scheduleशुक्रवार मंसिर ६ गते, २०७६

दशैंको टीकामा पनि विभेद ! को ‘भिआइपी’, को ‘सर्वसाधारण’ ?

साझापोष्ट टिप्पणी/काठमाडौं, २३ असोज । सधैझैं यस वर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका लगाइदिए । सञ्चार माध्यममा कस कहाँ कति मानिस टीका थाप्न गए, कसकोमा कहाँ र कति लामो लाइन लाग्यो वा ठूलो घुँइचो भयो जस्ता समाचार बने । जसकोमा ठूलो घुइँचो र लामो लाइन उनी लोकप्रिय र शक्तिशालीजस्तो बेतुकको भान दिने प्रयत्न भए ।

यही सन्दर्भमा एक ट्वीटर प्रयोगकर्ताको प्रतिक्रिया छ, ‘शक्तिको शितल निवासमा भन्दा आस्थाको निर्मल निवासमा टीका थाप्नेको घुइँचो धेरै देखियो ।’ अर्थात् राष्ट्रपति र पूर्वराजा कहाँ टीका थाप्न जाने भीडलाई राजनीतिक रंग दिने प्रयास गरियो । सम्भवत् टीका कार्यक्रम आयोजना गर्नेहरुको उद्देश्य पनि त्यही थियो, ‘शक्ति, शान र बढप्पनको प्रदर्शन गर्नु । अन्यथा दशैंको टीकालाई यसरी राजनीतिकरण गर्न जरुरी थिएन ।

व्यक्तिगत तबरमा मानिस आफूले इच्छाएको वा मनले खाएको ठाउँमा टीका लगाउन जान स्वतन्त्र हुन्छन । त्यसको हल्लीखल्ली जरुरी पर्दैन । तर, यी घटना सायद त्यति मात्र हैनन् । उनीहरुले सर्वसाधारणका लागि टीकाको समय भनेर सूचना वा उर्दी नै जारी गरेका थिए । यसले पुष्टि गर्छ कि लोकतान्त्रिक गणतन्त्रात्मक राज्यले दशैंको टीकामा पनि ‘भिआइपी’ र ‘सर्वसाधारण’ को वर्गीकरण गर्न छोडेको छैन । जहाँ पलपलमा ‘लर्ड’ र ‘कमन’ को वर्ग विभाजन हुन्छ, राज्यले त्यसलाई मान्यता दिन्छ, त्यसलाई सांस्कृतिककरण गरिन्छ, भन्न सकिन्छ– राज्य अझै लोकतान्त्रिक भइसकेको छैन– सामन्तवाद जीवितै छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले सामन्ती प्रचलनलाई जिवित राख्ने प्रयास गर्नु स्वभाविक नै हो । उनी सामन्ती राजतन्त्रकै प्रतीक हुन् । जुन संस्था र विचारको प्रतिनिधि पात्र भएर उनी जन्मे, हुर्के, राजपाठ पाए, गुमाए त्यो संस्था र त्यसका प्रचलनप्रति झुकाव हुनु मानवीय दृष्टिकोणले स्वभाविकै हो । तर, लोकतान्त्रिक, गणतन्त्रात्मक र धर्मनिरपेक्ष राज्यका राष्ट्रपति र प्रधानमन्त्रीले सामन्ती प्रचलनलाई निरन्तरता दिइरहन आवश्यक थिएन । अस्तिका दिनसम्म आफै ‘सर्वसाधाराण’ रहेका र भोलि फेरि ‘सर्वसाधारण’ हुनुपर्नेहरुले ‘सर्वसाधारण’लाई लाइन लाग्न उर्दी गर्ने अधिकार र नैतिक ताकत कहाँबाट पाए होलान ?


राज्यको चाडपर्व तथा संस्कृति नीति सम्भवत् संस्कृति मन्त्रालयले नेतृत्व गर्छ । ओली सरकारका पर्यटन तथा संस्कृतिमन्त्री योगेशकुमार भट्टराईले दशैं टीकाको दिन तीनवटा फोटो फेसबुकमा राखे । आफ्नी आमा, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग दशैं टीका थापेको फरक-फरक फोटो । यी फोेटाले दिने सन्देश सायद यही हो, ‘राज्यका राष्ट्रपति र प्रधानमन्त्रीबाट टीका ग्रहण गर्नु पनि आमासंग टीका ग्रहण गर्नु जत्तिकै आवश्यक र महत्वपूर्ण हो ।’ तर दशैंको सांस्कृतिक प्रचलन र मान्यता यस्तो हुँदै हैन । दशैंको टीकाको दिन ‘आमा’ राष्ट्रपति वा प्रधानमन्त्रीभन्दा धेरै ‘उच्च अहोदा’ मा हुन्छिन् ।

एक राजनीतिक कार्यकर्ताका रुपमा व्यक्ति भट्टराईका लागि भण्डारी वा ओलीको अभिभावकत्व सायदै विवादित होला । प्रश्न के उठ्न सक्छ भने लोकतान्त्रिक र धर्मनिरपेक्ष राज्य वा राजकीय व्यक्तित्वहरुको धार्मिक तथा सांस्कृतिक चाडपर्वमा संलग्नता कुन हदसम्म उचित वा अनुचित हुन्छ ? दशैंमा राज्यको जुनस्तरको संलग्नता हुन्छ अरु धर्मालम्बीहरुको चाडपर्वमा त्यो सम्भव छ कि छैन ?

दशैंमा राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणालाई टीकाको आव्हान गर्ने प्रचलनप्रति विरोधका स्वरहरु बढ्दै गइरहेका छन् । गत वर्षको दशैंमा राष्ट्रपति भण्डारी सामु असहज तरिकाले घुँडा टेकेर टीका थापेका प्रधानन्यायधीश गोपाल पराजुलीको फोटो भाइरल भएको थियो । अधिकांशले त्यसलाई दशैंको मर्यादा वा गौरव भन्दा बढी बद्चलनमा रुपमा लिए । त्यसले राष्ट्रपतिको मर्यादा बढाउने भन्दा घटाउने काम गर्‍यो ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटरमा यो प्रचलन विरुद्ध खुलेर लेखे । उनले लेखेका छन्, ‘सांस्कृतिक पर्वलाई राजनीतिक वर्चस्वको माध्यम नबनाऊँ, बन्न नदिउँ । मैले बुझेसम्म शास्त्रीय विधि/परम्परा अनुसार नाता/उमेरका आधारमा टीकाटालो गर्ने हो, अहोदा/जातका आधारमा हैन । हिजो राजामहाराजाले घुसाएको विकृति लोकतन्त्र/गणतन्त्रमा कायम राख्न मिल्दैन । राप/प्रमले यो कुप्रथा छोडून्/छोडाऊँ ।’

नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा बरिष्ठ पत्रकार तारानाथ दाहालले लेखेका छन्, ‘नशा-नशामा सामन्तवाद व्यप्त छ । शासकहरु जनताको पसिनाबाट जम्मा भएको कर खाएर जनसेवा गर्ने नोकर हुनुपर्ने हो तर, यी त बिर्तावाल र जिम्मुवालजस्तो पो भए ।’

बौद्धिक व्यक्तित्व तथा नागरिक अभियानकर्मी वियजकान्त कर्ण दशैंप्रतिको नेकपा सरकारको धारणा स्वयं उनीहरुको पूर्वमान्यताका विपरित ठान्दछन् । लेख्छन्, ‘लामो समयसम्म धर्मको विरोध र धर्मनिरपेक्षताको वकालत गर्ने नेपालका तथाकथित कम्युनिष्ट शासकहरु धर्मको राजनीतिक प्रयोग गरेर जनतालाई उल्लु बनाउने औजार निर्माण गरेका छन् ।’

यी केही प्रतिनिधिमुलक आवाज मात्र हुन् ।

त्यसै पनि नेपाली समाजमा दशैं शुद्ध सांस्कृतिक पर्व मात्र थिएन । यो सामन्ती शक्ति र वैभवको प्रदर्शन गर्ने औजार पनि थियो । २०३० को दशकसम्म स्थानीय जमिनन्दार, सामन्त, जिम्बुवाल, मुखिया, सुब्बा कहाँ साप्रो, पेरुगो र घरी लिएर रैती वा प्रजाले टीका थाप्न जानु पर्थ्यो । उनीहरुले को आयो, को आएन लेखो राख्थे । सर्वसाधारणको भावी जीवनमा स्थानीय शक्ति केन्द्रको आर्शिवाद वा दुस्प्रभाव दशैं थाप्न गए नगएको घटनाले निर्धारण गर्दथ्यो । राष्ट्रपति वा प्रधानमन्त्रीको सर्वसाधारणलाई टीका अलिक बृहत्त आकारमा त्यही जिम्मुबाल र रैतीसम्बन्धको निरन्तरता बाहेक अर्थोक पनि केही हो र ?

दशैको धार्मिक, सांस्कृतिक वा सामाजिक महत्वलाई नजरअन्दाज गर्नु यो टिप्पणीको उद्देश्य हैन । नेपाली समाजमा दशैं यति गहिरो गरी जोडिएको छ कि कसैले चाहेर पनि सम्बन्धका जराहरु हल्लिन सक्दैनन् । बहस कहाँ हो भने सांस्कृतिक चाडपर्वलाई शुद्ध सांस्कृतिक, सामाजिक र आत्मिक सम्बन्धमा सीमित गर्ने हो कि सत्ता र शक्तिसंग पनि जोड्ने हो ? दशैंलाई अनावश्यक राजनीतिकरण वा राजकीयकरण गर्नु भन्दा, धार्मिक मनोभावनाको शोषण गरेर राजनीतिक वर्चस्व निर्माण गर्ने हतियार बनाउनुभन्दा सायद जनस्तरको स्वःस्फूर्त चाडकै रुपमा विकसित हुन दिने बढी श्रेयकर हुन्छ ।

लोकतन्त्रमा शासकीय भूमिका जिम्मेवारी हो, शानसौकात र बढप्पनको फोस्रो प्रदर्शन गर्ने अवसर हैन । लोकतन्त्रले समभावमा आधारित संस्कृतिको माग गर्दछ । सबै मानिस समान र बराबर हुन्छन, व्यक्तिको सार्वभौमसत्ता बराबर हो भन्ने सोचमा लोकतन्त्रका मूल्य मान्यता र प्रचलनहरु बनेका हुन्छन । यदि त्यसो हो भने राष्ट्रपति वा प्रधानमन्त्रीजस्ता पद राजकीय जिम्मेवारी हुन् । ती शानशौकात, शक्ति र भद्दा बढप्पन प्रदर्शन गर्ने अवसर हैनन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage