scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

यो सरकार कसको ?

वीरेन्द्र कटुवाल

निर्वाचन आयोगमा दर्ता भएको दलको सूचि हेर्दा वर्तमान नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार हो । तर, पक्षधरताको हिसाबले हेर्ने हो भने यो सरकार कसको हो ? छुट्याउन त्यत्ति सजिलो छैन ।

नेपाल कम्युनिष्ट पार्टीभित्रकै पार्टीको नीति तथा कार्यक्रमप्रति अलि इमान्दार नेताहरू यो सरकार दलाल नोकरशाह पूँजीपतिहरूको पक्षपाती छ भन्छन् । अरुको त कुरै छोडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पनि आफूहरूलाई राणाकालका बडाहाकिमको नयाँ संस्करण देख्छन् । त्यसैले यो सरकार कसको भन्ने प्रश्न उठ्नु मनासिव नै हो ।

दलाल नोकरशाहहरूलाई पार्टी दस्तावेजले दुस्मन करार गरेको हुनाले, वर्तमान सरकार उनीहरूलाई ‘विचौलिया’ भन्छ । र, रातो कार्पेट ओछ्याएर स्वागत गर्छ । त्यसैले सरकारको नजरमा पार्टीभित्र विचौलियाहरू छन्, दलाल नोकरशाहहरू छैनन । ती विचौलियाहरू जो जताततै राँइदाइँ गरिरहेका छन्, उनीहरुलाई सरकारमा पदासिन कामरेडहरू सबैभन्दा ठूलो पूँजी ठान्छन् । सरकारको यही दलाल पूँजीवादउन्मुख चरित्र र व्यवहारको कारण नेकपाभित्रै प्रतिपक्ष जन्माएको छ ।

कार्ल मार्क्स भन्छन्, सिद्धान्तलाई व्यवहारको कसीमा हेर्नुपर्छ । अति केन्द्रीकृत शासन शैलीले यो सरकारलाई कम्युनिष्टहरूको सरकार भन्न कर लागेपनि, पक्षधरताको हिसाबले कम्युनिष्ट भन्न पटक्कै सुहाउँदैन । तर, अधिकांश जनसङ्ख्या गरिबीको रेखामुनी भएको मुलुकमा धेरै र सजिलै बिक्ने राजनीतिक ब्राण्ड कम्युनिष्ट नै हो । त्यसैले यहाँ नेकपाको पिठो बिकिरहेको स्थिति छ ।

अब, यो पिठोको व्यापार दीर्घकालसम्म टिक्छ, टिक्दैन ? अथवा पिठोको व्यापारलाई चामलको बनाउन पार्टीभित्रका प्रतिपक्ष सफल होलान् नहोलान् ? उनीहरूको आचरण, व्यवहार र कार्यशैलीमा भरपर्ने कुरा होला । तर, निश्चित कालसम्म यो ब्राण्ड बिक्छ भन्ने चाहिँ पक्का हो ।

अब, दलाल पूँजीवादको पक्षधर केन्द्रीकृत राज्यसत्तालाई के भन्ने ? र, यसको दोष सिद्धान्तलाई दिने कि, सरकारलाई ? यी प्रश्नहरूले निर्मम समीक्षाको माग गर्दछ । जुन पार्टी र क्रान्तिको निम्ति हितकर छ ।

स्थानीय निकाय, प्रदेश, संघ सबैतिर कम्युनिष्ट पार्टीको दुईतिहाइको सरकार छ भनिन्छ । निर्वाचन आयोगको तथ्याङ्कले पनि त्यसै भन्छ । तर, व्यवहारमा हेर्दाखेरि सरकार नै छैन कि जस्तो प्रतीत हुन्छ । न सामाजिक न्याय छ, न सरकारसित न्याय कार्यान्वयन गर्ने मनसाय र क्षमता । न सुशासन छ, न राष्ट्रलाई कता लिएर लिएर जाने भन्ने ठोस मार्गचित्र ?


सरकारको निर्देशनविपरित मेडिकल कलेजहरू मनपरी शुल्क लिइरहेका छन् । यातायातको सेन्डिकेट र तरकारीको सेन्डिकेटका दलालहरूले दुईतिहाइको सरकारलाई ग्वाँ कि ग्वाँ पारे । अब अहिले निजामती कर्मचारीदेखि वैदेशिक रोजगार व्यावसायी, सबै क्षेत्र र विभागमा सेन्डिकेटको हाइफाइ छ । एनसेलको करछलीमा सरकारदेखि न्यायालयसम्मको लोलीबोली एउटै हुनुले सरकारको पक्षधरता छर्लङ्गै पार्छ ।

सरकारको कर्यशैलीलाई व्यवहारको कसीमा हेर्दा, यतिबेला कम्युनिष्ट पार्टीको केन्द्रीयता मैमत्त भएको देखिन्छ भने, जनवाद चाहिँ नरभक्षी बाघको पञ्जामा परेको हरिणजस्तो फत्र्याफत्र्याक ।

एकजना जर्मनकी श्रमिक नेतृ रोजा लग्जम्बर्ग रुसी क्रान्तिका पिता लेनिनको संगठनात्मक सिद्धान्त– अल्ट्रा सेन्ट्रलिस्टिक पार्टी कन्सेप्टको आलोचना गर्दै भन्थिन्, ‘कम्युनिष्ट पार्टी भनेको पेशेवर क्रान्तिकारीहरू र केही नेताहरूको निर्देशनमा प्रबन्धित सङ्गठन होइन । यो स्व–सङ्गठित सर्वहारा वर्ग हो ।’

लेनिनको बुझाइ थियो– सर्वहारा वर्ग अपठित र अज्ञानी हुन्छन्, उनीहरूसित क्रान्तिलाई दिशा निर्देश गर्ने सीप र ज्ञान हुँदैन । त्यसैले उनीहरूलाई पेशेवर क्रान्तिकारीहरूको केन्द्रले नेतृत्व दिन अनिवार्य हुन्छ । होइन भने क्रान्तिको उपलब्धी दिशाहीन हुन्छ । शब्द यही नभएपनि सारमा तथाकथित जनवादी केन्द्रीयताको आशय यही हो ।

रोजाको विचार फरक थियो । उनको भनाइ थियो– पेशेवर क्रान्तिकारीहरूको सर्वोच्च केन्द्रको अयोग्यता भन्दा, ऐतिहासिकरूपमा क्रान्तिकारी आन्दोलनको दौरानमा भएका त्रुटीहरू नै बढी फलदायी हुन्छन् ।

आज नेपालको सन्दर्भमा जर्मन नेतृ रोजाको त्यो विचार ठ्याक्कै लागू हुन्छ । हिजो आन्दोलन र क्रान्तिको बेला अग्रमोर्चामा रहेर राज्यसत्ताको चरम दमन र यातना सहने, छातीमा गोला र बारुद थाप्ने स्व–सङ्गठित वर्ग र समुदाय राज्यसत्ताको पहुँचबाट फेरि बाहिर फ्यालिएको छ । र, भनिँदै छ यो कम्युनिष्ट पार्टीको सरकार हो ।

यहाँ जे जति बेथिति, विसङ्गति र असङ्गतिहरू देखापरेका छन्, हिजोको ऐतिहासिक क्रान्तिको दौरान भएका त्रुटिका कारणले भैरहेको छैन । यो त पेशेवर क्रान्तिकारीहरूको केन्द्रको अयोग्यता, अक्षमता, निजी स्वार्थ र शान–औं–शौकत पुरा गर्ने होडबाजीको कारण भइरहेको छ । अथवा क्रान्तिलाई पेशा बनाउने मुठीभर पेशेवर नेताहरूको स्वार्थको कारण यसो भइरहेको छ ।

उता स्व–सङ्गठित गरिब र सर्वहारा वर्ग, युगौंदेखि हेपिएका, थिचिएका, बहिष्करणमा पारिएका वर्ग र समुदाय, जो वास्तविक कम्युनिष्ट पार्टी हो, हिजोका सबै आन्दोलन र दश बर्षको जनयुद्धको आलो र चहराएको घाउ लिएर ५० डिग्रीको तापमानमा खाडी मुलुकमा गएर श्रम बेच्न बाध्य छन् । कसैको घरमा अपाङ्ग बाबुआमा छन् । कसैका घरमा अपाङ्ग छोराछोरी छन् । कसैका अपाङ्ग लोग्ने त कसैका अपाङ्ग श्रीमति छन् । कसैका अपाङ्ग दिदीबहिनी त कसैका अपाङ्ग दाजुभाइहरू छन् ।

अहिलेको विद्यमान बेथिति र असङ्गतिको कारण हिजोको क्रान्ति हो, सङ्घीयता हो, धर्म निरपेक्षता हो, गणतन्त्र हो, भनेर धारे हात लगाउनेहरूको बिगबिगी बढ्दै छ, देशमा । यसो हुनुमा सरकारको गैरलोकतान्त्रिक र जनविरोधी क्रियाकलाप निर्णायक कारण हो भनेर बुझ्न सरकार तयार छैन । अथवा, दलाल नोकरशाहहरूको प्रसंशा र भक्तिगानले आफू नाङ्गिएको पनि थाहापाइ राखेको छैन, सरकार ।

रोजाले औंल्याएको जस्तै पेशेवर क्रान्तिकारीहरूले कम्युनिष्ट पार्टी र सरकार कब्जा गरेको कारण सच्चा क्रान्तिकारीहरूले ऐतिहासिक क्रान्तिका बेला भएका त्रुटीहरू सच्याएर, चहर्‍याएका घाउहरूमा मलम लगाउने र क्रान्तिका उपलब्धिहरूलाई रक्षा र विकास गर्ने अवसर पाएनन् । यसैको कारण अहिले दलाल नोकरशाहहरूको हीतको रक्षार्थ राज्य शक्तिको मनमौजी प्रयोग भइरहेको छ ।

पेशेवर क्रान्किारीहरूको झलक
‘स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तृष्टि सबैभन्ला ठूलो धन, र इमान्दारिता सबैभन्दा ठूलो सम्बन्ध हो ।’ गौतम बुद्धले औल्याउनु भएको यी तीनवटै क्षेत्रको अवस्था अहिले अत्यन्त नाजुक छ । किनभने सरकारको प्राथमिकता बुद्ध दर्शनको चिन्तन मनन भन्दा, होलीवाइन ग्रहण गर्नुमा छ ।

त्यसैले त जनताको स्वास्थ्य र आधारभूत आवश्यकता आयआर्जन गर्ने व्यापारिक वस्तु भएको छ । जनताको चित्तमा आघात परेको छ । इमान–जमान नष्ट हुँदैछ । विश्वास मरेर जाँदैछ । एकैपटक यी सबै कुरा ओरालो लाग्नु असफल राष्ट्रको पूर्वसङ्केत होभन्दा अतिशयुक्ति पक्कै हुँदैन ।

र, राष्ट्र असफल हुँदा उच्चपदस्थ व्यक्तिहरू र राज्यसत्तामा पहुँच हुनेहरूलाई अथवा पेशेवर क्रान्तिकारीहरूलाई केही पनि फरक पर्दैन । न हिजो परेको थियो न आज । तर, यसको परिणामले गरिब र परापूर्वकालदेखि राज्यसत्तासित पहुँच नभएका वर्ग र समुदायको ढाड सेक्छ ।

‘यहाँका उच्च पदस्थ पेशेवर क्रान्तिकारीहरूको आयआर्जन कहाँ जान्छ ?’

राज्यसत्तामा पहुँच हुनेहरू यो तथ्याङ्क लुकाउँछन् । र, जेजे भइराखेको छ, जनताकै लागि भइराखेको छ भन्छन् । एकपटक कामरेड लालबाबु पण्डित निक्कै ताउरमाउर गर्दै थिए । सीमान्तकृत समुदायबाट आएको गरीबको छोरोलाई लागेको थियो होला कि गरीब र पहुँच नहुनेहरूको पनि दिन आए । तर, पेशेवर क्रान्तिकारीहरूको हाइकमाण्डले न्याउरीकाठ देखाइदिएपछि फडा उठाएको सर्प लत्रेजस्तै लुत्रुक्क परे ।

निःशन्देह, उच्च पदस्थ पेशेवर क्रान्किारीहरूको अनधिकृत आय अधिकांशतः स्वास्थ्य उपचारको नाममा, छोराछोरीको शिक्षादीक्षाको नाममा, विदेश भ्रमणको नाममा र शान–औैं–शौकत पुरा गर्ने नाममा विदेश नै जान्छ । युरोप जान्छ । अमेरिका जान्छ । अष्ट्रेलियातिर जान्छ । भारततिर जान्छ । किनभने पेशेवर क्रान्तिकारीका परिवार, दलाल नोकरशाही पूँजीपतिका परिवार र उच्चपदस्थ कर्मचारीतन्त्रहरूको परिवार बस्ने, पढ्ने, औषधी उपचार गर्ने ठाउँ उतै हो ।

राज्यसत्ताका पहुँचवालाहरूको, दलालहरूको, बिचौलियाहरूको, पेशेवर क्रान्तिकारीहरूको आर्थिक कारोबार, तीनै निमुखा, उपेक्षित, राज्यसत्तामा पहुँच नभएका गरीब दुःखीका छोराछोरीहरूले खाडी मुलुकमा श्रम बेचेर धानिदिनु पर्छ । र, ती गरीब र राज्यसत्तामा पहुँच नहुनेहरूको श्रमगर्ने थलो हो, खाडी मुलुक– साउदी, कतार, कुबेत, मलेसिया… । अथवा ५० डिग्रीको तापमानको मरुभूमि ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खाडी मुलुकबाट बिदामा घर फर्किएका वैदेशिक रोजगारहरूको चकलेट र खजुरको पोकोलाई लात्तले हान्दै बर्दीधारी पहुँचवालाहरू भन्छन्, ‘यत्रो चकलेट र खजुर के गर्न ल्याइस् ?’

गहभरि आँशु पार्दै, खोसेर लगिदिने हो कि भन्ने त्रासले वैदेशिक रोजगार कलिला केटाकेटीहरूको अनुहार झल्झली सम्झिँदै भन्छ, ‘सर, केटाकेटीको लागि ल्याएको, दाइका छोराछोरी, भान्जाभान्जी, आफ्ना पनि धेरै छन्, एउटा दुइटा दिँदादिदै पुर्‍याउनै गाह्रो हुन्छ । अर्थोक् ल्याउँ भने महङ्गो पर्छ ।’

‘यति धेरै ल्याउन पाइँदैन भन्ने थाहा छैन, तँलाई ।’ बर्दी र झण्डाको तागत देखाउँछ पेशेवर क्रान्तिकारी र हप्काउँछ पनि । कति साथीहरू भन्छन्– कसैकसैको त खोसेर लगिदिन्छन्, अरे । के ले बनाउँछ यिनीहरूको मन यति कठोर ? यति निर्दयी ? सायद यही हो पेशेवर क्रान्तिकारीहरूको मौलिक चरित्र । त्यसैले त यत्तिका धेरै राजनीतिक आन्दोलन र क्रान्तिले पनि शासकीय चरित्र फेर्न सकेन ।

यी गरीब–दुःखी र पहुँच नहुनेहरूको दोहन सुरु हुन्छ नागरिकता, पासपोर्ट बनाउने कामदेखि र चलिरहन्छ बाँचुन्जेलसम्म । आजभोलि त सुन्नमा आएको छ, मरेर पनि सुख छैन, अरे । कर नतिरी जल्न र गाडिनपनि पाइँदैन भन्छन् । कसैको गुनासो हुन्छ, ‘कतै मर्नपनि विदेशतिरै फर्कनु पर्ने पो हो की ?’

किन गर्छन् यसो ?
यदि यसो नगर्ने हो भने, पेशेवर क्रान्तिकारीको र उच्च पदस्थहरूको विदेशी अस्पतालको खर्च, छोराछोरीको पढाइखर्च र शान–औं–शौकत पुरा गर्न सम्भव हुँदैन । यी सब कारणले गर्दा बेथिति मौलाउँछ । जनताका आधारभूत आवश्यकतालाई व्यापारिक वस्तु बनाइन्छ । अरु त अरु बेच्ने कुरा केही नपाएर चेलीबेटीको अस्मिता पनि बेच्न पाउनुपर्ने प्रस्ताव गर्दैछन्, प्रदेश सरकारका पेशेवर क्रान्तिकारीहरू ।

यस्तो स्थितिले राज्यसत्ताको होइन, राष्ट्रको दीनहीन अवस्थाको सङ्केत गर्छ । र, जहाँको राज्यसत्ता राष्ट्र र क्रान्तिप्रति अधीनस्थ हुँदैन । जनताको पीरमार्का, जनजीविकाप्रति उत्तरदायी हुँदैन, त्यहाँका जनतामा असन्तुष्टि र आक्रोश बढ्नु स्वाभाविक हो । राष्ट्र र राज्यसत्ता बीचको सम्बन्धमा खिया लाग्नुपनि स्वाभाविक हो । र, अहिले हामी यही अवस्थामा गुज्रिरहेका छौं ।

राष्ट्रले खोजिरहेको छ, निकास । निकासको रूप कस्तो हुने भन्ने कुरा चाहिँ फेरिपनि यो सरकार कसको पक्षपाती हुने र शासनशैली कस्तो हुने भन्ने कुरामा नै भरपर्दछ । गौतम बुद्ध भन्नु हुन्थ्यो, ‘आफैलाई जित्नु अरूलाई जित्नुभन्दा ठूलो काम हो ।’

यो सरकारका पेशेवर क्रान्तिकारीहरू आफ्नो निरङ्कुशता, अहंकार र शान–औं–शौकतमाथि नियन्त्रण र विजयप्राप्त गर्न सक्छन कि सक्दैनन ? त्यसैले भविष्यको मार्ग तय गर्दछ ।

जग्गा किन्न जानुस् दलाल, बसको टिकट काट्न जानुस् दलाल, नागरिकता या पासपोर्ट लिन जानुस् दलाल, मालपोत कार्यालय जानुस् दलाल, विद्यार्थी भर्ना गर्न जानुस् दलाल, श्रम गर्न जानुस् दलाल, फसल बेच्न जानुस् दलाल, किन्न जानुस् दलाल, वाइड बडी खरिदमा पनि दलाल, एनसेलमा पनि दलाल … कहाँ छैनन् दलाल ? तजाततै दलालै दलाल । अनि सोध्नुपरेन यो सरकार कसको हो ?

(लेखक साउदी अरबको जेद्धामा कार्यरत छन्)

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage