scheduleसोमवार मंसिर २ गते, २०७६

‘विपीको समयमा जस्तो कांग्रेस प्रष्ट र धारिलो बन्न सकेन’

प्रदीप पौडेल

नेपाललाई कसरी समृद्ध बनाउने ? यो नेपाली राजनीतिको लागि अहिलेको सबैभन्दा महत्वपूर्ण कार्यभार हो । यही संविधानभित्रका आधारभूत विषयहरुमा टेकेर हामीले नेपालाई समृद्ध बनाउन सक्छौं भन्ने कांग्रेसको विश्वास छ । शासकीय स्वरुपको विषय, राज्य संयन्त्रको विषय, यससँग जोडिएर विकास गरिएको धार्मिक-साँस्कृतिक विषयलाई आत्मसात गरेर देश समृद्ध बनाउन सक्छौं भन्ने कांग्रेसको विश्वास हो ।

यो संविधानले पूर्णतः लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरेको छ भन्ने हाम्रो विश्वास छ । तर, संविधानको कागजमा राम्रा कुराहरु लेखेर मात्रै नेपाल समृद्ध हुन सक्दैन । हाम्रो समृद्ध नेपाल बनाउने योजना के हो ? विकसित नेपाल बनाउने योजना के हो ? नेपाललाई अल्पविकसित देशहरुको सूचीबाट माथि लैजाने हाम्रो योजना के हो ? तेस्रो विश्वबाट नेपाललाई पहिलो विश्वमा लैजाने हाम्रो योजना के हो ? दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने हाम्रो योजना के हो ?

यति सुन्दर देशलाई संसारका मान्छेहरु ल्याएर नेपाल चिनाउने, घुमाउने र पर्यटनको विकास गराउने हाम्रो योजना के हो ? हामीले अहिले पनि बिजुलीको मूल्य संसारमा सबैभन्दा बढी तिरिरहेका छौं । निःशुल्क बिजुली उपलब्ध गराउने हाम्रो योजना के हो ? इन्धनमा हामीले यतिधेरै पैसा खर्च गरिरहेका छौं । सबै सवारी साधन बिजुलीबाट चल्ने, हामीले लगाउने कपडा बिजुलीबाट धुने, हामीले खाना बिजुलीकै प्रयोग गरेर पकाउने, यी सबै कामहरु गर्न हामीसँग यथेष्ट मात्रामा बिजुली उत्पादन गर्न सक्ने क्षमता छ । त्यसलाई व्यवहारिक कार्यान्वयन गर्ने हाम्रा योजनाहरु के हुन् ?

नेपालमा यति ठूलो बेरोजगारीको समस्या छ । यसलाई कसरी हल गर्ने ? विदेशमा जानु रहर होइन, बाध्यता हो । यस्तो बाध्यताबाट नेपाली युवालाई कसरी मुक्त गराउने ? हाम्रो जनसंख्याको मध्यम उमेर भनेको २३/२४ वर्ष हो । यो कुरा भारतको जनसंख्यामा पनि छैन, चीनको जनसंख्यामा पनि छैन । हाम्रो जनसंख्यामा यतिधेरै युवाहरुको उपस्थिति छ । यो श्रम शक्तिलाई नेपाल निर्माणमा लगाउने हाम्रो योजना के हो ? विश्वभरीमा नेपाली युवा धेरै शोषणमा परेका छन् । त्यो शोषणबाट उनीहरुलाई मुक्त गर्ने हाम्रो योजना के हो ? नेपाली बालबालिकाहरु गरिबीका कारण अस्वस्थ छन् । बालबालिका अस्वस्थ हुँदा नेपालको भविष्य स्वस्थ हुँदैन । यसर्थ, स्वस्थ बालबालिका जन्मने र हुर्कने अवस्थाको निर्माण हामीले कसरी गर्ने ? युवाको क्षमता विकासका निम्ति राज्यले खेलकूदमा लगानी कसरी गर्ने ? साँस्कृतिक फाँटमा लगानी कसरी गर्ने ? व्यक्तिको क्षमता विकासका लागि चलचित्र, साहित्य लगायतका क्षेत्रमा राज्यको लगानी वृद्धि कसरी हुन सक्छ ? राज्य यी सबै क्षेत्रमा लगानी गर्न कसरी स्रोत-साधन सम्पन्न हुनसक्छ ?

यी सबै विषयहरुमा हाम्रो प्रष्ट दृष्टिकोण हुनुपर्छ । एउटा स्पष्ट ‘ब्लु प्रिन्ट’का साथ हामी अगाडि आउन सक्नुपर्छ । एउटा स्पष्ट दृष्टिकोणबिना हामी अगाडि बढ्न सक्दैनौं ।

कांग्रेसः विपीदेखि जिपीसम्म

यसको लागि हामीले विपीदेखि जिपी (गिरिजाप्रसाद) कोइराला हुँदै देउवासम्मको कार्यकाललाई समीक्षा गर्नुपर्छ । मलाई लाग्छ, लोकतन्त्रप्रतिको निष्ठाको दृष्टिले विपी र जिपी उस्तै हुन् । नेपाली समाजमा बहुलवादलाई संस्थागत गर्ने मामलामा उहाँहरु दुवै प्रष्ट हुनुहुन्थ्यो । उहाँहरु दुवैको अतुलनीय योगदान छ । त्यसमा दुईमत छैन । तर, विपीभन्दा जिपी के कुरामा कमजोर हुनुहुन्थ्यो ? मुलुक निर्माणको सैद्धान्तिक पक्षमा यी दुईबीच सैद्धान्तिक दरार देखिन्छ ।

समाजवादको दृष्टिकोणमा विपी जत्तिको जिपी प्रष्ट हुनुहुन्थेन । आर्थिक दृष्टिमा, सामाजिक विभेदलाई अन्त्य गर्ने विषयमा, सबै जाति समुदायलाई राज्यको मूल प्रवाहमा प्रतिनिधित्व गराउँदै नेपाली समाजलाई समावेशीकरण गर्ने सवालमा विपीजस्तो धारिलो पछिल्लो समय काँग्रेस नेतृत्व हुन सकेन । मुलुकलाई समृद्ध बनाउने सवालमा नेपालमा विद्यमान सबै प्रकारका विभेदहरुको अन्त्य गर्नु जरुरी छ । नेपाली समाजमा विद्यमान विभेदलाई अन्त्य गराउने सैद्धान्तिक प्रतिवद्धता मात्र होइन, विपीले त व्यवहारिक कार्ययोजना पनि ल्याउनु भयो । त्यसकारण विपीको समयमा सबै बिषयमा कांग्रेस जति प्रष्ट थियो, त्यति प्रष्ट पछिल्लो समय हुन सकेन ।

समावेशिताको सवालमा, आर्थिक मामिलाहरुमा, समाजवादको विषयमा नेपाली कांग्रेस पछिल्लो समय विपीको समयमा जस्तै प्रष्ट हुन नसकेकै हो । यसर्थ, सैद्धान्तिक सवालमा विपी बाहेक कांग्रेसमा अर्को विकल्प छैन । उहाँले जति पनि विषयहरुलाई व्याख्या गर्नुभयो, त्यही व्याख्या नै कांग्रेसको आधिकारिक दस्तावेज हो । तर, यसलाई आजको सन्दर्भमा अद्यावधिक नगरी, सुधार नगरी हामी अगाडि बढ्न सक्दैनौं । विपी कोइराला भनेको परिवर्तनलाई आत्मसात गर्न सक्ने व्यक्ति हुन् । त्यतिबेला विपी कोइरालाले जे भन्नुभयो, त्यही कुरा लागू गर्दा त विपी विरोधी भइन्छ । त्यसबाट परिवर्तनलाई आत्मसात गरेको मानिँदैन । त्यसैले त्यसलाई अद्यावधिक गर्न जरुरी छ ।

नेपाली समाज विपी कोइरालाको समयजस्तो अहिले छैन । नेपाली समाजको आवश्यकता फेरिएको छ । स्वरुप फेरिएको छ । हाम्रा चाहनाहरु फेरिएका छन् । अन्तर्राष्ट्रिय जगतसँग हाम्रा सम्बन्धहरु हिजोको भन्दा अहिले फरक अवस्थामा छ । भूमण्डलीकरणको जमानामा नेपाली समाज नितान्त फरक बनेको छ । त्यसैले विपी कोइरालाे भन्नुभएको बहुदलीय लोकतान्त्रिक समाजवादको जगमा उभिएर हामीले ‘कन्टेन्ट’लाई बदल्न जरुरी छ ।

सरकारी नियन्त्रणमा रहेका उद्योगहरुलाई निजीकरण गर्ने कुरा शतप्रतिशत गलत थियो म भन्दिनँ । शिक्षाको मामिलामा हिजो कांग्रेस सरकारमा रहँदा जे गर्‍यो, त्यो विपीको आदर्शअनुरुप थिएन । स्वास्थ्यको सवालमा जेजस्ता निर्णयहरु गरियो, त्यो विपीको समाजवादमा आधारित होइन । यी सवालहरुमा नेपाली कांग्रेसले गल्ती गरेको हो । यो कुरालाई सच्याउन आवश्यक छ । सच्याएर के गर्नुपर्थ्यो भन्ने कुरा प्रष्ट्याउन आवश्यक छ ।

शिक्षा र स्वास्थ्यमा यो ढंगको निजीकरणले हामीले समाजवादको लक्ष्य प्राप्त गर्न सक्दैनौं । लोकतान्त्रिक समाजवाद हासिल गर्न सक्दैनौं । १६ वर्षको एउटा किशोर वा किशोरीको मुटुमा प्वाल पर्‍यो । उपचार गर्न अस्पताल गयो । अनि बाबुआमा गरीब भएको कारण उसले उपचार गर्न नसक्ने अवस्था आयो भने राज्यले उसलाई नागरिकता दिएर मात्रै आफ्नो दायित्व पूरा गरेको हो भनेर मान्न मिल्छ ? अनि त्यो राज्यलाई लोककल्याणकारी, समाजवादी भन्न मिल्छ ?

नेपालमा दुई खाले शिक्षा छ । यस्तो शिक्षा प्रणाली काँग्रेसले मात्रै विकास गर्‍यो म भन्दिनँ । अरु दलसँग पनि यो भन्दा फरक शिक्षा नीति छ भन्ने लाग्दैन । यस्तो खालको शिक्षा नीति विकास गर्ने कुरामा तुलनात्मक हिसाबले कांग्रेसको योगदान बढी रह्यो भन्ने कुरा मान्न म तयार छु । नेपालमा शिक्षा त निःशुल्क छ तर यो निःशुल्क शिक्षा गुणस्तरहीन छ । गुणस्तरीय शिक्षा निःशुल्क छैन । मैले यहाँ समस्याहरुको चिरफार गरिरहँदा समस्याको पहिचान (डाइग्नोसिस) सँगै समाधानका उपाय (प्रेस्क्रिप्सन) को पनि सम्बोधन भइरहेको छ ।

निजी क्षेत्रको सहभागिता शिक्षामा हुनुहुँदैन भन्ने होइन । सरकारले आवश्यक विद्यालय खोल्न सक्दैन भने निजी क्षेत्रले विद्यालय खोल्ने भयो । तर, निजी विद्यालयमा पढ्ने विद्यार्थीको शुल्क सरकारले तिरिदिनुपर्छ । त्यो पूर्णरुपमा निःशुल्क हुनुपर्छ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सरकारले निःशुल्करुपमा उपलब्ध गराउनुपर्छ । निजी क्षेत्रको उपस्थिति पनि त्यहाँ हुन्छ । हो, सरकारले एक्लै देशमा चाहिने अस्पताल खोल्न नसक्ने हुनसक्छ । निजी क्षेत्रले अस्पताल खोल्यो । त्यहाँ नागरिकको उपचार हुन्छ । तर नागरिकले उपचार गरेबापतको खर्च राज्यले तिर्नुपर्छ ।

कोखदेखि शोकसम्म राज्यको दायित्त्व

राज्यले सबै क्षेत्रमा नियन्त्रण गर्नुपर्छ भन्ने होइन, नियमन गर्नुपर्छ तर, सबै क्षेत्र राज्यले चलाउनुपर्छ भन्ने होइन । तर, शिक्षा र स्वास्थ्य क्षेत्र सरकाले सञ्चालन गर्नुपर्छ । हाम्रो जस्तो देशमा यातायात क्षेत्रको पनि नेतृत्व सरकारले गर्नुपर्छ । यी आधारभूत विषयहरुमा राज्यले आफ्नो उपस्थिति जनाउन सकेन र निजी क्षेत्रको स्वामित्व र नियन्त्रणमा गयो भने राज्य समाजवादी हुन सक्दैन । जनताले साँच्चै लोकतन्त्रको अनुभूति गर्न सक्दैनन् ।

लोकतन्त्र शब्द मात्रै हो भने त त्यो अर्कै विषय भयो । त्यसलाई जतिचोटि उच्चारण गरे पनि भयो । तर, लोकतन्त्र साँच्चै जनताले अनुभूति गर्ने विषय हो भने शिक्षा, स्वास्थ्य र यातायात जस्ता विषयहरुमा राज्यले नेतृत्व गर्नुपर्छ । ती क्षेत्रमा सबै जनताको पहुँच हुनुपर्छ । यी क्षेत्रको गुणस्तीय सेवा निःशुल्क हुनुपर्छ । यी आधारभूत आवश्यकता हुन् । त्यसपछि सामाजिक दायित्त्व राज्यले बहन गरेको हुनुपर्छ । नेपाली कांग्रेसले घोषणापत्र लेख्दा कोखदेखि शोकसम्म भन्यो । मान्छे जन्मिनुभन्दा अगाडि आमाको कोखमा हुँदा पनि राज्यले दायित्त्व लिनुपर्छ । मरिसकेर अन्त्येष्टि गर्दासम्म पनि राज्यले दायित्त्व महसुस गर्नुपर्छ । त्यो बीचमा बाँचिरहँदा त राज्यले नागरिकका लागि थुप्रै कामहरु गर्नुपर्छ । सामाजिक सुरक्षा प्रदान नगरिएको स्थिति पुँजीवादी धारणाभन्दा फरक होइन । सामाजिक दायित्त्व निर्वाह गरेको अवस्था मात्रै समाजवादी बाटो हो जस्तो मलाई लाग्छ ।

प्राथमिकता स्पष्ट गरौं

त्यस्तै, राज्यले उत्पादन कसरी गर्ने ? उत्पादनको क्षेत्र के हो ? उत्पादनलाई कसरी विस्तार गर्ने ? भन्ने सन्दर्भमा मुलुकमा सुशासन आवश्यक हुन्छ । सुशासन नहुँदा नागरिकले न्याय प्राप्त गर्न सक्दैन । असत्यमाथि सत्यको विजय हुन सक्दैन । भ्रष्टाचारको अन्त्य हुन सक्दैन । विभेदको अन्त्य हुन सक्दैन । नेपालमा उद्योगधन्दा फस्टाएर नेपाल औद्योगीकरणको बाटोमा जान सक्छ । नेपालमा आत्मनिर्भरता विकास हुन सक्छ । त्यसैले राज्यले सुशासन कायम गर्न सक्नुपर्छ । पूर्वाधारको विकास गर्न सक्नुपर्छ । प्राथमिक आवश्यकताहरु के हुन् ? यसको निर्धारण गर्न सक्नुपर्छ । लामा लामा सैद्धान्तिक कुराहरु गरेर हामी गन्तव्यसम्म पुग्ने बाटोहरु खुल्दैनन् ।

त्यसैले, ठोस ढंगले नेपालमा हामीले के गर्ने ? पहिलो प्राथमिकता के हो, दोस्रो र तेस्रो प्राथमिकता के हो ? हामी एकदमै धेरै अनावश्यक कुराहरुमा अल्झिरहेका छौं । निजगढ विमानस्थल बनाउनु हाम्रो प्राथमिकता हो भने राज्यले प्राथमिकतामा राखेर बजेट विनियोजन गरिरहेको छ त ? छैन । सरकारले सांसदलाई ६ करोड पैसा दियो । त्यो रकम सही ठाउँमा खर्च हुन्छ त ? सबै सांसदको ६ करोड एकमुष्टरुपमा निजगढको विमानस्थल बनाउन खर्च गरेको भए के हुन्थ्यो ? यसको अर्थ सरकार प्राथमिकतासहित आउनुपर्‍यो । प्राथमिकतासहित आउँदा मात्र हामी एउटा लक्ष्यमा पुग्न सक्छौं । अहिलेको आवश्यकता यही हो ।

(नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको रुपान्तरणको बहस स्तम्भ हरेक बिहीबार प्रकाशित हुनेछ )

रुपान्तरणको बहस स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरु-

१. कांग्रेसमा पुनर्जागरणको बहसः के गर्दैछ नयाँ पुस्ता ?

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage