scheduleमगलवार आश्विन २८ गते, २०७६

चाडबाडमा मन रुवाउँदै आश्रमवासी, पोख्छन् यस्तो पिडा

गोपालप्रसाद बराल/महोत्तरी, १४ असोज । महोत्तरीको मनराशिशवा नगरपालिकाको सहसराम बस्तीकी ५० वर्षीया इन्द्रकला कापरको चाडबाड लाग्यो कि मन कुँडिन्छ । कुष्ठरोगले गाँजेर धनुषाको लालगढ कुष्ठरोग अस्पतालमा उपचारपछि त्यहींँकै अनाथ आश्रममा आश्रय लिँदै आएकी कापरलाई घरपरिवारले खोजी नगरेपछि चाडबाडमा उनको मन रुन्छ ।

‘देखु हजुर, दशहरा पावैन आयल, मुदा हमर घर सऽ कोनो खोजीपुछारी नई अई’ (हेर्नोस् हजुर, दशैंँ पर्व आयो तर मेरो घरबाट कहिल्यै सोधखोज आएन) अस्पताल मातहतकै अनाथ आश्रममा पछिल्ला तीन वर्षदेखि बस्दै आएकी कापरले भनिन्, ‘अई ठाम खाए पिबमे आ रहमें कोनो दिकत नई अई, मुदा मने त अई, पावैन तिहारमें घरक याद अवैत अछि’ (यहाँ खान, बस्न त केही अप्ठ्यारो छैन तर मन नै त हो, चाडपर्व मुखमा आएपछि घरको सम्झना हुँदो रहेछ ।)

युवावस्थामै कुष्ठरोग भएपछि विवाह नगरेकी कापरका घरमा दाजुभाइ र भदाभदै छन् । रोग देखिनबित्तिकै घरबाहिर एउटा छाप्रामा राखिएकी कापर अस्पताल आइपुग्नु चाहिँ नयाँ जिन्दगीको शुरुआत भएको बताउँछिन् । लगातार दुई वर्षको उपचारपछि कापरको रोग निको भए पनि हात भने कुँजिएका छन् । त्यसयता घरका कोही खोज्न नआएकाले कापर अस्पतालको अनाथालयमा बस्दै आएकी हन् । पाँच वर्षअघि लालगढ अस्पतालमा आफनो रोगको उपचार गराउन आएकी कापरलाई अब अस्पतालको आश्रम नै संसार बनेको छ ।

कापरजस्तै महोत्तरीकै बर्दिबास नगरपालिका–५ चेरुका ७५ वर्षीय हर्कमान तामाङ, आफ्नो नाम घरठेगाना बताउनै नसक्ने लालबहादुर नेपाली (अनाथालयमै राखिएको नाम), ओखलढुङ्गाका मनोज घर्ती मगर र काठमाडौँका ७१ वर्षीय हरिबहादुर श्रेष्ठसहित १० जना उपचारपछि अनाथालय (आश्रम) मा बस्दै आएका छन् ।

कुष्ठरोगले गाँजेर भौँतारिदै अस्पताल आइपुगेका मनोजका दुवै गोडा रोगले पहिले नै रोगग्रस्त बनेका थिए । दुवै गोडा काटेर उपचार गरिएका मगरको आश्रम बसाइ १० वर्ष नाघिसकेको छ । आश्रममा कुनै समस्या नभए पनि चाडबाडका बेला भने मगरलाई आफन्तले सम्झिदिए हुन्थ्यो भन्ने अझै लाग्दो रहेछ । सधैंँ हाँसीखुशी रहने आफूलाई चाडबाड नजिकिएपछि भने आफन्तले नसम्झिँदा मन गह्रुँगो हुने गरेको मगरले बताए ।

त्यसैगरी पत्नी सुकमायाको मृत्युपछि पारिवारिक सोधखोज नपाएका ७५ वर्षीय तामाङ पनि चाडबाड नजिकिएपछि भक्कानिन्छन् । ‘बूढी (पत्नी) होउञ्जेल अस्पताल आएर सोधखोज गर्थिन्’, तामाङले आँखाको डिलबाट ढलपलिँदै झरेका आँशु पुछ्दै भने–, ‘ऊ (उनी) मरिहाल्यो (हालिन्), दुईटा छोरा त थिए नि ! तर कसैले खोजी गर्दैनन् ।’ तामाङ उपचार सकेर आश्रममा बस्न लागेको पनि १५ वर्ष भइसकेको छ । अरुबेला मन बुझाएर बसे पनि चाडबाडको रन्को शुरु भएपछि भने घर सम्झिएर रुने गरेको तामाङ बताउँछन् ।

कुष्ठरोगले गाँजेर घरपरिवारले बेवास्ता गर्दा एक मित्रको सहयोगले अस्पताल आइपुगेका ७१ वर्षीय श्रेष्ठलाई त अब आफ्नो घर काठमाडौँको कुन ठाउँ हो भन्ने हेक्कासमेत छैन । ‘मलाई कुष्ठरोग भएको रहेछ, त्यतिखेर उपचार पाउनुको साटो घरबाट निकालिएँ’, श्रेष्ठले बरर आँशु काढ्दै भने, ‘धन्न, एक जना मेरा साथी भगवान् बनेर आएछन्, उनैले लालगढ अस्पताल पु¥याइदिएपछि मैले नयाँ जिन्दगी पाएँ ।’ उपचारपछि आश्रममा बस्न लागेको पनि श्रेष्ठको २० वर्ष नाघिसकेछ । ‘पहिले÷पहिले त घरबाट कसैले खोजी गर्छन् कि भन्ने आश लाग्थ्यो, अब सबैले बिर्सिसके’ श्रेष्ठले भने । अब त चाडबाड र अरुबेला छुट्याउनै नजान्ने भइसकेको श्रेष्ठको भनाइ छ ।

विदेशी दाताको सहयोगले नौ कठ्ठा जग्गा किनिएर त्यहाँ बनेको आश्रम भवनमा उपचारपछि आफन्तले नखोजेका विभिन्न उमेरका असहाय र कुष्ठरोग उपचार गरिरहेका गरीब परिवारका १० बालिका बस्दै आएका छन् । बालिका र उपचारपछि त्यहीँ (आश्रममा नै बस्दैआएका सबैको खानपिन, आवास र पढाइ खर्च (१० बालिका) को जोहो अस्पतालमातहतकै ‘आशाको परिवार नेपाल’ भन्ने संस्थाले गर्दै आएको छ ।

आवासका लागि उपचारपछि यहाँ बस्दैआएका अनाथका लागि खानेपानी धारा, शौचालय र विद्युत् सुविधासहितको पाँच÷पाँचकोठे दुई पक्की भवन र छुट्टै भान्सा घर छ । त्यसैगरी अहिले अध्ययनरत १० बालिकाका लागि छुट्टै तीनतले पक्की भवन छ । बालिकाका लागि भान्सा कोठा, अध्ययनकक्ष, आवासकक्ष र मनोरञ्जनकक्षसहितको सुविधायुक्त सो पक्की भवनमा बस्ने बालिकाहरु आश्रम नजीकको नमुना विद्यालयमा अध्ययनरत छन् ।

‘हामी मिलेर बसेका छौँ, पढ्न, खान, बस्न अप्ठ्यारो छैन’, अहिले आश्रममा बसेर कक्षा–२ मा पढ्दै गरेकी १० वर्षीया सविता मण्डलले भनिन्, ‘धेरै पढेर मान्छेलाई माया गर्न सिकाउने मन छ ।’ महोत्तरीको मटिहानी नगरपालिकाको सिमरदही बस्तीकी मण्डल अत्यन्त गरीब परिवारकी तर मनकारी र दयालु बालिका रहेकी आश्रमको रेखदेख गर्दैआएको ‘आशाको परिवार नेपाल’ का आश्रम संयोजक हेम प्रधान बताउँछन् ।

आश्रमका १० बालिका र उपचारपछि त्यहीँ नै आश्रय लिइरहेका अन्य १० का लागि आवास, खानपिन र अन्य व्यवस्थापन पनि छुट्टै गरिएको आश्रम संयोजक प्रधान बताउँछन् । ‘साना पढ्ने नानीहरु र अन्य वयस्कको रहर, आवश्यकता र बसाइउठाइ फरक हुन्छ, यो मनोविज्ञान बुझेर नै एउटै परिसरमा भए पनि छुट्टाछुट्टै व्यवस्थापन गरिएको हो’, प्रधानले भने ।

आश्रमको खानपिन, लत्ताकपडा र अन्य सबै चाँजो दातामै निर्भर रहेको छ । प्रत्येक वर्ष विभिन्न समयमा विदेशबाट आउने दाताले केही रकम दिएर जाने गरेका आश्रम संयोजक प्रधान बताउँछन् । यसबाहेक विभिन्न अवसरमा मुलुकभित्रकै सामाजिक सङ्घसंस्था र अन्य व्यक्तिले पनि नानीहका शैक्षिक सामग्रीसहित आश्रमवासीका आवश्यक खर्चमा सहयोग गर्ने गरेको प्रधानले जानकारी दिए । ‘खर्च त चलेको छ कि १ तर यति चैँ कहाँबाट आउने नै हो भन्ने केही छैन’, प्रधानले भने, ‘सबै भगवान् भरोसे नै हो, तर खै केले हो थाहा भएन, अब चैंँ आश्रमवासी थेग्न नसकिने भयो भन्ने स्थिति चैँ आएको छैन ।’

अब आश्रमको व्यवस्थापनमा राज्यपक्षले चासो देखाउनुपर्ने आवश्यकता औंँल्याइँदैछ । राज्यको कुन तहबाट कसरी यसको व्यवस्थापन गर्न सकिन्छ, त्यसको खोजीनीति गर्नुपर्ने लालगढवासी बताउँछन् । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आश्रम व्यवस्थापनमा चासो नदेखाए कुन दाता आउलान् र चामल देलान् भन्ने भरमा थेग्न गा¥हो पर्ने लालगढका सचेत युवाको भनाइ छ ।

यसैबीच आश्रम रहेको मिथिला नगरपालिका–१० का वडाध्यक्ष सविनविक्रम थापाले आश्रम व्यवस्थापनको कुरा दयामायाले नटिक्ने स्वीकार गरेका छन् । यद्यपि आश्रम व्यवस्थापन पक्षले यसबारे किटानसाथ केही नभनेकाले नगर कार्यपालिकामा छलफल हुन नसकेको थापाले बताए । आश्रम व्यवस्थापनका सबै पक्ष पारदर्शी गर्दै लिखित रुपमा प्रस्ताव आएमा नगर कार्यपालिकाले यसबारे छलफल गर्ने र आवश्यक स्थायी निकासको खोजी गर्न सक्ने थापाले स्पष्ट पारे । रासस

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage