scheduleआइतवार जेष्ठ २ गते, २०७८

तिहारमा दिदीबहिनीको हातबाट किन लगाइन्छ टीका ?

काठमाडौं, ११ कात्तिक । भाइटीकालाई यमद्वितीया पनि भनिन्छ । त्यसो त तिहारको पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको अन्तिम दिन भाइटीका लगाइन्छ । कार्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकालाई किन यमद्वितीया भनियो त ? विभिन्न कथा र पुराणहरुमा यसको सन्दर्भ पाइन्छ ।

सूर्यदेवकी पत्नी सन्ध्याबाट यम र यमीको जन्म भएको थियो । यम अर्थात् यमराज र यमी अर्थात यमुना । यमराज र यमुना दाजुबहिनी हुन् । यमराजलाई यमलोकमा बसी पापपुण्यको छिनोफानो गरेर पापीहरुलाई दण्डित गर्ने भयंकर रुपका रुपमा बुझ्ने गरिन्छ । उनी सधैं व्यस्त हुँदा बहिनीसँग लामो समय भेट हुन पाएको थिएन ।

एकदिन बहिनी यमुनाले यमराजलाई सन्देश पठाउँछिन् । त्यसपछि यमराज बहिनी यमुना कहाँ पुग्छन् । यमराज यमुनाको घरमा पुगेको दिन कार्तिक शुक्ल द्वितीयाको दिन थियो । अकस्मात् दाजुलाई आफ्नो घरमा देखेपछि हर्षविभोर भएकी यमुनाले दाजु यमराजको श्रद्धापूर्वक स्वागत सत्कार गरी मिष्ठान्न भोजन खुवाउँछिन् ।

यसबाट प्रसन्न भएका यमराजले यमुनालाई कार्तिक शुक्ल द्वितीयाको दिन जो दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएर भोजन गराउँछन् र जो दाजुभाइले दिदीबहिनीको सत्कार ग्रहण गर्छन् ती दाजुभाइ दिदीबहिनीलाई यमराजको भय नहुने वरदान वरदान दिएर यमलोक फर्किएको कथाहरुमा उल्लेख छ । त्यसपछि यमराज हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाकै दिन बहिनी यमुनाकहाँ जाने र दिनभर बस्ने पौराणिक कथाहरुमा उल्लेख छ ।

साथै जोकोहीले यमुनामा स्नान गरी दिदीबहिनीको घरमा गई दिदीबहिनीको सत्कार र दिदीबहिनीले बनाएको भोजन ग्रहण गर्छन् तिनको लामो आयु हुने पनि विश्वास गरिन्छ ।

यमराज र यमुनाले सुरु गरेको भएर यसलाई यमद्वितीया भन्ने गरिएको हो । भाइटीकाको दिन यमराज र यमुनाको पनि सम्झना गरिन्छ र पूजा गर्ने चलन छ ।

पुराणहरुमा यमुना नदी नै यमुना भएको बताइन्छ । कार्तिक शुक्ल द्वितीयाको दिन अर्थात यमद्वितीयाको दिन यमराजको पूजा गरी यमुनामा स्नान गर्नेले यमलोकमा यातना भोग्नु नपर्ने कुरा पनि उल्लेख छ । साथै यमद्वितीयाको दिन यमराज यमुनालाई भेट्न यमुना नदीमा आउने विश्वास पनि गरिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय