scheduleसोमवार मंसिर २ गते, २०७६

अर्थशास्त्र पढेर देश बनाउने कि देश बनाएर नयाँ अर्थशास्त्र लेख्ने ?

डम्बर खतिवडा

विश्वको सर्वाधिक ठूलो राशी, ख्याति र प्रतिष्ठा भएको पुरस्कार, नोबेल पुरस्कार घोषणाको समय छ अहिले । हरेक वर्ष जब यो समय आउँछ, विश्वको ध्यान त्यतातिर खिचिन्छ । कुन विधामा कस्ले नोबल पुरस्कार पाए ? उनीहरुले के रिसर्च वा योगदान गरे ? विश्वको ज्ञान उत्पादन प्रक्रिया कहाँनेर पुग्यो ? यस्ता प्रश्नमा तर्कवितर्क हुन्छन् । लोकसेवा परीक्षाको तयारी गरिरहेकाहरुले नोबल पुरस्कार पाउनेको सूचिमा नयाँ नाम रट्नुपर्ने हुन्छ ।

स्कुले जीवनदेखि नै मलाई नोबल पुरस्कार पाउनेको नाम र योगदानले आकर्षित गर्थ्यो । विशेषतः साहित्य र अर्थशास्त्र विधाको । त्यतिखेर साहित्यको बढी र अर्थशास्त्रको अलि कम चासो हुन्थ्यो । अहिले ठीक उल्टो हुन थालेको छ । साहित्यले अलिक कम र अर्थशास्त्रले बढी आकर्षित गर्न थालेको छ । यस वर्ष साहित्य विधामा चर्चामा आएका ओल्गा टोकरजुक र पिटर ह्यान्ड्केबारे थोरबहुत बुझ्न खोजेँ । उनीहरुका मौलिक कृति त हाम्रोमा सहज प्राप्त छैनन् ।

अर्थशास्त्रमा तीनजनाको नाम आयो । अभिजित बनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमेर । अभिजित र डुफ्लो पति-पत्नी पनि रहेछन् । यी दुई एमआइटीका अर्थशास्त्री अनि क्रेमेल हारवर्डका । अभिजित अमर्त्य सेनपछि अर्थशास्त्रमा नोबल पुरस्कार पाउने अर्को बंगाली मूलको बन्न पुगे । अभिजितलाई औपचारिकरुपमा भारतीय–अमेरिकी भनियो । डुफ्लो फ्रान्सेली मूलकी रहिछन् । फ्रान्सेली–अमेरिकी । डुफ्लो इलिनोर ओस्ट्रमपछि अर्थशास्त्रमा नोबल पाउने दोस्रो महिला अर्थशास्त्री बनेकी छन् । ओस्ट्रमले ठीक एकदशक अघि सन् २००९ को अर्थशास्त्रको नोबल पाएकी थिइन । बनर्जी– डुफ्लोले सँगै नोबल पाउने छैठौं दम्पतिको रेकर्ड समेत बनाएका छन् ।

कानुनतः भारतीय–अमेरिकी भने पनि अभिजित मूलतः भारतीय नै हुन् । भारतको कलकत्तामा जन्मिएका, जेएनयुमा एमए गरेका, पिएचडी छात्रवृतिका लागि अमेरिका पुगेका, उतै भासिएका, जागिरले एमआइटी प्रोफेसर बनेका, आफ्नै छात्रा फ्रान्सेली डुफ्लोसँग बिहे गरेर दुई सन्तानसेमत जन्माइसकेका अभिजितको अर्थशास्त्रीय प्रयोगको पृष्ठभूमि र मूलथलो दुवै भारत नै हो । क्रेमेरको कुरा मैले छोडेँ । अभिजित–डुफ्लो दम्पतिलाई ‘विश्व गरिबी निवारणको प्रयोगात्मक उपाय’ सुझाएबापत् यो पुरस्कार दिएको छ । उनीहरुले ‘रेन्डमाइज्ड कन्ट्रोल्ड ट्रायल’ (आरसिटी) विधि प्रयोग गरी अर्थशास्त्रमा ‘गरिबी अर्थशास्त्र’ को एक नयाँ विधालाई प्रयोगसिद्ध गरेको स्विडिस एकेमेडीको भनाइ छ ।
कुरा अलिकति मोड्न चाहन्छु । अर्थशास्त्रबारे आफ्नो अनुभूति राख्न चाहन्छु ।

कलेजमा म व्यवस्थापनको विद्यार्थी थिए । त्यो पनि ‘अकाउन्टेन्सी’ र ‘ट्याक्सेसन’ को । रुचि थियो– दर्शनशास्त्र र अर्थशास्त्रमा । आफ्नो रुचिबारे मैले धेरैपछि थाहा पाएँ । त्यतिन्जेल विद्यार्थी उमेर समाप्त भइसकेको थियो । नेपालमा दर्शनशास्त्रको पढाई हुन्छ भन्ने थाहा थिएन । अर्थशास्त्र चाहिँ दोहोर्‍याएर पढौं कि जस्तो लागेको थियो– राजनीतिको होलटाइमर हुने वाञ्छित/अवाञ्छित प्रेरणाले त्यो रहर त्यसै मरेर गयो ।

सर्वसाधारण नेपालीका इच्छा, रहर वा रुचिको खासै अर्थ हुने कुरै भएन । अध्ययन, वौद्धिकता वा व्यक्तित्व– सबै संयोगिक हुन् नेपालमा । त्यसमाथि ३ दशक अघिको नेपालमा । व्यवस्थापन अर्थशास्त्रभन्दा बिल्कुलै फरक वा धेरै दूरी भएको विषय भने हैन । अर्थशास्त्रका अधिकांश शब्दावली र आधारभूत गणित व्यवस्थापनका विद्यार्थीले जानेकै हुन्छन् ।

अर्थशास्त्रको स्वअध्ययन गर्दा प्रवेश गर्ने भनेको त्यही शास्त्रीय अर्थशास्त्रबाट नै हो । जोन मिल्स, जेरेमी बेन्थम, आडम स्मिथ, डेविट रेकार्डो, अल्फ्रेड मार्सल, थोमस माल्थस, जोन स्टुअर्ट मिल्स आदि ईत्यादि । अर्थशास्त्रका शास्त्रीय लेखकहरुबारे पढ्दा शुरुवातमा त लाग्छ कि खुबै जानियो । तर अनुभवजन्य आधारमा त्यसलाई व्यवहारसँग तुलना गर्दा खासै सन्तुष्ट हुने ठाउँ देखिन्न ।


फेरि साम्यवादी साहित्यको प्रभाव आउँछ । कम्युनिष्ट घोषणापत्रदेखि पुँजीसम्म, पुँजी संरचनाको बहसदेखि अतिरिक्त मूल्यसम्म, नाफा प्रेरणा हो कि शोषण हो ? भन्ने वादविवादसम्म पुगिन्छ । ‌ओहो, शास्त्रीय अर्थशास्त्र त सबै झुठ रहेछ, साँचो त मार्क्सवादी अर्थशास्त्र पो रहेछ भन्ने भान पर्छ ।

यस्ता भान जीवनका अनुभव अगाडि साना हुँदारहेछन् । जब सोभियत संघ र पूर्वी युरोपको अर्थतन्त्रबारे अलिअलि पढिन्छ सब बेकार लाग्न थाल्छ । रोजा लम्जेम्बर्गले मार्क्सको ‘पुँजी’ संग समानान्तर हुने गरी झण्डै उत्तिकै मोटो किताब ‘पुँजीको सञ्चयन’ लेखिन् । रोजाको जीवनलाई एक ‘महान क्रान्तिकारी वीराङ्गना’ को उपाधि दिने कम्युनिष्ट आन्दोलनले मार्क्सको ‘पुँजी’ पढाउँछ, रोजाको ‘पुँजीको सञ्चयन’ पढाउँदैन् । कम्युनिष्ट पार्टीमा रहुन्जेल मैले रोजाको नाम बारम्बार सुनेको जपेको थिएँ तर उनको यो किताबबारे जानकारी राख्न कम्युनिष्ट पार्टी छोड्ने क्षणसम्मै पर्खिन पर्‍यो ।

जब रोजा पढेँ, मार्क्सवादी अर्थशास्त्रको सत्यताबारे ठूलो आशंका उत्पन्न भयो । यो मेरा लागि रनाहा लाग्नेजस्तो स्थिति थियो । बढो बैचनी हुन्थ्यो मनमा कि सत्य के हो ? ठीक के हो ? धनको विज्ञान भनिएको यो शास्त्रमा सबै मान्छेले खान, लाउन, बस्न, बाँच्न, बचाउन, आत्मसम्मानपूर्ण जीन्दगी जिउन र खुशी हुन कहाँनेर के उपाय होला ?

किताबमा जिन्दगीको उपाय खोज्नु सायद मुर्खता थियो । जिन्दगीको समस्याको उपाय जिन्दगीमा नै खोज्नु पर्थ्यो होला । त्यसो गरिएन । खुब पढन्ते भएर काम न काज अर्थशास्त्रका किताब खोज्दै हिँडियो । कहिले मुरे रोडबार्थ त कहिले जोसेफ सुम्पिटर, कहिले विकास अर्थशास्त्र त कहिले ग्रामिण अर्थशास्त्र । कहिले ‘स्ट्रक्चरल थ्योरी’ त कहिले ‘बिग पुस थ्योरी’ । मैले अर्थशास्त्रका कुनै किताबमा अर्थशास्त्रीका कुनै सिद्धान्तमा नेपालजस्ता देश किन गरिब छन् कसरी धनी हुन सक्दछन् भन्ने रहस्य फेला पार्न सकिनँ । आजसम्म पारेको छैन ।

यावत् अर्थशास्त्री र अर्थशास्त्रीय सिद्धान्तप्रतिको वितृष्णापछि सफलताका कथातिर मन गयो । सिंगापुर कस्तो थियो, केके गर्दै जाँदा त्यो बन्यो ? माओको चीन कस्तो थियो, देङपछि त्यहाँ के सुधार आयो र त्यो द्रूत आर्थिक विकासको चरणमा छ ? नर्डिक मुलुक कस्ता थिए ? के गरेर ती बने ? जस-जसले जेजे गफ लगाए पनि नेपाल किन बन्दै बनेन ? तर, यी सफताका कथाहरु आ-आफ्नो ठाउँसंग जोडिएका छन् । लि क्वान युका किताब वा उनका आर्थिक सल्लाहकार र सहयोगीहरुको कथा पढ्दा विश्वास गर्न गाह्रो हुन्छ कि कुनै देशको आर्थिक विकासको कुनै बनिबनाउँ मार्ग हुन्छ ।

कहिलेकाही मलाई नेपालका अर्थशास्त्री, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, योजना आयोग, विश्वविद्यायका अर्थशास्त्र विभागका प्राध्यापक, पत्रपत्रिकाका आर्थिक विश्लेषक तथा टिप्पणीकारसँग खुबै झोक चल्छ । एकप्रकारको घृणा र ईष्याभाव आउँछ मनमा । यतिका वर्ष उनीहरु अर्थशास्त्र पढ्दैछन्, पढाउँदैछन् र अभ्यास गर्दैछन्, त्यसले देशलाई योगदान गर्दैछ कि बर्बाद ? यतिका वर्ष किन उनीहरुले नेपालको विकास मोडेलबारे कुनै गतिलो बहस गर्न, गतिलो उपाय सुझाउन र कार्यान्वयन गर्न सकेनन् ?

तर, यो थाहा छ कि मेरो झोक पानीको फोका जस्तै हो । विचराहरुले त्यो भन्न गर्न नसकेको नजानेरै त हो । जानेको भए त भनी हाल्थेँ । सकेको भए त गरी हाल्थेँ । आफ्नो देश नबनोस्, सधै तन्नमटाट रहोस् भन्ने कसलाई लाग्दो हो र ? जानिनँ, सकिनँ भनेर जागिर छोडनु भएन क्यारे ! जागिर त जसोतसो पेट पाल्न, परिवार धान्न सबैलाई चाहिएकै छ ।

शास्त्रीय अर्थशास्त्र, मार्क्सवादी अर्थशास्त्र, विकास अर्थशास्त्रजस्ता झुर किताब पढ्दापढ्दा हैरान लागेपछि कहिलेकाहिँ मनमा एक प्र्याग्म्याटिक सोच आउँछ, हामीले नेपालका लागि एउटा भिन्नै अर्थशास्त्रको खोजी किन नगर्ने ? झुर यसर्थमा कि– ती शास्त्र र सिद्धान्तले वौद्धिक तहमा जसरी मान्छेको दिमाग भुट्न सक्दछन्, त्यही स्तरमा व्यवहारिक समस्याको सामधान र मार्गदर्शन गर्ने क्षमता राख्दैनन् ।

पछि बुझ्दै जाँदा थाहा भयो कि यो पनि कुनै नयाँ जुक्ति हैन रहेछ । विश्वविद्यालयमा नै ‘नेपालको अर्थशास्त्र’ भन्ने विषय पढाइ हुँदोरहेछ । त्यहाँ ‘नेपाल कृषि प्रधान देश हो’, ‘नेपालको कृषि घाटाको व्यापार हो’, ‘हरियो वन नेपालको धन हो’, ‘हरिया नोटको लोभले नेपालको वन सखाप हुँदैछ,’, ‘नेपाल ब्राजिलपछि जलस्रोतको दोस्रो धनी देश हो’ आदि-इत्यादि पढाइँदो रहेछ ।

मैले कतै पढेको थिएँ– सन् १९३१ तिर जब महामन्दी आयो, बेलायतको सरकारले जोहन मिराल्ड किन्सको संयोजकत्वमा अर्थशास्त्रीहरुको एउटा आयोग नै बनाएर मन्दीका कारण र निरुपणका उपायहरु खोजेको थियो । तिनै किन्स जो संसारकै एक चर्चित र ठूला अर्थशास्त्री मानिए । नेपालमा हरेक अर्थमन्त्रीको भाषण सुन्दा यस्तो लाग्छ कि उनीहरु अर्थशास्त्रका संसारकै ठूला ज्ञाता हुन् । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा त झनै ठूला अर्थशास्त्री मानिन्छन् । तर व्यवहारिक परिणाम लगभग शून्य छ । उनले भरतमोहन अधिकारी र डा. बाबुराम भट्टाई जति पनि परिणाम दिन सकेनन् जो अर्थशास्त्री थिएनन् । अर्थशास्त्रको ‘टेक्नोक्र्याट्स’ पनि हाम्रो आवश्यकता हैन रहेछ । अर्थमन्त्री अर्थशास्त्रको ज्ञाता हुन पर्छ कि पर्दैन ? अबका दिनमा यो प्रश्न खासै सान्दर्भिक रहने छैन । आजसम्मका नेपालका अधिकांश अर्थमन्त्रीहरु अर्थशास्त्रमा ज्ञाता नै त थिए । विष्णु पौडेल, वर्षमान पुनजस्ता केही अपवाद छोडेर ।

छोराले नोबेल पाएको अवसरमा उनले भनेकी छन्, ‘अर्थशास्त्रलाई मान्छेले एक सैद्धान्तिक विज्ञाानका रुपमा बुझ्थे । अभिजितले त्यसलाई एक्सपेरिमेन्टल प्राक्टिसमा ल्यायो ।’ आज मलाई पनि यो लाग्छ कि अर्थशास्त्र भनेको सिद्धान्त पढ्नु मात्र हैन, यो विज्ञानलाई प्रयोगशालामा टेष्ट गरेर आविष्कार र प्रविधिमा ढालेजस्तो व्यवहार पनि हो ।

अर्थमन्त्री आफै अर्थतन्त्रको राम्रो ज्ञाता हैन भने उसले ज्ञाताहरुको राम्रो टिम बनाएर काम लिन सक्छ । भर्खरै नेपालमा थिङ्क ट्याङ्कको अवधारणा लागू भएको थियो । खुशी लागेको थियो । कुन पार्टीलाई भोट दिन्थे वा दिदैनथे त्यो भिन्नै कुरा– चैतन्य मिश्र नेपालको बौद्धिक जगतमा एक निर्विवाद व्यक्तित्व थिए । तर उनी त्यो आयोगमा केही महिना पनि टिकेनन्, उपाय सुझाउने र देश बनाउने त कुरै छोडौं । भर्खरै तिनै चैतन्य सरले कमरेडहरुका लागि कान फुट्ने खालको चर्को घोषण गरिदिए कि अब ‘साम्यवादको युग’ सकियो, ‘सामाजिक जनवादको पुनर्उदय’ भयो । कम्युनिष्ट पार्टीको यति चर्को ब्रान्डिङ र भोट बैंक बनिरहेको अवस्थामा मिश्र सरको घोषणाले सत्ताको कान टटाउने नै भयो । देशको आर्थिक विकासको मोडेलबारे रिसर्च किन चहियो ?

यसो भन्दा कांग्रेसका साथीहरुको कतै चित्त नदुखोस् कि महेश आचार्य र डा. रामशरण महतको कुनै चर्चा भएन । यथार्थमा २०४६ यताको अर्थतन्त्रको मोडालिटी यी दुईले नै बनाएका हुन् । गिरिजाप्रसाद कोइराला अर्थशास्त्र कति बुझ्थे, कति बुझ्दैनथे, त्यो थाहा भएन । देशको आर्थिक अवस्था र नीतिबारे सार्वजनिक रुपमा कोइराला कहिल्यै बोलेनन् । आचार्य र महतले कोइरालाको राजनीतिक शक्तिलाई विश्वासमा लिएर अर्थतन्त्रको बेतहास उदारीकरण गरे ।

उदारीकरण नीति लिएको कारणले मात्र कांग्रेसलाई कोस्न मिल्दैन । आज नेपालमा सञ्चार, यातायात, बैकिङ लगायत केही क्षेत्रमा जुन विकास भएको छ, त्यो उदारीकरणकै कारण सम्भव भएको हो । पञ्चायतमा रेडियो वा टिभी निजी क्षेत्रले सञ्चालन गर्ने कल्पनासम्म कसैले गर्दैनथ्यो । आरएनएसीको मात्र भर परेको भए हामी अधिकांश नेपाली सायद हवाईजहाजको मुखसमेत नदेखी मर्थ्यौं । तर, आचार्य-महतको एप्रोच झुर किन थियो भने त्यो विना मोलाहिजा शास्त्रवादमा फर्किन्थो । जसले शिक्षा, स्वास्थ्य, आवास, भूमिजस्ता क्षेत्रमा यति धेरै विभेद र बेथिति जन्मायो जसको मूल्य तिर्न आज हामीलाई हम्मेहम्मे छ ।

अभिजित बनर्जीकी आमा निर्मला स्वयं अर्थशास्त्रकी प्राध्यापक हुन् । छोराले नोबेल पाएको अवसरमा उनले भनेकी छन्, ‘अर्थशास्त्रलाई मान्छेले एक सैद्धान्तिक विज्ञाानका रुपमा बुझ्थे । अभिजितले त्यसलाई एक्सपेरिमेन्टल प्राक्टिसमा ल्यायो ।’ आज मलाई पनि यो लाग्छ कि अर्थशास्त्र भनेको सिद्धान्त पढ्नु मात्र हैन, यो विज्ञानलाई प्रयोगशालामा टेष्ट गरेर आविष्कार र प्रविधिमा ढालेजस्तो व्यवहार पनि हो । त्यसैले अर्थशास्त्रको प्र्याग्माटिष्ट एप्रोच अर्थात् व्यवहारिक/युगअनुकूल दृष्टिकोण हुन्छ । हामी नेपालीहरुले अहिलेसम्म त्यही फेला नपारेका हौं ।

अभिजित भन्छन्– ‘गरिबीको अर्थशास्त्रमा मुख्य ३ वटा व्यावधानहरु छन्- इग्नोरेन्स, आइडोलजी र इनर्सिया ।’ अर्थात् अज्ञानता, विचारधारा र जडता । सायद अभिजित–डुफ्लो रिसर्चले यही सिकाउने रहेछ कि अर्थशास्त्र पढेर देश बनाउन सकिन्नँ, देश बनाएर नयाँ अर्थशास्त्र लेख्न सकिन्छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage