scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

‘शेरबहादुर बहादुर केटा हुन्, उनले सहेको यातना मैले प्रत्यक्ष देखेको छु’

भरतप्रसाद उप्रेती

जीवनको उत्तरार्धतिर छु । ८८ वर्ष पुगेँ । यो क्षणमा ओछ्यानमा एक्लै बसिरहँदा इतिहासका चित्रहरु मानसपटलमा घुमिरहन्छन् ।

म २००६ सालमा काँग्रेसमा लागेँ । मैले धादिङमा २००६ सालमै कांग्रेस पार्टीको स्थापना गरेँ । म अहिलेसम्म पनि काँग्रेसमै छु । यति लामो जीवन काँग्रेस हुने कोही पनि ज्यूँदो छैनन् होला । बिपी र गणेशमानजी बित्नुभयो ।

मैले ००७ सालको लडाईंमा पनि भाग लिएँ । ००७ सालको परिवर्तनमा पनि योगदान गरेको छु । त्यतिबेला २७ जनामा २६ जना काँग्रेसीहरुलाई समातिहाल्यो । दुईजना हामी बाँकी । सबैलाई समातिसक्यो, तिमीहरु भाग्नेभए भागिहाल भन्ने खबर आयो । हामी भाग्यौं राति नै । राणा शासन र पञ्चायतमा खुबै दुःख गरियो । अहिलेको व्यवस्था यत्तिकै आएको छैन ।

३१ सालतिरको कुरा हो । बिपी अमेरिकाबाट फर्केपछि जेल पर्नुभयो । विमानस्थलबाटै समातिनु भयो । केही महिना जेलमा राखेपछि बिरामी भन्दै छाड्यो उहाँलाई ।

म बसिरहेको यही बानेश्वरको घरमा बिपी चिया पिउन आउनु हुन्थ्यो । उहाँसँग बोल्न पनि डराउँथे मानिसहरु । उहाँलाई भेट्नुपर्छ भनेर कर्मचारी पनि भाग्थे । उहाँका दुईजना बडीगार्ड अघि पछि हुन्थे । म बिहान मर्निङ वाकमा हिंड्दै चाबहिल पुग्थेँ । उहाँको चिया पिएर हामीसँगै बानेश्वर आउँथ्यौं यही घरमा । उहाँ यहाँ चिया पिएर गफिनुहुन्थ्यो ।

बैठक बस्ने भन्यो, घर कसैले नदिने । मैले आफ्नै घरमा ल्याउँथे । मानिसहरु एक एकजना गरेर आउँथे । लुकीलुकी आउँथे । वरिपरि सिआइडीहरु छ्यापछ्यापी हुन्थे । टिनको छाप्रो थियो । वरिपरि नरकट घारी, उता मकैबारी ।

भेट्न सबैलाई मन लाग्थ्यो बिपीलाई तर, मानिसहरुलाई डर लाग्थ्यो पञ्चायती आतंकको कारण । तर, बिस्तारै मानिसहरुको भीड लाग्न थाल्यो । घरमा अटेसमटेस हुन थालियो । पञ्चायतविरुद्ध मानिसहरु जाग्न थालेका थिए ।

त्यतिबेला मात्तिइरहेको पञ्चायतविरुद्ध राजनीतिक झण्डा उठाउन चानचुने साहसले पुग्दैन थियो । पञ्चायती शासकहरु प्रजातन्त्रप्रेमीहरुलाई निल्न मुख बायर बसिरहेको थिए ।

त्यतिबेला धादिङमा होटलमा कसैले बस्न दिँदैनथे । एउटा रामहरि भण्डारीको चित्रकला होटेल नाम भएको होटेलमा भने बस्न दिन्थे । बाहिर पञ्चायतको रक्षामा रहेका प्रहरी र सुराकीहरु घुमिरहँदा पनि बस्न दिनु बहादुरिता नै थियो । त्यतिबेला बास बस्न दिनु मात्रै पनि ठूलो सहयोग हुन्थ्यो, व्यक्तिलाई मात्रै होइन, सिंगो प्रजातान्त्रिक आन्दोलनप्रतिको सहयोग ।

हाम्रो जमानामा हामी संगठनमा असाध्यै ध्यान दिन्थ्यौं । जनताको घरघरमा जानुपर्छ भन्ने मान्यतामा दृढ थियौं र बढो इच्छाशक्तिका साथ त्यसलाई कार्यान्वयन गरेका थियौं । गाउँ पसेर जुन घरमा खाना खाइन्थ्यो, त्यही घरमा मान्छे जम्मा पारेर संगठन बनाइन्थ्यो । अहिले त्यस्तो छैन । नेतृत्वको कार्यशैलीमा यसमा जिम्मेवार छ । जनतामा भिजेर संगठन बनाउनुको विकल्प छैन ।

अहिले राजनीतिमा शक्तिको पछि लाग्नेहरु बढ्नु दुःखद पक्ष हो । यो प्रवृत्ति माथिदेखि तलसम्म छ । पदबाट टाढा भएपछि गणेशमानजीलाई भेट्न जाने मानिस नै हुँदैनथे । मन्त्री, प्रधानमन्त्री भेट्नेहरुको लाइन नै हुन्थ्यो । खोई राजनीतिमा आदर्शलाई पछ्याउने मानिसहरुको भीड ?

अहिले हाम्रो उत्साह उमंगलाई खरानी बनाए । देश बिस्तारै निरंकुशतातर्फ उन्मुख भइरहेको छ । क्रान्तिले ल्याएको उपलब्धि ध्वस्त बनाउने भए । के हामीले यसैका लागि लडाईं लडेका थियौं ? मलाई लाग्छ, लोकतन्त्रको लागि देशमा फेरि अर्को लडाईंको जरुरी छ ।

हिजो एकसेएक परीक्षा पास गरेका नेताहरु कांग्रेसमा छन् । नेतृत्वमाथि मात्रै शंका गरेर हुँदैन । तलैदेखि जग बलियो बन्नुपर्छ । त्यसका लागि कांग्रेसीहरु चुकिरहेका छन् ।

शेरबहादुरजीले युवा अवस्थामा असाध्यै कष्टसाध्य परीक्षा पास गरेको मेरै आँखाले देखेको छु । जैसी देवल बम काण्डमा देउवाजीलाई पनि समात्यो । त्यतिबेला धेरै कांग्रेसी योद्धाहरुलाई पक्राउ गरिएको थियो । नेतृत्वमा भए पनि नभए पनि शेरबहादुर एउटा बहादुर केटो हो । बहादुर दिल भएको मानिस हो । ऊ झुकेन ।

देउवा अधवैंशे केटो थिए त्यतिबेला । डिएसपी कार्यालयमा उनलाई पक्राउ गरेर ल्याए । एक बोरा बम ल्याएको र कहाँबाट ल्याएको हामीलाई मात्र थाहा थियो ।

प्रयागराज काँग्रेस छाडेर पञ्चायतमा गएका थिए । अरु पनि जालान् भनेर रोक्न बम हानेको (हाँस्दै) । प्रयागराज मेरो बाल्यकालदेखिको साथी । ००७ सालदेखिको । एउटै दिदीले टिका लगाएको ।

प्रयागको घरमा बम पड्किएको रहेछ । मलाई थाहै थिएन । बम पड्किएपछि म उसको घरमा पुगेको रहेछु । गृहमन्त्री त्यही आएर बम्किए । ‘यी कांग्रेसीहरुलाई म एक एक गरेर सिध्याउँछु,’ मलाई हेर्दै बम्किए उनी । प्रयाग पनि झोक्रिएर बसिरहेको थियो । मलाई त पछि पो थाहा भयो ।

म घर फर्किएँ । मलाई पनि समातिहाल्यो । हिरासतमा कष्टकर बसाई थियो । अर्को कोठामा शेरबहादुरलाई राख्यो । सुदूरपश्चिमबाट आएको केटो । उनको को थियो र काठमाडौंमा ? खानापिना केही थिएन । मलाई घरबाट आएको आधाआधा गरेर खान्थ्यौं । उसलाई पिटेको सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । मुक्का हान्दा उसको शरीर काटिएको छ । त्यतिबेला देउवालाई गुद्वारबाट छडी घुसारे । जिब्रोमा करेन्ट लगाए । बस्न हुँदैनथ्यो । उनी अहिले पनि राम्रोसँग बोल्न सक्दैनन् । आँखाबाट बरर आँसु झार्थे, तर केही कुरा खुलाएनन् । थप चरम यातना दिए । तर उनले कसैगरी पनि बकेनन् । बकेको भए धेरै मानिसलाई सिध्याउँथ्यो पञ्चायतले । त्यस्तो निष्ठा र प्रतिबद्धता भएका मानिस हुन् देउवा ।

मभन्दा जुनियर केटा हुन् । २० साल आसपास नेविसंघको राजनीति सुरु गरेका । तर, उनको कुर्बानी देख्दा मलाई उनी सँधै सिनियर हुन् जस्तो लाग्छ । अरुले अनेक कुरा गर्छन् । तर, मलाई देउवा नराम्रो गर्ने मान्छे हुन् जस्तै लाग्दैन ।

प्रजातन्त्रको पुनर्स्थापनापछि पार्टीमा गुट भयो । पछि पोखरा अधिवेशनमा गिरिजाबाबुले मसँग भोट मागे । मैले पञ्चायतले देउवालाई दिएको त्यही यातना सम्झिएँ र आफूले देउवालाई भोट हाल्ने बताएँ ।

बिपीले मलाई हाम्रो परिवारको पाँचौं भाइ भनेर गिरिजाको हातमा बुझाएका थिए । मेरो यस्तो जवाफले गिरिजाबाबुलाई कस्तो लाग्यो होला ? तर म सम्बन्धभन्दा राजनीतिक निष्ठालाई शिरोधार्य गर्ने योद्धा हुँ । मैले जीवनमा कहिले पनि कुनै सरकारी पद र भूमिका मागिनँ । मलाई दिइएन पनि । यसमा मलाई कुनै पश्चात्ताप छैन ।

(धादिङका कांग्रेस पार्टीका संस्थापक नेता उप्रेतीसँग साझापोस्टले गरेको कुराकानीमा आधारित)

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage