यस वर्ष फूल आयात घट्यो

काठमाडौं, ११ कात्तिक । तिहारको समयमा आवश्यक फूल गत वर्षको तुलनामा यसवर्ष बढी उत्पादन भएको छ । गत वर्ष २० प्रतिशत फूल विदेशबाट आयात गर्नु परेको भएपनि यो वर्ष भने १२ प्रतिशत मात्रै फूल बाहिरबाट ल्याईएको नेपाल फ्लोरीकल्चर एशोसीएसनले जनाएको छ । नेपालमा तिहारको समयमा मात्रै २५ लाख माला आवश्यक पर्ने गर्छ ।
यो वर्षभने गाउँगाउँमा फूल उत्पादनमा बढेकाले विदेशी फूलको आयात घटेको एशोसीएसनले जनाएको छ । यो वर्ष १८ लाख सयपत्री माला आवश्यक पर्ने अनुमान गरिएकोमा नेपालले साढे १५ लाख ७५ हजार माला हुने सहपत्री फूलको उत्पादन गरेकाले विदेशी फूलको आयात घटेको एशोसीएसनका कार्यक्रम संयोजक जगंबहादुर तामाङले बताए ।
तिहार बाहेकका समयमा फूलको माग कम हुने हुँदा फूल उत्पादनमा किसानहरु सक्रियताका साथ लाग्न नसकेका पनि उनले बताए । नेपालमा एकसय ९७ हेक्टरमा सातसय व्यवसायीले व्यवसायीक रुपमा फूल खेति गरिरहेका छन् । पुष्प व्यवसायीको संख्या बढ्दै गएमा नेपाल केहि वर्षभित्रै फूलमा आत्मनिर्भर बन्न सक्ने संयोजक तामाङको भनाइ छ । नेपालले गत वर्ष २ अर्ब भन्दा बढिको फूलको कारोबार गरेको थियो ।