scheduleशनिवार जेष्ठ २४ गते, २०७७

जग्गा विवादमा राजस्व अधिकृतलाई जिउँदै जलाइयो

एजेन्सी, १९ कात्तिक । दक्षिण भारतीय राज्य तेलङ्गानामा जग्गासम्बन्धी एउटा विवादमा जिउँदै जलाएर एक राजस्व अधिकारीको हत्या गरिएको छ।

प्रहरीका अनुसार विजया रेड्डी नामक ती महिला अधिकारीलाई सरकारी कार्यालयभित्रै आगो लगाएर हत्या गरिएको हो ।

Dish_Home

सोमवार दिउँसो १:३० बजेतिर अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि साङ्घातिक आक्रमण गरी आगो लगाइएको थियो । उनकै कार्यालयमा भेट्न आएका के सुरेश नामक व्यक्तिले उक्त आक्रमण गरेको प्रहरीको भनाइ छ।

रेड्डीलाई जोगाउन खोज्ने एक पुरुष कर्मचारीको मङ्गलवार उपचारका क्रममा मृत्यु भएको छ। उनलाई बचाउन गएका दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएका थिए।

घटनास्थलमा खिचिएको एउटा हृदयविदारक भिडिओमा रेड्डीले गुहार मागेको र कसैले उनको शरीरमा एउटा कम्बल ओढाइदिएको दृश्य देखिन्छ। प्रहरीले सन्दिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिइसकेको छ । ती व्यक्तिको शरीर पनि आगोले पोलेको छ।

तेलङ्गानाको राजधानी हैदराबादभन्दा ३२ किलोमिटर पर उक्त घटना भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार शरीर जलेर घाइते भएका सुरेश उक्त सरकारी भवनबाट बाहिर भागेका थिए। प्रहरीले उनलाई सडकबाट पक्रेर अस्पताल लगेको थियो ।

आक्रमणमा एक जना मात्रै वा बढी व्यक्ति संलग्न थिए भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सन्दिग्ध सुरेश नजिकैको एउटा गाउँका निवासी हुन्। उनको परिवारले जग्गासम्बन्धी एउटा मुद्दा झेलिरहेका छन् ।

घटनाको विरोध गर्दै तेलङ्गानामा कार्यरत राजस्व सेवाका कर्मचारीहरूको सङ्गठनले तीन दिनसम्म काममा नजाने घोषणा गरेको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय