scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

महात्मा गान्धीको आँखाबाट काश्मीरलाई हेर्दा …

रामचन्द्र गुहा

सन् १९४७ अगष्टको पहिलो हप्ता महात्मा गान्धी काश्मीर गए । त्यो बेला उनी ७७ बर्षका थिए । यात्रा निक्कै कठीन थियो तर उनको निजी निष्ठा, दायित्व र राष्ट्रिय सम्मानको अवस्था– दुवैले उनलाई त्यहाँ बोलाइरहेको थियो । गान्धीजीको देश भारत स्वतन्त्र र विभाजित दुवै हुँदै थियो । तर, राजतन्त्रात्मक राज्य जम्मु-काश्मीर कुन बाटो जाने हो – प्रष्ट थिएन ।

राज्यको अधिकांश जनसंख्या मुस्लिम थियो । मुस्लिम जनताका लोकप्रीय नेता शेख अब्दुल्ला पाकिस्तान मन पराउँदैनथे । अब्दुल्ला आफै कट्टर धर्म निरपेक्षतावादी थिए । राज्यका राजा हरि सिंह भने हिन्दू थिए । तर, उनी भारत र पाकिस्तान दुवैतिर जान चाहँदैनथे । उनी जम्मु-काश्मीरलाई आफ्नै नेतृत्वमा पूर्वको स्वीट्जरलैण्ड बनाउने स्वैरकल्पनामा रमाइरहेका थिए ।

गान्धीको काश्मीर यात्राका मुख्य दुई उद्देश्य थिए । एक– महाराजा सिंहलाई भेट्नु र अब्दुल्लालाई जेलमुक्त गराउनु । दुई– काश्मीरी जनता के सोचिरहेका छन् भन्ने अनुमान लगाउनु । जब उनी काश्मीर उपत्यका पुगे, उनले भयानक स्थिति पाए । सोचे भन्दा बिलकुल फरक । गान्धीजी श्रीनगर के प्रवेश गरेका थिए– सडकका दुवै किनारमा जम्मा भएका हज्जारौं नरनारी ‘महात्मा गान्धी कि जय’ भन्न थाले ।

झेलम नदीको पुल भीडले भरिएको थियो । नदी तर्न उनले अर्कोतिरबाट डुंगा प्रयोग गर्नुपर्‍यो । तुरुन्तै उनले करिब २५ हजारको जनसभालाई सम्बोधन गर्नुपर्ने अवस्था आयो । ती मान्छेहरु शेख अब्दुल्लाकी श्रीमतीको आव्हानमा त्यहाँ जम्मा भएका थिए । उनले हिन्दीमा राजनीतिक भन्दा धार्मिक र नैतिक महत्वको भाषण गरे ।

गान्धीकी सहयोगी चिकित्सक सुशिला नायर त्यतिखेर उनीसंगसंगै थिइन । उनले त्यो क्षणबारे यसरी लेखेकी छन्, ‘हज्जारौं नरनारीहरु गान्धीजीलाई एक झल्को हेर्न गाउँगाउँबाट ओइरिएका थिए । उनका मित्र र दुश्मन दुवै भीडभित्र हराएका थिए । उनको उपस्थितिले मात्रै पनि भीडमा अनौठो प्रकृतिको शान्ति र उत्सुकता सृजना भएको थियो ।’

गान्धीजीले काश्मीरमा ३ दिन र जम्मुमा थप २ दिन बिताए । आफ्नो काश्मीर भ्रमणबारे संक्षिप्त विवरण नेहरु र सरदार बल्लभभाई पटेल दुवैलाई पठाए । गान्धीले महाराजा हरि सिंह र उनका छोरो राजकुमार करण सिंहसंग भएका कुराकानी लेखे ।

उनको ठहर थियो, ‘दुवैले यो स्वीकार गरे कि ब्रिटिश प्रभुताको अन्त्यपछि नै काश्मीरको साँचो सम्प्रभुता शुरुवात हुन्छ । भारतीय संघमा सामेल हुने वा नहुने निर्णय चाहिँ काश्मीरी जनताको इच्छाअनुरुप हुनेछ । उनीहरुले चाहिँ के निधो गरेका छन्, त्यसबारे भने कुनै कुरा भएन ।’

रामचन्द्र गुहा

शेख अब्दुल्ला जेलमा भए पनि ‘नेशनल कन्फ्रेन्स’का अरु नेताहरु बाहिरै थिए । गान्धीजीले उनीहरुसँग भेटे । नेहरु र पटेललाई लेखे, ‘अधिकांश काश्मीरी जनताको स्वतन्त्र मत, वयस्क मताधिकारको परिणाम वा विद्यमान मत अभिलेख काश्मीर भारतीय संघमा सामेल हुने पक्षमा हुनेछ, शेख अब्दुल्ला र उनका सहकर्मीहरु जेलबाट छुट्नेछन् भन्ने कुरामा आशावादी पाए ।’

गान्धीजी भारतीय स्वतन्त्रताको दिन दिल्लीमा हैन, कलकत्तामा थिए । भारतभरि फैलिएको हिन्दू– मुस्लिम दंगाहरुले गर्दा स्वतन्त्रताको दिन खुशीयाली मनाउने मुड उनमा बनेन । उनको एकल उदाहरणीय प्रयास र अनशनमार्फत् कलकत्ताको दंगा रोकिएको थियो । त्यसरी नै दिल्लीमा पनि शान्ति कायम गर्ने प्रक्रियामा थिए ।

सेप्टेम्बरको अन्त्यतिर मात्र महाराजा हरि सिंहले शेख अब्दुल्लालाई कारागारमुक्त गरे । ३ महिनापछि पाकिस्तानले बलपूर्बक आफूमा जोड्ने उद्देश्यले काश्मीरमा आक्रमण गर्‍यो । शेख अब्दुल्लाले हमलाकारीहरुविरुद्ध आफै जनपरिचालनको नेतृत्व गरे । काश्मीरी जनताको साहसबारे सुनेर सन् १९४७ अक्टोबर २९ को दिल्ली भाषणमा गान्धीले भने– ‘काश्मीर महाराजाबाट सुरक्षित हुन सक्दैन । यदि कसैले काश्मीरको सुरक्षा गर्न सक्छ भने ती काश्मीरी मुस्लिम, काश्मीरी पण्डित, राजपुत र शिखहरुले नै सक्दछन् ।’

गान्धीले यो कुरा पनि महत्वका साथ गरेका थिए की, ‘उपरोक्त समुदायहरुसँग मित्रवत् तथा प्रेमपूर्ण सम्बन्ध शेख अब्दुल्लाले निर्माण गर्न सक्दछन् ।’

एक महिनापछि जब भारतीय सेनाको नेतृत्वमा हमलाकारीहरुको नाडी राम्ररी छामिसकिएको थियो अब्दुल्ला दिल्ली आए । नोभम्बर २८ को बिहान, गान्धीको प्रार्थना बैठकमा अब्दुल्ला उनको छेउमा उभिएका थिए । त्यहाँ गान्धीले भने, ‘शेख अब्दुल्लाले एक महान कार्य गरेका छन् । उनले काश्मीरी हिन्दू, मुस्लिम र शिखलाई एकताबद्ध पारेका छन् । उनीहरु सँगै बाँच्ने मर्ने अवस्था सिर्जना गरेका छन् ।’

दुई महिनापछि गान्धी एक हिन्दू अतिवादीद्वारा मारिए । त्यसयताको ७ दशक काश्मीर एकदेखि अर्को संकटमा लडखडाइरहेको छ । धार्मिक अतिवाद र राज्य–दमनको अन्त्यहीन प्रक्रियाले भारतको सबैभन्दा सुन्दर भागलाई सबैभन्दा क्षतविक्षत बनाएको छ । यदि गान्धी बाँचिरहेका भए सायद ३ वटा घटनाले उनलाई आश्चर्यचकित बनाउँथ्यो ।

पहिलो– सन् १९५३ मा नेहरु सरकारद्वारा शेख अब्दुल्लाको गिरफ्तारी । दोस्रो– सन् १९८९–९० मा काश्मीरी मुस्लिम जिहादीहरुद्वारा काश्मीरी पण्डितहरुको जातीय संहार । तेस्रो– सन् २०१९ मा नरेन्द्र मोदी सरकारद्वारा संविधानको धारा ३७० को एकपक्षीय खारेजी । यो तेस्रो घटनाले सायद गान्धीलाई सबैभन्दा बढी उखरमाउलो बनाउने थियो । उनको १५० औं जन्मजयन्तीको बर्षमा भारतीय सरकारले ‘जनताको इच्छा अनुसारको विकल्प छनौट गर्न दिन’ अस्वीकार गरेको मात्र छैन, साथसाथै सम्पूर्ण काश्मीर भ्यालीलाई मानव इतिहासकै सबैभन्दा ठूलो एक खुल्ला जेल बनाएको छ ।

निश्चिय नै गान्धी काश्मीरमा भइरहेका यी समकालीन घटनाबारे बोल्न जिवित छैनन् तर उनको नामसँग जोडिएको जस पाएकाहरु त छन् । मैले एउटा प्रेस वक्तव्य हात पारेको छु– काश्मीरबारे गान्धी पिस फाउन्डेसनले जारी गरेको जो सन् १९५९ मा महात्मा गान्धीको योगदान र स्मृतिलाई जीवन्त राख्न भारत सरकारले गठन गरेको एक स्वतन्त्र संस्था हो । यो संस्थाले राम्रै काम गर्दै आएको छ । भारतीय युवा नेताहरुलाई बिरलै यो थाहा होला कि महान जननेता जयप्रकाश नारायण गान्धी पिस फाउन्डेसनसँग नजिकबाट जोडिएका थिए । उनले सहासिकतापूर्वक आपतकालको विरोध गरेका थिए । सन् १९८० को निर्वाचनमार्फत् सत्तामा फर्किने इन्दिरा गान्धीको चाहनालाई आघात पुर्‍याएका थिए ।

फाउन्डेशनले हिन्दी र अंग्रेजी दुबैका वक्तव्य जारी गरेको छ । भनिएको छ– ‘काश्मीरलाई चुप लगाउन प्रयोग गरिँदै आएको बन्दुक आज काश्मीरलाई परख्न बन्दुकमा टेलेस्कोप लगाएर प्रयोग गरिएको छ । यो भारतका लागि लज्जास्पद, दूभाग्यपूर्ण र अशुभ छ ।’

अगाडि भनिएको छ – ‘पूरै राज्य दिनदहाडै नक्शाबाट गायब भएको छ । भारतीय संघसँग २८ राज्यहरु थिए, अब २७ भएका छन् । यो कुनै जादुगरले हामीलाई जादु देखाएजस्तो घटना हैन , हामीलाई थाहा छ कि यहाँ कुनै असत्य र भ्रमपूर्ण खेल भइरहेको छ । हामी कपट, क्रुरता, कुरुपता र अलोकतन्त्रको साक्षी भएका छौं । यसले हाम्रो लोकतान्त्रिक राजनीतिको दरिद्रतालाई उजागर गर्दछ ।’

फाउन्डेशन हामीलाई चेतावनी दिन्छ– ‘हामी काश्मीर सधैंका लागि बन्द गर्न सक्दैनौं । निश्चिय नै ढोकाहरु खुल्ला हुनु पर्दछ । मान्छेहरु खुलेर आउन्, उनीहरुको पीडा सामुन्ने छताछुल्ल होस् । सम्भाव्य संवादलाई व्यवधान गर्ने सबै पुलहरु भत्काउन जरुरी छ ।’

वक्तव्यको अन्त्यमा फाउन्डेसनले सर्वसाधारण भारतीय तथा भारतीय सरकार दुबैलाई प्रवोधनपूर्ण सम्बोधन गरेको छ – ‘ हामी काश्मीरीहरुको संकटको क्षण उनीहरुसँग उभिनैपर्छ । उनीहरुको संकट यथार्थमा हाम्रो संकट हो । कानुन कायदा बनाइराख्नु सरकारको कर्तव्य हो तर त्यो बहानामा स्वतन्त्र अभिव्यक्तिको अधिकार कुनै तहमा पनि कुन्ठित हुनुहुँदैन ।’ गान्धीका बारेमा बर्षौं अध्ययन र लेखन गरेको नाताले म यो भन्न सक्छु कि गान्धी फाउन्डेसनको वक्तव्य गान्धीको धारणासँग धेरै हदसम्म नजिक छ ।

एकपटक यहाँनेर फेरि गान्धीलाई स्मरण गरौं – ‘काश्मीर महाराजाबाट सुरक्षित हुन सक्दैन । यदि कसैले काश्मीरको सुरक्षा गर्न सक्छन् भने ती काश्मीरी मुस्लिम, काश्मीरी पण्डित, राजपुत र शिखहरुले नै सक्दछन् ।’ शक्तिका भोका आजका राजनीतिक महाराजाहरु जो आफूलाई काश्मीरको रक्षक भएको नाटक गरिहेका छन्, उनीहरुबाट काश्मीर सुरक्षित छैन र हुन पनि सक्दैन । न त पाकिस्तान र उसका प्रोक्सी जिहादीहरुबाट काश्मीर सुरक्षित छ जसले बर्षौदेखि काश्मीरका युवाहरुको ब्रेनवास गर्दै उनीहरुलाई अल्पायुमै मृत्युको मुखमा धकेलिरहेको छ ।

भौगोलिक अवस्थिति र ऐतिहासिक नियतिको भारले थिचिएर काश्मीर दशकौंदेखि द्वन्द्व र रक्तपातको लागि बदनाम भएको छ । ती सबै भारतीय तथा काश्मीरीहरु यदि हामी गान्धीलाई साँचो अर्थमा राष्ट्रपिता मान्छौं भने हामी उनका शिक्षा र भनाइबाट पीठ फर्काउन सक्दैनौं । सत्य लेखौं, बोलौं । नियतिको यो अध्याँरो क्षणबाट हामीलाई सच्चाइले नै बाहिर निकाल्न सक्दछ ।

(गुहा प्रसिद्ध भारतीय इतिहासकार हुन् । यो आलेख उनको ‘काश्मीरमा गान्धी र काश्मीरबारे गान्धीवादीहरु’ लेखको संक्षेपीकरण हो)

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage