scheduleसोमवार मंसिर २ गते, २०७६

जनजाति आन्दोलन जारी छ

ज्योति दनुवार

केही देखिजान्ने र केही सुनिजान्ने कुराबाट शुरु गरौं । ०४७/४८ सालतिर हो, जनजाति महासंघको संघीय परिषद बैठकमा अहिले पनि एकथरीलाई उग्र लाग्ने विषयहरु छलफल हुन्थ्यो । जस्तै- भाषिक स्वतन्त्रताको कुरा, जातीय स्वायतत्ताका कुरा, आत्मनिर्णयका अधिकारका कुरा, प्रत्येक जाति एउटा राष्ट्र हो भन्ने कुरा, हिन्दू कुलीनताले नेपाललाई विकास गर्नबाट रोकेको कुरा । र अन्त्यमा काँग्रेस र कम्युनिष्ट बाहेक छुट्टै पहिचानवादी वैकल्पिक राजनीतिक धारको आवश्यकताको कुरा । बहस गर्ने पैरोकारहरु हुन्थे– पद्मरत्न तुलाधर, रामानन्दप्रसाद सिंह र सुरेश आले मगरहरु । यसो फर्केर हेर्छु, बहस त अहिले पनि त्यही छ । तर पैरोकारहरु बदलिएका छन् । अहिलेका पैरोकारहरु हुन्– डा. बाबुराम भट्टराई, अशोक राई र उपेन्द्र यादव ।

माओवादी जनयुद्ध शुरु भयो । बहसको केन्द्रमा फेरी पनि जनजाति आन्दोलनकै एजेण्डाहरु रहे । उडान लिन नसकिरहेको जनयुद्धले जनजातिका एजेण्डाहरु समातेपछि र डा. बाबुराम भट्टराईले जनपरिषदको नेतृत्व लिएपछि बेपत्ता गति लियो । र, अन्ततः समानान्तर राज्यको निर्माण भयो । ०६२/६३ को जनआन्दोलनले हल्का धक्का दिएपछि २४० वर्षदेखि मक्किएको राज्यव्यवस्था धर्मराएर ढल्यो । तर एकल जातीय प्रेतात्मा रहिरह्यो । चाल, चेहरा, चरित्र बदलिएन ।

उपेन्द्र यादवले ०६३ सालमा मधेशी जनाधिकार फोरमलाई राजनीतिक दलको रुपमा दर्ता गराउनुभन्दा अघि जनजाति महासंघसँग पनि परामर्श गरेका थिए र वैकल्पिक राजनीतिक दलको स्थापनामा सहकार्य गर्न अनुरोध गरेका थिए । यो मैले सुनेको कुरा भयो । ठीक बेठिक के थियो, भन्नेहरुले जानून् । त्यसयता बागमतिमा धेरै पानी बगिसक्यो । तर त्यो बेलामा जनजातिहरु कम मैमत्त थिएनन् । १० वर्षे जनयुद्धमा उत्कृष्टताको दम्भ त थियो नै । संगै ०६२/६३ को जनआन्दोलनमा अखिल नेपालभरी जनजातिलाई सडकमा पोखाएको घमण्ड पनि थियो । र, प्रचण्डमाथि आशा भरोसा थियो । फलतः फेरी माओवादीका लागि बलिदान हुने निर्णय गरे जनजातिहरुले । उपेन्द्र यादव आफ्नो बाटो लागे ।
प्रथम संविधानसभामा जनजातिहरुले ककस गठन गरे । धेरै हैन, पाण्डवले जस्तै पाँच ग्रामको माग गरे । तर दुर्योधनहरुले एक वित्ता जमीन पनि दिन मानेनन् । एक्लो बाबुरामलाई चक्रव्यूहमा फसाईयो, अभिमन्यू बनाईयो । रुपान्तरण हुन नचाहने राज्य, अदालत र शकुनी दलहरु मिलेर, घेरा हालेर प्रथम संविधानसभालाई हत्तोहतः पारियो । त्यस यता महाभारत कथा नेपालमा जारी छ ।

वैकल्पिक राजनीतिकै खातिर अशोक राईले एमाले छोडे । चैतन्य सुब्बा र कुमार राईहरुले काँग्रेस छाडे । तर यहाँ पनि छुवाछुत गएन । दुवै आ–आफ्नो बाटो लागे । एउटाले खिलराज रेग्मीको चुनाव सकार गरे, अर्कोले बहिष्कार । तर जनजातिका मुद्दामा आधारित दुवै पार्टीको वैकल्पिक राजनीतिको लालसा मरेन । यही लालसाको उपज एउटाले उपेन्द्र यादवसँग सहकार्य गर्न पुगे भने अर्को डा. बाबुरामसँग ।


नयाँ शक्ति र संघीय समाजवादीको मिलनपछि वैकल्पिक राजनीतिले एउटा कोर्स समात्यो । यता जनजातिहरु, जसले पहिचानको कुरा गरे, स्वायत्तता, राज्य रुपान्तरणका कुरा गरे, वैकल्पिक राजनीतिका कुरा गरे, उनीहरु अलमलिएर, हतासिएर बेपत्ता हैरान छ । तर नेपालको ईतिहासमा अहिलेसम्म एउटा स्वयंसिद्ध तथ्य छ । त्यो के भने, जसले जनजातिका प्रगतिशील एजेण्डाहरु बोके, उसले नेपाल खायो । जसले जनजातिलाई रुवायो, उसको पतन भएर गयो । केही उदाहरणहरु हेरौं ।

पृथ्वी शाहले मगर गुरुङलाई साथमा लिए, नेपाल फतह गरे । नेवारको संस्कृतिसंग को–अप्ट गरे, २४० वर्षे शासनको आधारशीला कायम गरे । राणाहरुले थारु र जनजातिलाई स्थानीय स्वायतत्ता र जमिन्दारी दिए, १०४ वर्ष खाए । काँग्रेसले नारदमुनी थुलुङ र रामप्रसाद राईहरु जन्माए, २००७ सालदेखि २०७४ सालसम्म सुदब्याजसहित असुले । एमालेले पुष्पलाललाई निचोरेर सिठ्ठी बनाईहाले, अब अन्तिम भोज खाँदैछन् ।

प्रचण्डको बारेमा त सिङ्गो प्याराग्राफ लेख्नुपर्ला । जनजातिलाई भरपुर खेलाउने खेलाडी यिनी जो परे । यिनले पहिलो खेल त जनजातिका एजेण्डाहरुलाई विषयान्तर गरेर खेले । महाभुकम्पपछि १६ बुँदे सम्झौतामा एकात्मक राज्यका हिमायतीहरुसंग सम्झौता गर्न पुगे भने असोज ३ मा जनजातिका आकाङ्क्षाहरुको दाहसंस्कार । दोस्रो खेल यिनले शान्ति प्रक्रियाका जिम्मेवारी पुरा नगरेर खेलेका छन् । हजारौं जनजाति लडाकाहरुलाई बिचल्लीमा पारिदिएका छन् । हजारौंको जीवन बर्बाद पारेका छन् । उता आफ्ना नातागोता र जीवनलाई स्वर्गतुल्य हुनेगरी सपारेका छन् ।

यसरी हेर्दा ईतिहासदेखि वर्तमानसम्म सबै शासकले शुरुमा जनजातिलाई सत्ता उक्लिने भर्‍याङ बनाए । र, अन्त्यमा जनजातिलाई धुरुधुरु रुवाएका छन् ।

पृथ्वी शाहले बोराका बोरा जनजातिलाई अरुणमा फाले । राणाले लखन थापाको हत्या गरे । काँग्रेसले बलबहादुर राई र भीमबहादुर तामाङलाई मर्ने बेलामा धुरुधुरु रुवाए । गणेशमानलाई जातिवादी भने र अपमानपूर्वक किनाराकृत गरिदिए । एमालेले डिकेन राजवंशीलाई पार्टी कार्यालयमा झुण्डिन बाध्य पारिदिए । र, प्रचण्डले हजारौं राजवंशीहरुलाई जिन्दा मुर्दा शहीद बनाईदिए ।

तर पनि जनजातिहरुको जिजिविषा मरेको देखिएन । एजेण्डा ज्युँकात्युँ छन् । डा. हर्क गुरुङले नेसन बिल्डिङ्गको सपना देखे । जनजातिले पनि डा. हर्कसँगै त्यो सपना देखे र त्यो सपना जीउने प्रयास गरिरहे । त्यो सपना पृथ्वी शाहले भौगोलिक एकीकरण गरेजस्तै नेपालको भावनात्मक एकीकरणसँग सम्बन्धित छ ।

तराईका थारु, राजवंशीहरुलाई पनि आदिवासी जनजाति भूमिपुत्र हुनुको बोध त्यै जनजाति आन्दोलनकै देन हो । जनजाति आन्दोलनले ‘अन्यकरण’लाई खुला चुनौती दिए । र, समावेशीकरण मुलप्रवाहीकरणको अवधारणालाई सैद्धान्तिक आवरण दिए । सबभन्दा महत्वपूर्ण कुरा, यो आन्दोलनले निरन्तर प्रगति र परिवर्तनको लागि जमिन दिए । आज नेपालमा जेजस्तो परिवर्तन छ, त्यसमा जनजातीय भावनाको हस्तक्षेपले निर्णायक भूमिका खेलेको छ । तर सपना अधुरो छ ।

जनजाति आन्दोलनलाई बदनाम (स्टिग्मेटाईज) नगरिएको भने होईन । जातीय कुरा गर्ने भनेर छिःछिः दुरदुर गरियो । विखण्डनकारी भनियो । क्रिश्चियनहरुको डिजाईन भनियो । भारतको डिजाईन पनि भनियो । साम्प्रदायिक भनियो । युगाण्डा र ईथियोपियाको कुरा गरियो । र, तथानाम गरियो ।

तर ती सबै आरोपहरु निदानको उद्देश्यले लगाईएको होईन । आन्दोलनलाई निस्तेज गर्न गरियो । र, आन्दोलन निस्तेज भयो पनि । तर प्रश्न फेरी पनि बाँकी रहिरह्यो । एजेण्डाहरु मर्‍यो त ?

सबैको मुख थुनियो । तर डा. बाबुरामको मुख थुन्न सकिएन । त्यो किनभने उनी वैज्ञानिक हुन् । उनी तथ्य र सत्य बोल्छन् । उनी विज्ञान बोल्छन् । आज उनले थारु र जनजातिसंग ज्यादत्ती भएका छन् भनेर भन्दा जातीय शासकहरुको मुटु थरर्र काम्छ । तर, आम जनसमुदायमा उनको बोली वचनले सकारात्मकता भर्छ । न्याय र समानता हुनुपर्छ भन्ने पक्षमा आम मनोविज्ञान एकाकार हुन्छ । वास्तवमा जनजातिका मुद्दाहरुसँग त्रसित हुनुपर्ने कुरा केही पनि छैन । डम्बर खतिवडाको शब्द सापटी लिने हो भने ‘प्रेमपूर्ण स्पर्श’ को आवश्यकता छ । अर्को शब्दमा ‘हिलिङ्ग टच’ गरे हुन्छ । तर, चोर फटाहाहरु त्यति पनि गर्न चाहँदैनन् । त्यो किनभने उनीहरु त्यसपछि नाङ्गिन्छन् ।

त्यसैले भन्नैपर्ने हुन्छ, जनजाति आन्दोलन जारी छ । बुलेटले हुन नसकेको फतह अब ब्यालेटले हुन्छ । शालीन, शान्त, सभ्य र भव्य जनजाति आन्दोलन जारी छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage