scheduleसोमवार मंसिर २ गते, २०७६

पानी र खानाका लागि झगडा गर्न म सन्तान जन्माउँदिन

नोयमी क्लेन

अक्सर मान्छेहरु यो ठान्छन् कि जलवायु परिवर्तन वातावरणवादी, हरियाली अभियन्ताहरुको मात्र सवाल हो । यो राजनीतिक, आर्थिक वा सामाजिक सवालसँग जोडिएको छैन, बिल्कुल भिन्नै सवाल हो । अरु समस्या र संकट फरक हुन् । जलवायु परिवर्तन फरक छ । यसरी जलवायु परिवर्तनलाई विश्वले सामना गरिरहेका अरु संकटभन्दा भिन्न संकट ठान्ने गरिन्छ । यथार्थमा यो अन्य सवालसँग उत्तिकै घनिष्ठ रुपमा जोडिएको छ ।

जस्तो कि अहिले ‘श्वेत सर्वोच्चता’ (ह्वाइट सुप्रिमेसी) को सोच बढिरहेको छ, राष्ट्रवादका अनेक रुपहरु प्रकट हुँदैछन, कतिपय देशमा हज्जारौं मानिसलाई मातृदेश छोड्न बाध्य पारिएको छ, शरणार्थी संकट चर्किंदो छ– यी संकट कुनै न कुनै रुपमा जलवायु परिवर्तनको संकटसँग जोडिएका छन् । सबै मानवीय संकट एकअर्कासँग अन्तर्सम्बन्धित छन् । तसर्थ, समाधान पनि अन्तर्सम्बन्धित हुन्छ ।

बितेको दशकलाई फर्किएर हेर्दा जलवायु परिवर्तन र वातावरणको मुद्दालाई वामपन्थले खासै महत्वका साथ लिएन । परिणामस्वरुप वातावरणीय संकट झन् चर्किएर गयो र दक्षिणपन्थको पुनर्उदयको आधार बन्यो । वामपन्थको रुची सम्पतिको पुनर्वितरणमा थियो । सम्पति भनेको प्राकृतिक स्रोत-साधनको उपयोग र रुपान्तरणबाट सिर्जना हुने हो । प्राकृतिक स्रोत-साधनको सीमा छ भन्नेतिर उनीहरुले ध्यान दिएनन् । मध्यमार्गीहरुले कुनै पनि सवाललाई महत्वका साथ विश्लेषण गरेनन् । केवल वाम र दक्षिण विभाजनमा आफ्नो स्थान कहाँ छ भनेर हेरे । फलतः अमेरिकी राष्ट्रपति निर्वाचनदेखि बेलायतको ब्रेक्जिटसम्म, ट्रम्पदेखि बोरिस जोहन्सनसम्म दक्षिणपन्थको जोडदार आँधी आयो ।

यही परिप्रेक्ष्यमा हामीले नयाँ हरित सम्झौता (ग्रिन न्यू डिल) को अवधारणा ल्याएका हौं । यो अति नै उत्साह र खुुशीको कुरा हो । हामी जुनस्तरको संकट सामना गरिरहेका थियौं – त्यसलाई हल गर्ने उपाय पनि उत्तिकै सशक्त हुन जरुरी छ । हामीले कार्बन उत्सर्जन कर, ससाना वातावरणवादी अभियान वा कुनै चमत्कारिक उपायको कुरा गरेको हैन । हामीले भन्न खोजेको कुरा अर्थतन्त्रको रुपान्तरण हो । अहिलेको अर्थतन्त्रको ढाँचा बहुमत जनसंख्याका लागि असफल भइरहेको छ । अर्को कुरा – हामी किन यति धेरै राजनीतिक बेथिति र संकट बीचमा छौं ? किन राजनीतिले ट्रम्प र ब्रेक्जिट दिइरहेको छ ? किन यी शक्तिशाली नेताहरु विद्यमान संकटहरुको सम्बोधन गर्न असमर्थ छन् ? यो सबै त्यत्तिकै भएको हैन होला, यसको कारण होला ।

प्रत्येक क्षण हामीसँग बढ्दो तापमानको प्रत्येक मात्रालाई नियन्त्रण गर्ने, त्यसउपर विजय प्राप्त गर्ने र समाजलाई अझ मानवीय बनाउन नीतिगत हस्तक्षेप गर्ने सम्भावना हुन्छ । तर, यो मौका हामी गुमाइरहेका हुन्छौं । हामी फजुल तरिकाले जलवायु बर्बरता (क्लाइमेट बार्बरिज्म) तिर चिप्लिरहेका छौं । युरोप, अमेरिका वा अष्ट्रेलियाको सीमा देखिने दृष्यले मलाई कहिलेकाहीँ भयग्रस्त बनाउँछ । ती देशको आवादी संरचना, उपनिवेशवादको त्यो समय र औपनिवेशिक मुलुकहरुको अलिहेको अवस्थाले हामी जलवायु बर्बरताको युगमा प्रवेश गरेको प्रष्ट संकेत गर्दछ । श्वेत सर्वोच्चताको भावना र प्रति–आप्रवासी नश्लवादको दुश्चक्र सर्वत्र देख्न सकिन्छ ।

श्वेत सर्वोच्चता सबै गोरा एकसाथ मुर्ख भएर, अरुलाई दुख्ख दिउँ वा मारौं भन्ने भावनाले जन्मेको हैन । बरु यो यसर्थ जन्मेको हो कि यस्तो अवधारणामा उनीहरुका केही हित जोडिएका छन् । बढ्दो विश्वसंकट, आप्रवासी र शरणार्थी समस्याले पृथ्वीलाई नयाँ तरिकाले गाँज्न सक्छ । विश्व तापमान वृद्धि, वातावरणीय असुरक्षा र जलवायु संकट झनै चर्किन सक्छ । आज नश्लवाद पनि वैज्ञानिक तर्कमा उभिएको छ । यसलाई ‘विवेकपूर्ण बर्बरता’ (रेशनल बार्बरिज्म) भन्न सकिन्छ । यदि हामीले जलवायु परिवर्तनको समस्या हल गर्ने हो भने मानवताको नश्लीय पदसोपानक्रम आफै पछाडि फर्किन्छ ।

केही बर्षयता म धेरै वातावरणवादीहरुसँग सम्पर्क र छलफलमा छु । उनीहरुको प्रष्ट भनाइ छ– जलवायु परिवर्तनको मुद्दा भनेको गरीबीविरुद्धको मुद्दा पनि हो । शरणार्थी र आप्रवासी समस्याविरुद्धको मुद्दा पनि हो । नश्लवाद र जातीय विभेद विरुद्धको मुद्दा पनि हो । यो प्राकृतिक तथा सामाजिक न्याय र महिला सशक्तीकरणको मुद्दा पनि हो । कसरी भन्नु होला । जब पृथ्वी रहन्छ तब हामी अरु विभेद विरुद्ध लडौंला । पृथ्वी रह्यो भने नश्लवाद विरुद्ध लडौंला । महिला हिंसा विरुद्ध लडौंला । यस्तो प्रकारको सोचले जलवायु न्याय आन्दोलन (क्लाइमेट जस्टिस मुभमेन्ट) मा नयाँनयाँ नेतृत्व विकास गरिरहेको छ । दशकौंदेखि नवउदारवादले गाँजेको व्यक्तिवादी चिन्तन यसरी सामुदायिक सोचमा रुपान्तरित हुँदैछ । जलवायु परिवर्तनको मुद्दा व्यक्ति, बजार र मुनाफाभन्दा माथि समुदाय र मानवताको भविष्यसँग जोडिन्छ ।

यस अवधारणालाई पुरानो न्यू डिल वा मार्सल प्लानसँग तुलना गर्ने मुख्य विन्दू यही हो । नवउदारवादी न्यू डिलले व्यक्ति, बजार र मुनाफाबाट मानव कल्याण हुने ठान्दथ्यो । न्यू ग्रिन डिलले समुदाय र मानवताको भविष्यलाई अझ बढी महत्वपूर्ण ठान्छ ।

जस्तो कि अहिले ‘जन्म हड्ताल’ (बर्थ स्ट्राइक) को अवधारणा आएको छ । कम्तीमा छलफल त सार्वजनिक रुपमा प्रकट भएको छ । मैले लामो समयसम्म गर्भाधान र बच्चा पैदा गर्ने कुरामा आफ्नो पार्टनरलाई यही भनेर रोके । के तिमी आफ्नो सन्तान पानी र खानाका लागि झगडा गर्न नै यो धर्तीमा आओस् भन्ने चाहन्छौ ? जलवायु न्याय आन्दोलनका रुपमा म त्यस्तो भविष्यको कल्पना गर्न सक्छु जहाँ पुगेर बच्चा पैदा गर्नेका लागि यस्तो प्रश्न गर्नु नपरोस् । म सुनिश्चिततापूर्वक गर्भवती र आमा हुन सकूँ ।

विगतमा जनसंख्या योजनाकार तथा नीतिकर्ताहरुले नसबन्दीका नाममा महिला शरीर र पाठेघरलाई जबरजस्त युद्धक्षेत्र बनाएका छन् । केही नियामक सामधान पहिलेदेखि नभएका हैनन् । तर उनीहरुले सन्तानहरुको भविष्यमा आउने विपत्तिबारे खासै चासो राखेका छैनन् । आज हामी जुन जलवायु शोक (क्लाइमेट ग्रिफ) को अवस्थामा छौं, यससँग हामीले आफ्नै तरिकाले संघर्ष गर्नुछ । तर, मुख्य प्रश्न हामीले जन्माउने बच्चाहरुले कसरी शून्य कार्बनको अवस्थामा जीवन जीउन पाउँछन ? त्यस्तो स्थिति हामी बनाउन सक्छौं कि सक्दैनौं ? हामीले सक्नै पर्छ ।

जन्म हड्तालजस्तै अहिले ‘विलुप्त विद्रोह अभियान’ छ । यसको मूल चरित्र शास्त्रीय तरिकाबाट बाहिरिनु हो । छिमेकीदेखि छिमेकीसम्म, कार्यस्थलदेखि कार्यस्थलसम्म जलवायु अधिकारको मुद्दा मुखरित हुनु राम्रो कुरा हो । हामीलाई एक प्रजातिका रुपमा यति तल झारिएको छ कि हामी अस्तित्वमा रहन सक्षम छौं भन्ने भावना गुम्दै गइरहेको छ । यो अभियानको राम्रो पक्ष समुदाय आमने-सामने भएको छ । अनुभवहरु आमने-सामने भएका छन् । मान्छेले केही जितेको अनुभूति गर्दैछन् ।

जहाँसम्म आशाको कुरा छ, यो प्रश्न मलाई निक्कै जटील लाग्छ । आजै मान्छेले जलवायू परिवर्तनको महत्व सजिलै बुझ्लान जस्तो लाग्दैन । जबसम्म हामी संकटको पिँधमा पुग्दैनौं, धेरै मान्छेलाई लौ हामी त सकिन लाग्यौं भन्ने अनुभूति हुँदैन, त्यसबाट आफूलाई बाहिर निकाल्ने प्रयास कमजोर नै रहन्छ । मेरा आशाहरु नयाँ पुस्ताप्रति समर्पित छन् । नयाँ पुस्ता दृढनिश्चयी र बलवान छ । नयाँ पुस्ताले यसलाई राजनीतिको चुनावी मुद्दा बनाउनेछ । जब हामी २० वा ३० को उमेरमा थियौं राजनीति फोहोरी खेलको पर्याय थियो, हामीले यो मुद्दालाई चुनावी राजनीतिमा लाने अवसरलाई गुमाएका थियौं ।

मलाई आशा दिने कुरा – कम्तीमा हामी के चाहन्थ्यौं त्यसको मस्यौदा गरेका छौं । नयाँ हरित सम्झौता भविष्यको एक मार्गदर्शन हुन सक्छ ।

(क्लेन क्यानाडेली लेखिका तथा सामाजिक अभियन्ता हुन् । द गार्डियनमा प्रकाशित उनको अन्तर्वाताको अंशलाई साझापोस्टले गरेको अनुवाद हामीले प्रस्तुत गरेका छौं- सं.)

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage