scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

समाजवाद नआए सत्यानाश हुनसक्छ …

राम कार्की

पूरानो कुराको अन्त्य हुँदै गइरहेको तर नयाँ बनी नसकेाले अहिलेको समस्या सिर्जना भएको हो । यही संक्रमणमा अराजकता र विकृत कुराहरु सल्बलाउने गर्छन् । –एन्टोनियो ग्राम्सी

युगसन्धी अर्थात् एउटा युगको सुरुवात भएर अर्को नयाँ युगको सुरुवात हुने स्थिति वा सन्धि वा संक्रमणको स्थिति सबैभन्दा कठिन हुन्छ । संकट सबैभन्दा बढी त्यहीँ हुन्छ ।

नेपालमा पनि पुराना थुप्रै कुराहरु मर्दैछन् । तर, नयाँ चिज जन्मिभ्याएको छैन । जस्तो– पुरानो संस्कृति, पुरानो चालचलन, पुराना मान्यताहरु थुप्रै भत्किएका छन् । त्यसको ठाउँ नयाँले लिन भ्याएको छैन । यस्तो अवस्थामा समाज अगाडि कसरी जान्छ ?

१९औं शताब्दीको अन्त्यतिर खासगरेर १८९०–९५ तिर कम्युनिष्ट आन्दोलनलाई, मार्क्सवादलाई कसरी बुझिन्थ्यो ? स्वभाविकरुपमा सामन्तवाद पछाडि जसरी पुँजीवाद आयो, त्यसरी नै पुँजीवादपछि समाजवाद आउँछ । एकप्रकारले स्वतस्फूर्तरुपमा । आउँछ नै । त्यसरी नै व्याख्या हुन्थ्यो । त्यतिबेला लेनिनले एउटा नयाँ व्याख्या ल्याए । खासगरी मार्क्सले क्रान्तिकारी संज्ञानलाई अगाडि ल्याएका थिए भने लेनिनले क्रान्तिकारी एक्सनलाई अगाडि ल्याए । मार्क्सवादलाई क्रान्तिकारी अभ्यासमा ल्याए ।

अहिले व्यक्ति वा पात्रहरुको वा घटनाहरुको निन्दाले मात्रै हाम्रो बाटो अगाडि जाँदैन । यो समाजलाई हामीले बेस्करी हस्तक्षेप गर्न सकेनौं भने यसको पछाडि बर्बरता आउँछ । ग्राम्स्कीलाई लेनिन पछाडिको सबैभन्दा ठूलो मार्क्सवादी बौद्धिक भनिन्छ । उनकै देश इटलीमा फासिवाद आयो । जर्मनीमा फासीवाद आयो । नाजीहरुले शासन हातमा लिए । त्यसैले, अहिलेको हाम्रो संक्रमणबाट समाजवाद पनि आउन सक्छ, सत्यानाश पनि हुनसक्छ ।

यो समाज स्वतः समाजवादतिर जाँदैन । संविधानमा लेख्दैमा समाजवाद आउँदैन । त्यसको निम्ति हामीले समाजवादलाई परिभाषित गर्नुपर्छ । के हो समाजवाद ? हामी यसमा सजग बनौं । ठूलो दुर्घटना पनि हुनसक्छ । जर्मनी र इटालीमा जस्तै खतरा पनि आउन सक्छ । जर्मनमा पहिला नाजीको भन्दा कम्युनिष्टहरुको संख्या बढी थियो । कम्युनिष्ट पार्टीहरु आपसी कलहमा नलागेको भए नाजीवादीहरुले उनीहरुलाई जित्न सक्दैनथिए । कम्युनिष्ट पार्टीहरु आपसी विवादमा अल्झिँदा नाजीवादीहरु अगाडि आएर उनीहरुले चुनाव जिते । जितिसकेपछि के भयो संसारमा ? हामी सबैले देखिसकेकै कुरा हो । त्यसैले समाजवाद रबरको टोपी भएको छ । सबैले समाजवादको टोपी लगाएर हिंडेका छौं । यस्तो बेला नेपालको लागि कस्तो समाजवाद भनेर परिभाषित गर्ने बेला आएको छ ।

इतिहास सन्दर्भ सामग्री मात्रै हुनसक्छ । इतिहासले वर्तमानमाथि शासन गर्न थाल्यो भने त्यो समाज समाप्त हुन्छ । वर्तमानको सेवामा इतिहासका शिक्षाहरु लिनसक्नुपर्छ । रुसमा लेनिनले क्रान्तिको नेतृत्व गरे । त्यहाँ उनले राजनीतिक क्रान्तिको सिद्धान्त ल्याए । संगठनात्मक सिद्धान्त, राजनीतिक सिद्धान्त । पछि त्यसको के हविगत भयो ? सेल्फ अर्गनाइजेशन र भेनगार्ड । रोजा लक्जेम्बर्गको चिन्ता थियो– सेल्फ अर्गनाइजेसन खतम भयो भने, मजदुर, किसान, शोषित पीडित जनताले आदिले आफ्नो लड्ने क्षमता गुमायो भने तिम्रो समाजवादको डोजले काम गर्दैन । लेनिन समाजवादको चेतना बाहिरबाट दिनुपर्छ । भेनगार्डले दिनुपर्छ ।

महिला संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने जुँगामुठे नेताहरु बसेर निर्णय गर्नुहुँदैन । नेपालको ल क्याम्पसमा कसलाई सभापति बनाउने भन्ने कुरा पढाई भन्ने कुरा ३० वर्षअघि छाडेर बसेका मानिसहरुले निर्णय गर्नुहुँदैन । त्यहीँका विद्यार्थीलाई दिनुपर्छ ।

रोजा र लेनिनको बहसलाई हाम्रो आन्दोलनमा बिर्सिएका छौं । अहिले पनि हाम्रा पार्टीहरुमा के हो तिम्रो संगठनात्मक सिद्धान्त भन्यो भने जवाफ आउँछ– जनवादी केन्द्रियता । हामीले केही सुत्रहरु कण्ठ पारेका छौं, अल्पमत बहुमतको अधिनमा हुन्छ, तल्ला कमिटीहरु माथिल्ला कमिटिको मातहतमा हुन्छ । अब हामीले खोज्नुपर्‍यो, नयाँ पुस्ताले पढ्नुपर्‍यो, लेनिनले कुन सन्दर्भमा जनवादी केन्द्रियताको संगठनात्मक सिद्धान्त ल्याए ? उनको अगाडि विरासत र अवस्था के थियो ? र, उनले मार्क्सवादलाई कसरी बुझेका थिए ? वर्नस्टिनले कसरी बुझेका थिए ? कार्ल काउत्स्कीले कसरी बुझेका थिए, लेनिनले कसरी बुझेका थिए ? त्यतिबेलाको ऐतिहासिक सन्दर्भ के थियो ? खासगरी राष्ट्रियताको प्रश्नमा बारम्बार लेनिन रोजलाई भन्छन्, तिमी बुझ्दिनौ ।

रोजालाई मार्क्सपछिको सबैभन्दा राम्रो मष्तिष्क, विलक्षण दिमाग हो भनिन्छ । रोजा स्वयम् जर्मनीको जनवादी आन्दोलनको सफलताबाट उत्साहित देखिन्थिइन्, उनको रचना । किनकी सबै देशका पार्टीहरुले त्यसलाई आइडल मानिरहेका थिए । सबैले बारबार जर्मनको उदाहारण दिन्थे । प्लेखानोभ पनि जर्मनकै उदाहरण दिन्छन् ।

लेनिन व्यक्तिका रुपमा फरक छन् । एकदमै दयालु र असाध्यै संवेदनशील । यहासम्मकी उनले भनेका थिए, मलाई बिथोवरको संगीत नसुनाऊ, म आँसु रोक्नै सक्दिनँ । यो व्यक्ति लेनिन भए । तर आवश्यकताले जन्माएको लेनिन एकदमै केन्द्रीयतावादी, एकदमै बोल्सेभिक । यसर्थ, हामीले सन्दर्भ नबुझी जनवादी केन्द्रियतालाई नाराको रुपमा बुझ्दै आयौं । कहिल्यै लागू गरेनौं । हाम्रो देशको कम्युनिष्ट आन्दोलनमा जनवादी केन्द्रियता लागू भएको मलाई थाहा छैन । कुनै साथीलाई थाहा छ भने एकदिन समय दिएर मलाई बुझाइदिनुहोस् ।

स्वचालित अर्थात् सेल्फ अर्गनाइजेसनको कुरा । रुसीहरुले पनि नारा लगाएका थिए– सम्पूर्ण सत्ता सोभियतलाई दिऊँ । त्यो सोभियतभित्र त सिपाही पनि थिए, मजदुर पनि थिए, किसान पनि थिए । पछि सोभियतलाई दिएको सत्ता पार्टीले खोसेर आफ्नो हातमा लियो । यहाँसम्म आइपुग्दा त पार्टी नै सर्वेसर्वा भइदियो ।

पछिल्लो १५-२० वर्ष नेपालमा विद्यार्थी आन्दोलन भएको थाहा छैन । जतिसुकै अत्याचार भए पनि किसानको आन्दोलन हुँदैन । किनकी पार्टीले सबैलाई समाजवादको इन्जेक्सन दिएको छ, त्यसले सबै लट्ठिएका छन् । अहिले मलाई रोजाको सम्झना आउँछ । यदि हाम्रा विद्यार्थीलाई हामीले संगठित नगरेको भए, यी पार्टीहरुले यस्तो राजनीति नदिएको भए, आफैं लड्थे होलान् । उनीहरुको अर्गानिक लडाईं देख्न पाइन्थ्यो नि । महिलाहरुले पनि आफ्नो अर्गानिक लडाईं छाडे । किसानले पनि छाडे । सबै जनवर्गहरुलाई हामीले भुत्ते बनाइदियौं हामीले ।

यसर्थ, बहसका लागि मेरो प्रस्ताव छ– अब कम्युनिष्ट पार्टीले मजदुर, किसान, महिला, विद्यार्थीलाई संगठनात्मकरुपमा नेतृत्व गर्नुहुँदैन । उनीहरुलाई स्वायत्तता दिनुपर्छ । महिला संगठनको अध्यक्ष कसलाई बनाउने भन्ने जुँगामुठे नेताहरु बसेर निर्णय गर्नुहुँदैन । नेपालको ल क्याम्पसमा कसलाई सभापति बनाउने भन्ने कुरा पढाई भन्ने कुरा ३० वर्षअघि छाडेर बसेका मानिसहरुले निर्णय गर्नुहुँदैन । त्यहीँका विद्यार्थीलाई दिनुपर्छ ।

कसरी पार्टी भेनगार्डमा मात्रै आधारित भयो र पार्टी जनताबाट अलग्गिँदै गइरहेछ ? यही चिजलाई हामीले पनि लगातार अपनाउँदै आएका छौं । अर्कोतिर प्रजातान्त्रिक समाजवादलाई आदर्श मान्ने नेपाली कांग्रेस छ । तर, उसैले सबैभन्दा धेरै निजीकरण र वैश्वीकरणलाई नेपालमा लागू ग¥यो । तर, उसले नेपाली समाजको प्ररिप्रेक्ष्य कस्तो छ भन्ने विचार गरेन । अमेरिका, बेलायत, अष्ट्रेलियामा दुईचार वर्ष पढेर नेपाल फर्किएकाहरुले लाहुरे गफ दिए । त्यहाँ सबै कुरा निजी क्षेत्रलाई दिएको छ भनेर । राज्य एकदमै बलियो भएको पश्चिम यूरोप, अमेरिका जहाँ एकजना मानिस पसेको पनि निस्कन्छ, एकजना निस्किएको पनि थाहा पाउँछ ।

हाम्रो देश जहाँ अधिकांश पहाडी जिल्लाहरुमा सिडियो भेटिँदैन, सुब्बाहरु मात्र भेटिन्छन् । अधिकृत भेटिँदैनन्, खरदारले चलाइराखेको हुन्छ । दुर्गम जिल्लाहरुमा बनिबनाउ जवाफ पाइन्छ– सिडियो सा’ब त अस्ति मात्र आमा बिरामी भएर घर जानुभएको छ । एक महिनापछि गएर सोध्दा पनि अस्ति नै जानुभएको भन्छ खरदारले । किनकी सिडियो त्यहाँ बस्दैन । राज्य यस्तो कमजोर भएको स्थानमा निजीकरण गर्दा देश डामाडोल भएको हामीले देखिरहेका छौं ।

कम्युनिष्ट पार्टीको समाजवाद नि ! नेपालमा समाजवाद मान्ने दुई कम्युनिष्ट पार्टीहरु एकठाउँमा आएका छौं । दुवै पार्टीमा अतितको मोह गज्जब देखिन्छ । एउटाले भन्छ– जबजले त देशलाई शान्तिपूर्ण ढंगले, प्रतिष्पर्धा गरेर प्रजातान्त्रिक ढंगले समाजवादतिर लैजान्छ । अर्कोले भन्छ– होइन, जबज त मार्क्सवादी जगमा उभिएकै छैन । यो त फेबियनहरुको कुरा हो । त्यसैले अर्कोले एक्काइसौं शताब्दीमा जनवादको विकास भन्ने दस्तावेज ल्यायो । हामी सबैले समीक्षा गर्नुपर्ने एउटा गम्भीर प्रश्न जन्मिएको छ अहिले, हामी कहाँ आइपुग्यौं त अहिले ? जबज र एक्काइसौं शताब्दीको जनवादले हामीलाई कहाँ ल्याइपुर्‍यायो ? हामी कुन ठाउँमा छौं ? हाम्रा सम्बन्धहरु कस्ता छन् ?

यसको सजिलो उदाहरण चे ग्वेभाराले दिएका छन् । पुँजीवाद भनेको ब्वाँसोहरुको लडाईं हो । म पुँजीवाद, हामी समाजवाद । म सबैलाई उछिनेर त्यहाँ पुग्नेछु, पुँजीवाद । हामी मिलेर त्यहाँ सँगै पुग्नेछौं समाजवाद । हाम्रा सम्बन्धकै कुरा गरौं । तिसौं वर्षदेखि एउटै कमिटिमा काम गरेका कमरेडहरुबीच कुनै भावनात्मक सम्बन्ध छैन । मलाई ४० हजार चाहियो भने पार्टीका कमरेड होइन, मावली, ससुराली आदि सम्झिन पुग्छु । पार्टी कमरेडलाई सोध्दिनँ । मैले पैसा चाहिँदा सम्झन्नँ भने मैले कमाएँ भने सम्झन्छु होला त ? ५–१० करोड भयो भने यो पार्टीलाई भनेर मैले पनि दिन्नँ । यो स्थिति छ हाम्रो । यस्तो छ हाम्रो आपसी सम्बन्ध ।

अर्कोतिर अहिले सबैतिर कर्पोरेट हाउस हावी छ । जुम्लाको मासिनले ४ माना मास बेच्न आउँदा पनि उसँग प्यान नम्बर हुनुपर्ने व्यवस्था बनाउँदैछौं । ठूला महलअगाडि ट्राफिक नै बाहिर बसेर गाडी मिलाइरहेको हुन्छ । सानो पसलअगाडि एकछिन मोटरसाइकल रोक्दा पनि सिट्ठी बजाइहाल्छ । त्यो ट्राफिकले महलको सेवा गर्दैछ कि जनताको सेवा गर्दैछ ? पाँच हजार पसल विस्थापन गर्नेगरी मल बनेका छन् । पाँच हजार परिवारको जीवन निर्वाह हुने काम मलले एक्लै बेच्छ, एक्लै कमाउँछ । स्थिति यस्तो छ अहिले ।

यस्तो स्थितिमा कम्युनिष्ट पार्टीको बहुमत आएको छ । हामी आएका छौं र हामीलाई एउटा निर्देशन गरिएको छ, सरकारको राम्रो काम खोज र कहीँ रहेछ भने त्यसको बचाउ गर ।

पहिला डाक्टरकोमा जाँदा मलाई निको पार्ने मान्छे, जीवन बचाउने मान्छे भन्ने सोच्थ्यो बिरामीले । अहिले बिरामी बेहोस् अवस्थामा पनि सोच्छ कि यो मेरो घरबारी खाने मान्छे हो । ऋणमा डुबाउने मानिस हो ।

चीन माओले देखे । ठूलो किसान जनमत छ । किसान किसानले भरिएको छ चिन । यो किसानको जनमतलाई मुक्त नगरेसम्म, यसको पहलकदमीलाई स्वतन्त्र नगरेसम्म चीन अगाडि बढ्न सक्दैन । त्यसैले उनले खाली खुट्टे डाक्टरको अवधारणा ल्याए । धामीझाँकी पनि जम्मा गर्ने गाउँमा, आधुनिक चिकित्सकलाई पनि पुर्‍याइदिने । मिश्रित चिकित्सकीय प्रणाली विकास गरे । परम्परागत अभ्यासलाई पनि जोगाए । त्यसमा वैज्ञानिकता पनि दिए । गाउँकी सुडेनी आमा, धाई आमा, धामी, जडिबुटी ल्याउने र आधुनिक चिकित्सकलाई पनि जोडे । पछि क्युबाले पनि त्यही गर्‍यो र आज उसले चमत्कार गरेको छ । आज संसारमा सबैभन्दा राम्रो स्वास्थ्य सेवा क्युबाको छ । उनीहरु स्वास्थ्य सेवामा गए, हामी स्वास्थ्य उद्योगमा गयौं ।

केहीदिन अघि एउटा सेमिनारमा चिकित्सकहरुको सुरक्षा कसरी गर्ने भन्नेबारे छलफल हुँदै थियो । मैले त्यहाँ भनेको थिएँ- पहिला डाक्टरकोमा जाँदा मलाई निको पार्ने मान्छे, जीवन बचाउने मान्छे भन्ने सोच्थ्यो बिरामीले । अहिले बिरामी बेहोस् अवस्थामा पनि सोच्छ कि यो मेरो घरबारी खाने मान्छे हो । ऋणमा डुबाउने मानिस हो । मल्टिनेशनल कम्पनीको एजेन्टको रुपमा देख्न थाल्यो । हामी स्वास्थ्य सेवामा नगएर स्वास्थ्य उद्योगमा गयौं । त्यहाँ पुँजीपतिहरु निस्किए । अनि यस्तो भयो ।

यो ठाउँमा जबजले ल्याएको हो ? अब जबजवालाहरुले इतिहासलाई सम्मान, सलाम गर्दै त्यसको निर्मम समीक्षा गर्नुपर्‍यो । कतै जबज भन्ने मात्रै लागू नगर्ने त भएन ? नेताहरु मरेका थिए, मारिएका थिए । उनीहरुलाई भित्तामा राखियो । उनीहरुको नाम लिइयो तर जबजलाई व्यवहारमा लागू गरिएन । या त जबजलाई लागू गरियो र यसको परिणाम यही हो भने समाजवाद त कहीँ देखिँदैन ।

म युवा पुस्तालाई भन्छु- हामी सामन्तवादविरुद्ध त बेस्करी लडेका थियौं । तर पुँजीवादसँग लड्न खोज्दा यसले नै हामीलाई प्रदुषित गरिदियो । अब कम्युनिष्ट र काँग्रेस, कम्युनिष्ट र राप्रपा नचिनिने भएपछि त …! यसर्थ, युवा पुस्ता सकिन्छ भने पुँजीवादसँग लड । किनकी यो अमानवीय छ । यसले पृथ्वीको सत्यनाश गर्छ । यो ग्रहलाई नै सिध्याउनेवाला छ । त्यसको ढाँचा, संस्कृति, आनीबानी छ, त्यसले जुन लक्जरी खोज्छ, त्यसले यो पृथ्वीलाई ध्वस्त बनाउँछ ।

(नेकपा नेता कार्कीले एक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage