scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

‘नेकपाले नेपाललाई बनाउन चाहेको कम्बोडिया जस्तो हो’

गगन थापा

सरकारले करिव करिव आधा दर्जन यस्तो कानून ल्याउँदैछ जुन कानूनले तपाईंको, मेरो, सबैको जीवनलाई प्रभावित गर्छ ।

तपाईंहरु सबैले अहिले फोनमा रेकर्ड गर्नुभएको छ । यो सोचेर रेकर्ड गर्नुभएको छ कि – सामाजिक सञ्जालमा मलाई लागेको कुरा राख्छु । तर यो संसदबाट सरकारले एउटा कानून पारित गर्दैछ जुन कानून पारित भयो भने तपाईंले रेकर्ड त आफ्नो मनले गर्न पाउनुहुन्छ तर के लेख्ने र के नलेख्ने भन्ने कुरा केपी ओलीले चाहनुभएको कुराले निर्धारण गर्छ । संसदले त्यो कानुन पारित गर्दैछ ।

तपाईंले बडो मेहनत गरेर आफ्नो घरमा सम्पत्ति राख्नुभएको छ, बा-आमाको सम्पत्ति छ । बैध सम्पत्ति छ । तर सरकारले यस्तो कानून बनाउँदैछ जुन कानूनबाट तपाईंको छोराछोरीलाई त्यो सम्पत्ति हस्तान्तरण गर्दै गर्दा यतिधेरै कर लगाउँदैछ कि दुई पुस्तामा पुग्दै गर्दा त्यो सम्पत्ति सरकारको बन्नेछ । सरकार यस्तो कानून संसदमा ल्याउने तयारी गर्दैछ ।

यी त केही उदाहरणहरु मात्रै हुन् । यस्ता दर्जन अरु कानून ल्याउँदैछ । त्यो कानूनलाई रोक्ने कसले हो ? त्यो कानूनलाई रोक्ने काँग्रेसले हो । तर संसदभित्र भएका सीमित सांसदहरु बसेर त्यसलाई रोक्न सकिन्न । संसदीय व्यवस्थामा जहिले पनि सरकार बहुमतमा रहन्छ । त्यो त्यो बेलामा मात्रै रोकिन्छ जतिखेर संसदको ताकतसँग सडकको ताकत एकाकार हुन्छ । हामीले भर्खर मात्रै सरकारले ल्याएको गुठी विधेयकमा यो कुरा देखिसक्यौं । सरकार कानून बनाएर ल्याउँछ र सडकसँग ताकत रह्यो, सडकले ताकत ल्यायो र सांसदले त्यो ताकतले लगेर संसदमा जोड्यो भने बल्ल सरकार त्यो ताकतका अगाडि घुँडा टेक्छ । त्यसैले यी सबै कानूनलाई रोक्ने ताकत नेपाली काँग्रेसले संसदमा राख्न सक्दछ यदि त्यो बेलामा यी तमाम कानूनहरु काँग्रेससँग जोडिएको, शेरबहादुर देउवा, शश‌ांक कोइराला वा कोही काँग्रेसका सदस्यसँग जोडिएको विषय होइन, यो आम नेपालीसँग जोडिएको विषय हो भनेर खासगरी राजधानीको सडकमा ताकत देखियोस् ।

राजनीतिक अधिकार, सम्पत्ति राख्न पाउने अधिकार लगायतका यतिधेरै विषय छन् जसलाई एकपछि अर्को कानून बनाएर सरकार यसलाई भत्काउन खोज्दैछ । यसका विरुद्ध लड्ने कुराका निम्ति हामीले तयारी गर्नु पर्नेछ ।

कम्युनिष्टहरुले कहिले मार्क्स भने, कहिले लेनिन भने, कहिले माओ भने । अहिले चीनको कम्युनिष्ट पार्टीको विचार हामी नेपालमा लिएर आउँछौं भन्दैछन् । जुन कुरा चीनले आफू दिन्छु भन्दैन त्यो पनि हामीलाई बेच्छु भन्दैछ । नेपाल कम्युनिष्ट पार्टी भनेको कपाल नभएको मान्छेलाई काइँयो बेच्ने क्षमता राख्न सक्ने पार्टी हो । त्यसैले यसले के बेच्ला भन्नेतिर म जान्नँ । खालि यति मात्रै कुरा बुझ्नु आवश्यक छ नेपाल कम्युनिष्ट पार्टीले नेपाललाई बनाउन चाहेको कम्बोडिया जस्तो हो ।

कम्बोडियामा अहिले जुन पार्टीको सरकार छ त्यो पार्टीले सन् २०१४ मा भएको चुनाव जित्यो, चुनावमा धाँधली भयो । प्रमुख प्रतिपक्षी दलले आन्दोलन गर्‍यो । आन्दोलनपछि त्यहाँ सम्झौता भयो सन् २०१८ मा चुनाव गर्ने भनेर । चुनावको निम्ति तयार भएर बसेको पार्टीको सभापतिलाई विदेश भ्रमणमा गएको बेलामा भ्रष्टाचारको मुद्दा लगाएर सरकारले देश छिर्न दिएन । काँग्रेस जस्तो पार्टीले अधिवेशन गर्‍यो । त्यो अधिवेशनपछि नयाँ पार्टी सभापति चयन गर्‍यो । नयाँ पार्टी सभापतिलाई सरकारले राजद्रोहको मुद्दा लगायो । पत्रिकाले लेख्यो । पत्रकारलाई पनि थुन्यो । पत्रिकाको मालिकलाई सम्पत्ति शुद्धीकरणको कानून लगायो । त्यसपछि कम्बोडियामा चुनाव भयो । १२५ निर्वाचन क्षेत्रमा चुनाव हुँदै गर्दा २५ वटा पार्टीले भाग लियो तर कम्बोडियाको १२५ निर्वाचन क्षेत्रको चुनावमा कम्बोडियाको अहिलेको प्रधानमन्त्रीको पार्टीले १२५ नै सिट जित्यो । त्यहाँ अदालत छ तर सरकारले चाहेको भन्दा फरक निर्णय गर्दैन । जसरी हाम्रो अदालतलाई यहाँको सरकारले दुई तिहाईको तरबार देखाएर तर्साइरहेको छ । त्यहाँ प्रेस छ तर सरकारले चाहेको भन्दा फरक कुरा लेख्दैन । नेपाललाई त्यही बनाउन खोजिँदैछ ।

हिजोमात्रै प्रचण्डले भन्नुभयो – हामी अब केही वर्षभित्रमा नेपालमा एउटा पार्टी मात्र रहने अवस्था बनाउनेछौँ । हिजोमात्रै सार्वजनिक कार्यक्रममा प्रचण्डले हामी सिंहजस्तो गर्जनेछौं भनेर भन्नुभएको छ । तर नेपाल कम्युनिष्ट पार्टी यदि सिंहजस्तै गर्जने हो भने काँग्रेस सिकारी भएर त्यो सिंहलाई ढाल्छ भन्ने ताकत हामीले राख्न सक्नुपर्छ । यही ताकत दुर्गा भवानीले हामी सबैलाई दिउन् । जय नेपाल ।

राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता थापाको सम्बोधनको अंश ।

गगन थापाको कुरा भिडियोमा पनि हेर्नुहोस्ः

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage