scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

के हो ‘दलित’ कि ‘शिल्पी’को बहस ?

साझा पोष्ट/ काठमाडौं, १२ असोज । नेपालको दलित मुक्ति आन्दोलनमा यदाकदा यो बहस उठ्ने गरेको छ – दलित कि शिल्पी ? वा अरु केही ? ‘दलित’ शब्द प्रयोग गर्न नचाहनेहरुको तर्क छ – ‘दलितको अर्थ शुद्र, अछुत, अन्यज वा अस्प्रस्य हुन्छ । अझ सतही अर्थ हेपिएको, थिचिएको, मिचिएको, दलन वा शोषणमा पारिएको भन्ने हुन्छ । आफूले आफैलाई कति दिन दलित भन्ने ? दलित रहिरहनका लागि यो आन्दोलन हैन । दलितबाट मुक्त हुन आन्दोलन गरिएको हो । तसर्थ आफूलाई अब ‘शिल्पी समुदाय’ भनौं ।’

नेपालको संविधानमा ‘दलित’ शब्दको प्रयोग भएको छ । समानुपातिक निर्वाचन प्रणाली र जागिरमा आरक्षणका लागि दलित एक समूह मानिएको छ । संविधानमा दलित आयोगको व्यवस्था छ । संविधानले ‘शिल्पी समुदाय’ चिन्दैन ।

दलित शब्द हटाउनुपर्ने तर्क गर्नेहरु भन्दछन – ‘त्यही त संघर्षको मुद्दा हो, त्यो शब्द संविधानबाट हटाउनका लागि संघर्ष गर्ने हो । सधैँ दलित शब्द नै प्रयोग भइरहने हो भने यो एक सामाजिक प्रवर्ग नयाँ पुस्ताको मानसिकतामा पनि हस्तान्तरण हुँदै जान्छ । दलित आन्दोलनको उद्देश्य जातप्रथा अन्त्य गर्नु हो । दलित भिन्नै र सधै कायम राख्नु हैन ।’

‘दलित’ यो समुदायका लागि अपमानजनक शब्द हो भन्दै दानबहादुर विश्वकर्मा, दलमर्दन विश्वकर्मा लगायतले सर्वोच्च अदालतमा मुद्दा समेत हाले । लामो बहस पैरवीपछि सर्वोच्चले न्यायिक अग्राधिकार प्रयोग गर्न अस्वीकार गर्‍यो । संविधानमा नै दलित शब्द प्रयोग भइरहेको र संशोधन संसदको क्षेत्राधिकार भएको सर्वोच्चको ठहर थियो ।

तर अर्कोथरि दलित अभियन्ता भने यस्तो बहसलाई अनावश्यक र प्रायोजित ठान्दछन् । उनीहरुका अनुसार लामो संघर्ष, बलिदान र आन्दोलनपछि दलित शब्द बल्लबल्ल स्थापित भएको छ । संविधानले समानुपातिक निर्वाचनका लागि विशेष समूह मानेको छ, आरक्षण प्रारम्भको छ । संवैधानिक तबरले आयोग गठन भएको छ । फेरि शब्द फेर्ने खेलमा लाग्ने हो भने भ्रम सिर्जना हुन्छ । यत्रो संघर्ष, आन्दोलन र बलिदानबाट स्थापित उपलब्धिहरु राम्ररी उपयोग हुन नपाउँदै खेर जान्छ ।

शब्द फेर्दैमा अवस्था फेरिने हैन । दलितको ठाउँमा शिल्पी भन्दैमा समाजको धारणामा रातारात परिवर्तन हुने पनि हैन । शिल्पी शब्दले अछुत मानिँदै र दलित भनिँदै आएको समुदायलाई मात्र समेट्छ कि त्यो अझ छिरलिन्छ भनेर पनि सोच्नु पर्दछ । विशेषतः मधेसी दलितहरुबीच शिल्पी शब्द खासै प्रचलित हुँदैन, शब्द स्थापित गर्न नै लामो समय लाग्न सक्छ ।

को हो दलित ?

नेपालमा अहिले ३ प्रकारका दलित समुदाय छन् । पहाडी दलित, नेवाः सभ्यतासँग जोडिएका दलित र तराई मधेशका दलित । कतिपय पहाड मधेश दुबैतिर छन् । पहाडतिर कामी, विश्वकर्मा वा सुनार भनिएजस्तो तराईमा लोहार भन्ने चलन छ । नेपालमा कुल २६ जाति दलित समुदायमा अनुसूचिकृत छन् । तर एउटै जातिका फरकफरक नाम प्रयोगमा छन् । जस्तो चमार, हरिजन र राम तराईको एउटै जातिले प्रयोग गर्दछ । ती सबै गर्दा ५० जति नामथर कायम हुन्छन् । ती– कामी, सुनार, लोहार, दमाई, ढोली, सार्की, गाइने, वादी, पोडे, च्यामे, धोबी, कोरी, तत्मा, दुसाद, मोची, पासी, डोम, चमार, मुसहर, बाँदर, टमाटा, खत्वे, चिडिमार, मेहत्तर, हल्कोर, पत्थरकट्टा, कुशवडिया, धन्कार, नट, खटिक, सर्वरिया, धनकार आदि हुन् ।

नेपालमा दलितको संख्या १३.६% छ । त्यसमध्ये सबैभन्दा ठूलो समुदाय कामी वा विश्वकर्मा हो । उसको जनसंख्या एक्लै ४% छ । १% भन्दा बढी जनसंख्या भएकाको भिन्नै राष्ट्रिय पहिचान समुदायका रुपमा गणना हुन सक्दछ भने कामीलाई भिन्नै जातिका रुपमा गणना किन नगर्ने भन्ने बहस पनि यदाकदा उठ्ने गरेको छ ।

दलित शब्दको प्रारम्भ

दलित नेपालभन्दा अगाडि भारतमा प्रयोग भएको हो । दलित अधिकारकर्मी तथा समाजवादी पार्टीका उपमहासचिव दानबहादुर विश्वकर्माका अनुसार दलित शब्दको पहिलो प्रयोग सन् १९०० तिर आर्य समाजी लाला लाजपत रायले गरेका थिए । सन् १९०६ मा भारतीय दलित वर्ग मिसन समाज गठन भयो । मूलतः भारतीय कांग्रेस नेताहरुले दलित शब्दको बृहत्तर राजनीतिक उपयोग गरे । तर डा. भीमराव अम्बेडकर दलित शब्द प्रयोग गर्न चाहँदैनथे । तसर्थ भारतीय संविधानमा दलितको साटो अनुसूचिकृत जाति (सेडुल काष्ट) लेखियो । भारतमा करिब ३४% सेडुलकाष्ट रहेको तथ्यांक छ ।

नेपालमा २०२४ बाट मात्र दलित शब्द औपचारिक रुपमा प्रयोग गरियो । २०२४ मा सरकारले ‘नेपाल राष्ट्रिय दलित जन विकास परिषद’ गठन गरेको थियो ।

कसरी आयो शिल्पी ?

नेपालमा शिल्पी शब्द प्रयोग हुन थालेको ६ वर्ष मात्र भएको छ । एमाले परित्याग गरी संघीय समाजवादी पार्टी स्थापना गर्दा अशोक राई र राजेन्द्र श्रेष्ठले शिल्पी शब्द प्रयोग गर्न दलित समुदायलाई प्रेरित गरेका थिए । संघीय समाजवादी पार्टी र मधेशी जनअधिकार फोरमको एकता हुँदा यो शब्द फोरममा भित्रियो । अहिले नयाँ शक्ति पार्टी पनि एकिकृत भइ समाजवादी पार्टी बनेको छ । तर, दलित कि शिल्पी भन्ने विवाद कायमै देखिन्छ । समाजवादी पार्टी निकट दलित जनसंगठनको नाम समाजवादी दलित मुक्ति महासंघ छ भने विशेष गैरभौगोलिक प्रदेशले भने शिल्पी विशेष प्रदेश भन्ने गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले तराई/मधेशमा शिल्पी शब्दको राजनीतिक प्रयोग हुन नसक्ने हुँदा दलित शब्द नै प्रयोग गर्न र यो विवादमा पार्टीलाई धेरै नतान्न आग्रह गर्दै आएको नेताहरु बताउँछन् ।

कस्ले के भन्छन् ?

नेपालका राजनीतिक दलपिच्छे फरकफरक दलित संगठन छन् । नेपाली कांग्रेस निकटको संगठनले ‘नेपाल दलित संघ’ भन्ने गरेको छ । एमालेमा ‘उत्पीडित जातीय मुक्ति समाज’ भन्ने चलन थियो । माओवादी निकट दलित संगठनलाई ‘दलित राष्ट्रिय मुक्ति मोर्चा’ भनिन्थ्यो । एमाले र माओवादी केन्द्रको एकतापछि ‘राष्ट्रिय दलित संगठन’ भन्ने गरिएको छ । नयाँ शक्ति पार्टीले ‘दलित शक्ति नेपाल’ भन्ने गर्दथ्यो । जनमोर्चा निकट दलित संगठनले भने ‘जातीय समता समाज’ भन्दछ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage