scheduleसोमवार कार्तिक २५ गते, २०७६

नेकपामा ‘मदनपथ’को स्थगन, ‘सीपथ’ प्रति बढ्दो मोह !

साझापोष्ट राजनीतिक ब्यूरो/काठमाडौं, ५ असोज । सत्तारुढ नेकपा डबल निकटस्थ बौद्धिक नेताहरुको एक समूहले शनिबार काठमाण्डौंमा ‘सी चिन फिङ विचारधारा’ बारे अन्तरक्रिया कार्यक्रम गर्‍यो । सो कार्यक्रममा बोल्दै कम्युनिष्ट धारमा नयाँ पुस्ताका वैचारिक नेता मानिएका घनश्याम भूषालले भने–‘ सी चिन फिङ विचारधारा एक ऐतिहासिक पहलकदमी हो । कुनै विश्वस्तरीय परियोजनामा कहिँकतै कमजोरी रहन्न भन्न सकिन्नँ तर चीन र यसका सहभागीहरुले यसलाई सुधार्दै, परिमार्जन गर्दै र विकसित गर्दै जान सक्दछन । यसले अझ नयाँ र उन्नतस्तरको नयाँ विश्व परियोजनाको ढोका खोल्नेछ ।’

भूषालले अगाडि भने–‘ चिनियाँ कम्युनिष्ट पार्टीले भनेझैं सी चिन फिङ विचारधारा चिनियाँ विशेषताको समाजवाद निर्माण गर्ने क्रममा जन्मेको हो । यसले नयाँ विश्व व्यवस्थाको माग गर्दछ । त्यसमा हाम्रो स्थान र भूमिका नेपाली चरित्रको समाजवाद निर्माण गर्ने हाम्रो योग्यताले निर्धारण गर्नेछ ।’

सँगसँगै निकट भविष्यमा हुन गइरहेको चिनियाँ राष्ट्रपति सी चिन फिङकोे नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेकपा र चीकपाका केन्द्रीय पार्टी स्कुल विभागले संयुक्त रुपमा सी चिन फिङ विचारधाराबारे प्रशिक्षणात्मक कार्यक्रम र विचार गोष्ठी गर्ने र त्यसका लागि चीकपा पार्टी स्कुल विभागको एउटा टोली काठमाडौं आईपुगिसकेको समाचार प्रकाशित भएका छन् । यी समाचारसँगै नयाँ तरंग उत्पन्न भएको छ । नेपाल राजनीतिक तथा वैचारिक रुपमा कतै ‘चीन सम्बद्ध’ मुलुक बन्ने त हैन भन्ने आशंका बढेर गएको छ ।

चीनको विद्यमान शासन व्यवस्था एकदलीय साम्यवाद हो । त्यसलाई अझ निस्कन्टक र मजबुत पार्न वर्तमान राष्ट्रपति सीले देङ सियाओ पिङ सुधारको समयदेखि चल्दै आएका कतिपय संवैधानिक प्रावधान समेत संशोधन गरेका छन् । बो सि लाई लगायत समकक्षी र प्रतिस्पर्धी नेताहरुलाई कार्वाही गर्दै आएका सीले एक व्यक्ति दुई कार्यकाल राष्ट्रपति हुने प्रावधान समेत खारेज गराएका छन् ।

सी का यी कदमलाई विश्वले चिनियाँ सत्ता अधिनायकवादतिर अझ बढी मोहित हुँदै गएको अर्थमा लिने गर्दछ । तर, नेपालमा भने हिजो माओवादको अति गौरवीकरण गरिएजस्तै सी विचारको सुविचारित प्रोपागाण्डा प्रारम्भ गरिएको छ, यसले बाँकी विश्वमा नेपालको छवी कस्तो बन्छ र भारत, अमेरिका, युरोपियन युनियन लगायतका अरु विश्व शक्तिले कसरी बुझ्ने हुन् ? गम्भीर आशंका उत्पन्न भएको छ ।

आशंकाको वृत्त

भूषालले नेकपाभित्र ‘सामाजिक जनवादी’ विचारको पक्षपोषण गर्दै आएका थिए । बहुदलीय जनवादलाई नयाँ समाजवादी क्रान्तिको चरणमा विकसित गर्नुपर्ने, पार्टीको मार्गदर्शक सिद्धान्तबाट लेनिनवाद हटाउनुपर्ने, सोभियत साम्यवादको लिगेसीबाट पार्टीलाई मुक्त गर्नुपर्ने, मार्क्सवादी आन्दोलनमा लेनिन, स्टालिन, माओ भन्दा रोजा र ग्राम्स्कीका विचारहरु बढी सान्दर्भिक हुँदै गएको, लोकतन्त्रविना समाजवाद प्रत्याभूत हुन नसक्ने जस्ता धारणाको पैरवी गर्दै आएका भूषाल एकदलीय अधिनायकवादलाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको सी विचारधाराको पक्षमा देखिनु सामान्य विषय हैन ।

यसभित्रका अन्तर्निहित पक्षहरु निक्कै गम्भीर हुन सक्दछन् । चीनले नेपालमा राज्यस्तरको व्यापार र विकास सम्बन्ध मात्र हैन ‘कम्युनिष्ट–कम्युनिष्ट सम्बन्ध’ का नाममा नेपालको शासन प्रणालीलाई प्रभावित गर्ने मनसाय राखेको त हैन भन्ने प्रश्न उब्जिएको छ ।

वाद, विचारधारा, सिद्धान्त वा पथ

त्यसो त कम्युनिष्ट आन्दोलनमा वाद, विचारधारा, सिद्धान्त वा पथ निर्माण गर्ने परम्परा नयाँ हैन । हरेक शक्तिशाली विचारक वा नेताका नाममा यस्ता संज्ञा वा पदावली प्रयोग हुँदै आएका छन् । मार्क्सवाद, लेनिनवाद, स्टालिनवाद, माओ विचारधारा, जुझे विचारधारा, देङ सिद्धान्त, चारु मुजुम्दार लाइन, गोन्जालोपथ वा प्रचण्डपथजस्ता शब्दाबलीहरु प्रयोग हुँदै आएका नै हुन् ।

तर, कार्ल मार्क्स यस्तो प्रचलनका विरोधी थिए । उनले १८७१ मा पेरिस रिभ्युलाई दिएको एक अन्तर्वार्तामा आफ्ना विचारलाई ‘मार्क्सवाद’ नभन्न आग्रह गरेका थिए । तर, मार्क्सको यो आग्रहलाई उनका अनुयायीहरुले स्वीकार गरेनन् । मुर्ति पुजा नगर्न बुद्धले आग्रह गर्दागर्दै बुद्धका अनुयायीहरुले बुद्धकै हज्जारौं मूर्ति बनाएजस्तै मार्क्सको विचारलाई मार्क्सवाद भनि छाडियो ।

सन् १९१७ को रुसको अक्टोबर क्रान्तिपछि त्यसमा लेनिनवाद थपियो । दोस्रो विश्वयुद्धमा सोभियत संघको विजयपछि पूर्वी युरोपेली राष्ट्रका कम्युनिष्ट नेता विशेषतः अनवर होक्जा लगायतले ‘स्टालिनवाद’ भन्न थाले । सन् १९४९ को चिनियाँ क्रान्तिपछि माओ विचारधारा भन्न थालियो । पेरुका गोन्जालोले त्यसलाई माओवाद बनाइदिए । त्यसैलाई पछ्याउँदै नेपालमा माओवादी आन्दोलन जबरजस्त विकसित भयो ।

सन् १९७० को दशकमा भारतमा चारु मजुम्दार लाइन भन्ने गरियो । सन् १९७७ मा चिनियाँ साँस्कृतिक क्रान्तिको असफलता र देङको उदयपछि ‘देङ सिद्धान्त’ भन्न थालियो । उत्तर कोरियामा किम इल सुङले ‘जुझे विचारधारा’, भियतनाममा हो चि मिन्हले ‘राष्ट्रिय जनवाद’, नेपालमा मदन भण्डारीले ‘जबज’ र प्रचण्डले ‘प्रचण्डपथ’ बनाए । कम्युनिष्ट परम्परामा यस्तो प्रचलन खासै महत्वपूर्ण नभएको मान्नेहरु पनि उत्तिकै छन् ।

के हो ‘सी चिन फिङ विचारधारा’ ?

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन (अक्टोबर १८–२४, २०१७) ले तय गरको वैचारिक लाइनलाई ‘सी चिन फिङ विचारधारा’ भनिन्छ । वर्तमान पार्टी महासचिव सि चिन फिङ सन् २०१२ मा भएको १८ औं पार्टी महाधिवेशनबाट पहिलो पटक पार्टी प्रमुख भएका थिए । सन् १९७७ यता चिनियाँ कम्युनिष्ट पार्टीमा १० वर्ष अर्थात् दुई कार्यकाल मात्र एक व्यक्ति पार्टी प्रमुख हुन सक्दथ्यो । यसअघिका महासचिव हु जिन्ताओले १८ औं महाधिवेशनमा कार्यकाल पूरा गरे । सि चिन फिङ त्यही अवसरमा पार्टी महासचिव भए ।

१९ औं महाधिवशेनमा सी दोस्रो कार्यकालका लागि अनुमोदित भए । सि चिन फिङको यो कार्यकाल सन २०२२ सम्म रहनेछ । तर सीको दोस्रो कार्यकालपछि दुई कार्यकालको प्रावधान पार्टी विधान र देशको संविधानबाट हटाइएको छ । सीले तेस्रो कार्यकालको समेत नेतृत्व गर्ने अनुमान छ । ५९ वर्षको उमेरमा पहिलो पटक पार्टी प्रमुख बनेका सी दोस्रो कार्यकाल प्रारम्भ गर्दा ६४ का थिए । तेस्रो कार्यकाल प्रारम्भ गर्दा उनी करिब ७० बर्षमा हुनेछन् ।

१९ औं महाधिवेशन उद्घाटन गर्दै सीले ३ घण्टा २३ मिनेट लामो भाषण दिए । कम्युनिष्ट परम्परामा राजनीतिक प्रतिवेदनको प्रस्तुति भनिने त्यस सम्भाषणमा विगत कार्यकालको समीक्षा र आगामी कार्यभारको रुपरेखा चित्रण गरेको थियो । सोही भाषणमा व्यक्त भएका विचारलाई महाधिवेशनले ‘ सी चिन फिङ विचारधारा ’ का रुपमा स्वीकार गर्‍यो । यसको मुख्य प्रश्न भने चिनियाँ सत्तामा असीमित रुपले बढ्दो सि चिन फिङको शक्ति र उनले लिने राजनीतिक कार्यदिशा नै हो ।
विश्वको दोस्रो आर्थिक शक्तिका रुपमा चीनको उदय, भ्रष्टाचारविरुद्धको आक्रामक कार्वाही र ‘वान बेल्ट, वान रोड इनिसिएटिभ’ जस्तो महत्वाकांक्षी योजनाले सि चिन फिङको सत्तालाई निक्कै मजबुद बनाइदिएको छ । चिनियाँ सञ्चार माध्यमहरुले उनलाई ‘एक्काइशौं शताब्दीका माओ’ भन्ने गर्दछन् । चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा आजसम्म दुई नेताको नाममा मात्र यस्तो सिद्धान्त प्रचलित छ । माओ त्से तुङको नाममा ‘माओ विचारधारा’ र देङ सियाओ पिङको नाममा ‘देङ सिद्धान्त’ । पार्टी विधान र महाधिवेशनले औपचारिक मान्यता दिएको सी विचारधारा तेस्रो सिद्धान्त देखिन्छ ।

एक चिनियाँ विश्लेषकका अनुसार सन् १९४९ यताको ‘कम्युनिष्ट चीन’ लाई तीन युगमा बाँड्न सकिन्छ । माओ युग, देङ युग र सी युग । माओले चीनमा कम्युनिष्ट सत्ता स्थापना गरे । क्रान्तिकालमा माओले ‘नयाँ जनवादी क्रान्ति’ ‘जनयुद्धको सैन्य रणनीति’, ‘संयुक्त मोर्चाको आवधारणा’ ‘संयुक्त जनवादी अधिनायकत्व’ र ‘तेस्रो विश्वको सिद्धान्त’ जस्ता अवधारणाहरु प्रतिपादन गरेका थिए । क्रान्तिपछि उनले ‘चिनियाँ समाजको छलाङमय समाजवादीकरण’, ‘निरन्तर क्रान्ति’ र ‘साँस्कृतिक क्रान्ति’ जस्ता अवधारणा पस्किए ।

‘देङ सिद्धान्त’ चिनियाँ कम्युनिष्ट पार्टीको अर्को मार्गदर्शक सिद्धान्त हो । साँस्कृतिक क्रान्तिको असफलतापछि देङ सियाओ पिङले चिनियाँ समाज र अर्थतन्त्रको ढाँचालाई नयाँ मोड दिए । राजनीतिक सिद्धान्तका हिसाबले माओझै देङ पनि ‘एक पार्टी राज्य’ कै पक्षधर थिए । सन् १९८९ मा तेनमियान चोकमा भएको लोकतन्त्रवादी विद्यार्थी आन्दोलनलाई देङले निर्मम दमन गरे । तर कृषि कम्युनको अन्त्य र जमिनको निजीकरण, निजी स्वामित्वलाई मान्यता, ‘चार आधुनिकीकरण’, चिनियाँ विशेषतासहितको समाजवादका लागि ‘बजार अर्थतन्त्रमा आधारित समाजवाद’को पक्षपोषण, सैन्य क्षमताको सामरिक अभिबृद्धि, वैदेशिक पुँजी र प्रविधिका लागि खुल्लापन, अर्थतन्त्रको भूमण्डलीकरण, देशीय उद्योगहरुको विविधीकरण र उत्पादकत्व बृद्धि आदि देङका मुख्य नीतिहरु थिए । देङ नीतिको कारण चीनको वर्तमान आर्थिक तरक्की सम्भव भएको एकथरि विश्लेषकहरुको ठहर छ ।

देङ र सि चिन फिङको बीचमा झियाओ झमिन र हु जिन्ताओजस्ता नेताहरुको भूमिका प्रमुख थियो । यी नेताहरुले कुनै भिन्नै वाद, विचारधारा र सिद्धान्त स्थापित गर्ने महत्वाकांक्षा राखेनन् । देङका असल उत्तराधिकारीका रुपमा यिनीहरुले आफ्नो कार्यकाल पूरा गरे । सि चिन फिङले भने आफ्नो शासनकालमा केही नयाँ नारालाई लोकप्रिय बनाए । ती मध्ये ‘महान चीनको सपना’, सन् २०५० सम्म चीनलाई संसारकै सबैभन्दा सभ्य, भव्य र समुन्नत समाजवादी राष्ट्र बनाउने र विश्वको नेतृत्व गर्ने, ‘चिनियाँ समाजवादमा भ्रष्टाचार सैह्य हुँदैन, घुस लिने र दिने दुबैलाई कार्वाही हुन्छ’ र ‘वान वेल्ट, वान रोड इनिसिएटिभ’ मुख्य छन् ।

सि चिन फिङ उदार लोकतन्त्रका प्रष्ट विरोधी हुन् । तसर्थ उनले ‘बहुदलीय लोकतन्त्र’को बाटो समात्ने कुनै संकेत देखिएका छैनन् । दलीय स्वतन्त्रता, नागरिक समाजको पहलकदमी, प्रेस स्वतन्त्रता, उदारवादी बजार अर्थतन्त्र, राजनीतिक सुधार, मानव अधिकारका विश्वव्यापी मान्यतालाई उनले चिनियाँ इतिहासको लान्छनापूर्ण आलोचना भनी आलोचना गर्दछन् । ‘पश्चिमा हावा आफ्नो देशमा छिर्न नदिने’ कुरामा उनी दृढसंकल्पित छन् ।

सी विचारधाराका ७ मुख्य विशेषता 

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनको सी भाषणका १४ बुँदा छन् । तर तीमध्ये ७ वटामा पहिलो – कम्युनिष्ट पार्टी, चीन राष्ट्र र साम्यवादी सिद्धान्तको सम्बन्धलाई अन्योन्याश्रित कडीका रुपमा व्याख्या गरिएको छ । ‘पार्टी रहेन भने चीन राष्ट्र नै रहने छैन, समाजवाद पनि रहने छैन’ भनिएको छ । दोस्रो – चीनको अन्तर्राष्ट्रिय पहुँचलाई सहज गर्न हङकङ र मकाओमाथिको राजनीतिक प्रभाव बढाउने, ताइवानलाई चीन मूल भूमिमा फर्किन बाध्य पार्ने उनको नीति देखिन्छ । चीनले अपनाउँदै आएको ‘एक देश, दुई प्रणाली’ को अन्त्य गर्दै ‘एक देश, एक प्रणाली’ नीति लागू गर्ने भनिएको छ । तेस्रो – भ्रष्टाचारविरुद्धको अभियानलाई अझ तीव्र पार्ने योजना छ । चौथों – चिनियाँ सेनाको क्षमता विकासको कुरा छ ।
पाँचौं – आउँदो ३० वर्षभित्र चीनलाई संसारको सबैभन्दा शक्तिशाली र धनी राष्ट्र बनाउने लक्ष्य छ । त्यसको मुख्य रणनीति ‘वान बेल्ट वान रोड इनिसिएटिभ’ लाई बनाइएको छ । छैठौं – गरिबी निवारण लक्ष्य र योजना छ । सातौं – मार्क्सवादी परम्परामा भएको समाजवादको अवधारणालाई चिनियाँकरण गर्ने र चिनियाँ विशेषता भएको समाजवादलाई नयाँ विश्व प्रणालीका रुपमा विकास गर्ने योजना छ ।

भूषाललगायत नेकपा नेताहरुले नयाँ विश्व व्यवस्थाको संकेत देखेको सम्भत ७ औं बुँदामा हो । तर चीनको बढ्दो आर्थिक प्रभुत्वको कारण विश्वले एकदलीय साम्यवादी प्रणाली स्वीकार गर्ने कुनै सम्भावना देखिँदैन । न त सी विचारधाराले बहुदलीय लोकतन्त्र स्वीकार गर्ने संकेत छ ।

‘मदन पथ’ स्थगन भएकै हो ?

सी विचारधाराप्रति बढ्दो नेकपा पंक्तिको मोहले नयाँ प्रश्न खडा गरेको छ । के नेकपाले मदनपथ छोडेकै हो ? बहुदलीय लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताबाट च्यूत हुन थालेको हो ? विश्वका कम्युनिष्टहरु जस्तै नेकपा पनि विस्तारै एकदलीय साम्यवादतिरै जान लागेको हो ? अहिल्यै यो निष्कर्षमा पुग्न सकिन्नँ । केही समयअगाडि नेकपा नेता सुवास नेम्वाङले भनेका थिए – ‘यो नेकपाको सरकार हो, कम्युनिष्ट सरकार हैन’। यो भनाइभित्र बहुदलीय व्यवस्थाभित्रै रहन चाहने नेकपा पंक्तिको चाहना अभिव्यक्त हुन्छ ।

त्यसो भए यो सी विचारधाराप्रतिको बढ्दो मोहको अर्थ के हो ? नेकपाका एक नेताका अनुसार ‘यो चिनियाँहरुलाई खुशी पार्ने सामान्य रणनीति मात्र हो । भारत, अमेरिका र बाँकी विश्वले ओली सरकारलाई शंका र सुविधा दुबै आधारमा मझधारको व्यवहार गरिरहेको बेला नेपालले चीनसँगको निकटतालाई अझ भावनात्मक देखाई चिनियाँहरुबाट केही फाइदा लिन सकिन्छ की भन्ने ओली दाउपेचको सामान्य कडी मात्र हो ।”

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage