scheduleसोमवार मंसिर २ गते, २०७६

‘भारतको रणनीतिक घेराबन्दीमा पर्ने त्रासले पाकिस्तानी सेना र तालिवान दोस्त बने’

एजेन्सी, २० कात्तिक । अमेरिकाले हालै सार्वजनिक गरेको संसदीय प्रतिवेदनमा ‘दशकौंदेखि पाकिस्तानले अफगानिस्तानमा सक्रिय तर नकरात्मक भूमिका खेलिरहेको छ’ भनेर उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा इस्लामावादले काबुलमा कमजोर सरकार चाहेको समेत दाबी गरिएको छ ।

डेमोक्र्याट र रिपब्लिकन सांसद सम्मिलित कंग्रेसनल रिसर्च सरभिस (सिआरएस) ले तयार गरेको उक्त स्वतन्त्र प्रतिवेदनमा पाकिस्तानले अफगानिस्तानलाई आफ्नो महत्वपूर्ण छिमेकी मान्ने उल्लेख छ ।

पाकिस्तानले अफगान विद्रोहीसँग सम्बन्ध गाँसेर आफ्नो महत्वपूर्ण छिमेकीमा नकरात्मक भूमिका खेलेको प्रतिवेदनमा भनिएको छ । ‘अमेरिकाले आतंककारी घोषणा गरेको र तालिवानको उपशाखाको रुपमा रहेका हक्कानी नेटवर्क जस्ता अफगानी विद्रोही समूहसँग पाकिस्तानी सुरक्षा बलको सम्बन्ध छ’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन अनुसार अमेरिकी सैन्य कमाण्डर तथा अफगान नेताहरुले पाकिस्तानी सहयोगका कारण विद्रोहीहरु थप शक्तिशाली र लामो समयसम्म सक्रिय बनेको बताउँदै आएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकाले लडिरहेका आतंककारीलाई नै पाकिस्तानले शरण दिइरहेको’ आरोप लगाएका छन् ।

पाकिस्तानभित्र आश्रय लिएर बसेका आतंककारीका कारण अफगानिस्तान झन असुरक्षित बनेको अमेरिकाको आरोप छ । त्यस्तै पाकिस्तानले अफगानिस्तानमा अस्थिरता चाहेको अमेरिकी अधिकारी बताउँछन् । तर पाकिस्तानी अधिकारीले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

प्रतिवेदनमा लेखिएको छ- ‘पाकिस्तानले अफगानिस्तानमा बलियो सरकारको सट्टा कमजोर र अस्थिर सरकार गठन भएको देख्न चाहन्छ।’ तर अफगानिस्तानमा अस्थिरता बढ्दा पाकिस्तानभित्र समेत खतरा बढ्ने र यही कारणले आदिवासी इस्लामिक लडाकुको सामना गरिरहेको प्रतिवेदनको निष्कर्ष छ ।

पाकिस्तानमा रहेका १० लाख भन्दा बढी अफगान शरणार्थीका कारण पाक-अफगानिस्तान सम्बन्ध थप जटिल बनिरहेको छ । १६ सय माइल लामो साझा सिमाना र सीमानामा बस्ने विभिन्न समुदायका आदिवासीका कारण समेत द्धिपक्षीय सम्बन्ध जटिल बनेको छ ।

अर्कोतिर पाकिस्तानी राजनीतिज्ञ र सैन्य अधिकारीमा भारतको रणनीतिक घेराबन्दीमा परिने हो कि भन्ने त्रास व्याप्त छ । ‘पाकिस्तानी सेनाले भारतको रणनीतिक घेरबन्दीमा परिने हो कि भन्ने डरले तालिवान र अफगानिस्तानमा रहेका भारतविरोधी तत्वलाई दोस्त बनाएको छ’, प्रतिवेदनमा उल्लेख छ ।

‘अफगानिस्तानमा भारतको कुटनीतिक र व्यापारिक उपस्थिति र यस्तो उपस्थितिप्रति अमेरिकाको मौखिक सहयोगका कारण समेत भारतीय घेराबन्दीमा परिने त्रास उत्पन्न भएको हो’, प्रतिवेदन भन्छ, ‘अफगानिस्तानमा भारतीय स्वार्थको कारण पाकिस्तानसँगको क्षेत्रीय प्रतिस्पर्धा नै हो र पाकिस्तानसँगको क्षेत्रीय प्रतिस्पर्धाले गर्दा मध्य एसियासम्म प्रत्यक्ष व्यापारिक र राजनीतिक सम्बन्ध स्थापना गर्ने भारतीय प्रयासमा अवरोध खडा भएको छ ।’

सिआरएसको प्रतिवेदनमा यस वर्ष विद्रोही र आतंककारी समूहहरु थप शक्तिशाली भएको उल्लेख छ । विद्रोही र आतंककारी समूहको शक्ति थप मजबुत हुँदै जाँदा अफगान सरकार र अमेरिकासहित उसका अन्तर्राष्ट्रिय साझेदारसामु थप सुरक्षा चुनौती थपिएको छ ।

यता वार्तामार्फत् अफगान युद्ध समाधान गर्ने संभावना समेत अनिश्चित बन्दै गएको छ । अमेरिका र तालिवानबीच जारी वार्ता सेप्टेम्बर महिनामा स्थगित भएको र तालिवानले अफगान सरकारसँग वार्ता गर्न नचाहेकाले समेत युद्धलाई कसरी समाधान गर्ने भनेर प्रस्ट भइसकेको छैन ।

त्यस्तै अफगान सरकार र सेना असफल हुँदा अमेरिकासामु समेत थप समस्या सिर्जना हुने प्रतिवेदनको निष्कर्ष छ । भविष्यमा तालिवानको प्रभाव अफगानिस्तानमा कहाँ, कति र कसरी विस्तार हुन्छ भनेर प्रस्ट भइसकेको छैन । तर सामाजिक व्यवस्था छिन्नभिन्न हुने र अर्ध सैन्यबलमा कमाण्डर र उनीहरुका मिलिसियाले अफगानिस्तानमा आ-आफ्नै तरिकाले शासन गर्ने संभावना जिवितै रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage