scheduleबुधवार कार्तिक २७ गते, २०७६

११ हजार वैज्ञानिकको एउटै स्वर- ‘अकल्पनीय अवस्था आउन सक्छ, जलवायु संकट घोषणा गरौं’

एजेन्सी, २० कात्तिक । वैज्ञानिकहरुले पृथ्वीमा जलवायु परिवर्तन थप गम्भीर भएको निष्कर्ष निकालेका छन् । तत्काल जलवायु संकटकाल घोषणा नगर्ने हो भने पृथ्वीमा भयावह अवस्था सिर्जना हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

झण्डै १५३ मुलुकका ११ हजार २ ५८ जना वैज्ञानिकहरुले संयुक्त रुपमा एउटा प्रतिवेदन तयार गरी यस्तो चेतावनी दिएका हुन् । ‘पृथ्वीमा जलवायु संकट प्रस्ट रुपमा देखा परेको’ र यसलाई तत्काल समाधान नगर्ने हो भने पृथ्वीमा आम विनाश निम्तिने उनीहरुको भनाइ छ ।

यसअघि मुख्यगरी वातावरण संरक्षणकर्ता र बामपन्थी राजनीतिज्ञले मात्रै पृथ्वीमा जलवायु संकट देखा परेको बताउँदै आएका थिए । तर वैज्ञानिकको एउटा ठूलो समूहले समेत सोही दाबी गरेका छन् ।

वैज्ञानिकहरुले चेतावनीसँगै जलवायु संकटलाई सामना गर्ने उपाय समेत अघि सारेका छन् । मंगलबार बायसाइन्स नामक जर्लनमा प्रकाशित प्रतिवेदनमा जलवायु संकटलाई सामना गर्न सक्ने नीतिहरु समेत उल्लेख गरिएको छ ।

मंगलबार प्रकाशित प्रतिवेदन यसअघिका विश्वतापमानसम्बन्धी प्रतिवेदनभन्दा फरक छ । जलवायु संकट र समाधानका उपायलाई प्रस्ट रुपमा उल्लेख गरिएका हुनाले यसलाई फरक प्रतिवेदन मानिएको हो ।

मानवीय गतिविध र व्यवहारले हरित गृह ग्यास उत्सर्जन दर बढिरहेको हुनाले जलवायु परिवर्तन थप गम्भीर र संकटपूर्ण मोडमा पुगेको प्रतिवेदनको निष्कर्ष छ । त्यस्तै हरित गृह ग्यास कटौती गर्ने कार्य निकै चुनौतीपूर्ण रहेको पनि वैज्ञानिकहरुले बताएका छन् ।

‘विगत ४० यता जलवायुलाई लिएर विश्वव्यापी छलफल भइरहेका छन् तर केही अपवाद बाहेक हामीले यो विषयलाई सामान्य रुपमा लिँदै आएका छौं र संकट समाधान गर्न असमर्थ बनिरहेका छौं’, प्रतिवेदनमा भनिएको छ ।

उक्त प्रतिवेदन निश्चित सूचकका आधारमा तयार गरिएको थियो । प्रतिवेदन तयार गर्दा जलवायुमाथि मानवीय प्रभाव, ४० वर्षयता उत्सर्जन भएको हरित गृह ग्यासको मात्रा, आर्थिक प्रवृत्ति, जनसंख्या वृद्धिदर, प्रतिव्यक्ति मासु उत्पादन, विश्वव्यापी वन फँडानी र यसबाट उत्पन्न भएको तापमान वृद्धि तथा समुन्द्रको तापक्रम वृद्ध जस्ता सूचकहरु विश्लेषण गरिएको थियो ।

सूचकहरुको विश्लेषणबाट पृथ्वीमा जलवायुको अवस्था भयावह बन्दै गएको निष्कर्ष निकालिएको हो । यसअघि जलवायुको विश्लेषण गर्दा जनसंख्या वृद्धिदरलाई त्यति महत्व दिइएको थिएन । तर नयाँ प्रतिवेदनमा जनसंख्या वृद्धिदरलाई समेत महत्वका साथ उल्लेख गरिएको छ ।

विगत २० वर्षको अवधिमा विश्वव्यापी प्रजनन दरमा व्यापक कमी आएको प्रतिवेदनले बताएको छ । वैज्ञानिकहरुले आर्थिक वृद्धि र जनसंख्यासम्बन्धी नीतिमा ‘साहसिक र आमूल’ परिवर्तन गरेर मानव अधिकार (विशेषगरी महिला तथा बालिका अधिकार) मजबुत बनाउनु पर्ने र सबैलाई परिवार नियोजन सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन् ।

ऊर्जाले समेत प्रतिवेदनमा स्थान पाएको छ । जैविक इन्धन कटौती गरी नवीकरणीय ऊर्जा उपयोगलाई प्रोत्साहन गर्नुपर्ने कार्य पर्याप्त मात्रामा नभएको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनमा विश्वव्यापी रुपमा नै ‘ऊर्जा खपत कम र बचत बढी हुने कार्य’ मा जोड दिनुपर्ने भनिएको छ ।

प्रतिवेदनमार्फत् जमिनमुनि बाँकी रहेको कोइला र तेललाई उत्खनन गर्न नहुने सुझाव समेत दिइएको छ । साथै धुँवा र मिथेन जस्ता  प्रदूषणका अल्पकालीन तत्वमा यथाशीध्र कटौती हुने हो भने जलवायु परिवर्तनको समस्या केही समयमा लागि कम गर्न सकिने उल्लेख छ ।

प्रतिवेदनमा शाकाहारी भोजनमा जोड दिने र माटोले नै कार्वन सोस्ने गरी कृषि कार्य गर्ने हो भने जलवायुको समस्या सामान्य बन्न सक्ने समेत बताइएको छ ।

त्यस्तै अर्थव्यवस्थाबारे समेत प्रतिवेदनमा विस्तृत उल्लेख गरिएको छ । धन थुपार्नुको सट्टा आर्थिक प्रणालीमा सुधार गरी दीर्घकालीन रुपमा नै दीगो बनाउनुपर्ने र विश्वव्यापी असमानता कम गर्नुपर्ने भनिएको छ । जैविक विविधता ह्रास र वनविनाश नहुने नीतिमा जोड दिनुपर्ने कुरालाई प्रतिवेदनमा राखिएको छ । विद्यमान जङ्गललाई फँडानी नगर्ने हो भने विश्वव्यापी तापमान वृद्धि कम हुने उल्लेख छ ।

‘जलवायु संकट’ शब्दावली जलवायु अभियानकर्ताले हाल पृथ्वीमा देखा परेको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्नेतिर सबैको ध्यान जानुपर्ने भनेर प्रयोग गर्दै आएका छन् ।

वातावरण संरक्षणमा सक्रिय द क्लाइमेट मोबिलाइजेशन नामक समूहले संयुक्त राज्य अमेरिकासहित अन्य मुलुकमा जलवायु संकटकाल घोषणा गर्नुपर्ने बताउँदै आएको छ । यस्तो घोषणासँगै संकट समाधानका उपाय समेत लागू गर्नुपर्ने उक्त समूहको सुझाव छ ।

न्यूयोर्क सिटी काउन्सिलले जलवायु संकटकाल घोषणा गरिसकेको छ भने युरोपका अन्य शहरले समेत यस्तो कार्य गर्दै आएका छन् । बर्नी स्यान्डर्स र अलेक्जान्ड्रिया ओकासियो कोर्टेज जस्ता सांसदले जलवायु संकटकाल घोषणा गर्नुपर्ने भनी संसद र सिनेटमा विभिन्न विधेयक पेश गरेका छन् । तर ती विधेयक पारित हुन भने सकेका छैनन् ।

जलवायु परिवर्तनबारे राजनीतिज्ञले मात्रै होइन, १६ वर्षीया बालिका ग्रेटा थुनवर्ग जस्ता वातावरण संरक्षणकर्ताले समेत वकालत गर्दै आएका छन् । वैज्ञानिकको ठूलो संख्याले समेत यो विषयमा संयुक्त आवाज उठाएपछि नयाँ आशा पलाएको छ ।

यो पनिः

१६ वर्षीया बालिकाले यसरी थर्काइन् विश्वका नेताहरुलाई

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage