scheduleमगलवार मंसिर ३ गते, २०७६

महरा यौनकाण्डः कस्तो पर्ला नेकपालाई असर ?

साझापोस्ट टिप्पणी/काठमाडौं, १६ असोज । सभामुख कृष्णबहादुर महरा यौनकाण्ड नेपालको राजनीतिक इतिहासमा सर्वाधिक उपल्लो तहको राजनीतिज्ञ संलग्न सबैभन्दा कलंकित यौनकाण्ड बन्न पुगेको छ । राणा तथा शाहशाही दरबारमा पक्कै यस्ता अनेक घटना भएका थिए । राणा प्रधानमन्त्री वा शक्तिशाली राणा परिवार सदस्यका लागि महिलाको कुनै मूल्य थिएन । राणाहरु रानी, पटरानी, धाई, सुसारेहरुको हुल नै दरबारमा भेला गर्थे । मनपर्दी सर्वसाधारणका छोरीचेलीहरु गाउँघरबाट हरण गरेर दरबार लान्थे । उनीहरुले महिलामाथि जुनस्तरको यौनिक दुर्व्यवहार गरे, त्यो निश्चय नै आजको सभ्य समाजले कल्पना गर्न नसक्ने खालको थियो ।

शाह राजाहरुको इतिहास पनि यस मानेका फरक छैन । नेपाल दरबारमा हुने राजनीतिक दाउपेच र हत्याकाण्डहरुको श्रृंखला कहिँ न कहिँनेर यौनसँग जोडिएको हुन्थ्यो । पञ्चायती व्यवस्थाको उत्तरार्धतिर भएको नमिता–सुनिता बलात्कार तथा हत्याकाण्डले राजा वीरेन्द्रको निस्कन्टक शासनलाई बदनाम र कमजोर पार्न ठूलो भूमिका खेल्यो । त्यो काण्डमा राजाका भाइभतिजाहरु नै संलग्न भएको जनताको आशंका थियो । नभन्दै शाहवंशको अन्त्य गराउने नारायणहिटी हत्याकाण्ड यौन, प्रेम र विवाहकै विषय वरिपरि घुम्यो । तर, लोकतान्त्रिक नेपालको इतिहासमा यसअघि संवैधानिक तहको व्यक्ति यस्तो काण्डमा फसेको कुनै घटना थिएन ।

महरा सामान्य राजनीतिक कार्यकर्ता थिएनन् । माओवादी आन्दोलनको प्रारम्भभन्दा अगाडि नै कम्युनिष्ट पार्टीसंग जोडिएका महरालाई कतिपयले कम्युनिष्ट कार्यकर्ता उत्पादन गर्ने आदर्श शिक्षकका रुपमा चर्चा गर्थे । रोल्पामा शिक्षकको जागिरमा छँदा एक पुस्ता प्रभावशाली कार्यकर्ता उत्पादन गरेको जस उनलाई दिइन्थ्यो । अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन, बारम्बार मन्त्री भएका बर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, महिला नेतृ जयपुरी घर्ती, विद्रोही नेकपाका मुख्य नेता नेत्रविक्रम चन्द विप्लवजस्ता कार्यकर्ता महराको प्रेरणाले कम्युनिष्ट राजनीतिमा आएको मानिन्थ्यो ।

अझ महत्वपूर्ण कुरा माओवादी आन्दोलनका सबै महत्वपूर्ण मोड र निर्णायक क्षणहरुमा महरा पार्टी सुप्रिमो प्रचण्डका विश्वासपात्र र अनन्य सहयोगी मानिन्थे । माओवादी शान्ति प्रक्रियामा आएपछि सबैभन्दा धेरै राजकीय लाभका पद प्राप्त गर्ने नेतामा उनी एक नम्बरमा पर्दथे ।

कम्युनिष्टहरु आफूलाई महिलामुक्तिको पक्षधर पार्टी ठान्दछन् । कुनै समय नारी, बन्धन र मुक्तिजस्तो चर्चित ग्रन्थ लेखेका मोदनाथ प्रश्रित आफै यौन दुर्व्यवहारीको आरोपमा परे । कम्युनिष्ट पार्टीभित्र महिला दुर्व्यवहार र यौन अनैतिकताका घटनालाई ‘सांस्कृतिक विचलन’ भन्ने गरिन्छ । तथापि कम्युनिष्ट पार्टीभित्र निक्कै विवादस्पद र जघन्य यौनकाण्डमा अनेक घटनाका श्रृंखला नै छन् । जनयुद्धकालमा वर्तमान गृहमन्त्री बादल र कमरेड हिमानीबीचको यौनकाण्ड पार्टीको दस्तावेजमा नै उल्लेख भएको थियो ।

हुन त यस काण्डमा महरालाई आरोपित गर्ने महिलाले आफ्नो बयान फेरेको समाचार नआएको होइन । तर, यो समाचारले अगाडि नै छताछुल्ल भएका सत्यतथ्यलाई ढाकछोप गर्ने क्षमता राख्दैन । नेपालमा परिवार, आफन्त, नातागोताको दबाब वा आर्थिक प्रलोभनमा यौन दुर्व्यवहारका घटना लुक्ने, लुकाउने गरिएको छ । कयौं बलात्कारका घटनामा प्रहरीले नै भित्रभित्रै मिलोमतो गराएर पैसा खाने गरको घटना सार्वजनिक हुने गरेकै छन् । बलात्कारजस्तो जघन्य, अमानवीय र पाशविक घटनामा समेत घुस र कमिसन खाने संस्कारमा हुर्किएको समाज र प्रहरी प्रशासन भएको देशमा महरा काण्डकी महिलाले बयान फेर्नुलाई विश्वसनीय घटना मान्न सकिन्न । उनीमाथि बयान फेर्न चौतर्फी दबाब परेको सहजै अनुमान गर्न सकिन्छ ।


कतिपयले सभामुख महरा लामो समयदेखि ती महिलासंग सम्बन्धमा रहेको, त्यो दिन मात्र आनाकानी गरेको हुँदा यसलाई बलात्कार तथा यौन दुर्व्यवहार भन्न नमिल्ने भन्दै महराको बचाउ गर्ने प्रयास गरिरहेको देखिन्छ । यस्ता तर्क गर्नेहरुले बलात्कार र यौनदुर्व्यवहार परिभाषा नै नबुझेको मान्न सकिन्छ । हुन सक्छ ती महिला महरासंग लामो समयदेखि रिलेसनमा थिइन् । यसको अर्थ यो हुँदैन की पुरुषलाई रिलेशनमा रहेकी कुनै महिलालाई बलात्कार वा दुर्व्यवहार गर्ने अधिकार हुन्छ । बलात्कार प्रेमिका वा पत्नीलाई गरे पनि त्यो बलात्कार नै हो । बलात्कार भनेकै जबरजस्ती करणी हो । अगाडि मिलेर गरेका थिए, त्यो बलात्कार हैन । मिलेर गर्ने बित्तिकै त्यहाँ यौन नैतिकताको प्रश्न मात्र आकर्षित हुन्छ, अपराधको हैन । तर जब जरबजस्त गरिन्छ, जसलाई गरे पनि त्यो अपराध बन्न पुग्छ चाहे महिला यौनकर्मी नै किन नहून् ।

मानौं कि महराले बलात्कार गरेका हैनन्, यौन दुर्व्यवहार पनि गरेका हैनन्, लामो समयदेखि रिलेसनमा रहेकी सहकर्मी महिलासंग उनको त्यो दिन झगडा मात्र परेको हो, त्यो नैतिक दृष्टिकोणले पुष्टि हुँदैन । घरमा एक्ली रहेकी महिला, जसका श्रीमान त्यो दिन घरमा छैनन् भन्ने महरालाई थाहा छ, सभामुख जस्तो मान्छे रक्सी पिएर, रक्सी बोकेर राती त्यहाँ पुग्छन् भने उनको नियत के होला भनेर बहस गरिरहन आवश्यक नै पर्दैन । यस्तो घामजस्तै छर्लङ्ग घटनालाई पनि दलीय स्वार्थ, शक्ति र सत्ताको आडमा ढाकछोप गर्ने प्रयास हुन्छ भन्ने यो देशको राज्य र सरकार कुन स्तरसम्म गिरेको, कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु कुन स्तरसम्म अमानवीय हुन सक्दछन् भन्ने प्रमाण मात्र बन्न पुग्दछ ।

तर सत्तारुढ नेकपालाई अहिले नै यो आरोप लगाउन मिल्दैन । किनकी पार्टी सचिवालय बैठकले महरालाई सभामुख र संसद दुवै पदबाट राजीनामा गर्न प्रष्ट निर्देशन दिएको छ । तर, यहाँनेर पनि महराले अनैतिक व्यवहार गरेका छन् । राजीनामाको भाषालाई काइते पारामा घुमाएर पार्टी निर्णयको समेत अवज्ञा र अपमान गरेका छन् भने संसद पदबाट अहिलेसम्म राजीनामा दिएका छैनन् । कम्युनिष्ट पार्टीको नेतृत्वको कोर टिममा रहेका नेताहरुको आन्तरिक नैतिकस्तर र भ्रष्टिकरण कुन विन्दूतिर पुग्दैछ, यो घटनाले नागरिकलाई अनुमान गर्न सजिलो बनाई दिएको छ ।

महरा यौन प्रकरण यस्तोबेला भएको छ कि नेकपाको सरकार चौतर्फी आलोचना र असन्तुष्टिको तारो बन्दै थियो । गत निर्वाचनमा गरेका अनेक वाचाहरु पूरा गर्न ओली सरकार असफल भएको मात्र हैन, नागरिक अभियन्ता र विरोधी दलका कार्यकर्ता विरुद्ध भौतिक आक्रमण गर्ने तहसम्म नेकपाले आफ्ना कार्यकर्तालाई परिचालन गर्न थालेको थियो । नेपालगञ्जको खजुरामा किरण कोइराला, चितवनमा ज्ञानेन्द्र शाही र तनहुँमा मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताबाट भएको आक्रमण र प्रहरी प्रशासनको मौनताले ओली सरकारमाथि फासीवादी बाटोमा उद्धत् भएको आरोप लागेको थियो । यस्तो बलात्कार तथा यौन दुर्व्यवहारजस्तो जघन्य घटना ढाकछोप गर्न लाग्दा सरकारको फासीवादी चरित्र झनै पुष्टि हुने अवस्था आउँछ ।

पार्टीबाट राजीनामा माग गर्नु मात्र यस्तो घटनाको पर्याप्त कार्वाही हैन । अब प्रहरी प्रशासनले कस्तो भूमिका गर्दछ, त्यसबाट मात्र सरकारको रबैया मूल्यांकन गर्न सकिन्छ । प्रमाणमा लागि मोबाइल वार्ता र एसएमएसहरु अभिलेख छन् । महराको सरकारी सुरक्षा टिममा भएका सदस्य सजिलै पुलिस र प्रशासनलाई सूचना दिन सक्दछन् । राजीनामापछि महरालाई हिरासतमा लिएर प्रहरीले सोधपुछ र छानबिन गर्न सक्दछ । प्रहरीले यस्तो गर्दछ कि गर्दैन त्यसबाट मात्र यो घटनाप्रति नेकपा सरकारको रबैया मूल्यांकन गर्न सकिन्छ ।

महरा प्रकरणले निश्चय नै सबैभन्दा ठूलो राजनीतिक घाटा प्रचण्डलाई भएको छ । प्रचण्डको निकटवर्ती टिममा कस्तो सांस्कृतिक तथा नैतिकस्तर भएका मान्छेहरुको हालीमुहाली रहेछ भनेर नागरिकले विश्लेषण गर्ने थप आधार तयार भएको छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने यो घटनाबाट खासै चिन्तित नभएको हुन सक्दछन् । किनकी समकालीन सत्ता संघर्षमा प्रचण्ड कमजोर हुनु ओलीका लागि राजनीकि लाभको विषय हो । त्यसैपनि प्रधानमन्त्री ओली सभामुख महरासँग खासै सन्तुष्ट थिएनन् । ओलीलाई आफ्ना विश्वास पात्र सुवास नेम्वाङलाई पुन सभामुख बनाउने अनपेक्षित अवसर प्राप्त भएको छ ।

नेकपा निकट महिला नेतृ र संगठनहरु यस मुद्दामा मुखर हुन नसक्नु नेकपाका लागि अर्को ठूलो घाटा हो । भविष्यमा महिला हिंसाजनित घटना र सवालमा बोल्ने नैतिक प्राधिकार उनीहरुले गुमाएका छन् । आफ्नो नेताद्वारा यो स्तरको घटना हुँदा चुँसम्म गर्न नसक्ने महिला नेतृ र संगठनले महिला अधिकार र मुक्तिका कुरा गर्दा हास्यास्पद मात्र हुनेछ । यी सबैभन्दा ठूलो र महत्वपूर्ण प्रश्न नेकपा नेतृत्व वृत्तको नैतिक प्राधिकारको स्खलन हो । महरा प्रकरणले मजाकजस्तो बन्दै गएको नेकपा र ओली सरकारको छविलाई झनै हल्का र उपहास गर्न योग्य बनाइ दिनेछ ।

महरा प्रकरणपछि नेकपाभित्र भएको छलफल र बहस निराशाजनक छ । पार्टी र नेताहरुले यस्ता घटनाबाट सिक्दै रुपान्तरणतिर जानेभन्दा महराको अनुपस्थितिमा हुने नाफा घाटाको हिसाबमा मात्र छलफल केन्द्रित देखिन्छ । ‘अर्कोको मृत्यूमा आफ्नो जीवन’ देख्ने यस्तो प्रवृत्ति कम्युनिष्ट पार्टीभित्र अनौठो होइन तर, ‘काल पल्किएको’ रुपमा घटनालाई नबुझ्ने यस्तो प्रवृत्ति र अभ्यासले पुनः दुर्घटनाहरु दोहोरिइरहने र राजनीतिमा आदर्श शून्यता हावी हुने देखिन्छ, जुन कुरा लोकतन्त्रका लागि घातक सावित हुनेछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage