scheduleबुधवार कार्तिक २७ गते, २०७६

पत्रकारप्रति अनुदार बन्दै मोदी, लेख लेखेकै आधारमा ‘नागरिकता’ खोसियो

एजेन्सी, २२ कात्तिक । भारतीय सरकारले लेखक तथा पत्रकार आतिश अली तासीरको ओभरसिज सिटिजन अफ इन्डिया (ओसिआई/पिआईओ) रद्द गरेको छ ।

भारतीय मूलका व्यक्तिलाई दिँइदै आएको ओसिआई रद्द गर्ने मोदी सरकारको निर्णयले विवाद समेत निम्त्याएको छ । लेखक तथा पत्रकारप्रति अनुदार बन्दै गएको भन्दै भारतभित्रै मोदीको आलोचना हुन थालेको छ ।

यता भारतीय गृह मन्त्रालयले ओसिआईको मापदण्ड पूरा नगरेकाले तासीरको ओसिआई कार्ड रद्द गरिएको बताएको छ । तर तासीरले भने आफूलाई जवाफ दिनका लागि पर्याप्त समय नदिइकनै कार्ड रद्द गरिएको गुनासो गरेका छन् ।

भारत सरकारले भारतमा आउन, काम गर्न र बस्नका लागि भारतीय मूलका विदेशीलाई ओसिआई कार्ड दिने गर्छ ।  विदेशमा रहेका भारतीयहरुले दोहोरो नागरिकता दिनुपर्ने आवाज उठाएपछि ओसिआईको व्यवस्था गरिएको हो ।

तर ओसिआई कार्ड पाउने व्यक्तिले मतदान गर्न तथा संवैधानिक पदमा रहन भने पाउदैनन् ।

तासीरका पिता सलमान तासीर पाकिस्तानका उदारवादी नेता थिए । सलमानलाई उनकै अंगरक्षकले ईशनिन्दासम्बन्धी कानुनविरुद्ध आवाज उठाएको भन्दै गोली हानेर हत्या गरेका थिए । आतिश तासीरकी आमा भारतकी चर्चित पत्रकार तवलीन सिंह हुन् ।

मोदीबारे तासीरले के लेखेका थिए ?

तासीरले २०१९ मे २० तारिखमा प्रतिष्ठित टाइम पत्रिकाको अन्तर्राष्ट्रिय संस्करणमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै एक लेख प्रकाशित गरेका थिए । उक्त संस्करणको कभर पेजमा लेखको शीर्षक छापिएको थियो र नरेन्द्र मोदीको तस्बिरसहित लेखको शीर्षक ‘India’s Divider In Chief’ (महाविभाजनकारी) राखिएको थियो ।

तासीरको लेख मोदीले अपनाउँदै आएको नीतिप्रति लक्षित थियो । उक्त लेखमा तासीरले मोदीका कारण भारतमा विभाजन निम्तिएको बताएका छन् । टाइम मा छापिएको तासीरको लेखले भारतमा निकै विवाद समेत निम्त्याएको थियो ।

बिहीबार मात्रै अंग्रेजी न्यूज वेभसाइट द प्रिन्ट ले आफ्नो एक समाचारमा लेखेको छ- ‘टाइम पत्रिकामा मोदीलाई आलोचना गर्दै एक लेख छापेपछि सरकारले लेखक आतिश अली तासीरको ओसिआई कार्ड रद्द गर्ने तयारी गरेको छ ।’

भारतीय गृह मन्त्रालयका प्रवक्ताले बिहीबार नै द प्रिन्ट को समाचारप्रति आपत्ति जनाएका थिए । मन्त्रालयका प्रवक्ताले ट्विटरमार्फत् स्पष्टीकरण दिँदै समाचार गलत भएको बताएका छन् ।

द प्रिन्टमा छापिएको समाचार पूरै गलत छ र समाचारमा कुनै तथ्य छैन’, गृह प्रवक्ताले ट्विटरमा उल्लेख गरेका छन् । यसपछि समेत प्रवक्ताले अन्य ट्विट समेत पोष्ट गरेका थिए ।

‘आतिश अलीले पिआईओका लागि आवेदन दिँदा उनका पिता पाकिस्तानी मूलका थिए भन्ने कुरा लुकाएका छन्, तासीरलाई उनको पिआईओबारे जवाफ पेश गर्नका लागि समय दिइएको थियो तर उनी जवाफ पेश गर्न असफल भए’, गृह प्रवक्ताको एक ट्विटमा भनिएको छ’, ‘त्यसैले आतिश अली तासीर नागरिकता अधिनियम, १९५५ अनुसार पिआईओ/ओसिआई कार्ड प्राप्त गर्न अयोग्य छन् ।’

तर तासीरले गृहमन्त्रालयको भनाइ गलत भएको बताएका छन् । ‘यो कुरा सत्य होइन, काउन्सिल जनरलले मैले पठाएको जवाफ प्राप्त गरेको बताइसकेको छ, मलाई जवाफ दिनका लागि २१ दिनको सट्टा केबल २४ घण्टाको समय मात्रै दिइएको थियो । त्यसपछि मन्त्रालयको तर्फबाट कुनै सूचना प्राप्त भएको छैन’, उनले भनेका छन् ।

तासीरले आफ्नो ट्विटसँगै मेलबक्सको एक तस्बिर समेत राखेका छन् । उक्त तस्बिरमा उनले भारतीय गृह मन्त्रालयबाट प्राप्त एक पत्रको सम्बन्धमा जवाफ दिएको प्रस्ट हुन्छ भने डेप्युटी काउन्सिल जनरलको एक मेलमा तासीरको जवाफ प्राप्त भएको देखिन्छ ।

गृहमन्त्रालयले त्यसको करिब २ घण्टापछि तासीरको ओसिआई कार्ड रद्द हुने जानकारी गराएको थियो । मन्त्रालयको सूचना अनुसार ओसिआई पञ्जीकरण रद्द भएको सूचना दिँदै तासीरलाई आफ्नो ओसिआई कार्ड न्यूयोर्कस्थित भारतीय महावाणिज्यदूतावासमा पेश गर्न भनिएको छ ।

तासीरमाथि मोदी सरकारले गरेको व्यवहारले भारतीय मिडिया जगत समेत सशंकित बन्न थालेको छ । भाजपा सरकार फरक विचार राख्ने पत्रकार र लेखकप्रति अनुदार बन्न खोजेको कतिपयको बुझाइ छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage