scheduleसोमवार मंसिर २ गते, २०७६

साँचो देशभक्तिले अरुलाई दोष मात्र दिँदैन

चेतन भगत

हामी भारतीयसँग एक अनौठो चीज यो छ कि हामी पाकिस्तानलाई अपमानित गरेको मन पराउँछौं । पाकिस्तानलाई हेपेर, अपमान र हँसीमजाक गरेर बोल्न खुशी हुन्छौं । हाम्रा न्यूज च्यानलले तिनै चिजलाई देखाउँछन् जे जनता हेर्न चाहन्छन् । सकेसम्म त्यही कुरा खोज्न दौडिन्छन् जसले पाकिस्तान र इमरान खानलाई लज्जित/तिरस्कृत/अनावृत गर्न सक्छ ।

यो मामिलामा हिन्दी न्यूज च्यानल खुबै सृजनशील र उत्साहित हुन्छन् । तिनीहरु इमरान खानको उदास फोटो देखाउँछन् र भन्छन्, ‘पाकिस्तनको नाक काटिएको छ । पाकिस्तानले घुँडा टेकेको छ । पाकिस्तान शरमले पानी/पानी भएको छ आदि ।’

संयुक्त राष्ट्रसंघको शिखर सम्मेलनमा होस् वा प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणको बेला हामीले छिमेकी देशको खुबै हँसीमजाक उडायौं ।

यो समस्या हामीमा झनझन गहिरो र क्रोनिक हुँदैछ । जब भारतीय राष्ट्रवादको कुरा उठ्छ त्यहाँ पाकिस्तानको पतन एक अनिवार्य शर्त हुन्छ । हामी पाकिस्तानभन्दा राम्रा छौं भन्ने मनस्थितिमा मख्ख छौं । प्रकारान्तले यो सोच हाम्रै लागि हानीकारक बन्दैछ । शासनले निम्त्याएको राज्यहिंसा र आतंकबाट भारत कमजोर हुँदैछ ।

हो, हामीले संसारलाई बारम्बार यो बताउने प्रयास गरिरहनुपर्छ कि पाकिस्तानी शासनले कसरी गलत गरिरहेका छ । तर हामीले दैनन्दिन जीवनमा आफूलाई पाकिस्तानसँग तुलना गर्ने र आफूलाई पाकिस्तानभन्दा राम्रो देखाउने काम गर्न छोड्नै पर्छ ।

के हामी श्रीलंका वा बंगलादेशसँग यसरी आफूलाई तुलना गर्छौं ? यो हामी कहिल्यै भन्न सकौला कि संयुक्त राष्ट्र संघमा श्रीलंकाली प्रतिनिधिको कार्यालय बन्द हुनुपर्छ ? के हामी बंगलादेशी नेताहरुलाई त्यसरी नै अपमानित गरौंला ? हो, हामी त्यसो गर्दैनौं । हामीलाई थाहा छ कि ती हामी भन्दा मुनि छन् । उनीहरुबाट हामी आफूलाई पूर्णतः सुरक्षित महसुस गर्दछौं ।

जब पाकिस्तानको कुरा आउँछ, हामी उसलाई आरोपित गर्न थाली हाल्छौं । उसलाई तल देखाउन मज्जा मान्छौं । तर उससँग तुलना गर्न भने कहिल्यै छोड्दैनौं । जब हामी कसैसँग आफूलाई तुलना गर्छौं, यसको अर्थ हुन्छ कि हामी आफूलाई पनि उसकै हाराहारीमा राख्दैछौं । यदि हामी आफूलाई पाकिस्तानसँग तुलनायोग्य ठान्छौं भने के त्यो हामीले आफूले आफैलाई अपमान गरेजस्तै भएन र ?

कृपया यी तथ्यहरु हेरौं । भारतीय अर्थतन्त्रको आकार पाकिस्तानी अर्थतन्त्रको भन्दा १० गुणा ठूलो छ । पाकिस्तानको जिडिपी हाम्रो एउटा प्रदेश महाराष्ट्रको भन्दा पनि सानो छ । कमजोरी छन् नै तर भारत निरन्तर एक लोकतान्त्रिक मुलक हो । पाकिस्तान अझै साँचो देश बन्न सकेको छैन । लोकतन्त्र त्यहाँ बारम्बार धरापमा पर्छ । हामी संवैधानिक तबरले धर्मनिरपेक्ष छौं । पाकिस्तान औपचारिकरुपमा नै एक धार्मिक राज्य हो ।

तथ्यगतरुपले हेर्दा– आर्थिक, जनसांख्यिक, राजनीतिक संरचना वा सामाजिक समानता कुनै पनि पाकिस्तान भारतसँग तुलनायोग्य छैन । फेरि किन दिन हामी टिभीमा उसको नाक ताछिरहेका हुन्छौं ? यो हाम्रो असुरक्षाभाव र आफूले आफैंलाई कम आँकेको भएन र ?

यो हानीकारक मनोग्रन्थीबाट हामीले छुटकारा पाउनै पर्छ । ती जो अनावश्यकरुपमा हामीलाई छिमेकीसँग तुलना गर्दछन्, ती कुनै न कुनै रुपमा समस्याका कारक हुन् । सायद ती यसकारण हामीलाई छिमेकसँग तुलना गर्छन् कि शासनले अन्यत्र मोड्न चाहेका सोचको प्रवर्द्धन गर्न सजिलो होस् । लामखुट्टे हातीसँग रिसायो र आफूलाई हात्तीसँग तुलना गर्‍यो भन्दैमा लामखुट्टे हात्ती हुने हैन । तर हात्ती लामखुट्टेसँग रिसाउँछ र आफूलाई लामखुट्टेसँग तुलना गर्न थाल्छ भने निश्चय नै उसलाई आफूलाई लामखुट्टेको तहमा झार्छ ।

यदि हामीले तुलना नै गर्ने हो भने अब आफूलाई चीन, भारत र अमेरिकासँग तुलना गर्नुपर्छ । माथि जाने हो भने माथि नै हेर्नुपर्छ, तल हेरेर माथि जाने बाटो देखिन्न । पाकिस्तानसँग तुलना गरेर भारतको उन्नति हुनेवाला छैन । पाकिस्तान विभाजन समयको रक्तरञ्जित इतिहासले सायद हामीमा पाकिस्तानप्रतिको यस्तो मनस्थिति कायम राख्छ । पाकिस्तानको जन्म निश्चय नै हतारो र बिमार विचारबाट भएको थियो ।

पाकिस्तान बनाउने निर्णय भारतीय इतिहासकै सबैभन्दा ठूलो साम्प्रदायिक निर्णय थियो । त्यो समयको पीडा बिर्सिन हामीलाई गाह्रो पर्छ । तर यो त हाम्रो बुढो पुस्ताले नजिकबाट देखे भोगेको घटनाबाट बनेको मनस्थिति थियो । नयाँ पुस्ताले सधैं त्यो पुरानो भार बोकेर हिंड्न जरुरी छैन ।

पाकिस्तानप्रति त्यस्तो मनस्थिति बन्नुको चौथो कारण भने चर्चा गर्न पनि अप्ठ्यारो कुरा हो । त्यो हो– पाकिस्तानलाई घृणा गर्नु मुस्लिम समुदायलाई घृणा गर्नुसँग प्रतिस्थापन्न छ । भारतको आत्मसम्मानका लागि हैन मुस्लिम समुदायलाई दोषी भागी देखाउन यो सजिलो उपाय हैन । हरेक कुरामा मुस्लिम समुदायलाई दोषी देखाउनु भारतमा राष्ट्रवाद र देशभक्तिको सर्वस्वीकार्य प्रमाण बन्न पुगेको छ ।

तर, साँचो देशभक्तले अर्काको दोष मात्र देखाउँदैन । देशभक्तिको अर्थ आफ्नो मुलुकको उच्च लक्ष्यको लागि काम गर्नु हो । यो समय हाम्रा लागि पकिस्तानलाई श्रापी बस्ने समय हैन । यस्ले भारतकै स्तर घटाउँछ र पछाडि धकेल्छ । भारतले अब आफूलाई आफैमा केन्द्रित गर्न जरुरी छ ।

(भारतका लोकप्रिय उपन्यासकार तथा स्तम्भकार भगतको टाइम्स अफ इन्डियामा प्रकाशित नियमित स्तम्भबाट साझापोष्टले गरेको भावानुवाद राष्ट्रवाद र देशभक्तिलाई हेर्ने दृष्टिकोणबारे नेपाली सन्दर्भमा पनि उपयोगी हुने महसुस गरेर प्रकाशित गरेका छौं)

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage