scheduleसोमवार मंसिर २ गते, २०७६

भोजपुरे पर्यटनको सपनाः मुन्धुम ट्रेल


काठमाडौं, २ कात्तिक । एक दशक अगाडिसम्म भोजपुरलाई ‘कोशीको कर्णाली’ भनिन्थ्यो । चतरा बजारबाट बोकेर भरियाले नुनतेल, लत्ताकपडा र खाद्यान्न आपूर्ति गर्थे । भोजपुरे जनताको सपना थियो– जिल्लालाई सडक सञ्जालमा जोड्ने ।

कोशी राजमार्गको हिले–लेगुवा–भोजपुर खण्ड बनेपछि स्थिति बद्लियो । अझ ठूलो अवसर बनेर आयो– मध्यपहाडी राजमार्ग । यसले भोजपुर र खोटाङ सदरमुकाम– दिक्तेल बजारलाई जोड्ने मात्र हैन, किराँत सभ्यता र संस्कृतिका अन्तरंग क्षेत्रहरुलाई समेत एउटै श्रृंखलामा उन्छ ।

यो अवसरलाई उपयोग गर्दै पर्यटन प्रवर्द्धन गर्न भोजपुरे युवाहरुले नयाँ पदयात्रा मार्गको खोजी गरे– मुन्धुम ट्रेल । करिब २ बर्ष अघि स्थानीयहरुले स्वःस्फूर्त यो पदयात्रा मार्गको खोजी र प्रचारप्रसार प्रारम्भ गरे ।

नेपाल भ्रमण बर्ष– २०२० का लागि नेपाल सरकारले यसलाई एक महत्वपूर्ण गन्तव्यका रुपमा सूचीकृत गरेको छ । संघीय तथा प्रदेश सरकारले प्रारम्भिक लगानी गर्न थालेका छन् । पदयात्रा मार्गमा झरी, असिना र हिमपातबाट यात्रीलाई जोगाउन ठाउँठाउँमा सेड बन्दैछन् ।

मुन्धुम ट्रेल– विल्कुलै भर्जिन रुट हो, जो भोजपुरे पर्यटनको सपना बनेको छ ।

रुपाकोटबाट देखिने दृश्य

मुन्धुम किराँत सभ्यता र संस्कृतिको मूल ग्रन्थ हो । जनश्रुतिबाट टिपिएको यो ग्रन्थ मुन्धुमीहरुको कैरनमा सर्दै आयो । मुन्धुमका अधिकांश श्लोकहरु भोजपुर साल्पा पोखरी र सिलिचुङ डाँडाको आसपास रचना भएको विश्वास गरिन्छ । यो पदयात्रा मार्गबाट ८००० मिटर अग्ला ५ वटा हिमाल देखिन्छन्– सगरमाथा, लोहत्से, मकालु, कन्चनजंगा र चोयु । चीनतिरको शिसापाङमा हिउँ चुचुरोदेखि कंचनजंगासम्म अनगिन्ती हिमश्रृंखलाहरु देखिन्छन् ।

चखेवा भञ्ज्याङ

मुन्धुम ट्रेल मध्यपहाडी राजमार्गको चखेवा भन्ज्याङबाट शुरु हुन्छ । चखेवा २३०० मिटर उच्चाइमा भएको भोजपुर र खोटाङ जिल्लाको सीमा भन्ज्याङ हो । यो भन्ज्याङबाट २ घण्टामा ३०३१ मिटर उच्चाइको ट्याम्के डाँडा उक्लिन सकिन्छ ।

ट्याम्के डाँडा

ट्याम्केबारे प्रसिद्ध भनाइ छ– मौसम राम्रो खुल्यो भने यो डाँडोबाट पूर्वमा कलकत्ता, पश्चिममा काठमाडौं र दक्षिणमा पटनासम्म देखिन्छ । कवाहत जस्तै त होला/नहोला– पूर्वाञ्चलको अधिकांश क्षेत्र यहाँबाट देखिन्छ ।

हाँसपोखरी
फरक सिजनमा फरक देखिएको सुन्दर हाँसपोखरी

चखेवादेखि धोधले बढीमा ७ घण्टाको बाटो हो । यो भाग २५०० मिटर औसत उच्चाई भएर हिँड्छ । करिब ३००० मिटर उच्चाइ हुँदै अरु ६ घण्टा हिँड्दा मैयुङ–सातदोबाटो पुगिन्छ । पदयात्रुहरुले निर्जन एकान्त, गुराँसका जंगल, बुकी, सुनाखरी र चिमाल फुलेका लेकहरु, अनेक जंगली चराहरुको आवाज बीच यो बाटो काट्न सक्दछन् । लेकाल खर्कमा चरनमा भेटिने भेडा, चौंरी र घोडाहरुले उत्तिकै आकर्षक दृष्य सृजना गर्दछन् ।

साल्पा पोखरी

मैयुङ– रावाधाप–साल्पा भन्ज्याङ हुँदै सिलिचुङ डाँडा पुगिन्छ । सिलिचुङ करिब ४२०० मिटरको उच्चाइमा छ । सिलिचोङ–ह्याकुले–हंसपोखरी हुँदै यात्रु भोजपुर सदरमुकाम फर्किन्छन् ।

यो पदयात्रा मार्गमा प्राकृतिक छटा त छँदैछ– किराँत सभ्यता र संस्कृतिका अन्तरंग क्षेत्रहरु उत्तिकै स्पर्श हुन्छन् । १०७ किलोमिटर लामो पदमार्गले खोटाङ–भोजपुर–सोलुुखुम्बु–संखुवासभा ४ जिल्लालाई छुन्छ तर अधिकांश भाग भोजपुरमा पर्दछ । काठमाडौंबाट यात्रा प्रारम्भ गरेर १५ दिनमा पुरा गर्न सकिने मुन्धुम–ट्रेल सन् २०२० को भ्रमण–वर्षसम्म एक लोकप्रिय पदमार्ग बन्ने आशा भोजपुरे पर्यटनको सपना बनेको छ ।

केही तस्बिरहरु साभार- ट्रेकिङ ट्रेल डट कमबाट

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage