scheduleआइतवार कार्तिक ३ गते, २०७६

सेता झिंगाहरु

अलेक्सान्द्र त्रोफिमोभ

पातहरु हाँसे, पहिला फूलहरु मुस्कुराए, पुतलीहरु नाँच्न थाले, रंगीन प्वाँख फट्फटाएर भमराहरु भुँभुँ गर्न लागे । हुन सक्छ, भुवाको लुगामा पसीनाले लथपथ भएर झिंगाहरु पनि एक दोस्रालाई उछिन्दै उड्न थाले ।

अहो, वसन्त कति रमाइलो हुन्छ ।

बर्खे गँडेउलाहरु भुइँको मुनि रहेको आप्लनो घरबाट बाहिर निस्केर फोहार पानीमा मजा मान्दै नुहाउन तल्लीन भए । उनीहरु जमीनमुनिको वाल्सनृत्य नाच्दै थिए । उनीहरुको वासस्थानमा यो नाच निकै लोकप्रिय हुँदो हो । झरीवर्षा र बाजागाजाको साथमा बर्खे गँडेउलाको निम्ति यस्तो वाल्सनाच मनमोहक हुन्छ । उनीहरुको लागि कथामा जत्तिकै रमाइलो भइरहेको थियो ।

कुन्नि कताबाट हो, एउटा फिस्टो उडेर आयो । त्यो पानी जमेको ठाउँनेरै बस्न पुग्यो र भन्न लाग्यो:

‘अपसोच, तिमीहरुले सेता झिंगाहरु देख्नै पाएनौ । मैले बल्लतल्ल उनीहरुबाट छुटकारा पाएँ ।’

‘सेता झिंगाहरु कस्ता हुन्छन् ?’

बर्खे गँडेउलालाई न सेता झिंगाको बारेमा थाहा थियो, न त हिउँको बारेमा नै ज्ञान थियो । त्यसैले ज्यादै अचम्म मान्दै फिस्टो चरोले बतायो-
‘हिउँमा र हिउँदमा मात्र तिनलाई देख्न पाइन्छ ।’

‘हिउँद भनेको के हो नि ?’ बर्खे गँडेउलाहरु मुख बाएर वाल्ल परिरहे । ‘हामीले हिउँ पनि देखेका छैनौं, हिउँद पनि देखेका छैनौं । संसारमा बर्खे झिंगाहरु पनि छन् कि ? यो सब तिम्रो कपोलकल्पना होला । कथा होला यो ।’

‘उडन्ते आण्डेरसन, हा हा,’ सबभन्दा तन्नेरी बर्खे गँडेउलाले खित्का छाड्दै व्यंग्य गर्‍यो ।

‘के तिमीहरुलाई हिएा भनेको पनि थाहा छैन ?’ फिस्टोले छक्क पर्दै पखेटा समेत फटफट गर्‍यो ।

‘अँ, तेरो त्यो हिउँ कहाँ छ त ?,’ तन्नेरी बर्खे गँडेउलाहरुले एकै स्वरमा हँसी उडाए, ‘आओस् न त्यो यहाँ, हाम्रो पोखरीमा । सँगै पौडी खेलौंला र एक दोस्रालाई काउकुती पनि लगाऔंला ।’

‘हिउँ त पग्लेर गैसक्यो ।’

‘पग्लेर कता गयो नि ?’

‘जमीनमूनि ।’

‘खै, हामीले त त्यहाँ हिउँ देखेनौं त ? हामी त्यहाँ बास बस्छौं, तर कहिल्यै पनि कुनै हिउँलाई त्यहाँ देखेका छैनौं । भेटेको भए त नमस्कार गरिहाल्ने थियौं नि,’ चलाक गँडेउलाहरुले ठटृा गरे ।

‘अँ, तिमीहरु खूब बाठा रहेछौ,’ फिस्टोले भन्यो ।

त्यत्तिकैमा त्यहा एउटा रातो रङको पुतली पनि उडेर आयो । जिज्ञासु बर्खे गँडेउलाहरुले उससंग सोधे, ‘तिमीले सेता झिंगाहरु भेटेका थियौ कतै ?’
‘कहिल्यै भेटिनँ,’ रातो प्वाँख हल्लाउँदै पुतलीले जवाफ दियो ।

त्यसपछि अर्को पहेलो रंगको पुतली पनि उडेर त्यहाँ आइपुग्यो ।

‘तिमीले सेता झिंगाहरु देखेका थियौ कतै ?,’ बर्खे गँडेउलाहरुले उससंग पनि स्कै स्वरमा सोधे ।

‘एउटै पनि देखिनँ,’ पहेंलो पुतलीले पनि नकारात्मक उत्तर दियो ।

फिस्टो आफ्नो कुरामा कसैले पत्यार नै नगरेको देखेर झण्डै रोएन । बर्खे गँडेउलाहरुलाई समेत उसको अवस्था लेखेर दया लाग्यो र उनीहरुले भने, ‘फेरि कसैसँग सोधौं न ।’

त्यसैबेला सेतो पखेटा फर्पर गर्दै एउटा पुतली आइपुग्यो ।

‘सेता झिंगाहरुसंग तिम्रो भेट भएथ्यो कहीँ ? नदेखे पनि सुनेको त हुनुपर्छ तिमीले,’ अधीर भएर फिस्टो चरोले जोडले सोध्यो ।

‘मैले आफ्नो जीवनमा सेता झिंगाहरु हुन्छन् भन्ने समेत सुनेको छैन, देख्नु त परै जाओस्,’ सेता पखेटा फट्फटाउँदै पुतलीले स्पष्ट भन्यो ।

‘सेता झिंगाहरु हुँदै हुन्नन् । हामीलाई तिमी काल्पनिक कथा सुनाइरहेका छौं, ‘ पानी जमेको ठाउँभरि सबैले सुन्ने गरी ठूल्ठूलो स्वर निकाल्दै बर्खे गँडेउलाहरु कराए ।

‘सत्य । मैले हिउँदमा सेता झिंगाहरु आफ्नै आँखाले देखेको हुँ,’ फिस्टोले विश्वास दिलाउने प्रयास गर्‍यो ।

‘हिउँद पनि हुँदैन । यो फोस्रो गफ हो । तिमीले यो सब सपनामा देखेका होऔला । शरदमा निदाएर सुतेको बेला तिमीले सपनामा सेता झिंगाहरु उडेको देख्यौ होला,’ गँडेउलाहरुले तर्क गरे ।

‘साँच्चै हो कि यिनीहरुको कुरा ? सबैको भनाइ एकै छ त ? सबै नै भ्रममा परेका त हुन सक्तैनन् नि ?’ दिक्क परेको फिस्टोले मनमनै विचार गर्‍यो ।
अन्त्यमा उसले भन्यो, ‘हुन सक्छ, तिमीहरुले भनेको नै सही होला ।’

हिमप्रपातको मार सहेर जसोतसो हिउँद बिताउँदा झण्डै जाडोले कठ्यांग्रिएर मर्नै आँटेको भए तापनि कडा हिउँद काटेर बल्लतल्ल ज्यान बचाउन सफल भएको फिस्टो चरोले मनमनै सोच्यो, ‘पक्कै पनि मैले सेता झिंगाहरुको सेतो सपना नै देखेको हुँला ।’

अनुवादः कृष्णप्रकाश श्रेष्ठ/समकालिन साहित्यबाट

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage