scheduleबुधवार कार्तिक २७ गते, २०७६

भारतको ‘५७ वर्षअघि’को र ‘नयाँ नक्सा’ तुलना गर्दा जे देखियो …

काठमाडौं, २२ कात्तिक । भारत सरकारले सोमबार सार्वजनिक गरेको नयाँ नक्साले नेपालमा तरङ्ग उत्पन्न गराएको छ । सत्तारुढ दल र प्रतिपक्ष दललगायतका नेता तथा कार्यकर्ताले नक्सा तत्काल सच्याउनुपर्ने माग गरिरहेका छन् ।

भारतले नेपालको भू-भाग नयाँ नक्सामा राखेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु, कांग्रेस सम्बद्ध नेविसंघ, समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र जनमोर्चा निकट अनेरास्ववियु (छैठौं) लगायतका विद्यार्थी संगठनले बुधबार काठमाडौंमा प्रदर्शन समेत गरे ।

‘लिपुलेक हाम्रो हो’ र ‘गो ब्याक इन्डिया’ जस्ता प्ले कार्डसहित विद्यार्थीहरुले राजधानी मै प्रदर्शन हुने गरेका हुन् ।

नयाँ नक्सालाई लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समेत आपत्ति जनाएका छन् । दाहालले लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको कुरा नेपाललाई सह्य नहुने बताएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेर बहादुरले बिहीबार नक्सालाई लिएर नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीलाई टेलिफोन नै गरे । टेलिफोन वार्तामा  देउवाले ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको’ बताएको खबर सार्वजनिक भइरहेका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयले समेत एक प्रेस विज्ञप्ति जारी गर्दै एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाललाई मान्य नहुने बताइसकेको छ । कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको कुरापनि विज्ञप्तिमा जनाइएको छ ।

यो पनि-

कालापानी भारतमाः मोदीको नियत कि प्राविधिक त्रुटि ?

‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुको दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ ।

भारतको नयाँ नक्सामा नेपाली पश्चिमी सीमाना

मोदी सरकाले जम्मू-कश्मीरलाई दिइँदै आएको विशेषाधीकार खारेज गरी २ वटा केन्द्र शासित राज्य बनाएको केही दिनपछि नयाँ सार्वजनिक गरेको थियो । उक्त क्षेत्रमा आफ्नो राजनीतिक अडानलाई थप मजबुत बनाउन मोदी सरकारले नयाँ नक्सा सार्वजनिक गरेको हो ।

तर नेपालमा समेत नक्साको विरोध भएपछि भारतीय विदेशमन्त्रालयले यसबारे आफ्नो धारणा प्रस्ट पारेको छ । बिहीबार नक्सालाई लिएर नेपालमा चर्को विरोध भएपछि भारतले मुख खोलेको छ । भारतले नेपालको भूभाग नमिचेको भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले प्रस्ट पारेका छन् ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा कुमारले भनेका थिए-‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ, नक्सामा सीमा हेरफेर गरिएको छैन’, पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै प्रवक्ता कुमारले भने । नेपालको भूमि भारतले मिचेको भन्ने समाचार गलत भएको समेत उनको भनाइ थियो ।

त्यस्तै नेपालसँगको सीमा विवादलाई द्धिपक्षीय संयन्त्रमार्फत् हल गर्नुपर्ने समेत कुमारको भनाइ थियो । कुमारले नेपाल-भारत सम्बन्ध बिगार्नका लागि ‘निहित स्वार्थ’ले सीमा विवादको कुरा उठाइएको हुन सक्ने तर्फ समेत दुबै मुलुक सचेत र सतर्क हुनुपर्ने बताएका छन् ।

५७ साल पुरानो नक्सा  

कालापानी र लिम्पियाधुरा लगायतका केही क्षेत्रमाथि वि.स. २०१७ सालदेखि नै भारतले नियन्त्रण गर्दै आएको छ । त्यसअघि उक्त क्षेत्र नेपालमै रहेकोमा कुनै विवाद थिएन ।

तर सन् १९६२ मा चीन र भारतबीच युद्ध भएपछि भारतीय सेना कालापानीमा प्रवेश गरेको थियो । राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्थाप्रति भारतले अप्रत्यक्ष सहयोग गर्ने बचन दिएपछि उक्त क्षेत्रमा भारतीय सेना बस्न दिएको बताइन्छ । त्यसैले महेन्द्रकै पालादेखि कालापानीमा भारतीय सेना बस्दै आएको प्रस्ट हुन्छ ।

सन् १९६२ पछि भारतले कालापानीसहितका क्षेत्रलाई समेटेर आफ्नो नक्सा बनाएको थियो । सोमबार जारी गरेको नक्सा र ६० वर्ष पहिला जारी भएको नक्सामा कुनै फेरबदल गरिएको छैन ।

त्रिविको विश्वविद्यालय अनुदान आयोगअन्तर्गतको अनुसन्धान विभागका निर्देशक दिपक कुमार खड्काले समेत भारतले पुरानो नक्सा अनुसार नै कालापानी र लिम्पियाधुरालगायतका क्षेत्र नयाँ नक्सामा समेटेको बताएका छन् ।

भारतको पुरानो नक्सामा नेपालको पश्चिमी सीमाना

विभागका निर्देशन दिपक कुमार खड्काले आफ्नो फेसबुक स्टाटसमा भारतले जारी गरेको नयाँ नक्सालाई लिएर अहिले उत्तेजित हुनुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।

‘भारतको नयाँ नक्सा! हल्लाको पछाडि नलागौं । भारतले उसको पुरानो नक्सामा भारत-नेपाल सिमाना जेजस्तो अवस्थामा कोरेको थियो, त्यसलाई अहिले जारी गरेको नयाँ नक्सामा यथावत राखेको छ, बदलेको छैन, बदलेको होइन । भारतले जम्मू-कश्मीर र लद्दाखको सिमाङ्कन मात्र नयाँ गरेको हो’, खड्काले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

‘त्यसैले अहिले थप उत्तेजित हुनुपर्ने आवश्यकता छैन । नेपालको भूमि बारेमा नेपाल सरकारले भारतसँग राखेको दाबी र अडानमा नेपाली जनता सधैं सरकारसँग एकसाथ रहने हो । हिजो पनि, आज पनि, भोलि पनि, निरन्तर । आज अचानक उचालिनु पर्ने कुरा छैन’, खड्काको स्टाटसमा उल्लेख छ, ‘हल्लाको भरमा अर्को ऋत्तिक रोशन काण्ड नहोस् । सचेत रहौँ ।’

यता एनआरएनका पूर्वअध्यक्ष जिवा लामिछानेले समेत खड्काको धारणाप्रति सहमत जनाउँदै उनको स्टाटस शेयर गरेका छन् ।

उक्त स्टाटसमा कमेन्ट गर्दै गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार रहेका नेकपा नेता सूर्य सुवेदी पथिक लेख्छन्-

‘यो नक्शा भारतले १९६२ देखि जारी गरिरहेको छ र त्यसमाथि नेपाल सरकारको आपत्ति र विरोध छ । यो दुई देशको संयुक्त्त सीमा कार्यदलमा बिस्तृत छलफल भैरहेको छ । असहमति खाली काला पानी र त्यो क्षेत्र मात्र होइन अन्यत्र पनि छ। यहाँ नेपाली मिडियाले नेपाल सरकारको राष्ट्रवादी अडान नदेख्ने दोषी चश्माप्रति असहमत हो । यहि लहैलहैमा लागेर कथित बुद्धिजिवी पनि बहकिएको देख्दा भने उदेक लाग्छ ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage