scheduleमगलवार मंसिर ३ गते, २०७६

प्रधानमन्त्री ज्यू, भिटेनलाई थुनेर गल्ती गर्नु भो !

सुनिल बराल

आदरणीय केपी शर्मा ओली ज्यू,

सर्वप्रथम नमस्कार टक्र्याउन चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई नै पत्र लेख्नुपर्ने व्यक्तिगत कारण त खासै थिएन । तर पछिल्लो पटक सरकारी बोली र व्यवहारले समाज नै आतंकित हुन थालेपछि पत्र लेख्न बाध्य भएँ ।

मजस्ता लाखौं मानिसले भोट हालेका कारण तपाईंको पार्टी यतिबेला सरकारमा छ । नेकपा धान्नै नसकिने गरी ठूलो बन्नु र तपाईं शक्तिशाली प्रधानमन्त्री बन्नुमा मेरो एक भोटको त्यति अर्थ नहोला । फेरि आफैंले जिताएको प्रधानमन्त्री भनेर पनि यो पत्र लेखेको होइन । यसका केही कारण छन् ।

तपाईं लामो समय समाज रुपान्तरण गर्छु भनेर ठूलो त्याग गर्नु भएको व्यक्तित्व हो । यही भएर मेरो मनमा तपाईंप्रति अगाध श्रद्धा र सम्मान छ । मानव मुक्ति, स्वतन्त्रता र समानताका लागि १४/१४ वर्ष जेल बस्नु सामान्य कुरा हुँदै होइन । तर तपाईंको नेतृत्वमा रहेको सरकारको बोली र व्यवहारले यी आदर्शका लागि तपाईं जेल बस्नु भएको थियो भन्नेमा आशंका लाग्न थालेको छ । यति मात्रै होइन । यतिबेला आफैंलाई प्रश्न गर्न थालेको छु- ‘नेकपालाई भोट हालेर ठूलै गल्ती गरेछु कि क्या हो ?’

कम्युनिष्टहरु जीवनभर मेरा लागि आदर्श र ‘आइकन’ बने । तर नेपाली कम्युनिष्टहरुको व्यवहार देख्दा मनमा कताकता शंका-उपशंका उब्जिन थालेका छन् । पहिला कम्युनिष्टहरु अनुदार हुन्छन् भन्ने भोगेको भए न मैले नेकपालाई भोट हाल्थेँ । न कम्युनिष्टहरु नै मेरा आदर्श र आइकन बन्थे ।

अब कला, संगीत, साहित्य संस्कृतिबारे केही कुरा राख्न चाहेँ । कम्युनिष्ट संस्कृतिबारे बोल्ने र लेख्ने जिम्मा हजुर र हजुरका कमरेडहरुलाई नै छोड्न चाहन्छु ।

हो, कला, संगीत र साहित्यमा आफ्नै खालका कमिकमजोरी हुन्छन् । केही नेपाली कला अश्लील होला र छ पनि । संगीत उत्ताउलो होला । नाँच्ने, गाउने, बजाउने, लेख्ने अशिष्ट र अभद्र रुपमा प्रस्तुत हुन सक्लान् । यसको आर्थिक, सामाजिक र राजनीतिक आयामलाई यो पत्रमा चर्चा गर्न सम्भव पनि हुँदैन ।

तर, कमिकमजोरी नै भयो भन्दैमा कलाको जरै निमोठिदिने काम मलाई त ठीक लागेन, हजुर । यस्तो कामले त नेपाली संस्कृति नै बाँझो हुन्छ जस्तो लाग्छ । उत्ताउलो भयो भन्दै संगीतको तार नै चुडालिदिन खोज्ने, नाँच्नेका हात खुट्टा नै भाँचिदिन खोज्ने कुरा तपाईं जस्तो व्यक्तिलाई त झनै सुहाउँदैन ।

कलम चलाउने मान्छेका कुरा पनि थोरै राख्न मन लाग्यो । नेकपाको २/३ सरकार बनेपछि आतंकित नबनेको सायद कुनै क्षेत्र छैन होला । हामी पत्रकारहरु तपाईंका मन्त्री र कार्यकर्ताबाट त्यसै पनि थर्कमान छौं । न्यूज रुपमा बसेर समाचार लेख्दा कसैले ढोका ढकढक्यायो भने पनि मुटु थरर हुन्छ । बाटोमा हिंड्दा अपरिचित व्यक्ति नजिकै आयो र बोल्न खोज्यो भने आङ सिरिङ हुन्छ । अपरिचित नम्बरबाट फोन आयो भने हात खुट्टा नै काँप्छन् ।

तपाईंका मन्त्रीहरुले कहिले यसरी लेख, कहिले उसरी लेख भनेर फरमान जारी गर्नुहुन्छ । फरमान जारी गर्नमा तपाईंका कार्यकर्ता पनि कमका छैनन् । बाटोमा हिंड्दा चिने भने, ‘यस्तो किन लेखिस् ? उस्तो किन लेखिस् ?’ भनेर मार्लान् झैं गर्छन् । सबैलाई तर्साएर तपाईंको सरकारले कस्तो संस्कृति र समाज निर्माण गर्न खोज्दै छ । मैले बुझ्नै सकेको छैन ।

माथि नै भनिसकेँ । कलम चलाउने पनि अशिष्ट बन्न सक्छन् । पत्रकार पनि अराजक बन्न सक्छन् । यसमा म पूर्ण सहमत छु । तर अशिष्ट र अराजक भए भन्दैमा कलम नै भाँच्न खोज्दा कहिलेकाहीं नेकपा भनेपछि कनसिरी नै तात्छ । ‘हैट, कस्ता अनुदार र तानाशाहीहरुलाई शासनमा पुर्‍याइएछ ?’ भनेर मन भतभती पोल्छ ।

कला र संगीतबारे फेरि केही कुरा राख्न चाहे । तपाईंलाई थाहै छ- कला र संगीतको मुहान समाज हो । अनि समाज जस्तो छ, कला पनि त्यस्तै देखिन्छ । संगीत पनि त्यस्तै बज्छ । कलाकार र संगीतकार समाज रुपान्तरणमा नै लागून् भन्ने तपाईंको चाहना स्वभावित छ । तर उनीहरुको काम समाजलाई जस्ताको जस्तै उतार्ने पनि होला नि त ?

कला र संगीत मानव भावनाको उत्कृष्ट अभिव्यक्ति पनि हो । कला, साहित्य र संगीतमा मानवीय भावना कहिले बिम्बमार्फत् अभिव्यक्त हुने गर्छ, कहिले अलङ्कार र प्रतीकमार्फत् बाहिर आउँछ । अनि कहिलेकाहीं बिम्बहरु अश्लील बन्न सक्छन् । अलङ्कार र प्रतीक अशिष्ट बन्न सक्छन् । तर यसलाई कामुकताको रुपमा होइन, कलाकै रुपमा बुझ्नुपर्छ भन्ने लाग्छ ।

अर्को कुरा, कलाभित्र नग्नता (nudism in art) को ठूलो महत्व हुन्छ । कलाभित्रको नग्नता तपाईंहरुलाई कामुक अश्लीलता (Erotic vulgarism) लाग्न सक्ला । तर कलाकार र कलाका पारखीले नग्नताभित्र काव्यिक सौन्दर्य (Aesthetic beauty) देख्छन् ।

अराजकता, नग्नता र अश्लीलताले राजनीति कुरुप बन्न सक्छ । तर साहित्य, कला र संगीत भने सुन्दर हुन्छ । उदाहरणका लागि विश्वका चर्चित चित्र र मूर्तिहरु हेर्न सक्नुहुन्छ । भिन्सीले आफ्नो चर्चित चित्र ‘मोनालिसा’लाई सुरुमा नाङ्गै कोरेका थिए रे । पछि फेरेका हुन् भन्छन् । ‘मोनालिसा’ लाई नाङ्गै कोरेको भए यो चित्र अझै कलात्मक र आकर्षक हुने थियो । कामुकताको कारणले होइन, कलात्मकताका कारणले । त्यस्तै एन्जेलोले कुँदेका केही चर्चित मूर्तिहरु निर्वस्त्र नै छन् ।

खाली बाहिरका कुरा मात्रै गर्छ नभन्नुहोला । हाम्रै कलाकारले बनाएका चित्र र मूर्ति हेर्नुस् त । नग्नता र अश्लीलताले नेपालमा मात्रै होइन विश्वभर लोकप्रिय छन् । मन्दिरको ढोकामाथि अश्लीलता छ तर त्यो कामुकता होइन । अध्यात्म र कलाको संयोजन हो जसले अरुभन्दा मौलिक देखाउँछ । विगतका शासकहरु अनुदार भएका भए न भिन्सी जन्मन्थे, न एन्जेलो । न अरनिको नै । न तपाईंले ‘मन्दिरै मन्दिरको देश’ भनेर गर्व गर्न पाउनुहुन्थ्यो । न मैलै पाउथेँ ।

अनि हिजो मात्रै सरकारले भिटेन नामका चर्चित र्‍यापरलाई पक्राउ गरेर थुनेको समाचार लेख्दा मेरो मन भित्र-भित्र रोइरहेको थियो । ‘प्रधानमन्त्री ज्यू, भिटेनलाई थुनेर गल्ती गर्नु भो !’ भन्न चाहन्छु ।

भिटेन पनि एउटा कलाकार हुन् । उनका गीत मैले नि सुनेको छु । शब्द कस्ता राखेका रहेछन् भनेर सरकारको जस्तो चियोचर्चो गर्न होइन । युवा पुस्ताको भावना उनले कसरी गीत र संगीतमार्फत् व्यक्त गरेका रहेछ्न् भनेर सुन्छु । उनले आफ्नो पुस्ता जस्तो देखे, त्यस्तै गीत लेखे अनि त्यस्तै गाए । यसमा आपत्ति गर्नुपर्ने कुनै कारण नै छैन जस्तो लाग्छ ।

दिशाविहीन आफ्नो पुस्ता देखेपछि ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने कुरा भिटेनको मनमा फुर्‍यो होला ? अनि यसैलाई सजाउँछु भन्दाभन्दै अश्लील शब्द प्रयोग गरे होलान ? किनभने उनको पुस्ताले अश्लीलतालाई सामान्य रुपमा लिन्छ ।

जीवनबाट निराश बनेर कसैले ‘….. जस्तो जिन्दगी’ भनेर गीत लेख्न र गाउन सक्ला । एउटा त यस्तै खाले गीत पनि छ क्यारे ! सुरुमा सुन्दा उक्त गीतमा मेरै पीडा लुकेको जस्तो लागेको थियो ।

अनि तपाईंहरुलाई ‘र्‍याप भनेको झ्यापमा गाउने गीत’ जस्तो लाग्ला । कसैले झ्याप भएर गायो होला । त्यो अर्कै कुरा हो । तर र्‍याप भनेको आफूलाई मात्रै होइन, अरुलाई गाली गर्ने माध्यम पनि हो । गाली गर्दा जो आउँछ त्यही भन्ने संगीतको एक विधा हो, र्‍याप । अमेरिकी अश्वेतसँग जोडिएको यसको इतिहासबारे यो पत्रमा चर्चा गर्न चाहन्नँ ।

अन्त्यमा, समाज अभाव र गरिबीले आक्रान्त छ । समाजमा बेरोजगारी व्याप्त छ । भ्रष्टाचारले मुलुक नै थिलथिलो भइसकेको छ । गरिबीको कारण खोज्नुस् । बेरोजगारी हटाउने योजना ल्याउनुस् । भ्रष्टाचारलाई जरैदेखि उखेलिदिनुस् । गरिबी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध चलाउनुस् नै अनुशासनको छडी ! यसबाट तपाईंको मात्रै होइन, मुलुकको समेत कल्याण हुनेछ ।

राजनीति विकृत हुँदैछ । राजनीति सेवा होइन, निजी स्वार्थ पूर्ति गर्ने पेशा बनिरहेको छ । यसलाई विकृत बनाउने को हुन् खोज्नुस् अनि कारबाही गर्नुस् । तपाईका पतीत नेता र कार्यकर्तालाई सिकाउनुस् न नैतिकताको पाठ । उनीहरुप्रति अनुदार बन्नुस् अनि पो सबैले ‘वाहवाह’ गर्छन् त !

हजुरको शुभचिन्तक,
सुनिल बराल

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage