scheduleमगलवार मंसिर ३ गते, २०७६

पशुपतिनाथले रूपलालको आत्मालाई शान्ति दिऊन् !

नारायण गाउँले
नागढुंगाबाट ४० किलोमिटरभन्दा बढी जामका कारण गरुडा नपा ८, रौतहटबाट काठमाडौमा मिर्गौलाको डाइलालिस तथा पाइप फेर्न आउनेक्रममा बसमै ३५ बर्षीय रुपलाल शाहको मृत्यू । बिहान ५ बजे थाक्रे २ महादेवबेसी नजिक बसमै मृत लडिरहेका सन्तानलाई आमाले काखबाट छुटाउन सकेकी छैनन् । तस्बिरः रामचन्द्र

समाचार पढेदेखि मन खिन्न छ ।

छोराको उपचार गर्न नाइट बस चढेर काठमाडौं आउँदै गरेकी एक वृद्धा, असहाय र गरिब आमाले नागढुङ्गाको लामो जाम छिचोल्न सकिनन् । काखमैं छोरा अस्तायो ! वरपर न आफन्त छन्, न गोजीमा पैसा छ, न भविष्यको आशा छ !

३५ वर्षकै उमेरमा दुवै मृगौला फेल भएर सिकिस्त बिरामी भएका रूपलाल शाह रौतहटबाट काठमाडौं उपचारका निम्ति आउँदै रहेछन् ।
प्लेन चढ्ने आर्थिक अवस्था धेरै नेपालीको छैन । एम्बुलेन्स पनि बसभन्दा धेरै महंगो हुँदो रहेछ । उनको परिवारले नाइट बस समात्यो । एम्बुलेन्स नै भएको भए पनि त्यो बाटो छिचोलिने रहेनछ । एक दुई किलोमिटर टाढा पुगिन्थ्यो होला ! दर्जनौं एम्बुलेन्स साइरन बजाउँदै त्यही बाटोमा फसेका छन् ।

भन्न त देशमा तीनवटा सरकार छन् । त्यतैबाट मधेशकै नाममा राजनीति गरेका उपेन्द्र यादव स्वास्थ्यमन्त्री छन् । तर आम नागरिकलाई भने डाइलाइसिसकै निम्ति काठमाडौं आउनुपर्ने अवस्था छ । हुनेखानेलाई सिंगापुरदेखि जापान र अमेरिका घरदैलो जस्तो छ । ती समाचार बन्छन् । तिनको उपचार गर्ने विदेशीहरूले समेत देशको ढुकुटीबाट तक्मा र पुरस्कार पाउँछन् । तर करोडौ नागरिक छन्, जसले हस्पिटलसम्म पुग्ने बाटो नपाएर ज्यान गुमाइरहेछन् ।

मेडिकल कलेज काठमाडौंमा मात्रै किन भनेर बिचरा बुढो र अशक्त ज्यान लिएर गोविन्द केसी एक्लै लडे ! हामी शासकको धोती समाएर उल्टै केसीलाई कहिल्यै उठ्न नसक्ने गरी लडाउन सफल भयौं । स्वास्थ्यसेवामा हक त कर्णालीमा बस्ने गरिबले पनि पाउनुपर्छ भनेर बिचरा ती हरेक सरकारसँग लडे । मृत्युसँग लडे । रूपलालहरूका निम्ति लडे । तर हामीले उनलाई पागल बनायौं । हाम्रा महान् शासकविरुद्ध लड्नेलाई देखाइदियौं । आज ती माफिया हाकाहाकी शिक्षामन्त्री फालिदिन्छौं भन्दै छन् । अरूलाई खाने बाघले आखिर हामीलाई किन छोड्थ्यो र ? जसले आफ्नो तलब पनि गरिबको उपचारमा खर्चेको छ, त्यसैलाई दलाल भन्यौं । पाप त लाग्नेछ हामीलाई पनि ।

यो घटना एउटामात्र होइन । आजको मात्र होइन । देशमा उपचार हुन सक्ने रोगकै कारण सयौं रूपलालहरूले चुपचाप ज्यान गुमाइरहेछन् । जसलाई आज थुकेर आफूलाई महान् भन्दै छौं, त्यही शासक या राजाको पालामा बनेको काठमाडौं जोड्ने नाका आज पनि त्यत्रै र त्यस्तै छ । बरु पिचहरू भत्किएका होलान् । त्यसलाई एक हात चौडा बनाउँदै एकपल्ट थुक्दै गरेको भए पो ! २५ वर्षमा २५ इन्च पनि थप्न सकेनौं ।

हाम्रा प्राथमिकता भने बेग्लै छन् । पशुपतिमा राष्ट्रगान बज्नुपर्छ कि पर्दैन ? ज्ञानेन्द्रलाई नागार्जुनमा राख्नु पर्छ कि पर्दैन ? गुठी जति नाशेर संस्कृतिलाई मास्नु पर्छ कि पर्दैन ? भिआईपीको सुविधा थप्नुपर्छ कि पर्दैन ? ज्ञानेन्द्र शाहीलाई जिल्लामा रोक्नु पर्छ कि पर्दैन ? पानीजहाजको टिकट काट्ने मिति तोक्नु पर्छ कि पर्दैन ? मिडियालाई बाँध्नु पर्छ कि पर्दैन ? बेलायत ठीक कि भेनेजुएला ठीक ? पक्ष होस् या विपक्ष, हाम्रा बहसका मुद्दा यिनै हुन् ।

अलि पहिला अलि बेग्लै हुँदो हो । कति प्रदेश बनाउने, कहाँको काटेर कसलाई थप्ने ? प्रदेश प्रमुख को बन्ने ? कांग्रेस र माओवादीले कति राजदूत बाँडेर लिने आदि आदि । तर हाम्रो बहसमा रूपलालहरू कहिल्यै अटाएनन्, शायद अटाउने पनि छैनन् ।

पशुपतिनाथले रूपलालको आत्मालाई शान्ति दिऊन !

(नारायण गाउँलेको फेसबुक वालबाट)

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage