एनेसको घोषणा- ‘म नै बोलिभियाको राष्ट्रपति हुँ’, ‘कपटपूर्ण कु’ भएको मोरालेसको भनाइ
एजेन्सी, २७ कात्तिक । बोलिभियाको सिनेटकी प्रमुखले आफू मुलुकको राष्ट्रपति भएको घोषणा गरेकी छन् ।
सिनेट प्रमुख एनाइन एनेस चाभेजले मंगलबार आफैंलाई बोलिभियाको राष्ट्रपति घोषणा गरेकी हुन् । निवर्तमान राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएपछि एनाइनले आफू मुलुकको राष्ट्रपति भएको बताएकी हुन् ।
राष्ट्रपतिको पद खाली राख्दा थप संकट उत्पन्न हुने भन्दै सिनेट प्रमुख एनाइनले आफूलाई राष्ट्रपति घोषणा गरेको समाचारमा बताइएको छ ।
‘राष्ट्रपति र उपराष्ट्रपतिको पद खाली भएकाले संविधान अनुसार नै सिनेट प्रमुखको रुपमा राष्ट्रपतिको पद सम्हालेकी छु’, आफूलाई राष्ट्रपति घोषणा गर्दै एनाइनले भनिन् ।
तर एनाइनले आफूलाई राष्ट्रपति घोषणा गरिरहँदा सिनेटमा पर्याप्त संख्या(कोरम) पुगेको भने थिएन । मोरालेसको बामपन्थी दलले सिनेट बहिष्कार गरेपछि कोरम नपुगेको हो ।
एनाइन एनेस चाभेज दक्षिणपन्थी राजनीतिज्ञ हुन् । उनले मोरालेसको कडा विरोध गर्दै आएकी छन् ।
इभो मोरालेसले राजीनामा दिएसँगै मंगलबार मेक्सिकोमा शरण लिन पुगेका छन् । एनाइनले सिनेटबाट आफैंलाई राष्ट्रपति घोषणा गरेपछि ‘इतिहासकै कपटपूर्ण र घातक कु’ भनेर मोरालेसले प्रतिक्रिया दिएका छन् ।
मोरालेसको लाल किल्ला मानिएको अल अल्टोमा हजारौंले उनको पक्षमा प्रदर्शन गरिरहेको समाचार माध्यमले जनाएका छन् । मोरालेसकै कारण आदिवासी समुदायले आत्मसम्मान प्राप्त गरेको भन्दै उनले पक्षमा प्रदर्शन भइरहेको छ ।.
मोरालेसको बहिर्गमनसँगै बोलिभियाका आदिवासी समुदायले पुनः विभेदमा परिने हो कि भन्ने आशंका व्यक्त गर्न थालेका छन् ।
यता सिनेट प्रमुख एनाइनले आफैंलाई मुलुकको राष्ट्रपति घोषणा गरेपछि बोलिभियामा जारी प्रदर्शन रोकिने छ वा जारी नै रहनेछ भनेर अझै प्रष्ट भइसकेको छैन ।