scheduleशुक्रवार मंसिर ६ गते, २०७६

अब उपराष्ट्रपतिलाई पनि हेलिकप्टर किन्ने कि ?

साझापोस्ट टिप्पणी/काठमाडौं, ३० असोज । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार प्रस्थान गर्ने क्रममा राष्ट्रपति भवन शितल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ‘हेलिकप्टर सवारी’बाट पुगिन् ।

राष्ट्रपतिका लागि हेलिकप्टर खरिद प्रकरण केही साम्य भए पनि राष्ट्रपतिको पछिल्लो अभ्यासले पुनः यो बहस ब्युँझिएको छ । राष्ट्रपतिले विमानस्थल पुग्न केही समयअघि भिभिआइपीको लागि सेनाले खरिद गरेको हेलिकोप्टर प्रयोग गरेकी हुन् ।

हेलिकप्टर नचढ्दा पनि राष्ट्रपतिको सवारीमा एक घन्टाभन्दा बढी समय सडक खाली गरिँदा ट्राफिक जामका कारण सर्वसाधारणले दुःख पाएकोमा आलोचना हुनेगर्थ्यो । यसर्थ, राष्ट्रपतिको यो ‘हेलिकप्टर सवारी’को प्रयोगलाई राष्ट्रपति कार्यालयले नागरिकमैत्री कामको रुपमा चित्रण गरेको छ ।

राष्ट्रपति निवास र विमानस्थलबीचको दूरी लगभग ६ किलोमटर मात्र छ । यो दूरीमा ‘ड्राइभिङ डिस्ट्यान्स’ भनेको लगभग २० मिनेट हो । यो दूरीका लागि राष्ट्रपतिले महंगो हेलिकप्टरको प्रयोग गर्नु कति जायज कति नाजायज ? सामाजिक सञ्जालमा यसबारे बहस भइरहेको छ र फरक- फरक जोड र कोणबाट प्रतिक्रियाहरु आइरहेका छन् ।

त्यसो त, सुरुमा राष्ट्रपतिका लागि ‘महंगो’ हेलिकप्टर किन्ने प्रसंग चल्नासाथ यसको विरोध भएको थियो । नागरिक तहबाट चर्कोरुपमा विरोधको स्वर सुनिए पनि राष्ट्रपतिका लागि हेलिकप्टर किनेरै छाडियो ।

कल्पना सुवेदी ट्वीट सन्देशमा भन्छिन्, ‘जनताले यसरी आफ्नो बच्चालाई बिचल्ली पारेर गएर कमाएर तिरेको रेमिटेन्सले रास्ट्रपतिलाई निवासबाट एयरपोर्ट जान हेलिकप्टर ! लाज पचेका छन् हाम्रो नेपालमा ।’

बुधबार म्यानमार प्रस्थान गर्ने बेला राष्ट्रपतिको हेलिकप्टर उडानले सडकमा हिंड्ने यात्रुले झेल्ने समस्या भने कम भएन । किनकी हेलिकप्टरमा गएकी राष्ट्रपतिलाई बिदाई गर्न उपराष्ट्रपतिको सवारी भयो र त्यतिबेला पनि बाटो खाली नै गरियो यात्रुलाई सास्ती नै भयो ।

ट्वीट सन्देशमा प्रेम घर्ती व्यंग्य गर्छन्, ‘राष्ट्रपति हेलिकप्टरमा जानुभयो । सडक जाम भएन । यतिसम्म ठिकै थियो । तर बिदाई गर्न जाने उपराष्ट्रपतिले गर्दा सडक त जाम नै भयो । हामी गरीब देशका धनी नेताहरुले बिदाई गर्न पनि हेलिकप्टर चढे भई हाल्थ्यो नी । कि कसो ?’

लीला भण्डारीको व्यंग्य गर्दै भन्छन्, ‘हामी नेपाली नि सानो चित्तका । उपराष्ट्रपतिलाई हेलिकप्टरमा लिफ्ट दिएको भए कस्को के जान्थ्यो । सँगै जाने अनि हेलिकप्टर लिएर फर्कने – पार्किङ् गर्ने आफ्नै गराजमा । पिकअप गर्न फेरि गए भो । नो जाम बट काम तमाम् ।’

अर्का ट्वीटर प्रयोग गर्दा सुजन पण्डितको बुझाई फरक छ । उनी भन्छन्, ‘जे गरे पनि नकारात्मक हुनै पर्ने ! पहिले सवारीले सडक जाम भयो, बरु हेलिकप्टर चढे हुने नि भनियो, अहिले फेरी ‘शितल निवासबाट एअरपोर्ट हेलिकप्टर चढिन्’ भनेर व्यंग्यात्मक समाचार हेडिंग बनाउन पनि अग्रसर भइहालियो ! गज्जबको चेत छ हाम्रा अब्बल अनलाइनहरुको !’

समाधान के ?

नेपाल गरिब देश हो । रेमिट्यान्स र वैदेशिक ऋणले देशको अर्थतन्त्रको मुख्य हिस्सा धानिरहेको छ । समस्याको समाधान हेलिकप्टर किनेर मात्र नहुने रहेछ । विदेश भ्रमण गर्नेलाई हेलिकप्टर किन्दा पनि बिदाई गर्न जाने उपराष्ट्रपतिको सवारीले पनि जाम भइहाल्यो । के अब उपराष्ट्रपतिलाई अर्को हेलिकप्टरको व्यवस्था गर्ने ? कि सवारीको प्रकृति नै बदल्ने ? जनताले भोगेको जामको समस्या समाधान नगरी देशका भिभिआइपीहरु हेलिकप्टर चढ्न थाल्ने कि जाम न्यूनीकरण गर्ने ? सामान्तवादको नाइके राजतन्त्रलाई ढालिसकेपछि पनि हिजो राजाकै सवारीजस्तो यातायात अस्तव्यस्त बनाएर जनताका छोराछोरीबाट राष्ट्रपति/उपराष्ट्रपति बनेकाहरु हिंड्न आवश्यक छ कि छैन ?

राष्ट्रपतिको ‘हेलिकप्टर सवारी’ प्रकरणले नयाँ प्रश्न जन्माएको छ । शितल निवासबाट ६ किलोमिटरको दूरीमा रहेको विमानस्थलमा हेलिकप्टरमा गएर वा राजाको जस्तै सवारी गराएर गणतन्त्रको रक्षा हुन सक्ला ? राजनैतिक नेतृत्वप्रति जनतामा बढिरहेको अविश्वास र घृणाको उपचार यस्तै ‘भिआइपी संस्कृति’लाई थप प्रवर्द्धन गरेर होला ?

सामान्य सवारी गर्ने कि ? जाम न्यूनीकरणका लागि रणनीतिक उपायहरुको खोजी गर्ने कि ? हेलिकप्टर नै चढिरहने हो भने त उपराष्ट्रपतिलाई पनि अर्को हेलिकप्टरको व्यवस्था गरे भैहाल्यो नि ?

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage