scheduleमगलवार आश्विन ६ गते, २०७७

कांग्रेसको नाराबाजीबीच प्रदेशसभाबाट विधेयक पारित

विराटनगर, ६ असोज । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोध र नाराबाजीकाबीच १ नम्बर प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पारित गरेको छ।

प्रदेशसभाले कांग्रेसको अवरोध र नाराबाजीकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी विधेयक पारित गरेको हो । विधेयक पारित गर्ने क्रममा कांग्रेसका सांसदले मन्त्रीलाई रोष्टम जान नदिने प्रयास गरेका थिए। रोष्टम घेराउ गर्दा सामाजिक विकासमन्त्री जीवन घिमिरे कुर्सी नै नाघेर अस्वभाविक तरिकाले रोष्टम पुग्नु परेको थियो।

बैठकको सुरुमै कांग्रेसका सांसदहरुले रोष्टम घेर्ने र मन्त्रीलाई त्यहाँ पुग्न नदिने तयारी गरेका थिए। सभामुख प्रदेशसभामा प्रवेश गरेसँगै कांग्रेसका महिला संसदहरु रोष्टम घेर्ने र मन्त्रीलाई प्रस्ताव पेश गर्नै नदिनका लागि रोष्टम अगाडि जम्मा भएका थिए। मन्त्री रोष्टममा पुगेपछि सत्तापक्ष नेकपाका सांसदहरुले भने तालि बजाएर स्वागत गरेका थिए।

कांग्रेस अवरोधका कारण दुई पटक स्थगित भएको संसद बैठक आइतबार पनि नाराबाजीकाबीच संचालन भएको थियो। कांग्रेसका सांसदहरुले रोष्ट्रममा गएर संसदीय सर्वोच्चता कायम गर, अधिनायकवादी अभ्यास बन्द गर जस्ता नारा लगाएका थिए।

प्रदेशसभाले हालसम्म ३ दर्जन बढी विधेयक पारित गरि सकेको छ। विधेयक पारित गर्दा सत्तापक्ष र विपक्षको रुपमा १ नम्बर प्रदेशसभामा विवाद भएको यो पहिलो हो। बहुमतका आधारमा विधेयक पारित गरेपछि कांग्रेसले संसदीय सर्वोच्चता हनन् भएको र माथिको आदेशमा प्रदेशसभालाई पंगु बनाउने प्रयास भएको प्रतिक्रिया दिएको छ।

यता सरकारले भने लोकप्रिय कम्युनिष्ट नेता मनमोहन अधिकारीको नाम जोडिएको कारण कांग्रेसले बिना कारण विरोध गरेको दाबी गरेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय