scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

पहिचानको राजनीति आत्मसम्मानको माग हो

फ्रान्सिस फुकुयामा

म जीवनभर नै लोकतन्त्रको क्षेत्र कसरी विस्तार गर्न सकिन्छ, अधिनायकवादी सरकारहरुलाई कसरी लोकतान्त्रिक बनाउन सकिन्छ भनेर सोचिरहेँ । तर, आकस्मिकरुपमा सन् २०१६ आयो । यो बर्ष दुईवटा निक्कै खराब र व्यवधानकारी घटना भए । पहिलो घटना, अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनु थियो भने दोस्रो बेलायतको ब्रेजिक्ट जनमत संग्रह । यी चिज बद्लिँदो विश्व पृष्ठभूमिको विरुद्धमा थिए ।

सन् १९८९–१९९१ यता हामी बढ्दो उदार विश्वमा बाँचिरहेका थियौं । यो अमेरिका र यसका युरोपेली सहयोगी, नेटो र सुदुर पूर्वी राष्ट्रहरुको कारणले सम्भव भएको थियो । यसको एउटा आर्थिक तत्व थियो, जो स्वतन्त्र व्यापार प्रणालीमा अभिव्यक्त हुन्थ्यो । वस्तु, व्यक्ति, सेवा, विचार र लगानीको गतिशील परिवहन अन्तर्राष्ट्रिय सीमा बाहिरसम्म हुन्थ्यो । यसको एउटा अर्को राजनीतिक तत्व पनि थियो, जो अमेरिका, युरोप र एशियाली गठबन्धन थियो । मेरो विचारमा यो निक्कै सफल र सार्थक पहलकदमी थियो ।

यस अवधिमा लोकतन्त्रको मात्रा ह्वात्तै बढ्यो । सन् १९७० तिर ३५ जति रहेका लोकतान्त्रिक राज्यहरु त्यसयता १२० को शिखरमा पुगे । सन् २००० को प्रारम्भतिर विश्व अर्थतन्त्रको समष्टिगत उत्पादन झण्डै चौगुना बढ्यो । हरेक दृष्टिकोणबाट आर्थिक अवस्था वास्तवमै राम्रो भइरहेको थियो । चीन र भारतजस्ता देशमा मध्यम वर्गीय आयस्तरको विस्तार मात्र भइरहेको थिएन, बरु जीवनस्तरका सबै पक्षमा सुधार देखिन्थे । मातृ तथा बाल स्वास्थ्य उल्लेखनीय सुधार देखिन्थ्यो । शिशु मृत्युदर निक्कै घटेको थियो ।

सन् २००० को मध्यदेखि यी सबै कुरा उल्टा हुन थाले । नयाँ खालका अति नै आत्मविश्वासी र प्रखर तानाशाही रुस र चीनमा उदय भयो । तर लोकतन्त्रका लागि यीभन्दा ठूलो जोखिमका रुपमा स्थापित लोकतन्त्रमै पपुलिज्मको उदय भयो । यथार्थमा विश्वकै सर्वाधिक स्थापित लोकतन्त्र वेलायत र अमेरिकामै यो देखा पर्‍यो । यस्तो किन भयो ? कसरी भयो ? मेरो लागि ठूलो खोजको विषय बन्यो, किनकी यसले लोकतान्त्रीकरणको तेस्रो लहरलाई नष्ट गर्दिने भयो ।

पपुलिज्मको परिभाषा

पपुलिज्म के हो ? यसबारे धेरै प्रकारका बुझाइहरु छन् । तीमध्ये म तीन वटाको चर्चा गर्न चाहन्छु ।

पहिलो परिभाषा आर्थिक दृष्टिकोणले गरिएको हो । यस दृष्टिकोणमा पपुलिष्ट नेता त्यस्तो व्यक्ति हो जसले आर्थिक तथा सामाजिक नीतिहरु अल्पकालमा लोकप्रिय र दीर्घकालमा ध्वंशकारी हुने गरी प्रवर्द्धन गर्दछ । उदाहरणका लागि भेनेजुवेलाका ह्युगो चाभेजले निःशुल्क आँखा अस्पताल र निःशुल्क आधारभूत खाद्यान्न कार्यक्रम लागू गरे । ग्यासको भाउ प्रतिग्यालोन १० प्रतिशतले कम थियो । सन् २०१४ को तेल मूल्य संकटपछि यी कुनै पनि कार्यक्रम दीगो भएनन् ।

दोस्रो परिभाषा राजनीतिक दृष्टिकोणबाट हो । पपुलिष्ट नेता चमत्कारिक बन्ने प्रयास गर्दछ । उसले भन्छ – ‘म जनतासँग प्रत्यक्ष जोडिएको छु ।’ उसले यसो भन्नु किन पर्दछ भने उसको कार्य गराई असंस्थागत हुन्छ । उसले भन्छ – ‘म तपाईंहरुको, जनताको प्रतिनिधित्व गर्दछु । यहाँ अरु अदालत, मिडिया, संसद, कर्मचारीतन्त्र आदि जति पनि संस्थाहरु छन् ती मेरो क्षमताको कारण वा मेरो तरिकाले तपाईंहरुलाई सेवा प्रदान गर्न मात्र हुन् ।’ पपुलिष्ट यी संस्थाका पछाडि हात धोएर लाग्दछ ।

यसको अर्थ उसले उदार लोकतन्त्रको सबैभन्दा उदार भागमा हमला गर्दछ । उदार लोकतन्त्रको सबैभन्दा उदार मान्यता भनेकै संस्थागत तथा वैधानिक संरचनाहरु हुन् । फलतः नियन्त्रण र सन्तुलनको सिद्धान्त अन्तर्गत् आ-आफ्नो क्षेत्रमा स्वतन्त्र संस्थाहरु कार्यकारी प्राधिकारद्वारा सीमितीकरण हुन्छ ।

लोकतन्त्र भनेको केवल निर्वाचन र बहुमत मात्र हैन, यो अल्पसंख्यक अधिकारको रक्षा पनि हो । अझ अगाडि लोकतन्त्र भनेको एक सन्तुलित मध्यमार्गी सरकारमा आमइच्छाहरुको प्रतिबिम्बन हो । तर पपुलिष्टले निर्वाचनको बहुमतमार्फत् अधिनायकवादी शासनको सपना देख्न थाल्दछ । उनीहरुलाई संस्था, संस्थागत प्रक्रिया मन पर्दैनन् । स्वयं संस्था हुँ जस्तो गर्न थाल्दछ । सन् २०१६ मा रिपब्लिकन नामांकन स्वीकार गर्दै डोनाल्ड ट्रम्पले भाषण गरेका थिए – ‘ मैले भन्दा राम्रो सिष्टम कसैले बुझेको छैन, त्यो यसर्थमा कि म एक्लै यसलाई मिलाउन सक्छु ।’

पपुलिष्टको तेस्रो परिभाषा – जब उसले ‘मलाई जनताको समर्थन छ’ भन्छ उसले सम्पूर्ण जनताको हैन, निश्चित प्रकारका मान्छे विशेषतः कुनै नश्ल, नृजातीय समुदाय, प्रायः परम्परागत साँस्कृतिक मूल्य प्रणालीको बर्चश्वशाली समूह वा राष्ट्रिय पहिचानको परम्परागत मान्यतालाई मात्र भनिरहेको हुन्छ । उसले यथार्थमै देशको सम्पूर्ण जनसंख्यालाई भनिरहेको हुँदैन । जस्तो कि – हंगेरीका भिक्टर अर्वान खुलेआम यो भन्छन् कि हंगेरीको राष्ट्रिय पहिचान भनेको हंगेरीयन नश्ल समुदाय हो । यसको सिधा अर्थ हुन्छ – यदि तपाईं हंगेरीयन नृजातीय नश्लको हैन भने तपाई हंगेरीयन राष्ट्रियताको अंग हैन र यदि हंगेरीयन नश्ल जो हंगेरीभन्दा बाहिर वा अरु देशका नागरिक छन् भने पनि ती चाहिँ हंगेरियन राष्ट्रियताका अंग हुन् ।

यी परिभाषाले हामीलाई पपुलिज्मका फरकफरक प्रवृत्ति बुझ्न मद्दत गर्दछ । चाभेज पहिलो प्रकारका आर्थिक तथा वामपन्थी पपुलिष्ट हुन् । दोस्रो परिभाषा पनि उनमा लागू हुन्छ । उनी केही हदसम्म चामत्कारिक पनि थिए । तर तेस्रो परिभाषा उनका लागि हैन । उनी भेनेजुवेलामा कुनै खास जातिको बर्चश्वको कुरा गर्दैनन् । भिक्टर ओर्वान पपुलिष्ट आर्थिक नीतिहरुका साथै आफूलाई चामत्कारिक डेमागगका रुपमा प्रस्तुत गर्छन् । यी दुई उदाहरणको तुलना गर्दा पपुलिज्म वामपन्थी र दक्षिणपन्थी दुबैमा हुने रहेछ । चाभेज वामपन्थी पपुलिष्ट हुन् भने ओर्वान दक्षिणपन्थी पपुलिष्ट ।

थप व्याख्या

अब यो प्रश्न उठ्छ कि एक्काइशौं शताब्दीको दोस्रो दशकमा पपुलिष्टहरुको उदय किन भइरहेको छ ? मेरो विचारमा यसका ३ वटा कारण छन् । पहिलो कारण – विश्व अर्थतन्त्रबारे रुढीवादी ज्ञान र बुझाई हो ।

जस्तो कि विश्व विद्यालयहरुमा पढाउँदा यो भनिन्छ कि स्वतन्त्र व्यापार अर्थतन्त्रले आमदानी बढाउँछ । धनी मान्छे अझ धनी हुँदै जान्छन् । माथि मैले पनि त्यही भनें की वितेका दशकमा मान्छेहरु धनी भएका छन् । यसको अर्थ यो हैन कि सबै मान्छे एकसाथ धनी भएका छन् । स्वतन्त्र व्यापार अर्थतन्त्रले धनी र गरीब मुलुकमा मात्र हैन, एउटै देशभित्र धनी र गरीबमाथि पारिरहेको प्रभाव फरक छ ।

दोस्रो कारण – लोकतन्त्रले उत्पादन गरेका कमजोर सरकारहरु हुन् । लोकतन्त्रले राम्रो काम गर्न नसकेका कयौं उदाहरणहरु छन् । लोकतन्त्रमा संसद हुन्छ, गफ गरी बस्छ । लोकतन्त्रमा दलीय समीकरणहरु हुन्छन, तीनका आफ्नै स्वार्थ छन् । लोकतन्त्रमा स्वार्थ समूहहरु हुन्छन, लविङ गरिरहन्छन् । यी सबै मिलेर लोकतन्त्रलाई कामकाजी बन्न दिँदैनन् । फलतः सर्वसाधारणलाई लोकतन्त्रको प्रक्रिया झर्को लाग्न थाल्छ । उनीहरु कुनै यस्तो शक्तिशाली व्यक्तिको खोजी र चाहना गर्न थाल्दछन् जसले उनीहरुलाई यस्तो झंझटबाट मुक्ति देओस । जसले फटाफट निर्णय लिन र काम गर्न सकोस् । जापानका आवे, भारतका मोदी र अमेरिकाका ट्रम्पलाई जनताले यस्तै अपेक्षासहित निर्वाचित गरेका हुन् ।

तेस्रो कारण – साँस्कृतिक हो । त्यसमा पनि पहिचानसँग जोडिएको । यसबीचमा आर्थिक अभिप्रेरणालाई अति महत्व दिने प्रवृत्ति देखियो जसले साँस्कृतिक पक्षलाई यथोचित महत्व दिन सकेन । फलतः आर्थिक दृष्टिकोण र पहिचानबीच एक प्रकारले संघर्षको अवस्था निर्माण भयो ।

पहिचान के हो ?

त्यसो भए पहिचान के हो ? पहिचान सन् १९५० को दशकसम्म राजनीतिमा खासै प्रयोग हुँदैनथ्यो । मनोविज्ञानशास्त्री एरिक एरिकसनले पहिलो प्रयोग गरिन् तर निक्कै पुरानो अवधारणामा । जस्तो कि मैले आफ्नो पछिल्लो किताबमा चर्चा गरेको छु – यसको अर्थ खोज्न प्लेटोको द रिपब्लिकमा प्रयोग भएको शब्द ‘थिमोस’ सम्म पुग्नुपर्छ ।

‘थिमोस’ मानव आत्माको त्यो भाग हो जसले सम्मान र मान्यताको लालसा राख्दछ । हामी केवल खाना, पिना र रहनाजस्ता भौतिक वस्तुहरुको मात्र चाहना गर्दैनौं । हामी यो पनि चाहन्छौं कि अरुले मूल्यांकन र मान्यता दिन लायक बनौं । अरुले आफूलाई कसरी बुझ्दछन् र कस्तो मान्यता दिन्छन् वा दिँदैनन् भन्ने प्रश्नले मान्छेको मनलाई सधै सताइरहेको हुन्छ ।

अर्थशास्त्रीहरुमा मान्छेको मनोविज्ञान र आचरणबारे एकप्रकारको अन्ध धारणा हुन्छ । उनीहरु भन्छन् – मान्छेका चाहना छन् । मान्छेका इच्छा छन् । मान्छे विवेकी हुन्छ । उनीहरुले आफ्नो विवेकलाई इच्छाको अधिकीकरणका लागि उपयोग गर्दछन् । यदि हामी प्लेटोको द रिपब्लिकमा जान्छौं भने सोक्रेटस भन्छन् – ‘यदि आत्माको तेस्रो भाग जसको भौतिक वस्तुसँग कुनै सम्बन्ध हुँदैन, त्यो हुँदैनथ्यो भने आत्मसम्मानको चाहना कस्ले गर्थ्यो ? यसले भौतिक वस्तुको खासै इच्छा नगर्नुको कारण यो भावनासँग जोडिएको हुन्छ । जस लायक बराबर उसले आफूलाई ठान्छ, त्यति बराबर सम्मान पाएन भने आत्माको त्यो भाग रिसाउँछ, त्यसले मान्छेलाई हिंसा, राजनीति र अरु यस्तै धेरै चिजहरुतिर डोहोर्‍याउँछ ।’

पहिचानबारेको आधुनिक बुझाई अलिक भिन्न छ किनकी थिमोस मान्छेको सार्वभौम चरित्रसँग जोडिएको छ । मेरो दृष्टिकोणमा पहिचानको आधुनिक बुझाई मार्टिन लुथरको धारणाबाट शुरुवात हुन्छ । मार्टिन लुथर भन्छन् – ‘भगवानको आँखामा तिम्रो आन्तरिक विश्वास र आस्था नै तिम्रो हो, त्यही नै तिमी हौं ।’ भगवानलाई कुनै धर्म र कर्मकाण्डसँग कुनै मतलब हुँदैन । भगवानले मान्छेको अन्तरहृदयको विश्वास मात्र बुझ्छ । अर्थात् क्रिश्चियन विश्वासमा सबै बाह्य चीजहरु भ्रम हुन् । हृदयको स्वतत्व मात्र आफ्नो हो ।

यो भनाइले पहिचानको आधुनिक बुझाई निर्माण गर्न मद्दत गर्दछ कि हरेक मान्छेभित्र समाजका यावत सतही प्रचलनभन्दा पर एक मौलिक मान्यताको चाह हुन्छ । जस्तो कि रुसोले भनेका थिए – ‘यावत ऐतिहासिक प्रक्रिया र नियमहरु झुठका पुलिन्दा हुन् जसको उद्देश्य आन्तरिक अस्तित्वको दमन गर्नु हो ।’ जब यो धारणाबाट हामी अहिलेका सामाजिक आन्दोलनलाई हेर्छौं, मान्छेको आन्तरिक स्वतत्वको मूल्य बुझ्न सजिलो हुन्छ ।

जस्तो कि ‘मि टु आन्दोलन’ । यो आन्दोलन अर्थोक हो नै के र ? यो लोग्नेमान्छेहरुले आइमाइ मान्छेहरुको आन्तरिक स्वतत्वलाई दिनु पर्ने जति सम्मान दिइरहेका छैनन् भन्ने रीसको संरचनात्मक अभिव्यक्ति त हो । महिलासँग ज्ञान, योग्यता, क्षमता र नैतिक चरित्र सबै थोक छ तर पुरुषहरु महिलालाई यौनिक वस्तुका रुपमा मात्र हेरिरहेका छन् । यो महिला स्वतत्वको अवमूल्यन हो ।

पुरुषमा यस्तो सोच किन र कसरी आइरहेको छ ? पक्कै यस्तो हुनुका परम्परागत साँस्कृतिक धारणा र कारण होलान् । महिलाको आत्मसम्मानले पुरुषलाई भन्छ कि तिमी तिम्रो सोच र धारणा फेर । तिम्रो पुरानो सोच र नियमले महिलाको आत्मसम्मानलाई बुझ्दैन । नयाँ धारणा र नियम बनाउँ जसले महिला र पुरुष दुबैको आत्मसम्मानलाई सम्बोधन गर्न सक्दछ । यो नै पहिचानको आधुनिक धारणा हो जसले अनेक राजनीतिक तथा सामाजिक आन्दोलन जन्माइरहेको छ ।

यदि गहीरो गरी सोच्ने हो भने लोकतन्त्रको आन्दोलन नै वास्तवमा पहिचानको पहिलो आन्दोलन हो । लोकतन्त्रको आन्दोलन सबैको समान आत्मसम्मानका लागि सिर्जना भएको थियो । सन् २०११ मा मोहम्मद बोजिजी, ट्युनिसियाको एक तरकारी बिक्रेता, उसँग एउटा ठेला थियो । एक महिला पुलिसले जफ्त गरिन्  । उसले गभर्नरको कार्यालयमा गएर सोध्यो – ‘ मेरो ठेला कहाँ छ ? मेरो जीवन निर्वाह गर्ने साधन मबाट किन खोसेको ?’ उसलाई कसैले उत्तर दिन सकेन । उसले महिला पुलिससँग झगडा गर्‍यो । तर पनि उत्तर पाएन । सरकारबाट आफ्नो सानो प्रश्नको उत्तरसम्म नपाउँदा ऊ यति निराश भयो कि उसले आत्मदाह गर्‍यो ।

यो सानो घटनाबाट अरब विद्रोह भयो । सायद मान्छेहरुले मोहम्मद बौजिजीको नियतिमा आफ्नो प्रतिविम्व देखे । घटना सानो थियो । ट्युनिसियाका शासक तानाशाह बेन अली र उनको सरकारले बौजिजीको आत्मसम्मानको ख्याल गरेन । यही एउटा कारण ट्युनिसिया, लिविया, इजिप्ट, यमान आदि देशमा विद्रोहको कारण बन्यो । लोकतन्त्रको मुख्य मान्यता नै नागरिकको आत्मसम्मानलाई समान महत्वकासाथ मान्यता दिनु हो । यसर्थ पहिचानको राजनीतिलाई लोकतन्त्रबाट फरक गर्न आवश्यक छैन । पहिचानको राजनीति लोकतान्त्रिक राजनीतिकै एक आयाम हो ।

युरोपमा भइरहेका पछिल्ला इस्लामिक उपद्रवहरुलाई पनि पहिचानसँग जोडेर हेर्न सकिन्छ । इस्लामिक शरणार्थीहरु फ्रान्स, जर्मनी, निदरलैण्ड आदि युरोपेली मुलुकमा आए । उनीहरुका सन्तान पहिचानको संकटमा परे । उनीहरुका धार्मिक मान्यता र प्रचलन युरोपेली समाजमा सहज हुने खालका थिएनन् । तसर्थ उनीहरुको मनभित्र प्रश्न उठ्यो – ‘म को हुँ ? यहाँ मलाई किन असहजता छ ? प्रतिउत्तरमा उनीहरुले बुझे कि उनीहरु युरोपेली हैनन्, अरबी हुन् । क्रिश्चियन हैनन्, मुस्लिम हुन् । उनीहरु युरोपमा जन्मे हुर्के तर पनि अरबी जिहादी संगठनसँग जोडिन पुगे ।

पहिचानको राजनीति

मेरो विचारमा पहिचानको राजनीतिको शुरुवात् सन् १९६० को दशकबाट प्रारम्भ भएको हो । त्यतिखेर अनेक सामाजिक आन्दोलन भए । नागरिक समाजको आन्दोलन, महिलावादी आन्दोलन, अफ्रिकन अमेरिकनको आन्दोलन, एलजीबिटी आन्दोलन आदि । यी सबै आन्दोलन त्यस्ता समूहले गरेका थिए, जो समाजको मूलधारबाट सीमान्तकृत थिए ।

सन् १९६० मा अमेरिकी समाज गोरा पुरुषको समाज थियो । त्यहाँ सामाजिक न्यायका आन्दोलन उठ्नु स्वभाविक थियो । समान आत्मसम्मान, समान मान्यता, रोजगार बजारमा समान पहुँच, प्रशासनद्वारा समान व्यवहार आदि माग थिए । यी आन्दोलनहरु सामाजिक बिमारीका उपज थिए र ती बिमारीहरुको उपचार गर्ने उद्देश्यले प्रेरित थिए ।

अठारौं शताब्दीमा राजनीतिक चिन्तनको केन्द्रमा असमानता थियो । विशेषतः मार्क्सवादीहरुको लेन्सले युरोपलाई हेर्दा बुर्जुवा र सर्वहाराबीच ठूला संघर्ष देखिन्थे । बीसौं शताब्दीका विकसित समाजमा अधिकांशतः सर्वहारा गोरा थिए । अझ भन्ने हो भने गोरा पुरुष । यो त्यो समूह थियो, जसको उद्दार गर्न वामपन्थी पार्टी बनेका थिए । समयक्रममा असमानताको चंगुलभित्र महिला, जातीय अल्पसंख्यक र अन्य सामाजिक समूहहरु छन् भनेर बुझ्न थालियो ।

अधिकांशतः वामपन्थी पार्टीहरु जसले गोरा मजदुरलाई आफ्नो लक्षित वर्ग बनाएका थिए, उनीहरु परिवर्तित हुँदै गए । सर्वहारा र वामपन्थको ठाउँमा वामपन्थ र सीमान्तकृत वर्गको सम्बन्ध कसिलो हुँदै गयो । लोकतान्त्रिक र प्रगतिशील पार्टीहरुले सम्पत्तिको पुनर्वितरण गर्ने र सीमान्तकृत वर्गलाई आर्थिक फाइदा पुर्‍याउने कार्यक्रम लिए । यो क्रम नै ‘असमानता’ को ठाउँमा ‘पहिचान’ स्थापित हुँदै गएको प्रमाण थियो ।

अमेरिकामा त्यही समय डेमोक्रेटिक पार्टीले गोरा पुरुषको मुद्दा छोड्दै गयो । रिपब्लिकनले गोराको सवाल समात्यो र डेमोक्रेटिकलाई पराजित गर्ने ताकत बनायो । सन् १९८० मा रोनाल्ड रेगन निर्वाचित भए । उनले गोरा मजदुर वर्गलाई लक्षित गरेर अपिल गरेका थिए, जबकी त्यसअघिका रिपब्लिकन उम्मेद्वारले त्यसो गर्दैनथे ।

युरोपमा यस्तै भयो । सर्वहाराको ठाउँमा वातावरणीय सवाल र पहिचान मुख्य मुद्दाका रुपमा देखा पर्‍यो । अमेरिकाभन्दा युरोप केही फरक थियो – जहाँ शरणार्थी र विभेदमा परेका अन्य समूहहरु अमेरिकाको तुलनामा बढी थिए । फ्रान्सेली कम्युनिष्ट पार्टीका समर्थक र मतदाता रहेका गोरा पुरुषहरु नेशनल फ्रन्टलाई भोट दिन थाले । यो प्रवृत्ति फ्रान्स र अरु युरोपेली मुलुकमा झनै बढ्दै गइरहेको छ ।

वामपन्थजस्तै दक्षिणपन्थी पपुलिज्म उदित हुनुका अनेक कारण छन् । आर्थिक कारण त छ नै, पहिचानको प्रश्न समेत दक्षिणपन्थमा कुनै न कुनै प्रकारले सापटी आएको छ । ५० वर्षअघि गोरा पुरुषहरु आफूलाई गोरा पुरुषका रुपमा लिँदैनथे । उनीहरु आफूलाई अमेरिकन बुझ्थे । आज गोरा राष्ट्रवादीहरु सजिलै भन्छन् – ‘म बहुसंख्याको सदस्य हुँ । तर हामी राज्यले विशेष सुविधा दिएको वर्गमा पर्दनौं । सुविधासम्पन्न सम्भ्रान्त समूहले हामीलाई शोषण गरिरहेको छ ।’

यसरी समाजको मूलधार समुदाय नै आफ्नो विशेषः पहिचानको खोजी गर्न थालेको छ र पहिचानले वामपन्थबाट दक्षिणपन्थमा प्रवेश पाएको छ । अमेरिकी समाज आज आप्रवासीसँग डराउँदैछ, जसले स्थानीय वा पुरानाहरुको नयाँ पहिचान निर्माण गर्दैछ । परम्पराको रक्षाका लागि उठ्ने लोकप्रिय सामाजिक आन्दोलनहरु पहिचानको राजनीतिकै दक्षिणपन्थी पाटो हुन् ।

पहिचानको राजनीति कति परसम्म जान्छ ? कुन विन्दूमा पुगेर यसले नयाँ मोड लिन्छ, त्यो अहिल्यै भन्न सकिन्न । पहिचानको राजनीति भनेको असन्तुष्टिको बिष्फोट र आत्मसम्मानको माग हो । सीमान्तकृत समूह होस् वा आफूलाई जोखिममा अनुभूत गर्न थालेको मूलधार – एकअर्काबाट समान आत्मसम्मानको अनुभूति गर्न सक्ने विन्दूमा पुगे सायद पहिचानको राजनीति असान्दर्भिक हुनेछ ।

(फुकुयामा प्रसिद्ध अमेरिकी राजनीतिशास्त्री हुन् । यो आलेख ‘युरोजोन’ मा प्रकाशित उनको एक अन्तर्वार्ताको संक्षेपीकरण हो)

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage