scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

ओली सरकारमाथि किन लाग्छ बारम्बार फासीवादको आरोप ?

साझा पोष्ट/काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान नेकपा सरकार बारम्बार आलोचनाको शिकार हुँदै आएको छ । सरकारले गरेका थुप्रै निर्णय र प्रस्तावित विधेयकहरु फिर्ता भएका छन् । सरकारमाथि सहजै लगाइने आरोप भएको छ– फासीवाद ।

ओली सरकारलाई ‘सामाजिक फासीवादी’ भन्ने उत्तिकै छन् । अझ कतिपय आलोचकले समाजवादको नाममा क्रोनी क्यापिटलिज्मको अभ्यास गर्ने सरकार पनि भन्दछन् ।

गत हप्ता भ्रष्टाचार विरोधी अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीमाथि चितवन र कांग्रेस नेता मीनेन्द्र रिजालमाथि तनहुँमा नेकपा कार्यकर्ताहरुले हमला गरेपछि कांग्रेस नेता गगन थापाले त्यही आरोप दोहोर्‍याए कि नेकपाको ओली सरकार फासीवादी बाटोमा अग्रसर छ ।

आखिर के हो फासीवाद ? कम्युनिज्म र फासिज्मबीच कुनै सम्बन्ध छ कि छैन ? आफूलाई सिद्धान्ततः साम्यवादी भन्ने सरकार कसरी फासीवादको गोलचक्करमा फस्दैछ ? फासीवादी सरकारको सोच, चरित्र र क्रियाकलापहरु कस्ता हुन्छन् ? ओली सरकारमाथि बारम्बार लाग्ने फासीवादको आरोपमा सत्यता छ कि छैन ? यी प्रश्न अहिले प्रासंगिक भएका छन् ।

फासीवादको अर्थ
फासिज्म ल्याटिन भाषाको ‘फासेस’ बाट बनेको हो । फासेस शब्दले रोमन साम्राज्यले प्रयोग गर्ने ‘फलामे डन्डीको बिटोमा बञ्चरो बाँधिएको’ चिन्ह बुझाउछ । इटालियन भाषामा यसलाई ‘फासियो’ भनिथ्यो । यो चिन्हले रोमन साम्राज्यको युगमा शासकको शक्ति, प्राधिकार र एकत्वलाई बुझाउथ्यो ।

सन् १९१५ मा इटालीमा ‘फासिष्ट क्रान्तिकारी पार्टी’ बन्यो । यो पार्टीले इटालीलाई पुरानो रोमन साम्राज्यको आधुनिक रुप मान्दथ्यो । उनीहरु इटालीको एकता, प्राधिकार र श्रेष्ठतामा विश्वास गर्थे । सन् १९२१ मा यो पार्टीको नाम परिवर्तन गरी ‘फासिष्ट राष्ट्रवादी पार्टी’ राखियो । वेनिटो मुसोलिनी यसका नेता थिए । सन् १९१९ मा जर्मनीमा एडोल्फ हिटलरले गठन गरेको ‘नाजी पार्टी’ लाई फासीवादको जर्मन संस्करण मानिन्छ । अर्थात् नाजीवाद फासीवादकै अंग हो । ठीक यस्तै विचारमा आधारित शासन स्पेनमा जनरल फ्रान्कोले गरेका थिए । फासीवाद मूलतः मुसोलिनी, हिटलर र जनरल फ्रान्कोका शासनसँग जोडिएको विचारधारा हो ।

फासीवादी दर्शन
सन् १९३२ मा ‘द डक्ट्रिन अफ फासिज्म’ प्रकाशित भयो । वेनिटो मुसोलिनीको नाममा प्रकाशित पुस्तिका यथार्थमा उनका सहयोगी जियोभेनी जिन्तानेले लेखेका थिए । उनी हिगेलको ‘निरपेक्ष परमभाव’ (Absolute Universal spirit) र नित्सेको शक्तिको चाहना (Will To Power) सिद्धान्तबाट प्रभावित थिए । उनले आफ्नो दर्शनलाई वास्तविकतावाद (Actualism) भने । मुसोलिनीका घोष्टराइटर जिन्ताने मुसोलिनीको शासनकालमा इटालीको शिक्षामन्त्री थिए । सन् १९४४ मा फासीवादी शासनको पतनपछि उनलाई सार्वजनिक स्थलमा गोली ठोकेर मारियो ।

यो पुस्तिकाले उदारवाद, मार्क्सवाद र लोकतन्त्रको खण्डन गर्दछ । यी तीनवटै सिद्धान्त उन्नाइशौं शताब्दिका सिद्धान्त थिए, बीसौं शताब्दिका लागि अनुपयुक्त छन्, बीसौं शताब्दिलाई एउटा भिन्नै दर्शनको आवश्यकता छ– त्यो फासीवाद हो भन्ने धारणा राख्दछ ।

फासीवादले उदारवादको खण्डन यसरी गर्दछ– ‘उदारवादले व्यक्तिलाई बढी महत्व दिन्छ । व्यक्तिका हित, स्वतन्त्रता र खुशीको कुरा गर्दछ । फासीवादले व्यक्तिलाई मात्र हेर्दैन । फासीवादले संसारलाई सतही भौतिकवादी दृष्टिकोणबाट हेर्दैन, जहाँ मान्छे प्राकृतिक नियमको तहत एक्लो, आत्मकेन्द्रित र क्षणिक सुखका लागि ठिङ उभिएको हुन्छ । फासीवादले राष्ट्र, देश र राज्यको हितलाई हेर्दछ । व्यक्ति राज्यभित्र हुन्छ । राज्यको हित व्यक्तिको हित बन्न पुग्दछ । राष्ट्रले राज्य बनाउने हैन, राज्यले राष्ट्र बनाउँदछ । बलियो राज्य विना राष्ट्र बन्न सक्दैन । फासीवादी दर्शनमा व्यक्ति र राष्ट्रका हित राज्यसँग एकाकार हुन्छन् । उदारवादले व्यक्तिको नाममा राज्यको निन्दा गर्दछ । फासीवादले व्यक्तिका लागि राज्यको सिद्धी गर्दछ । फासीवादमा राज्य निरपेक्ष हो, व्यक्ति र समूह सापेक्ष हो ।’

फासीवादले मार्क्सवादको खण्डन यसरी गर्छ- ‘ऐतिहासिक भौतिकवादअनुसार व्यक्ति खास ऐतिहासिक विकासक्रमको उपज हो । अर्थात् मान्छे इतिहासको दास हो । मार्क्सवादमा मान्छेको कुनै स्वतन्त्र, मौलिक व्यक्तित्व हुँदैन । त्यहाँ उत्पादन प्रणालीलाई आधार मानिन्छन् । धनको आधारमा वर्ग बन्दछन् र वर्गको संघर्ष नै इतिहास हो भनिन्छ । अर्थात् मार्क्सवाद धनलाई मुख्य मान्ने विचार हो । त्यो धनप्रतिको लालच र निचतालाई सिद्ध गर्ने विचार हो ।’

फासीवादले अगाडि भन्छ– ‘फासीवादी दर्शनमा मान्छे इतिहासको खेलौना हैन । मान्छे इतिहासको निर्माता हो । मार्क्सवादले मान्छेलाई खान र बस्ने ठाउँ दिए खुशी हुने पशुको रुपमा कल्पना गर्दछ । फासीवाद धनको दर्शन, पशुताको दर्शन हैन, यो शुद्धि, साहस र नायकतत्वको दर्शन हो । फासीवादी विचारमा नैतिक जीवन र आध्यात्मिक मूल्यप्रणाली चिन्तनको सारतत्व हुन । फासीवादमा राज्य भनेको सरकार मात्र हैन, यो व्यक्तिको नैतिक र आध्यात्मिक चरित्रलाई आकारित गर्ने क्रियाकलाप र विचारधारा हो । फासीवादमा वर्गसंघर्षको कुनै स्थान हुँदैन । फासीवादले सहकार्यात्मक प्रणालीमार्फत् स्वार्थको विविधतालाई राज्यको एकताभित्र समन्वय र सामञ्जस्यीकरण गर्दछ ।’

फासीवादले लोकतन्त्रको खण्डन यसरी गर्दछ– ‘लोकतन्त्रलाई बहुमतको शासन भनिन्छ । बहुमत भन्ने वित्तिकै त्यो गुणको हैन, मात्राको शासन हो । लोकतन्त्र भनेको एउटा राजा नभएको तर राजैराजा भएको शासन प्रणाली हो । फासीवाद गुणको शासन हो, संख्याको हैन । फासीवादले गुणको सर्वोच्चता र शुद्धतामा विश्वास गर्दछ । बहुमतले हैन, राज्यको गुणात्मक नैतिक चरित्रले सम्पूर्ण नागरिक हितलाई निश्चित गर्दछ । फासीवादी राज्यमा राज्यभन्दा बाहिर कुनै व्यक्ति, समूह, समुदाय वा नागरिक समाज हुँदैन ।’

अन्ततः फासीवादले दावी गर्छ, ‘उन्नाइसौं शताब्दि उदारवाद, लोकतन्त्र, मार्क्सवादजस्ता विचारधाराको शताब्दि थियो । बीसौं शताब्दि फासीवाद र राज्यवादको शताब्दि हुनेछ । मान्छे सधैं एकै प्रकारको विचारधारामा विश्वास गर्न बाध्य छैन । शक्तिको चाहना नभएको राज्य राज्य हुँदैन । शक्तिको चाहना नभएको व्यक्ति व्यक्तित्व बन्दैन । फासीवादले शक्तिको उच्च चाहना गर्दछ ।’

फासीवादको चरित्र
फासीवाद ७ वटा चरित्र हुन्छन् ।
एक– फासीवादले शक्तिशाली शासकको चाहना र माग गर्दछ । कुनै खास व्यक्तिको व्यक्तित्वलाई अतिशयोक्तिकृत गर्न खोजिन्छ । शक्तिशाली शासकमा शक्तिको केन्द्रिकरण गरे छिटो विकास गर्न सकिन्छ भन्ने विश्वास गर्दछ ।

दुई– फासीवादले नागरिकको शक्ति र संस्थागत प्रक्रियामा हैन राज्यको शक्तिमा विश्वास गर्दछ । राज्यमाथिको पकड जति बलिया बनायो पार्टी र आन्दोलन त्यति नै बलियो हुन्छ भन्ने विश्वास गर्दछ । राज्य कब्जा गर्न सकियो भने समाज कब्जा गर्न सकिन्छ भन्ने धारणा राखिन्छ । फासीवाद अर्को शब्दमा राज्यवाद हो ।

तीन– फासीवादले निर्वाचनलाई लोकतन्त्रको स्वभाविक र नियमित प्रक्रिया मान्दैन । बरु सत्तामा पुग्ने माध्यम मात्र मान्दछ । राज्यको शक्ति र स्रोत दलीय स्वार्थमा उपयोग गर्नुलाई स्वभाविक मान्छन । सत्तामा पुग्न र टिक्नका लागि गरिने राम्रा नराम्रा क्रियाकलापलाई स्वभाविक ठान्दछ ।

चार– फासीवादले राज्यलाई पार्टी शक्तिको सहायक मान्छन् । विरोधी दलका नेता कार्यकर्तामाथि सत्तारुढ दलका नेता कार्यकर्ताले आक्रमण र दमन गर्नु स्वभाविक मानिन्छ । त्यस्तो वेला पुलिस प्रशासन यात मौन बस्छ यात सत्तारुढ पार्टी तर्फ ढल्किन्छ । सत्तारुढ दलका कार्डहोल्डरहरु अघोषित तवरले नियम कानुनभन्दा माथि हुन्छन् ।

पाँच– फासीवादले राष्ट्रले राज्य हैन, राज्यले राष्ट्र निर्माण गर्ने धारणा राख्दछ । तसर्थ फासीवादीहरु भाषिक, सांस्कृतिक तथा नृजातीय बहुलताप्रति असहिष्णु हुन्छन् । उनीहरुको धारणामा एक राज्यभित्र एक मात्र राष्ट्रियता हुन्छ । एक राज्यभित्र धेरै राष्ट्रियता हुन सक्दछन् भन्ने यथार्थ फासीवादले स्वीकार गर्दैन । फासीवादले राष्ट्रवादको सहारा लिन्छ । एक प्रकारको अन्धराष्ट्रवादी चिन्तन हावी हुन्छ ।

फासीवादी चिन्तन पद्धतिमा कुनै राज्यको राष्ट्रियता निर्माणका लागि केही मुख्य जाति, नश्ल तथा भाषिक समुदायले भूमिका गरेको हुन्छ । कुनै मुख्य जाति, नश्ल वा भाषिक समुदायको नेतृत्वदायी भूमिका विना राज्य र राष्ट्रको गठन, संरक्षण र विकास गर्न सकिन्न । त्यहाँ भएका अन्य जातीय, भाषिक तथा सांस्कृतिक समुदाय मुख्य समुदायसँग विस्तारै अन्तर्घुलित हुँदै जान्छन । प्रकारान्तले राज्य ‘राष्ट्रिय राज्य’ बन्न पुग्दछ ।

छ– फासीवादी राष्ट्रवादमा नश्लवाद एक महत्वपूर्ण तत्व हुन्छ । श्रेष्ठ जातिहरुले नै श्रेष्ठ राज्य, श्रेष्ठ साम्राज्य र श्रेष्ठ सभ्यता निर्माण गर्न सक्दछन् भन्ने मान्यता राखिन्छ । सीमान्तकृत सुमदायलाई राष्ट्रियताको अंशियार हैन, सहयोगी समुदाय मानिन्छ । फासीवादी चिन्तन प्रकारान्तले अल्पसंख्यकहरुको ‘जातिहत्या’ सम्म पुग्दछ । जर्मन जातिलाई श्रेष्ठ जातिका रुपमा चित्रण गर्दै हिटलरले यहुदीहरुको निर्मम जातिहत्या गरेका थिए ।

सात– फासीवादले सूचनामाथि नियन्त्रण र प्रायोजित सूचनाको पक्षपोषण गर्दछ । हिटलरका सूचनामन्त्री गोयबल्स प्रयोजित सूचनाका महागुरु थिए । उनले झुठलाई सय चोटी दोहोर्‍याए सत्यमा परिणत हुने सिद्धान्त बनाए । विरोधी विचार प्रवाहित हुने संचार माध्यममाथि नियन्त्रण गर्नु, राज्य वा शासकलाई हित हुने सूचना बारम्बार प्रवाहित हुन दिनु फासीवादको अर्को चरित्र हो ।

ओली सरकार फासिष्ट हो कि हैन ?
ओली नेतृत्वको विद्यमान सरकार फासिष्ट होकि हैन भन्ने निर्कियोल गर्न यिनै ७ वटा मानकको कसीमा गर्नुपर्ने हुन्छ ।

पहिलो मानकबाट हेर्दा– ओलीज्मले शक्तिको केन्द्रिकरण गर्न खोजेकै देखिन्छ । राज्यको संस्थागत प्रक्रियाभन्दा बढी प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रिकरण गर्ने काम ओली सरकारले गर्‍यो । फलतः सम्पति शुद्धिकरण विभाग, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागजस्ता विभाग प्रधानमन्त्रीको कार्यालय मातहत लगिए र पंगु बनाएर राखिए । सम्पति शुद्धिकरण विभागले त्यसयता कुनै महत्वपूर्ण काम गरेको छैन । देश संघीयतामा गएपनि वित्तिय संघीयता कार्यान्वयन गरिएन । प्रदेश र स्थानीय निकायलाई केन्द्र सरकारले नै अनुदान दिने प्रचलन स्थापित गरियो ।

ठूला रकमको ठेक्का विना बोलपत्र सिधै प्रधानमन्त्रीको कार्यालयले सम्झौता गर्न सक्ने नियम बनाइयो । सुरक्षा परिषदको बैठक नै नबसी प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने नियम लागू गर्ने प्रयत्न भयो । यी उदाहरणहरु लोकतान्त्रिक शासकका भन्दा बढी फासीवादी शासककै गुणहरु हुन ।

दोस्रो मानकबाट हेर्दा– नेकपाले राज्यमाथि पकडको चाह राखेकै देखिन्छ । देशमा नेकपाले ५० बर्ष शासन गर्छ, अर्को निर्वाचनपछि नेकपा बाहेक देशमा कुनै पार्टी टिक्न गाह्रो छ जस्ता अभिव्यक्तिहरुमा फासीवादको गन्ध पर्याप्त छ । लोकतान्त्रिक शासकले सबै पार्टी सिद्धिने रआफ्नो मात्र पार्टी निष्कन्टक रहने कल्पना गर्दैन । यद्यपि दोस्रो मानक पहिलो जति बलियो छैन । यी शक्ति उन्मादका छिटफुट अभिव्यक्ति हुन कि प्रयोजित योजना हुन प्रष्ट छैन ।

तेस्रो आधारमा ओली सरकारलाई अहिले नै फासीवादी भन्न मिल्दैन । नेकपा सरकारले अर्को चुनाव नगराउला वा राज्य कब्जामा लिई सदाम हुसेन मोडेलको चुनाव गराउला भनेर आरोप लगाउनु हतारको पूर्वाग्रह मात्र हुन्छ ।

चौथो आधारमा हेर्दा विरोधी पार्टी र नागरिक समाजप्रति असहिष्णु हुँदै गएको भने धेरै उदाहरणहरु छन् । बाँकेमा कांग्रेस सभापतिको हात भाँचिनु वा चितवनमा ज्ञानेन्द्र शाही कुटिनु, त्यसमा नेकपा कार्यकर्ता नै सामेल हुनु तर पुलिसले कारबाही नगर्नु फासीवाद कै लक्षण हुन् ।

पाँचौं र छैठौं आधारलाई एकठाउँमा ल्याएर हेर्दा– ओली सरकारको उदयको आधार नै राष्ट्रवाद थियो । त्यसले मधेशी जनजाति आन्दोलनप्रति पूर्वाग्रह राखेको थियो । संविधान संशोधनमा रुचि नहुनु, संघवादको मान्यतामा प्रदेश पुनर्सरचना हुन नदिनु, सीमान्तकृत समुदायको आरक्षणप्रति उदासीन रहनु र ओली सरकारको कार्यकालमा महिला हिंसाका घटनामा निरन्तर बढोत्तरी हुनु तर अपराधीलाई कारबाहीभन्दा प्रशासन ढाकछोप तिर लाग्नु फासीवाद कै संकेत हो ।

सातौं मानकबाट हेर्दा ओली सरकार सञ्चार जगतप्रति खासै सहिष्णु देखिन्न । मिडिया विधेयक र सामाजिक सञ्जालको नियमनका नाममा ल्याउन खोजेका प्रावधानले ओली सरकारको नियत संदिग्ध बनाउँछ ।

निष्कर्षमा भन्दा ओली सरकारमाथि फासीवादको आरोप निराधार छैन । यो सरकारको क्रियाकलापमा फासीवादका पर्याप्त गुणहरु छन् । तर ती ओली सरकारका विचलन हुन वा नियत ? अझै परख गर्नुपर्ने आवश्यकता छ । पूर्णतः फासीवादी भइसकेको निष्कर्ष हतारो हुन सक्दछ तर ‘समाजवाद उन्मुख’ हुनु पर्ने सरकार ‘फासीवाद उन्मुख’ भने प्रष्टै देखिन्छ । बलियो नागरिक खबरदारी नहुने हो भने साम्यवादी सरकारको फासीवादी पतन शतप्रतिशत सम्भावना छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage