scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

मेरो बाल्यकालको दशैं

डम्बर खतिवडा

कतै भुराभुरी खुशी भएको देख्यो कि ठूला मान्छे भन्थे– ‘केटाकेटीलाई दशैं आए जस्तो छ !’ लाग्थ्यो– बच्चाबच्चीले खुशी हुने भन्या दशैंमा रैछ । दशैं छिटोछिटो आइरहे हुन्थ्यो जस्तो लाग्थ्यो ।

झापाको गच्छेमारी गाउँमा जन्मिएँ । बुबा–आमाको नवौं सन्तान । यसो सोच्दा ताज्जुब लाग्छ– नवौं सन्तानको जन्म अहिले भए शतप्रतिशत बर्जित हुन्थ्यो । धन्य, त्यो एउटा भिन्नै युग थियो– जसले म र मजस्ता धेरैलाई धर्ती टेक्ने, धर्ती देख्ने अवसर दियो ।

बुबा–हजुरबाले यही गाउँमा बसाइँ सर्ने सोच्नु भाको रैछ । खै के भो, सोच बदल्नु भो । पहाडको घरव्यवहार निखारेको थिएन । १८ महिनामा आमाको ढाडमा कोक्रोमा बोकिएर भोजपुरको कटुन्जे पुगेँ । गच्छेमारी–कटुन्जे ५ दिनको पैदल यात्रा । जन्मथलोको दशैं कस्तो हुन्छ, अनुभव गर्न पाइएन । १८ महिनाको हुँदा छोडेको त्यो गाउँ फर्किएर गएको छैन ।

कटुन्जेमा बुबा ४० बर्षमै बित्नु भो । जवान मान्छे आकस्मिकरुपमा मर्दा बान पर्‍यो वा बास बस्दा हरिताल खुवाए भन्ने विश्वास गरिन्थ्यो । २ सहोदर थप बिते । ८ रह्यौं । त्यसको बोझ अब हजुरबा र आमाहरुको काँधमा थियो ।

कटुन्जे गाउँका केही धमिला स्मृतिहरु छन् । त्यो अरुबेला कतै लेखौंला । हजुरबाले फेरि मधेश झर्ने बाना बुन्नु भो । ४ बर्षको उमेरमा कटुन्जे छोडेर बिहान झिस्मिसे मै हिंडेको स्मृति छ । तर, कटुन्जे गाउँको दशैं कस्तो हुन्थ्यो, कुनै अनुभव छैन ।

हामी सुनसरीको मानपुर झर्‍यौं । कटुन्जे–मानपुर ४ दिनको पैदल यात्रा । यसपटक कोक्रोमा बोकिइन । कतै हिंडेँ, कतै आमा र मामाको बुई चडेँ । निष्ठुरी मान्छे छु म– गच्छेमारीझैं कटुन्जे पनि फर्किएर गएको छैन अहिलेसम्म ।

जीवनका अरु धेरै अनुभवजस्तै दशैंको अनुभव मानपुरबाट शुरुवात भयो । अहिले पनि लाग्छ– अन्यत्रको दशैं त दशैं नै हैन, मानपुरको दशैं मात्र दशैं हो ।
मानपुर– वरिपरि बाक्ला थारु बस्तीहरुको बीचमा पहाडियाहरुको झोडा थियो । रामुधनी जंगल हामीभन्दा एक छमिल अघि मधेश झरेका पहाडेहरुले फाँडेका थिए । इक्राही, दुब्याही, लालपुर, रामपुर, कुम्याहीजस्ता थारु गाउँको बीचमा- मानपुर ।

बाँकी जंगलमा पनि झोडा फाँड्ने प्रयास हुन्थ्यो । रातारात जंगलमा घर बन्थे । भोलिपल्ट विराटनगरबाट कन्जरबेटर भन्ने हाकिम हात्ती लिएर आउँथ्यो । हात्तीले घर भत्काउँथ्यो । बढो रमित मानेर हेर्थ्यौं । ती मान्छे कहाँ जान्छन् र कसरी दशैं मान्छन् होला भन्न्ने सोच्दै निदाउँथे साँझ ।

दशैंप्रतिको उत्सुकता बर्खे बिदापछि स्कुलमा साथीहरु भेटदा शुरुवात् भइसक्थ्यो । यसपालीको दशैं कस्ले कस्तो लुगा सिलाउने हो ? कल्पना बुन्न थालिन्थे । पोलिष्टरको शर्ट र हाफपैन्ट लगाएर खाली खुट्टा स्कुल जाने त्यो समय नयाँ शर्ट र हाफपैन्टको भन्दा धेरै कल्पना नै आउँदैनथ्यो मनमा ।

धान मंसिरमा पाक्थ्यो, दशैं धान पाक्नु अगाडि नै आउँथ्यो । दशैं खर्च जोगाड गर्न सनपाट बेचिन्थ्यो । जुटको राम्रै खेती हुन्थ्यो । आमा धरानको देशी लाइन जानु हुन्थ्यो दशैंको लुगा किन्न । त्यहाँ मारवाडीका कपडा पसल थिए । खै किन हो– उनीहरुलाई ‘धराने कैया’ भनिन्थ्यो ।

राजमार्गमा करिब २ घण्टामा एउटा बस आउँथ्यो । आमाको सारीको फेर समातेर धेरैपल्ट धरान गएँ म । धरान–विराटनगर रुटमा घोप्टे बस चल्थे । धेरै एक्सिडेन्ट हुने हुँदा ती ‘अलच्छिना बस’ मानिन्थे । त्यसको ड्राइभिङ सीट अरुको भन्दा उल्टो पट्टी हुन्थ्यो । इन्जिनले ठूलो आवाज निकाल्थ्यो । घोप्टेबस चढ्न नपरोस् भनेर हामी इटहरी चोकमा घण्टौं काँकरभिट्टातिरबाट आउने बस कुर्थ्यौं ।

देशी लाईनको कैया आमालाई देख्ने बित्तिकै खुशी हुन्थ्यो । उसको ठूलै ग्राहक हुनुहुन्थ्यो सायद मेरी आमा । आमालाई चिया र मलाई जुलेबी मगाइ दिन्थ्यो । आमाले कपडा छान्दै, काट्न लगाउँदै गर्दा म भानुचोकतिर बस गन्न जान्थेँ । गाउँ गएर साथीहरुलाई भन्थेँ– ‘बुझिस मैले भानुचोकमा ३६ बटा बस गनेँ । तिमेरुले त्यत्रो बस कहिले देखौंला ।’

साथीहरु उत्सुक हुँदै भन्थे– आराथुन पनि थियो ? कन्काई पनि थियो ? राजदूत पनि थियो ? रेडियो नेपालले यी नामका बसहरुको विज्ञापन बजाउँथ्यो । गाउँका सबै भुराभुरीलाई आमाको सारीको फेर समातेर धरान पुग्ने अवसर हुँदैनथ्यो मलाई झैं ।

धरानबाट फर्किंदाको समस्या अर्कै हुन्थ्यो । अपरान्ह ५ बजेपछि इटहरी चोकबाट पश्चिम लाग्ने गाडी हुँदैनथे । इहटरीदेखि मानपुर ३ घण्टा बढी हिडेर पुग्थ्यौं ।
मानपुरमा पहाडको बालीघरे प्रथा पहाडियासंगै आएको थियो । चैनपुरको डाँगी गाउँबाट बसाइँ आएका प्रेमबहादुर दर्जी गाउँका बालीघरे थिए । नौरथाभित्र कुनै दिन सिउने मेसिन लिएर आँगनमा आउँथे । भएभरका सबै लुगा एकै दिन सक्थे ।


उनको साइलो छोरो ‘लोकु’ खुबै मिल्ने साथी थियो मेरो । उसले सानै उमेरमा राम्रो सिउने सीप बनाएको थियो । स्कुलमा म उसलाई फकाउँथेँ– ‘ओई साइला, हाम्रो घरमा मेसिन ल्याको दिन त पनि आएस् है । बुढाले हाम्रा हाफपैन्ट सबै बिगार्दिन्छन् ।’

कम्मरको नाप अडकल्न नजानेर हाफपैन्ट होर्ल्याङे बनाइदिन्थे बुढाले । खुकुलो हाफपैन्ट समातेर हिड्नु वा मास्तिर तानीरहनु दशैंको सकस बन्थ्यो ।
घटस्थापना अगाडि नै घरमा भएका फलामका सबै हतियार जम्मा गरिन्थ्यो । हँसिया, बन्चरो, खुँडा, खुर्पा, खुकुरी, कर्द, दाउँ, कट्टी र तलबार हुन्थे फलामका मुख्य हतियार । बोरमा यी हतियार बोकेर झबरु कामीको आरन लाने गरिन्थ्यो । हजुरबा जानु हुन्थ्यो यो काममा । म लुसुलुसु पछि लाग्थेँ । आरनमा हतियार उद्याएको हेर्न खुबै रमाइलो लाग्थ्यो ।

चिउरा कुट्नु अर्को ठूलो रमाइलो थियो, दशैंको । थारु महिला अधियाँमा चिउरा कुट्थे । धान दिन पर्थ्यो । ढिंकीमा कुटेको चिउरा आधाआधा । टुटुरी थारुकी श्रीमती नामुद थिइन चिउरा कुट्न । तर, सबैले उनी कहाँ पालो पाउँदैनथे । पहाडे गाउँमा एउटा मात्र ढिक्की थियो– दशरथ दाहाल बढाबाको घरमा । दशैं आउनु १ महिना अघिदेखि वल्लो गाउँ पल्लो गाउँ सबैतिर ढिक्की भक्र्‍याङ च्याङ भक्र्‍याङ च्याङ गरिरहेका हुन्थे ।

देवीथानको पोखरी ढिलमा लिङगेपिङ लगाउनु दशैंको अर्को ठूलो इभेन्ट हुन्थ्यो । गाउँलेले पत्याएका युवाहरु लिङ्गे पिङ बनाउन सनपाट, ओद्रा र पैसा उठाउँदै हिड्थे घरघरै । बाँस किन्न पैसा चाहिथ्यो । सनपाटले लठारो बाटिन्थ्यो । सुकाएको जुटलाई ओद्रा भनिन्थ्यो । ओद्राका ससाना डोरीहरु बाँसको फुर्को जोड्न र काम्रो बनाउन प्रयोग हुन्थ्यो । पिङ जसै बनिसक्थ्यो– काम्रोमा अगरबत्ती गाडेर ७ पटक खाली हल्लाइन्थ्यो । अनि मात्र कन्या केटीबाट उद्घाटन गरिन्थ्यो ।

पिङ बनाउँने अर्को तरिका जंगलबाट भोर्ला र देब्रेको लहरो काटेर रुखका हाँगामा बाँध्नु पर्थ्यो । यसरी दशैंमा बनाएका पिङहरु तिहारसम्म रहन्थे ।

मलाई भने लिङगे पिङ मच्चाउदा खुबै रिंगटा लाग्थ्यो । गाउँलेहरु पिङमा झुत्ती खेल्दा परैबाट रमिता हेर्थेँ । जवान केटाकेटी मिलेर दोहोरी मच्चाए गाउँभरि हल्ला हुन्थ्यो । फलाना र फलानीले दोहोरी मच्चाए, झन्डै फुर्को छोए । मन थाम्न नसकेर कहिलेकही म पनि मच्चाउँथे । तर उत्रिने बित्तिकै भनभनी रिंगटा लाग्थ्यो । कहिलेकाँहिँ ह्वालह्वाली बान्ता हुन्थ्यो ।

थारु गाउँमा दशैंको मेला हुन्थ्यो । विशेषतः भाकलेको घरमा । थारु समाजमा जसको घरमा ‘काली जगाउँने’ भाकल हुन्थ्यो, उसैको घरआँगनमा भैसीमा चडेको महिषासुर र बाघमा चडेकी कालीको बढेमाको मूर्ती बनाइन्थ्यो । हाम्रो गाउँमा अक्सर लच्छुवाको आँगनमा हुन्थ्यो । लच्छु नारायण चौधरी गाउँका उपप्रधान थिए ।

काली जगाउने जात्रा खुबै डरलाग्दो हुन्थ्यो । कछाड मात्र लगाएको नाङ्गो शरीरमा चुना र गेरु माटो दलेर राघेपाटे बनेको भाकले युवा हातमा नाङ्गो तलबार बोकेर जात्राको अगाडि लाग्थे । उनको अगाडि जो पर्छ, त्यसलाई काट्न मिल्छ, मान्छे मारे पनि ज्यान मुद्दा लाग्दैन भन्थे ठूला मान्छे । हो न हो– हामी केटाकेटी डरले छुलछुल हुन्थ्यौं । नाङ्गो तलबार बोकेको भाकलेको पछिपछि गाउँलेको भीड र चमार बाजाको चर्को आवाज हुन्थ्यो । त्यसपछि बयलगाडाको ताँती ।

भाकलेले मान्छे नकाटे पनि बाटो छेउको तुलफुल काट्दै हिंड्थ्यो । हाम्रो घरको बाटो छेउमा मेवाका बोटहरु थिए लाइनै । भाकलेले एक छप्कामै मेवाको बोट काट्थे र मेवा बलयगाडमा लोड हुन्थ्यो । यसरी नै जसको घर अगाडि जे छ, त्यही काट्ने र बलयगाडमा संकलन हुन्थ्यो । ती तुलफुल देवीको मूर्ती अगाडि चडाएपछि प्रसादका रुपमा बाँडिन्थे ।

मानपुर झोडा गाउँभरि जम्मा एउटा इनार थियो । नौरथाभरि नुहाउन पानी पुग्थेन सबैलाई । जुन दिन जे काटिन्थ्यो, त्यो दिन ननुहाए त्यसैको जुनी हुने विश्वास गर्थे गाउँलेहरु । सप्तमी ननुहाए सुँगुरको जुनी, अष्टमी ननुहाए बोकाको जुनी, नवमी ननुहाए खसीको जुनी । हजुरबाले बिहान ४ बजे नै उठाएर गाउँको साझा इनारमा नुहाउन लाँदा जाडोले धुरथुर काँप्नु पर्थ्यो । पछि घरैपिच्छे टुबेल गाड्ने चलन बन्यो ।

केराका घरी जोगाड गर्नु सजिलो काम थिएन । ठ्याक्कै दशैंमा पाक्ने गरी केरा पसाउने ग्यारेन्टी हुन्थेन । छिटो पाके कुहिन्थ्यो, रहन्थेन । ढिलो पाके झनै काम भएन । केरा पकाउन राजवृक्षको सेउला प्रयोग हुन्थ्यो । ५/७ दिन अगाडि केराको काइयोका चेपमा राजवृक्षको पात घुसारेर थुन्सेमा छोपेपछि ठीक समयमा केरा पाक्ने सम्भावना हुन्थ्यो । पर्रा, धुस्रे, कुरकुच्चे, चिनीचम्पा, मालभोग, अठिया आदि जातका केरा हुन्थे । अठिया राम्रो मानिँदैनथ्यो, मालभोग सबैभन्दा राम्रो ।

अष्टमीको दिन घटस्थापनामा जमरा थान नजिक शान लाएका फलामे हतियारहरु जम्मा गरिन्थे । साँझ बिहान दुईपटक पूजा गर्नु पर्थ्यो । हजुरबा चण्डी र रुद्रीमा श्लोकहरु भट्याउन प्रेरित गर्नु हुन्थ्यो– त्यो मैले कहिल्यै जानिन । हाम्रो घरमा पञ्चबलीको नियम थियो– घिरौला, कुभिण्डो, परेवा, बोका र खसी । घिरौला र कुभिण्डोलाई खसीबोका जस्तै बनाउन सिन्काको खुट्टा र पुुच्छर लगाउन पर्थ्यो । बोका अष्टमीको दिन काटिन्थ्यो र खसी नवमीमा । बोका भीमसेनको नाममा चडाएको हुन्थ्यो । यी सबै चलन हजुरबासंगै गए । हजुरबाको निधन पश्चात खासै गरेनौं ।

दशैं छेक नै थारु गाउँमा ड्रामाहरुको रिहर्सल शुरु भइसकेको हुन्थ्यो । खासमा ती नाचहरु ठूली एकादशीको मेलामा आम प्रदर्शन हुन्थे । तर ड्रामाको रिहर्सल बन्द कोठमा हुने हैन । टोलको बीचमा कसैको फराकिलो आँगनमा हरेक साँझ नाँच दोहर्‍याइन्थे । विशेषतः लालपुर टोलमा हुन्थ्यो यस्तो नाँच । हाम्रो स्कुले साथी चतुरलाल चौधरी मुख्य कलाकार हुन्थ्यो नाँचको । कुनै कुनै साँझ घरमा थाहै नदिए भागेर नाँच हेर्न जान्थ्यौं ।

हजुरबा बितेपछि हजुरआमा घर मूली बन्नु भो । दशैंको टिका लगाउँदा दिइने आर्शिवाद– ‘आयु द्रोर्ण सुते’ भन्न मेरो हजुरआमालाई आउँदैनथ्यो । बढो गज्जबको छोटो आर्शिवाद दिनु हुन्थ्यो– ‘हाके ताकेको पुगोस् ।’ हजुरआमाले दिने आर्शिवाद यत्ति नै हो ।

करिब १८ बर्ष यता मानपुर गाउँको दशैंसंग पुरा संलग्न छैन । आक्कल झुक्कल पुग्ने मात्र हो । ठीक यस्तै दशैं त अब त्यहाँ पनि नहोला ।

तर जब दशैं आउँछ– मानपुर र बाल्यकालकै संझना आउँछ । दशैंको रमाइलो त केटाकेटी मै गज्जब हुँदो रहेछ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage