scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

आईएस लडाकु हुँदै मानसिक रोगी बनेकी एक किशोरीको कथा

काठमाडौं, ९ असोज । बेलायत जस्तो सम्पन्न मुलुकमा जन्मेकी । तर जिहादीको प्रभावमा परी इस्लामिक लडाकु बनेकी सामिमा बेगमको कथा आफैमा पीडादायक र दर्दनाक छ ।

सामिमा बेगम हाल १९ वर्षकी भइन् । बेगमको जन्म बेलायतमा भएको हो । उनका बाबुआमा बंगलादेशी मूलका हुन् । लण्डन जस्तो सम्पन्न शहरमा जन्मेकी बेगम कलिलै उमेरमा इस्लामिक जिहादीको प्रभावमा परेकी थिइन् । भर्खर किशोर अवस्थामा प्रवेश गरेकी बेगमले बेलायत छोडेर सिरियामा गएको  र जिहादी लडाकु बनेको समाचार बाहिर आएपछि विश्व नै चकित बनेको थियो ।

जिहादी शिक्षाको प्रभावमा सन् २०१५ फेब्रुअरीका दिन बेगमसहित उनका साथी अमिरा अबासे र कडिजा सुल्तना एक्कासी बेपत्ता भएका थिए । बेपत्ता भएको केही समयपछि तीनै जना टर्की हुँदै सिरिया पुगेको खबर बाहिर आयो । बेगम हराएको केही समयपछि नै परिवारले उनको खोजी गरेको थियो । छोरी फर्कने आश गरेर उनका बाबुआमाले चारैतिर हारगुहार गरे। तर बेगम नफर्कने पक्का भएपछि बाबुआमा समेत निराश बनेका थिए ।

बेगम सिरियाली सरकारविरुद्ध जिहाद छेड्नका लागि सिरिया पुगेकी हुन् । त्यहाँ पुगेपछि उनी आईएसआएसका गतिविधिमा निकै सक्रिय बनेर लागेकी थिइन् ।

समाचार माध्यमका अनुसार बेगम आईएसआईएसको ‘मोरालिटी पुसिल’को सदस्य भएकी थिइन् । यस क्रममा उनले अन्य किशोरी र युवतीलाई समेत जिहादी समूहमा आबद्ध गराउने प्रयास गरेकी थिइन् । आईएसआईएसले उनलाई एके-४७ लिएर हिड्ने अनुमति दिएको थियो । उनलाई सबैले जिहादी समूहको कडा सदस्य भनेर चिन्थे । जिहादी महिलाले तोके अनुसारको पोशाक लगाएका छन्/छैनन् भनेर हेर्ने र निगरानी गर्ने जिम्मा बेगमलाई सुम्पिएको थियो । त्यस्तै आत्मघाती हमलाकारीको शरीरमा विस्फोटक पदार्थ जोड्ने कामको जिम्मा समेत उनलाई सुम्पिएको थियो ।

टर्की हुँदै सिरिया पुगेको छोटो समयमा नै बेगम वैवाहिक सम्बन्धमा बाँधिइन् । उनले नेदरल्याण्डका जिहादी लडाकु यागो रेडिज्कसँग विहे गर्न पुगिन् । सिरिया पुगेको १० दिनमा नै बेगम र रेडिज्कको विहे भएको थियो । बिहे भएपछि दुबै जनाले ३ जना छोराछोरी समेत जन्माएका थिए । गत फेब्रुअरीमा उनले जन्माएका जाराह नामका छोराको निमोनियाका कारण मृत्य भइसकेको छ । दुई जना बच्चाहरुको भने लडाइँ क्रममा नै निधन भएको हो । यो घटनाले समेत उनलाई मानसिक रुपमा कमजोर बनाएको हुन सक्छ ।

गत फेब्रुअरीमा बेगम उत्तरी सिरियाको एक शरणार्थी शिविरमा भेट्टिएकी थिइन् । द टाइम्सका संवाददाता एन्थोनी लोइडले शिविर भित्रै उनीसँग अन्तर्वाता लिएका थिए । अन्तर्वाताका क्रममा बेगमले आफू ९ महिनाको गर्भवती भएको बताएकी थिइन् । सोही क्रममा उनले जिहादी बनेकोमा कुनै पश्चाताप नभएको र पुन : बेलायत फर्कन चाहेको समेत बताइन् । त्यस्तै ‘इस्लामका दुश्मन’ को टाउको काटेको देख्दा आफू कत्ति पनि नआत्तिएको उनको भनाइ थियो । तर अन्तर्वार्ताका क्रममा नै व्याप्त भ्रष्टाचार र दमनका कारण आईएसआईएसको हार हुने समेत उनले दाबी गरेकी थिइन् ।

तर बेगमले फेब्रुअरी १८ मा बिबिसीसँग कुराकानी गर्दै ‘क्षमायाचना’ का लागि आग्रह गरेकी थिइन् । आफूले अझै पनि बेलायती मूल्य-मान्यतालाई सम्मान गर्ने र बेलायत नै फर्किन चाहेको बताएकी थिइन् । उनी पुन : बेलायत फर्कन चाहे पनि बेलायत सरकारले उनको नागरिकता खारेज गरिसकेको छ ।

बेगम हाल सिरियाको सनसाइन नामक शरणार्थी शिविरमा छन् । उक्त शिविरमा आफ्ना कोही साथी नै नभएको उनको गुनासो छ । सनसाइन शिविरमा आएपछि आफ्नो अवस्था थप बिग्रँदै गएको उनले बताइन् ।

सनसाइन शिविरमा आएपछि आफूले ‘मेन इन ब्ल्याक : इन्टरनेशनल’ र ‘स्पाइडरम्यान : फार फ्रम होम’  जस्ता फिल्म हेरेर समय बिताएको बताउँछिन्, बेगम। तर पश्चिमी संगीतको धेरै नै सम्झना आउने उनको भनाइ छ । त्यस्तै बेलायतमा रहेका कसैले पनि आफूलाई सम्पर्क नगर्दा निकै दु:खी भएको उनले दुखेसो गरिन् । बोल्ने प्रसाय गर्दा समेत परिवार र साथीहरु कसैले पनि बोल्न नखोज्दा मन नै खिन्न हुने उनको गुनासो छ ।

यसै क्रममा गत साता मात्रै डेली मेलले बेगमसँग अन्तर्वार्ता लिएको थियो । डेली मेलले अन्तर्वातासँगै बेगमका केही तस्बिर समेत सार्वजनिक गरेको छ । ती तस्बिरमा उनले बुर्का, लिपस्टिक र नाकमा फुली लगाएको देख्न सकिन्छ ।

डेली मेलका अनुसार  हाल बेगम मानसिक रुपमा अस्वस्थ र विक्षिप्त हुँदै गएकी छन् । अन्तर्वार्ताका क्रममा बेगमले आफ्नो देश बेलायत फर्कन नपाएपछि मानसिक अवस्था थप नाजुक बन्दै गएको बताइन् ।

डेली मेलका पत्रकार रिचार्ड पेन्डलबरीसँग कुराकानी गर्दै बेगमले भनिन्, ‘मेरा कोही पनि साथी छैनन् र मसँग आएका साथीहरु समेत गुमाइ सकेँ, म यति एक्लै छु ।’

‘मेरो मानसिक अवस्था समेत खराब हुँदै गएको छ तर शारीरिक रुपमा भने ठिकै छु । कलिलो उमेर भएकाले होला म सितिमिती बिरामी हुन्नँ । शारीरिक रुपमा म ठिकै छु तर मेरो मानसिक अवस्था भने निकै बिग्रिएको छ । मानसिक पीडासँग लड्नका थेरापी नै चाहिन्छ जस्तो लाग्छ । मलाई यतिबेला निकै गाह्रो भइरहेको छ। मैले जन्माएका सबै बच्चाहरुको समेत निधन भइसक्यो’, बेगमले थपिन् ।

शिविरमा बस्ने कसैलाई पनि नचिन्ने र उनीहरुले आफ्नो पीडा नबुझ्ने भएकाले समेत मानसिक रुपमा विक्षिप्त र निराश भएको बेगमले बताइन् । ‘अहिले मसँग बस्ने कसैले पनि मैलै कस्तो पीडा भोगेको छु भनेर बुझ्दैनन् । यहाँका मानिसहरु मसँगै विद्यालयमा पढ्ने र मसँगै हिड्ने साथीहरु जस्ता छैनन्’, उनले भनिन्, ‘यहाँ मानसिक समस्याबाट गुज्रेका मानिसका लागि कुनै सेवा/सुविधा छैनन् । अन्य शिविरमा मनोवैज्ञानिक सहयोग उपलब्ध छ भनेर सुनेकी छु, तर यहाँ त्यस्तो सुविधा छैन ।’

यसअघिका अन्तर्वार्तामा सिरियामा गएर पहिलो पटक काटिएका टाउका देख्दा नआत्तिएकी बेगम अहिले भने आफैलाई देखेर पश्चाताप गर्छिन् । पछिल्लो समय अतिवादी संगठन आईएसआईएस र जिहादी विचारप्रति बेगमको मनमा निकै ठूलो घृणा पैदा भएको छ । विगतमा आफूले जन्माएका बच्चाहरु बचाउँनका लागि संगठनले जे भन्यो त्यही गर्ने गरेको समेत उनले स्वीकारिन् ।

सिरियामा आएर आफूले निकै ठूलो गल्ती गरेको समेत बेगमले स्वीकार्न थालेकी छन् । ‘मैले गरेको एउटा मात्रै अपराध भनेको सिरिया आउनु हो । म अब घर जान चाहन्छु । बेलायती जेलमा आफू सुरक्षित हुन्छु जस्तो लाग्छ । त्यहाँ गएपछि पढ्न पनि पाइन्छ र परिवारसँग कुरा गर्न पनि पाइन्छ । यो शिविरमा के हुन्छ भन्ने नै थाहा छैन । यहाँ अझै पनि युद्ध जारी छ । त्यसैले म बेलायत नै गएर जेल जीवन बिताउन चाहन्छु’, बेगमले आफ्नो दु:ख पोखिन् ।

यता बेगमका वकिलहरुले उनलाई पुन : बेलायत फर्किन दिनुपर्ने दाबी गर्दै आएका छन् । बेलायतमा हुँदा नै बेगम जिहादी समूहको प्रभावमा परेको र पछि अतिवादी लडाकु बनेको वकिलहरुको तर्क छ । बेगम बेलायती नागरिक नै भएको र उनलाई पुन : नागरिकता दिनुपर्ने उनीहरुको माग छ ।

तर बेलायत सरकारले भने बेगम बंगलादेशी भएकोले नागरिकता दिन नमिल्ने बताएको छ। यता बंगलादेशी सरकारले भने उनी बेलायतकै नागरिक भएको प्रस्ट पार्दै आएको छ ।

यसै वर्ष सार्वजनिक भएको एक पत्रमा उनका वकिलले लेखेका छन्- ‘बेगमका बाबुआमाले उनलाई बाल्यकालमा कहिल्यै बंगलादेश घुमाउन लगेका छैनन् । बेगम एक पटक पनि बंगलादेश गएकी छैनन् । उनी बेलायतमै जन्मेकी हुन्, बेलायतमै हुर्केकी हुन् र बेलायतमा नै उनी जिहादीको प्रभावमा परेकी हुन् ।’

बेगमसँग जोडिएको समस्या बेलायतको भएको र बेलायतको विदेश मन्त्रालयले नै यो समस्या समाधान गर्नुपर्ने उक्त पत्रमा उल्लेख गरिएको छ । ‘बेगम बंगाली हुन् भन्ने कुरा सरासर गलत छ । यो समस्यालाई बेलायती विदेश मन्त्रालयले नै हल गर्नुपर्छ । बेगम र उनका छोराको जिम्मेवारी लिएर बेलायतले आफ्नो जिम्मेवारी पूरा गर्नुको सट्टा अन्य मुलुकमाथि यो समस्या थुपार्नु न्याय संगत छैन ।

बेगमका पति रेडिज्क हाल कुर्दिशहरुले उत्तरी सिरियामा सञ्चालन गरेको बन्दीगृहमा छन् । रेडिज्कले समेत गत मार्चमा आफू र बेगम नेदरल्याण्डमा गएर बस्न चाहेको बताएका थिए । यदि नेदरल्याण्ड फर्किए भने सत्ताइस वर्षीय रेडिज्कले ६ वर्षसम्म जेलमा बिताउनु पर्ने छ ।

(प्रस्तुति : सुनिल बराल )

 

 

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage