scheduleशनिवार कार्तिक २ गते, २०७६

सहकर्मीसँग ‘अफेयर’मा हुनुहुन्छ ? क्यारियर र जीवन नै धरापमा पर्ला नि !

काठमाडौं, ११ असोज । प्रेस सम्बन्ध गाँस्नु वा ‘अफेयर’ मा बस्नु गलत होइन । जीवनलाई रंगीन र रोमाञ्चक बनाउन समेत प्रेम सम्बन्धले ठूलो भूमिका खेलेको हुन्छ । तर आफू कार्यरत अफिस वा संगठनका कुनै सहकर्मीसँग प्रेम सम्बन्ध गाँस्दा वा ‘अफेयर’ चलाउँदा भने बेला-बेला समस्या पैदा हुन सक्छ ।

नेपालमा समेत आफ्नै सहकर्मीसँग प्रेम सम्बन्ध गाँस्नै प्रवृत्ति बढ्दो छ । यसरी प्रेम सम्बन्ध वा ‘अफेयर’ चलाउनेको संख्या पनि पेशापिच्छे फरक पाइन्छ । होटेल, सूचना प्रविधि, बैंकिङ, स्वास्थ्यसंस्था तथा व्यापारिक संस्थामा काम गर्ने मानिसहरु सहकर्मीसँग ‘अफेयर’ चलाउने कुरामा अन्य पेशाभन्दा अगाडी देखिन्छन् ।

त्यस्तै विश्वका करिब ३९ प्रतिशत मानिसले जीवनमा एक पटक सहकर्मीसँग रोमान्स गरेको बताउँछन् । आफ्नै सहकर्मीसँग २ पटकसम्म ‘अफेयर’ चलाउनेको १७ प्रतिशत छ । यता आफ्नै बोस वा हाकिमसँग प्रेम सम्बन्ध गाँस्ने वा कुनै न कुनै खालको ‘अफेयर’मा रहनेको संख्या झण्डै १६ प्रतिशत छ । यसबाहेक, आफूभन्दा सिनियर सहकर्मीसँग सम्बन्ध गाँस्ने महिलाको संख्या ३६ प्रतिशत छ भने पुरुषको संख्या २१ प्रतिशत । र सहकर्मीको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गर्नेको संख्या विश्वभर झण्डै ३० प्रतिशत छ ।

यद्यपि, कहिलकाहीं कार्यालयका सहकर्मी वा अन्य कर्मचारीसँग ‘अफेयर’ चलाउँदा पारिवारिक जीवन मात्रै होइन, पेशागत जीवन समेत जोखिममा पर्न सक्छ । त्यसैले यस्तो सम्बन्धले निम्त्याउन सक्ने जोखिमबारे यहाँ सानो चर्चा गरिएको छ :

१. क्यारियर नै धरापमा पर्न सक्छ  

कार्यस्थल यस्तो स्थान हो जहाँ समान लक्ष्य र सोंच भएका मानिसले सहकार्य गर्छन् । यस क्रममा विपरीत लिङ्गीप्रति आकर्षण बढ्नु स्वभाविक पनि हो । दुई जना सहकर्मी नजिकिँदै जाँदा यसले प्रेम सम्बन्धको रुप समेत लिन सक्छ । सहकर्मीबीच प्रेम हुनु आफैंमा खराब कुरा त होइन । तर कहिलकाहीं यही प्रेम सम्बन्ध टाउको दुखाइको विषय बन्न सक्छ । अन्य सहकर्मीबीच यसबारे हल्ला चल्न थालेपछि प्रेम सम्बन्ध नै तनावको कारण बन्न सक्छ । विभिन्न खालका हल्ला र चर्चाले गर्दा मानसिक तनाव बढ्न सक्छ । यसले गर्दा तपाईंको कार्य कुशलता र क्षमतामा ह्रास हुन जान्छ । र अन्त्यमा तपाईंको क्यारियर नै धरापमा पर्न सक्छ ।

२. कार्यालय कार्यस्थत हैन, प्रेम गर्ने क्रिडास्थल बन्छ

कुनै पनि कार्यालय वा संगठन निश्चित उद्देश्य लिएर स्थापना गरिएको हुन्छ । हरेक कार्यालयका आ-आफ्नै मूल्य, मान्यता र आचार संहिता हुने गर्छन् । यसको अर्थ कार्यालयमा साझा उद्देश्य र लक्ष्यले एकअर्कालाई जोड्ने गर्छ भन्ने हो । तर जब सहकर्मीबीच ‘अफेयर’ वा प्रेम सम्बन्ध हुन्छ तब संस्थागत लक्ष्य समेत प्रभावित हुने गर्छ । यदि तपाईंको प्रेम सम्बन्धका कारण संस्थाको गरिमा र उद्देश्यमा आँच आउन थाल्यो भने व्यवस्थापन र तपाईंबीच तीक्तता सुरु हुन्छ । यति मात्रै होइन, तपाईंको व्यवहारका कारण अन्य कर्मचारी समेत हौसिन पुग्छन् । र कार्यस्थल रोमान्स गर्ने क्रिडास्थलमा परिणत हुन पुग्छ ।

३. सहकर्मीसँग ‘अफेयर’ मा बस्नु समय र पैसा बरबाद गर्नु हो

कतिपय अवस्थामा हामीहरु काम वा कार्यव्यस्तताका कारण परिवारसँग टाढिन पुग्छौं । विशेषगरी विवाहित महिला/पुरुषले यस्तो व्यस्तताका कारण एकअर्काका लागि समय छुट्ट्याउन सक्दैनन् । यसले गर्दा दुबैजनाबीच असमझदारी र मनमुटाब बढ्न पुग्छ । यस्तो अवस्थामा दोस्रो व्यक्तिको साथ र हौसला खोज्नु स्वभाविक पनि हो । तर साथ र हौसलासँगै शारीरिक र भावनात्मक रुपमा नजिकिँदै जाँदा परिवारमा थप समस्या सिर्जना हुन सक्छ ।

त्यस्तै आजभोली मोजमस्तीका लागि नै कतिपय सम्बन्ध गाँस्ने प्रवृत्ति बढ्दै गएको छ । यस्तो अवस्थामा क्षणिक आनन्दका लागि ‘अफेयर’मा बस्दा एकातिर पैसा खेर जान्छ । अर्कोतिर समय । यदि मोजमस्तीका लागि गाँसिने सम्बन्ध लामो समय चल्यो र पछि टुट्यो भने यसको प्रभाव निकै गम्भीर बन्न सक्छ । यस्तो अवस्थामा हामीहरु कहिलेकाहीं ‘डिप्रेशन’को शिकार समेत बन्न सक्छौं । त्यसैले यस्तो सम्बन्धबाट टाढा बस्नु नै राम्रो होला ?

४. कामभन्दा सम्बन्धतिर बढी ध्यान जान्छ 

‘डेटिङ’बिना खल्लो हुन्छ- आजभोलीको प्रेम सम्बन्ध । फुर्सदिला जोडीका लागि ‘डेटिङ’ जानु कुनै आइतबारको कुरा भएन । तर कार्यालयमा टुसाएको प्रेमलाई डेटिङमा बदल्न भनेर निकै कठिन हुने गर्छ । अर्थात्, काममा ध्यान दियो भने ‘डेटिङ’ छुट्ने र ‘डेटिङ’ गयो भने काम छुट्ने अवस्था आउने गर्छ । यदि बारम्बार ‘डेटिङ’ जाने बानी पर्‍यो भने कार्यालयमा अनुपस्थित हुने दर बढ्दै जान्छ । परिणामस्वरुप, यसले तपाईंको कार्य सम्पादन खस्कन्छ र अन्त्यमा जागिरबाट निस्कनु पर्ने अवस्था आउन सक्छ ।

५. निजी जीवन अस्तव्यस्त हुन सक्छ 

अफिसमा काम गर्ने सहकर्मीसँगको प्रेम सम्बन्धले कहिलेकाहीं निजी जीवनलाई समेत प्रभावित गर्न सक्छ । कतिपयले प्रेमलाई प्रेरणाको स्रोत समेत भन्ने गर्छ । यो सत्य पनि हो । तर प्रेम सम्बन्धकै कारण तनाव उत्पन्न भयो भने निजी जीवन र पेशागत जीवनबीच असन्तुलन सिर्जना हुन्छ ।

६. अपराधी बन्ने कानुनी खतरा हुन्छ 

कार्यालयमा हुने दुर्व्यवहारका कारण कतिपयको जीवन नै बर्वाद भएको छ । साँच्चै नै दुर्व्यवहारमा संलग्नमाथि कानुनी कारबाही हुनु राम्रो पनि हो । तर कहिलेकाहीं आफ्नै सहकर्मीमाथि प्रतिशोध लिने उद्देश्यले यस्तो आरोप लगाउने गरेका कैयौं उदाहरण पाइन्छन् । विशेषगरी प्रेम सम्बन्ध टुटेपछि आफ्नै सहकर्मीमाथि दुर्व्यवहारको झुठो आरोप लगाउने मानिसको संख्या विश्वभर नै बढिरहेको छ । तपाईं पनि झूठो आरोपको शिकार बन्नु होला नि ?

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage