्यही गर्लान् । मेरो काम परिवर्तन किन र कसरी भयो भनेर कहानी खोज्नु हो । मैले मेरो भागको कहानी फेला पारे, मलाई पुग्यो । म दर्शकलाई त्यही कहानी सुनाउँछु । परिवर्तनलाई जज गर्न मैले फिल्म बनाएको हैन ।’

पछिल्लो चरणमा उनका ३ सिनेमा सर्वाधिक चर्चामा रहे । सत्याग्रह, चक्रब्यूह र राजनीति । सत्याग्रह दिल्लीमा अन्ना हजारेको भ्रष्टाचारविराधी जनलोकपाल आन्दोलनको पृष्ठभूमिका बनेको छ । चक्रब्यूहमा उनले नक्सलवादी/माओेवादी आन्दोलनको चित्रण गरेका छन् भने राजनीति आजको भारतका लागि महाभारत कथाको विपठन हो ।

महाभारतका सबै पात्रहरु ‘राजनीति’मा छैनन् । धृतराष्ट्रको विपठन छ । दुर्योधनको विपठन मनोज तिवारी बनेका छन् । कृष्णका रुपमा नाना पाटेकर छन् । भीमको भूमिकामा अर्जुन रामपाल छ । अर्जुनको भूमिकामा समर प्रताप अर्थात् रणवीर कपुर छ । कुन्ती छन् । कर्ण छ । राजनीतिमा देखाइएकी ‘इन्दु’ द्रोपदीसँग सादृष्य लाग्दिन । ‘इन्दु’ कैटरिना कैफको चेहरामा सोनिया गान्धीको चरित्र हो भन्ने कुरा पनि प्रकाश अस्वीकार गर्दछन् ।

यो सिनेमाको फोकस कहाँ हो भन्न गाह्रो छ । सत्ता स्वार्थले निम्त्याउने प्रेम, घृणा, यौन र धनको बद्लिरहने समीकरण यसले चित्रण गर्दछ । तथापि कर्ण बनेका सुरज कुमार उर्फ अजय देबगन त्यस्ता पात्रका रुपमा देखिन्छन जसले ९०% संवाद महाभारतकै कर्णको दोहोर्‍याउँछन् तथापि नयाँ संवादझै लाग्छ । राजनीतिमा को नायक हो को खलनायक हो हुनु आवश्यक छैन ।

प्रकाश भन्छन्, ‘राजनीतिमा को राम्रो हो को नराम्रो हो भन्ने बहस नै निरर्थक हो । राजनीतिमा सबै आफ्नो भूमिका र महत्वाकांक्षामा बाँधिएका हुन्छन् । एउटै मान्छेले कहिले राम्रो गर्छ, कहिले नराम्रो गर्छ, त्यही नै राजनीतिको फरक नियम हो ।’

प्रकाशले सिनेमाबाट पैसा र ख्याति त कमाएकै छन् तर बलिउडमा उनको जुन चर्चा हुन्छ, त्यो उनले कतिवटा फिल्म बनाए, कति पैसा कमाए भनेर हैन, उनले बनाएका फिल्मको फरकपन र गुणस्तरले गर्दा छ । नेपालको पूर्वी तराईमा हुर्किएका मान्छेहरुका लागि प्रकाशका सिनेमाहरु आफ्नै गाउँका जीवन्त तस्वीरजस्तो लाग्दछन् ।

पछिल्लो चरण प्रकाशले ‘परीक्षा’ बनाउने घोषणा गरेका छन् । आशा गर्न सकिन्छ, उनी कुनै नयाँ ‘इस्यु’ बोकेर आउनेछन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage