scheduleसोमवार मंसिर २ गते, २०७६

विदै विदाले महरालाई झन् तनाव

काठमाडौं, २७ असोज । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा गत असोज १९ गते पक्राउ परेका कृष्णबहादुर महराको मुद्दा बीचमा परेका विदाहरुले अदालतमा प्रवेश हुन सकेको छैन । असोज १२ गते घटस्थापनाको दिनदेखि असोज २६ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत दशैंका कारण विदा थियो । आज असोज २७ गते पनि पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएकोमा शोक प्रकट गर्न देशभरका सबै अदालतमा विदा दिइएको छ । उपाध्यायको निधन असोज १० गते नै भएको भए पनि दशैं विदाका कारण विदा सकिने वित्तिकैको पहिलो दिन शोकमा अदालतमा विदा दिइएको हो ।

यसबीचमा महराको स्वास्थ्यमा समस्या आइ अस्पताल समेत भर्ना हुनुपर्‍यो । एकातिर दशैंको मुखमा पक्राउ पर्नु तनावकै कुरा थियो, त्यसमाथि विदाका कारण निरन्तर अदालत बन्द हुनु अर्को तनावको विषय बनेको छ । कानुनी प्रक्रिया सबै रोकिएका छन् । चीनसँग राम्रो सम्बन्ध भएको नेताका रुपमा महरालाई लिइन्थ्यो तर चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा महरा हिरासतमा थिए । यो पनि उनका लागि अर्को तनावकै कुरा हो ।

अर्कोतिर आरोप लगाउने रोशनी शाहीले पनि बीचबीचमा बयान फेरिरहेकी छिन् । पहिले महरालाई बलात्कारको आरोप लगाएकी शाहीले २४ घण्टामै महरा पूर्णतः निर्दोष रहेको बयान दिएकी थिइन् भने पछि प्रहरीमा महराले बलात्कार प्रयास गरेको जाहेरी दिइन् । पछि फेरि महरा पक्राउ परेपछि प्रहरीले इमोशनल ब्ल्याकमेल गरेर जाहेरी दिन लगाएको बयान दिएकी थिइन् ।

अब अदालत २८ गते मंगलबार मात्रै खुल्नेछ । त्यसपछि मात्रै महरामाथि लागेको आरोपका सम्बन्धमा कानूनी प्रक्रिया सुरु हुन्छ । पहिले त प्रहरीले महरालाई अदालतमा पेश गर्नुपर्छ । तर स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचाररत महरालाई चिकित्सकले अस्पतालबाहिर लैजान नमिल्ने बताएपछि प्रहरीले अस्पतालमै बयानको तयारी गरेको बुझिएको छ । अदालत खुलेपछि प्रहरीले अदालतसँग थप समयको अनुमति लिएर प्रक्रिया अघि बढाउनेछ ।

सभामुख पदबाट पहिले नै राजीनामा दिएका महराको सांसद पद पनि अहिले निलम्बनमा छ । महरा पक्राउ परेपछि प्रहरीले संसदलाई महरा पक्राउको जानकारी दिइसकेको छ । असोज २३ मा महरा पक्राउको सूचना संसदको सूचनापत्रमा प्रकाशित भइसकेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ उपनियम ‍(२) बमोजिम सूचना प्रकाशित भएपछि नियम २४४ को उपनियम (३) बमोजिम उनको सांसद पद निलम्बनमा परेको छ ।

नयाँ सभामुख चयनको विषय चाहिँ के भइरहेको छ ?

महराले सभामुखबाट राजीनामा दिनेबित्तिकैदेखि नयाँ सभामुख को हुन्छ भन्ने विषय पनि चासोकै विषय छ । नेपालको संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको चयनसम्बन्धी प्रावधानले सत्तारुढ नेकपा पनि अहिले तनावमै छ । धारा ९१ (२) मा सभामुख र उपसभामुखको निर्वाचनको सम्बन्धमा ‘प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ’ भन्ने उल्लेख छ । पहिले माओवादी र एमालेबाट महरा र शिवमाया तुम्बाहाङ्फे सभामुख र उपसभामुखमा निर्वाचित भएका थिए तर अहिले दुबै पार्टीको एकीकरण भएर नेकपा बनेपछि तुम्बाहाङ्फे उपसभामुख रहेकै अवस्थामा नेकपाले नै सभामुख बनाउन पाउँदैन । यस्तो स्थितिमा नेकपाले आफ्नै सभामुख बनाउने भए उपसभामुखलाई पनि राजीनामा गराएर सभामुख आफ्नो पार्टीको बनाएर उपसभामुख अर्को पार्टीलाई दिनुपर्छ ।

सभामुख चयनको विषयमा के कुरा भइरहेको छ भन्ने प्रश्नमा आइतबार काँग्रेसको चियापान समारोहमा पुगेका नेकपा बरिष्ठ नेता माधवकुमार नेपालले भनेका छन् – ‘हाम्रो पार्टीको बैठक बसेको छैन । बैठक बसेर यो विषयमा सबै टुंगो लगाउनेछौं ।’

यही विषयमा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई पनि पत्रकारहरुले जिज्ञासा राखेका थिए । उनको भनाइ थियो – ‘सभामुख र उपसभामुख अलग अलग पार्टीको हुनुपर्छ ।’

महराका विषयमा बाबुरामको भनाइ थियो – ‘जुनसुकै ओहदामा रहे पनि विधिको शासन पालना गर्नुपर्छ । सत्य र न्याय स्थापित हुनुपर्छ । त्यसको निरुपण होस् ।’

सभामुख चयनको विकल्पहरु

१. नेकपा भन्दा इतर पार्टीबाट सभामुख चयन गर्ने र उपसभामुखमा शिवमाया तुम्बाहाङ्फेलाई नै निरन्तरता दिने ।

२. नेकपाले सभामुख अरुलाई छोड्न नचाहेमा उपसभामुखबाट शिवमायालाई राजीनामा गराएर सभामुखमा नेकपाले उम्मेद्वारी दिने र उपसभामुख अरु पार्टीलाई छोड्ने ।

प्रतिनिधिसभाको सभामुख शक्तिशाली नै पद भएको हुँदा सत्तारुढ नेकपाले अर्को पार्टीलाई सभामुख छोड्ने सम्भावना कम छ । त्यसैले उपसभामुखलाई समेत राजीनामा गराएर सभामुख नेकपाले लिने सम्भावना ज्यादा छ । यसो गर्दा उपसभामुख चाहिँ कुन पार्टीको होला त ?

सत्तारुढ दलबाटै उपसभामुखको दावी हुन सक्छ । सत्तामा अहिले नेकपा र समाजवादी पार्टी छ । समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री छन् । यसो हुँदा उपसभामुखमा समाजवादी पार्टीको स्वतः दावी हुन सक्छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage