scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

ट्रम्पमाथि लाग्ला त महाअभियोग ?

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपतिबीच भएको टेलिफोन वार्तालाई लिएर ट्रम्पमाथि महाअभियोग लगाउने प्रक्रिया अघि बढ्ने भएको छ ।

मंगलबार अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने औपचारिक प्रकृया अगाडि बढाउन निर्देशन दिएकी छन् । ‘कानुनमाथि कोही पनि हुँदैन’, ट्रम्पविरुद्ध महाअभियोग लगाउने घोषणा गर्ने क्रममा पेलोसीले भनेकी थिइन् ।

डेमोक्रेटिक पार्टीकी सभामुख पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउनुपर्ने यसअघिका मागप्रति भने खासै चासो राखेकी थिइनन् । यसअघि उनले अदालती आदेश र विभिन्न कागजात हेरेर ट्रम्पबारे सदनमा अनुसन्धान भइरहेको भन्दै सांसदहरुलाई संयम अपनाउन आग्रह गर्दै आएकी थिइन् ।

तर ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई एक टेलिफोन वार्तामा अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरामाथि छानबिन गर्न दबाब दिएको कुरा सार्वजनिक भएपछि ट्रम्पविरुद्ध महाअभियोग लगाउनुपर्ने आवाज सशक्त बनेको थियो । स्मरणीय छ, बाइडेन सन् २०२० को राष्ट्रपतीय उम्मेदवारका एकजना मनोनित व्यक्ति समेत हुन् ।

अमेरिकी संविधानमा बहालवाला राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने विषयबारे प्रस्ट रुपमा उल्लेख गरिएको छ । साथै यो विषयबारे प्रस्ट हुन निम्न ६ कुराबारे समेत प्रस्ट हुनुपर्छ :

१. अमेरिकी राजनीतिक व्यवस्थामा महाअभियोग भन्नाले के बुझिन्छ ? 

संयुक्त राज्य अमेरिकाका संस्थापकहरुले देशको संविधानमा नै महाअभियोगबारे उल्लेख गरेका थिए । यसअर्थमा, महाअभियोग भनेको सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो ।

सामान्यतया, ‘महाअभियोग’ भन्नाले कानुनी प्रक्रिया वा अवधारणा भन्ने बुझिन्छ । अमेरिकामा यो शब्दावलीबारे सन् १७८७ को संवैधानिक अधिवेशनमा निकै चर्चा भएको थियो । उक्त अधिवेशनमा सहभागीले ‘यदि बहालवाला राष्ट्रपति देशद्रोह, भ्रष्टाचार र अन्य जघन्य अपराधमा’ संलग्न रहेको पुष्टि भएमा सदनले हटाउन सक्ने भनेर आम सहमति गरेका थिए ।

महाअभियोगसम्बन्धी विषय उठाउने र पेश गर्ने अधिकार अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ वा तल्लो सदनसँग छ । उक्त सदनको न्यायिक समितिमा यससम्बन्धी प्रकृया अघि बढ्छ । यदि तल्लो सदनमा बहालवाला राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने भनेर पारित भएमा वा महाअभियोग लगाएमा यसबारे सिनेटमा सुनुवाइ र न्यायिक जाँचबुझ सुरु हुन्छ ।

२. कुन-कुन आधारमा राष्ट्रपतिमाथि महाअभियोग लगाउन सकिन्छ ? महाअभियोग कसरी कार्यान्वयन हुन्छ ?

अमेरिकी संविधानअनुसार ‘देशद्रोह, भ्रष्टाचार र वा अन्य जघन्य अपराध’ मा संलग्न रहेको भेटिएमा राष्ट्रपति, उपराष्ट्रपति तथा सरकारी ओहदामा रहेका अन्य पदाधिकारी/अधिकारीलाई महाअभियोग लगाएर हटाउन सकिन्छ ।

महाअभियोग लगाउनुपूर्व तल्लो सदनका कुनै सदस्यले यससम्बन्धी प्रस्ताव पेश गर्छन् वा पूर्ण सदनमा महाअभियोगका लागि आधार छन्/छैनन् भनेर छानबिन गर्न मतदान गरिन्छ । त्यसपछि सदनको न्यायिक समिति वा विशेष समितिले यसबारे छानबिन गर्छ र समितिका सदस्यले पूर्ण सदनमा मतदान गर्नका लागि उक्त प्रस्ताव अघि बढाउने वा नबढाउने भनेर भोट हाल्छन् । यदि पूर्ण सदनमा यो विषय पेश भएमा ४३५ जना सदस्य रहेको सदनले सामान्य बहुमतबाट महाअभियोगको प्रस्ताव पारित गर्छ ।

लगत्तै यो विषय सिनेटमा जान्छ । सिनेटमा राष्ट्रपतिबारे पुन: न्यायिक बहस र सोधपुछ हुन्छ । यस्तो बहसको अध्यक्षता अमेरिकाका प्रधानन्यायाधीशले गर्छन् ।

सय सदस्यीय सिनेटमा रहेका सिनेटरमध्ये २ तिहाईले राष्ट्रपतिलाई हटाउने पक्षमा मतदान गरेपछि महाअभियोग लाग्छ र राष्ट्रपति हट्छन् ।

हालको अमेरिकी सिनेटमा ५३ जना रिपब्लिकन सिनेटर छन् भने ४५ जना डेमोक्रयाट र २ जना स्वतन्त्र सिनेटर छन् । यसरी हेर्दा डोनाल्ड ट्रम्पलाई पदबाट हटाउनका लागि डेमोक्र्याट र स्वतन्त्र सिनेटरसहित  कम्तिमा पनि २० जना रिपब्लिकन सिनेटरले उनीविरुद्ध मतदान गर्नुपर्छ ।

३. यसअघि कुन-कुन राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाइएको थियो ?

अमेरिकी इतिहासमा हालसम्म २ जना राष्ट्रपतिविरुद्ध मात्रै महाअभियोग लगाइएको छ । तर महाअभियोग लगाइएको भएपनि दुबै जनालाई पदबाट हटाइएको भने थिएन । सन् १८६८ मा एन्ड्रु जोनसनविरुद्ध महाअभियोग लगाइएको थियो । अमेरिकी गृहयुद्धपछिको अस्थिरता र संकटपछि जोनसनविरुद्ध महाअभियोग लगाइएको हो । त्यस्तै सन् १९९८ मा मोनिका लेवेन्स्कीसँगको सम्बन्ध तथा अन्य मुद्दालाई लिएर बिल क्लिन्टनविरुद्ध महाअभियोग लगाइएको थियो । यी दुबै अवस्थामा तल्लो सदनले राष्ट्रपतिमाथि लगाइएका आरोप सही भएको ठहर गर्दै महाअभियोग लगाएको थियो । तर दोषी ठहर गरी पदबाट हटाउनका लागि सिनेटमा चाहिने २ तिहाई मत नपुगेपछि जोनसन र क्लिन्टनले पद छोड्नु परेको थिएन ।

यता सन् १९७४ मा तल्लो सदनको न्यायिक समितिले तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनविरुद्ध महाअभियोग लगाउनुपर्ने भनेर सिफारिस गरेको थियो । निक्सनविरुद्ध ‘वाटरगेट काण्ड’बारे भइरहेको अनुसन्धानमा अवरोध गरेको आरोप लगाइएको थियो । तर पूर्ण सदनमा मतदान हुनुपूर्व नै निक्सनले पदबाट राजीनामा दिएका थिए । उनी बहालवाला राष्ट्रपति पदबाट राजीनामा दिने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

४. महाअभियोग लागेर ट्रम्पले पद छोड्नु पर्‍यो भने को बन्छ भावी राष्ट्रपति ? र ट्रम्पलाई कस्तो कारबाही हुन्छ ?

यदि सिनेटबाट ट्रम्पलाई महाअभियोग लगाएर हटाउने प्रस्ताव २ तिहाईले पारित भएमा हालका उपराष्ट्रपति माइक पेन्स स्वत: राष्ट्रपतिमा बढुवा हुन्छन् । तर ट्रम्पको बाँकी रहेको कार्यकाल वा सन् २०२१ जनवरी २० सम्मका लागि मात्रै पेन्स राष्ट्रपति हुन पाउनेछन् ।

अमेरिकी संविधानमा बहालवाला राष्ट्रपतिविरुद्ध फौजदारी अभियोग लगाउने व्यवस्था गरिएको छैन । तर राष्ट्रपति पदबाट हटेपछि भने यस्तो अभियोग लगाउन सकिन्छ ।

५. टेलिफोनमा ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच के कुरा भएको थियो ?

केही समयअघि ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको टेलिफोन वार्तापछि ट्रम्पविरुद्ध महाअभियोग लगाउनुपर्ने भनेर चर्को आवाज उठेको हो । उक्त टेलिफोन वार्तामा ट्रम्पले जेलेन्स्कीलाई बाइडेन र उनका छोरा संलग्न रहेको एक ग्यास कम्पनीबारे छानबिन गर्न दबाब दिएका थिए । टेलिफोन वार्ता र अन्य विषयमा एकजना ह्विसल ब्लोअरले मुख खोलेपछि राष्ट्रपति ट्रम्प विवादमा तानिएका हुन् ।

जेलेन्स्कीसँगको फोन वार्तामा ट्रम्पले जेलेन्स्कीलाई बाइडेन र उनका छोराविरुद्ध भ्रष्टाचारको अभियोग लगाउन दबाब दिएका थिए । युक्रेनलाई आक्रान्त पारेको भ्रष्टाचारबारे छानबिन गर्नुपर्ने र यसमा बाइडेनका छोरालाई समेत मुछ्नुपर्ने उनको आग्रह थियो । रोबर्ट हन्टर बाइडेन (जो बाइडेन छोरा) भनेका ओबामाको कार्यकालमा युक्रेनको १ ग्यास कम्पनीको बोर्डमा रहेर काम गरेका व्यक्ति हुन् । त्यतिबेला उनका बाबु कियभसँग कुटनीतिक छलफलमा व्यस्त थिए ।

यता जेलेन्स्कीसँगको टेलिफोन वार्तामा बाइडेन र उनका छोराको कुरा उठाएको ट्रम्पले स्विकार गरिसकेका छन् । त्यस्तै मंगलबार मात्रै उनले युक्रेनलाई दिने भनिएको ४ सय मिलियन सैन्य सहयोग रोक्न लगाएको समेत बताएका थिए । ट्रम्पको भनाइसँगै डेमोक्र्याट सांसदले उक्त रकम बाइडेनविरुद्ध सूचना संप्रेषण गर्ने कार्यमा खर्च गरेको आरोप लगाएका थिए ।

सभामुख पेलोसी सुरुमा ट्रम्पविरुद्ध महाअभियोग लगाउने पक्षमा खुलेर बोलेकी थिइनन् । तर पार्टीभित्र महाअभियोग लगाउनुपर्ने भनेर माग गर्नेको संख्या बढ्दै गएपछि मंलगबार मात्रै पेलोसी यसको पक्षमा उभिएकी हुन् ।

भ्रष्टाचारविरोधी अभियानकर्मीले जेलेन्स्कीसँग ट्रम्पले उठाएको विषयबारे चासो व्यक्त गरेका छन् । तर बाइडेन र उनका छोराले कुनै पनि गलत कार्य गरेको प्रमाण भने भेट्टिएको छैन ।

६. महाअभियोगको प्रस्ताव अघि बढ्ने भएपछि ट्रम्पले के भने ? 

तल्लो सदनमा डेमोक्र्याटले महाअभियोगको प्रस्ताव अघि बढाउने तयारी गरेको समाचार बाहिर आएपछि मंगलबार राष्ट्रपति ट्रम्पले उक्त कदम आफ्ना लागि ‘सकारात्मक’ भएको भनेर टिप्पणी गरेका छन् । आफ्नो कार्यकालमा अमेरिकाले हालसम्मकै राम्रो काम गरिरहेको र डेमोक्र्याटले महाअभियोग प्रस्ताव अघि बढाएमा उनीहरु आगामी चुनावमा पराजित हुने ट्र्म्पको दाबी थियो ।

तर आफूविरुद्ध महाअभियोग लगाउने प्रकृया औपचारिक रुपमा नै सुरु हुने भएपछि ट्रम्प डेमोक्र्याटविरुद्ध क्रुद्ध बनेका छन् । आफूविरुद्ध अनावश्यक छानबिन गर्न खोजिएको उनको आरोप छ ।

‘संयुक्त राष्ट्रसंघको महत्वपूर्ण दिन, अति व्यस्तता र सफलताबीच डेमोक्र्याटले नियतबश अनावश्यक खोजतलासको कुरा गरेर यसको अवमूल्यन गर्न खोजे’, ट्रम्पले आफ्नो ट्विटमा लेखेका छन्, ‘यस्तो कुरालाई तपाईंले विश्वास गर्नुहुन्छ त ?’

त्यस्तै ट्रम्पले आफू र जेलेन्स्कीबीच भएको फोन वार्ताको पूर्ण विवरण सार्वजनिक गर्न भनिसकेका छन् । टेलिफोन वार्तामा आफूले कुनै कुरा नगरेको समेत उनको भनाइ छ । ‘उक्त टेलिफोन वार्ता मैत्रीपूर्ण र सही थियो भनेर तपाईंले देख्न सक्नु हुनेछ’, ट्रम्पले भने ।

(अलजजिराको सहयोगमा)

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage