scheduleसोमवार मंसिर २ गते, २०७६

नेपाली राजनीतिको ब्ल्याक होल

दामोदर त्रिपाठी

एक्काइसौं शताब्दीको नयाँ युगसँगै नेपाली राजनीति नयाँ चरणमा प्रवेश गरेको छ । यो शताब्दीको प्रवेशसँगै र विभिन्न जनप्रदर्शन, जन–आन्दोलन र जनसंघर्षहरुको चरणबाट गुज्रिएको नेपालको राजनीतिको पछिल्लो परिणाम परम्परागत राजनीतिक अभ्यासको निरन्तरताबाट हामी अलग भयौं र नेपाल राज्यको शक्तिको स्थान मौलिकरुपमा र आधारभूत तवरले नै विगतको भन्दा फरक अवस्थामा वा स्थानमा स्थानान्तरण हुन पुगेको छ जसलाई नेपाली राजनीतिको ब्ल्याक होल (जसको नेपाली अर्थ कृष्ण छिद्र, कृष्ण तारा आदि लगाउने गरिएको छ) भन्न सक्छौं ।

वस्तुतः यो ब्ल्याक होल कुनै राजनीतिक स्पेस भने होइन । बरु यो आधुनिकतावादी राज्यका समग्र संरचना र मान्यताहरुको विघटनबाट सिर्जित त्यस्तो परिस्थिति हो जहाँ राजनीतिक वा अन्य साझेदारहरुबीचको आपसी शक्ति संघर्षको बीचमा नै समग्र राज्यको सञ्चालन र सन्तुलन भइरहनु पर्ने अवस्था बन्न जान्छ ।

यस्तो अवस्थामा रहेको राजनीतिको खास विशेषता भनेको के हो भने यहाँ कुनै पनि आधुनिकतावादी मान्यता र संरचनाहरुको निरन्तरता रहेको हुँदैन वा तिनीहरुको जीवन्तता समाप्त भएको हुन्छ र खास नयाँ मान्यता र संरचनाहरु पनि बनिसकेका हुँदैनन् वा बन्न सक्ने अवस्था पनि निकै कम हुन्छ । त्यसैले यो निकै संवेदनशील अवस्था त हो तर यस प्रकारको अवस्थाबाट गुज्रिएको राज्यको नियति पतनोन्मुख हुन्छ भनेर निष्कर्षमा पुग्न मिल्ने अवस्था भने होइन । त्यसो किन होइन भने, इतिहासको अभ्यासमा यसप्रकारको अवस्था वा परिस्थितिको निर्माण हुन्छ ।

यो कुनै पनि राज्यको उत्थान र पतनसँग जोडिएको सबाल पनि हो । त्यसैले महत्वपूर्ण प्रश्न राजनीतिमा ब्ल्याक होलको परिस्थिति निर्माण किन भयो भन्दा पनि हामी ब्ल्याक होलका बारेमा के कस्तो दृष्टिकोण बनाउँछौं, यसका अवसर र चुनौतिहरुलाई हामी कसरी आँकलन गर्दछौं र त्यसको सापेक्षमा हामी के गर्न गइरहेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

अघिल्ला दशकका आन्दोलनहरु र जन–अभिव्यक्तिहरुको श्रृंखलासँगसँगै हामीले त्यो ब्ल्याक होललाई पार गर्न सक्छौं र एक स्थिर र समृद्ध राष्ट्र निर्माणको सम्भावना स्पष्ट हुनेछ भन्ने धेरै अपेक्षा थियो । तर, त्यसो हुन सकेन । हामीले नयाँ संविधान जारी त गर्‍यौं, तर त्यसले हामीलाई राजनीतिकरुपमा नयाँ स्थानमा एवं नयाँ शक्ति सम्बन्धको अवस्थामा रुपान्तरण गर्न सकेन । फेरिपनि नयाँ तवरले प्रयत्न गर्ने अवसरहरु भने समाप्त भै सकेका छैनन् ।

आधुनिकतावादी राजनीतिको विघटनपश्चात् उत्पन्न ब्ल्याक होल परिस्थितिबाट सफलतापूर्वक बाहिर निस्कने र एक नयाँ राजनीतिक स्थानमा नेपाल राज्यको शक्ति सन्तुलनलाई व्यवस्थित गर्ने सम्बन्धमा यहाँ दुईवटा वैकल्पिक माध्ययमहरु देखा पर्दछन् । एउटा माध्यम भनेको समाजका सम्पूर्ण राजनीतिक तथा सामाजिक साझेदारहरु (आन्तरिक) को बीचमा एक सचेत संकल्प र समझदारीका माध्ययमबाट नयाँ लक्ष्य र उद्देश्यसहितको नयाँ राज्यको निर्माण र सञ्चालनको आधार तय गर्ने जसले आधुनिकतावादी राजनीतिक स्थानबाट अलग्गै नयाँ शक्तिको स्थानमा नेपाल राज्यलाई संस्थागत गर्न सक्षम होओस् ।

अर्को उपाय भनेको, बाह्य साझेदारहरुको सहभागितामा शक्तिको नयाँ स्थानको यकिन गर्ने र त्यसको जगमा हाम्रो राज्य अभ्यासलाई सन्तुलित गर्ने । यी दुईबाहेक कुनै पनि तेस्रो वा ईश्वरीय माध्यमको अपेक्षाले समाजको सचेत वर्गलाई अझै उद्विग्नतातर्फ मात्रै लैजान्छ किनभने राजनीतिक साझेदारहरुबीचको रणनीतिक दूरी र सम्बन्ध लगभग समाप्त भइरहेको छ र यसले राज्यको सन्तुलनमा ठूलो खतरा उत्पन्न गर्न गइरहेको छ । जसको अन्तिम परिणाम सबै साझेदारहरु एकपछि अर्को गर्दै ब्ल्याक होलमा सदाका लागि विलिन हुने अवस्था बन्न सक्दछ । हामीलाई यो अवस्था प्रिय नभए पनि यो प्रक्रिया आरम्भ भैसकेको छ ।

त्यसैले हामीले विकल्पहरुका बारेमा छिटोभन्दा छिटो आफ्नो धारणा बनाउनु र विना अलमल, एउटा खास दिशातर्फ राजनीतिलाई केन्द्रित गर्नु आवश्यक छ ।
अब यी विकल्पहरुका बारेमा चर्चा गर्दा हामीले यहाँ के कुरा बिर्सन हुँदैन भने ०७२ को संविधान निर्माण अगाडिको करिब एक दशक लामो अवधि हामीले पहिलो विकल्पको यात्रा तय गर्नका लागि नै खर्च गरिसकेका छौं । त्यो यात्राले हाम्रो गन्तव्यको गति र दिशामा तात्विक अन्तर ल्याउन सकेन । अर्थात् हामीले त्यतिबेला हाम्रो नयाँ राजनीतिक स्थान क्षेत्रीय र विश्व राजनीतिमा स्थापित गर्नुपर्दछ भन्ने मान्यताबाट हाम्रा साझेदारहरु निर्देशित हुन सकेनन् । जसको परिणाम हामीले थप राजनीतिक ऊर्जा हासिल गर्न सक्ने सम्भावना निस्तेज बनेर गयो । जबकि यो एउटा त्यस्तो विशिष्ट राजनीतिक अवस्था थियो जहाँबाट हामीले त्यस प्रकारको ठूलो मात्राको ऊर्जा हासिल गर्ने अवस्था बन्न सक्दथ्यो र ब्ल्याक होलको परिस्थितिबाट हामीले सुरक्षित स्थानमा सारेर राज्यलाई संस्थागत गर्ने अवसर प्राप्त हुन्थ्यो । परिस्थितिको गम्भीरतालाई हामीले कम आँक्यौ की ?

यतिबेला विगतमा के भयो भनेर त्यसमा अल्मलिने वा विगतको समग्र परिस्थितिलाई अन्डु गर्न सक्ने अवस्थामा हाम्रो राजनीति छैन । त्यस्तो अवस्था राजनीतिमा कदापि हुन पनि सक्दैन । अब के गर्ने भन्ने सम्बन्धमा, यतिबेला हामीसँग बाह्य साझेदारहरुको समझदारी र सहकार्यलाई आत्मसात गर्ने दोस्रो विकल्प मात्रै बाँकी छ । आन्तरिक साझेदारहरुको रणनीतिक सम्बन्धको परिस्थितिबाट हामीले लाभ उठाउन सकेनौं र तत्कालका लागि सो सम्भावना निस्तेज भएको अवस्थामा बाह्य साझेदारहरुसँगको समझदारीलाई सन्तुलित तवरले विकास गर्दै एक नयाँ राज्य हासिल गर्ने वा निर्माण गर्ने एक नविनतम् महा–अभियानतर्फ हामी अगाडि बढ्नु आवश्यक भएको हो । जुन नेपालको आधुनिक इतिहासमा कहिल्यै हुन सकेन ।

केही प्रयत्न भएका थिए भनेर मान्ने हो भने पनि ती सचेत प्रयत्न थिएनन्, ती बढी प्रतिक्रियात्मक र भावनात्मक थिए । इतिहासको यो विन्दुमा आइपुग्दा हामी पहिलो विकल्पबाट सफलतापूर्वक अगाडि बढेको भए पनि यतिबेला आइपुग्नु पर्ने दोस्रो विकल्प कै लागि हुने थियो । तर, यदि त्यस्तो अवस्था भइदिएको भए दोस्रो विकल्पका लागि अगाडि बढ्दा हामीले जति धेरै असुरक्षा र जोखिम यतिबेला मोलिरहेका छौं त्यो अवस्था भने सायद रहने थिएन । अत्यन्त सुरक्षित र जोखिमरहित अवस्थामा हामी नेपाली राजनीतिक तथा सामाजिक साझेदारहरुले दोस्रो विकल्पका नयाँ सम्भावनाहरुलाई उद्घाटन गर्न लाग्ने थियौं ।

अब दोस्रो विकल्पतर्फ कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा वर्तमान नेपाली राजनीतिमा विद्यमान ब्ल्याक होल परिस्थितिलाई ठीक तवरले विश्लेषण गर्ने र त्यसको जगमा नयाँ राज्यलाई संगठित गर्ने कुरा सचेततापूर्वक बाह्य साझेदारहरुसँगको सन्तुलित सम्बन्धका आधारमा समेत नयाँ शक्तिको स्थानलाई स्थापित गर्दै आरम्भ गरिनु आवश्यक छ । यो ब्ल्याक होल परिस्थितिबाट बाहिर सुरक्षित राजनीतिक स्थानमा राज्यलाई स्थानान्तरण गर्ने कुरा कुनै परिधीय दल वा राजनीतिक सामाजिक साझेदारहरुको छनौट वा कुनै चामत्कारिक व्यक्तितर्फ राजनीतिक जिम्मेवारी हस्तान्तरण गरेर हुने कुरा विल्कुलै होइन ।

आधुनिक राजनीतिमा देखिएको प्रतिक्रियात्मक रणनीतिक सम्बन्धका आधारमा हासिल हुने प्रति शक्तिको माध्ययमबाट राज्य सत्तामा आफ्नो हिस्सा बढाउने जस्तो कुरा त यो झनै होइन । यो समग्रमा विगत दुई शताब्दी भन्दा लामो आधुनिक नेपाली राजनीतिले निर्माण गरेका यावत् अवधारणा र मान्यताहरु माथिको पुनःपरीक्षणसहित त्यसले स्थापित गरेका तमाम् मान्यता, सीमा र परिधिबाट बाहिर निस्कने र नयाँ विश्व सम्बन्धका बीचमा नयाँ लक्ष्य र उद्देश्यसहितको नयाँ राष्ट्रको नयाँ जगलाई स्थापित गर्ने कुरा हो ।

त्यसैले इतिहासको यो अवधिमा सत्ता कसको हातमा छ, वा उसले तपसिलमा के गर्‍यो वा गरेन यो निकै गौण प्रश्न हो । मूल कुरा हामी एक राष्ट्रको रुपमा कुन दृष्टिकोणबाट र कुन लक्ष्य र उद्देश्यका लागि अगाडि बढिरहेको छौं भन्ने हो । अर्थात् हामीले हाम्रो ब्ल्याक होल परिस्थितिलाई पार गर्दै नयाँ र सुरक्षित भविष्यतर्फ गइरहेका छौं या यसको प्रभावमा हाम्रो राजनीति दिशाहिन बनिरहेको छ ? हाम्रो सचेत प्रयत्न यस प्रश्नको समाधानतर्फ केन्द्रित हुनु आवश्यक छ ।

(त्रिपाठीले मानव सुरक्षा विषयमा डेनमार्कबाट स्नाताकोत्तर तहको अध्ययन गरेका छन् र हाल उनी मानवशास्त्र विभाग, त्रि–चन्द्र बहुमुखी क्याम्पस, काठमाडौंमा प्राध्यापन गरिरहेका छन्)

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage